अर्थमन्त्रीमा पौडेलको पुनः आगमनले लगानीकर्ता उत्साहित, भन्छनः ‘बजारमा सकारात्मक प्रभाव पर्ने छ’

Oct 15, 2020 11:16 AM merolagani

विष्णु बेल्वासे

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयको जिम्मेवारी पुनः विष्णु पौडेललाई दिएपछि शेयर बजारका लगानीकर्तामा उत्साह छाएको छ ।

शेयर बजारका लागानीकर्ताहरु अर्थमन्त्री पौडेलको पुनः आगमनले शेयर बजारमा सुधारको संकेत देखिने बताउन थालेका छन् ।

लगानीकर्ताहरुको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीमा पौडेलको पुनः आगमनले शेयर बजार सुधारको सम्भावना देखिएको बताए । ‘विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको थियो,’ उनले भने, ‘पौडेल पुनः अर्थमन्त्री भएर आउनु भएको छ, यसपटक पनि शेयर बजारमा सुधारको संकेत देखिने सम्भावना देखिएको छ ।’

नवनियुक्त अर्थमन्त्री पौडेल यसअघि प्रधानमन्त्री ओली नै प्रधानमन्त्री हुँदा २०७२ असोजमा पहिलो पटक अर्थमन्त्री भएका थिए । २०७२ को वैशाखमा आएको भूकम्प र नाकाबन्दीले थिलोथिलो भएको अर्थमन्त्रलाई सुधार्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।

पछिलो पटक अर्थमन्त्री हुँदा पनि लगानीकर्तालाई साथमा लिएर शेयर बजार सुधारको प्रयास नव नियुक्त अर्थमन्त्री पौडेलले गरेका थिए । आर्थिक ऐनाको रुपमा हेरिने शेयर बजारमा पनि पौडेल पहिलो पटक अर्थमन्त्री भएर आएपछि सुधार देखिएको थियो । ‘त्यतिबेला पनि शेयर बजारले अर्थमन्त्री पौडेललाई ग्रिन सिग्नल दिएको थियो, ’अध्यक्ष रौनियारले भने, ‘यसपाली पनि नेप्सेले ग्रीन सिग्नल दिने आशामा छौ ।’

स्टक ब्रोकरहरुको छाता संस्था स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि अर्थमन्त्रीमा पौडेलको आगमनले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्ष गरिएको बताए । ‘अर्थमन्त्री विष्णु पौडेलको पहिलो कार्यकालमा पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको थियो,’ उनले भने, ