पुनः निषेधाज्ञा बढेको खबर सुन्छन् पुनः अर्को हप्तासम्मलाई ढुक्क हुन्छन्। तर, यो ढुक्कले मनमा आनन्द दिँदैन बरु पिडा थप्दै लैजान्छ। सरकारले निषेधाज्ञा रोगसँग बचाउन गरिएको भन्छ। तर, यही निषेधाज्ञामा व्यवसायी तनाव र दायित्व खप्न नसकेर देह नै त्याग गर्ने स्थितिमा आइपुगेका छन्। रोगले हैन भोक र शाेकले मानिसलाई गलाउँदै लगेको छ। बढी शोककै कारण रोगसँग लड्ने क्षमतामा पनि ह्रास ल्याउँदैछ। त्यसैले संक्रमितकाे सङ्ख्या दाेब्बर हुँदै गएकाे छ। जति मानिस चिन्तित हुन्छ, त्यति नै उसको आत्मबलमा गिरावट आउँछ। जसले मानिसमा वितृष्णा बढाउँछ। यही अवस्थामा सर्वसाधारण र व्यवसायी देखिएका छन्।
उता सरकार आफू सक्षम रहेको भनिरहेको छ। उसले प्रयास जारी राखेको बताउँदै आएको छ। सरकारको भनाइमा ऊ दिन रात नभनी काम गरिरहेको छ। देश जनताका लागि गर्नुपर्ने काममा कत्ति पनि कन्जुस्याइँ गरेको छैन। उसले हर सम्भव प्रयास गरिरहेको बताइरहेकाे छ।
तर, सरकारले दिन रात नभनी गरिरहेको कमलाई न व्यवसायी न त सर्वसाधारणले नै जस दिएका छन्। सरकारले गरेको कामको कसैले पनि चित्त बुझाएका छैनन्। सर्वसाधारण र व्यवसायी भित्र भित्रै यति पिल्सिएका छन् कि अब उनीहरू विस्फोट हुन मात्रै वाँकी छ। यही सेरोफेरोमा मेरो लगानी डट कमका उप सम्पादक सुवास निरौलाले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसँग कुराकानी गरेका छन्।
के छ स्थिति निषेधाज्ञामा व्यवसायीक क्षेत्रको स्थिति?
के छ अहिलेको अवस्था भन्ने बारे पूर्ण जानकारी सरकारलाई थाहा छ। हामीलाई खासै केही थाहा छैन। तपाईले के भनेर लेखिदिनुस् भने, मैले के छ यति बेलाको स्थिति भनेर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सोधे। उनले यति बेलाको स्थितिको बारेमा हामीलाई केही जानकारी नभएको तर सबै कुरा सरकारलाई थाहा छ भनेर जबाफ दिए भनेर लेखिदिनु होला। उनले अझै तीन दिन पछि सोध्न भने भनेर पनि लेखिदिनुस्।
तपाईले जे भन्नु भयो म त्यो कुरालाई जस्ताको त्यस्तै लेख्ने प्रयास गर्नेछु। तपाईको भनाइमा थोरै आक्रोश र पीडा दुवै मिसिएको छ। वास्तवमै स्थिति कस्तो छ? थोरै प्रस्ट पारिदिनुस् न?
मलाई तीन दिन पछि फोन गर्नुस्। म त्यत्ति बेला भनौला। पहिलो कुरा त हामीले बोलेर यहा केही हुने वाला छैन। तपाईसँग यसअघि पनि कुरा गरेकै हो। तर, त्यसको कुनै अर्थ हुँदैन। किनकि यति बेला व्यवसायीको कुराको केही माने छैन। त्यसैले म यतिबेला तपाईसँग मात्रै होइन कसैसँग पनि कुरा गरिरहेको छैन। किनकी कुराको गरेको अर्थ पनि त हुनुपर्यो। त्यसैले बरु तीन दिन पछि गर्नुहोस् भनेको हो। त्यस दिन बरु केही बोल्नै परे पनि केही बोलौला। तर अझै भन्दै छु, यति बेला हाम्रा कुराको कुनै अर्थ छैन।
त्यसो भनेर कहाँ पन्छिन पाइन्छ। तपाई चेम्बरको अध्यक्ष पनि हो। तपाईले नै हरेस खानु भयो भने तपाईका पछि रहेकाको आवाज कसले उठाउँछ? सुने पनि नसुने पनि। अर्थ राखे पनि नराखे पनि हामीलाई त भन्नुस् के छ अहिलेको स्थिति ?
भन्नै पर्ने हो? ल सुन्नुस्। यति बेला धेरै जसो व्यवसायीको मनोबल पूर्ण रुपमा टुटिसकेको छ। गएको लकडाउनसम्म त व्यवसायीले जसरी तसरी धानेकै थिए। तर, यति बेलाको निषेधाज्ञामा त व्यवसायीहरू पुरै आत्ती नै सके। यसअघि कर्मचारी व्यवस्थापन, घर भाडा, ब्याज जसो तसो मिलाउँदै आएका थिए। तर, अब आउने दिनमा कसरी मिलाउने कसैले सोच्न सकिरहेका छैनन्। अन्तिममा आएर एक प्रकारको हात उठाउन मात्रै बाँकी रहेको अवस्था छ। अब जे गर्छ सरकारले नै गर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौ।
किनकि सरकारभन्दा हामी माथि पनि छैनौ। उसको आदेश विपरीत जाने स्थिति पनि भएन। त्यसैले उसले भनेको माने पछि दायित्व पनि उसैले व्यवस्थापन गर्नुपर्छ भन्नेमा हामी पुगेका छौ। घर भाडा उसैले तिरिदिन्छ। बैकको ब्याज उसैले व्योहाेर्छ। कर्मचारीलाई पनि उसैले तलब दिन्छ होला भन्ने आशमा बसेका छौ।
त्यसमा हाम्रो स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले आफ्नो तरिकाले काम गरेकाे छ। उता अर्थ मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र नेपाल राष्ट्र बैंककाे भोली के हुन्छ? त्यो केही थाहा छैन। त्यसैले जे गर्छ अब सरकारले नै गर्छ भनेर हामी आराम गरेर निषेधाज्ञाको पालना गरिरहेका छौ। किनकि हामीले गर्ने केही होइन रहेछ। सबै त सरकारले नै गर्ने रहेछ। किन हामीले टाउको दुखाइ रहने। यति राम्रो र बलियो सरकार हुँदा हुँदै चिन्ता गर्ने व्यवसायी, हामीले पो नबुझेका रहेछौ। त्यसैले हामीले चिन्ता गरेर केही हुँदैन अब जे गर्छ सरकारले नै गर्छ भन्ने अवस्थामा हामी पुगेका छौ।
तपाईले जसरी भनिरहनु भएको छ, यसको आशय हामीले बुझेका छौ। भने पछि वास्तविक अवस्था यही हो?
निषेधाज्ञामा स्थिति भयावहको छ। सबै व्यवसायी त्रसित छन्। बरु हामीले विदेश तिरको खबर हेर्न नपाएको भए पनि हुने थियो। सबैतिरको खबरमा प्रतिबन्ध गरेको भए, हामीलाई के लाग्थ्यो भने, यो नेपालमा मात्रै भएको हो। अन्यत्र केही पनि छैन। नेपालमा जत्तिको अप्ठ्यारो अरू कुनै देशलाई पनि परेको छैन भन्ने हुन्थ्यो। अन्य देशमा यो कोरोना भनेको केही होइन भन्ने खबर आउन थालेको छ। हिजो भर्खरै खबर मैले सुने, अमेरिकाको डाटा अनुसार ९४ प्रतिशत मानिस कोरोनाभन्दा पनि अन्य रोगले मरेका हुन् भन्ने। उता इटालिमा पनि ९९ प्रतिशत अन्य रोगले नै भनिरहेको स्थिति छ।
यता भारतमै पनि दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिसहरू संक्रमित भई राखेका छन्। तर, सबै खुला हुँदै गएको छ। तर, यहाँ अझ कर्फ्यु नै गरेर, सबैलाई भित्र राखेर कोरोना मुक्त हुने हो भने, त्यो पनि राम्रै हो। तर, न लकडाउनले कोरोना संक्रमण घटायो न त निषेधाज्ञामा नै घटेको खबर आएको छ। झन् झन् बढ्दो अवस्थामा छ।
यदि सरकारले अरू देशमा जस्तो सबैलाई तलब दिएर र व्यवसायीलाई पनि सुबिधा दिएर निषेधाज्ञा गरेको भए केही फरक पर्ने थिएन। त्यो त उसले गर्दैन। यहाँ दिनका दिन कोरोनाभन्दा आत्महत्या गर्ने बढी रहेका छन्। यसको जिम्मेवारी सरकारले नै लिनुपर्छ।
भनेपछि आत्महत्याकै स्थिति आइ सक्यो?
ल १५ सय देखि दुई हजार पुग्न लागि सक्यो आत्महत्याको घटना।
कस्ता व्यवसायीले आत्मा हत्या गरेका हुन्?
सबै किसिमका व्यवसायी छन् त्यसमा। कसैले ऋण तिर्न सकेनन् होला। कसैको वर्षौँको कमाइ गयो होला। विविध कारण छन् यसमा। तर मूल कारण कोरोनाको कारण व्यवसायमा परेको असर नै हो। हेर्नुहाेस, एउटा सानो रेष्टुराँ चलाउनेले कति दिन कर्मचारी र घर भाडा थेग्न सक्छ? सानो घरेलु कारखाना हुनेले कति दिन मजदुर पाल्न सक्छ? एउटा सानो होटेलले कति दिन थेग्न सक्छ? के गर्ने के नगर्ने? एक महिना भन्दाभन्दै ६ महिना गई सक्यो। अझै कति जाने पत्तो छैन।
बैंकले क्यासफ्लोको लागि ऋण थपिदियो। लिएको ऋणले कर्मचारी पाल्ने तर, आम्दानी केही नहुने। तर, बैंकले थपेको ऋणकाे ब्याज भोलिपल्टैबाट शुरु हुन्छ। ऋण माथि ऋण बढाएर कसरी चल्ने? कसरी तिर्ने? ऋण मात्रै बढाएर हुन्छ? त्यसलाई तिर्नु पर्दैन? पर्छ। अनि कहाँबाट ल्याउने जब व्यवसाय नै चलेको छैन भने। सरकारलाई समयमा कर चाहियो। बैंकलाई समयमा ब्याज चाहियो। तर व्यवसायीलाई केही चाहिँदैन?
तपाईहरुले खोज्नुभएको चाहिँ के हो?
हामीले पुरै बजार ओपन गर भनेको होइन। अलिअलि उद्योग चलायमान हुनुपर्यो। आर्थिक चलायमान हुनुपर्यो। अनि साना-मझौला व्यवसाय पनि चल्न पर्यो। नौ बजेलाई १ बजे बनायो। यो ठिकै हो। अन्य व्यवसायलाई पनि अल्टरनेटिभ बनाउँदै लैजानु पर्यो। यातायात र मालपोत पनि साढे १० बजेदेखि साढे तीन बजेसम्म खोल्नु पर्यो। यातायात जोर बिजोर गर्नु पर्यो। बिस्तारै मानिसहरूमा चेतना आफै आउँछ। बिस्तारै अघि बढ्नु पर्यो भन्ने मात्रै हो।
५० प्रतिशत खोल्ने र ५० प्रतिशत नखोल्ने गर्दा संक्रमणा नफैलिने हुन्छ र?
त्यो त सरकारलाई सोध्नुस् न। उसैले सरकारी कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारीले काम गर्ने व्यवस्था गरेको होइन। ५० प्रतिशत गर्दा कम हुन्छ भन्ने उसैको निष्कर्ष हो। उसलाई निर्णय गर्दा केही फरक नै पर्दैन। उनीहरूलाई त के फरक पर्छ र? हामीले तिरेको करबाट तलब आइहाल्छ। कर उठी हाल्छ। उनीहरूको के जान्छ? उनीहरू देश कस्तो अवस्थामा छ भनेर गम्भीर भएको पाएकै छैन।
सरकारी कर्मचारी आधा कार्यालय जाँदा केही फरक नपर्ने, अनि सर्वसाधारण जाँदा फरक पर्ने हुन्छ र भन्या? बिहान ११ बजेसम्म पसल खोल्दा केही फरक नपर्ने। त्यसपछि खोल्दा फरक पर्ने कहीँ हुन्छ?
कोभिडको कारण भए पनि सरकारी कर्मचारीले त ५० प्रतिशत नै भए पनि काम गर्नु पर्यो नि। फेरि उनीहरूले पनि काम नगरे त लथालिङ्ग भई हाल्छ नि हैन र?
हो, बल्ल तपाईले कुरा बुझ्नुभयो। यति बेला सरकारी कर्मचारी यति धेरै खटिएका छन् कि भनी साध्यै छैन। मैले शुरुमै भनेनी यति बेला सरकारले यति धेरै काम गरिरहेको छ कि उसलाई अरूको कुरा सुन्ने फुर्सद पनि छैन। ५० प्रतिशत कार्यालयबाट ५० प्रतिशत घरबाट काम गरिरहनु भएको छ। सबैभन्दा बढी त प्रधानमन्त्रीको कार्यालयले यति बेला काम गरिरहेको छ। अनि अर्थ मन्त्रालय, उद्योग तथा वाणिज्य र नेपाल राष्ट्र बैंकलाई त यति बेला फुर्सद नै छैन।
त्यही भएर हामीलाई उनीहरूले निषेधाज्ञामा राखेको हो। त्यही भएर व्यवसायी आरामले बसिरहेको हो। अब यति धेरै सरकारले काम गरिरहेको छ भने व्यवसायीले किन गर्नु पर्यो काम?
सरकारले केही दिन पछि गरिरहेको कामको लेखा जोखा सहितको विवरण सार्वजनिक गर्नेछ। उसले घरमै बस्नेहरूलाई मासिक यति तलब दिने, व्यवसायीलाई यति छूट दिने, बैंक ब्याज यति छुट दिने यो सबैको हिसाब किताब निकाल्दै छ सरकारले। त्यसैले हामीले चिन्ता गरेका छैनाैं। हामी ढुक्क छौ।
सरकारले रुग्ण उद्योग र साना मझौला व्यवसायीलाई के गर्नुपर्ला?
फेरि पनि म भन्दै छु हामीले भनेर केही हुँदैन। फेरि हामीलाई केही थाहा पनि छैन। जे गर्छ सरकारले नै गर्छ। जे गर्नुपर्ने हो त्यो पनि सरकाले गर्छ। हामी बाहिरै बस्छौ। हेरिरहन्छौ। निषेधाज्ञा पालना गरिरहन्छौ। हाम्रो यति बेला माग पनि केही छैन। सुझाव पनि केही छैन। जे छ, सरकार जिन्दाबाद।
कति जति क्षति भई सक्यो होला?
एक दिन हो र हिसाब गरेर राख्नलाई। हिसाब नै गर्न नसकिने भईसक्यो। हिसाब गरेर साध्य पनि छैन। व्यवसायीको छातीमा लागेको पीडा र मनमा लागेको घाउ अब त्यो रकमले आउँदैन पनि।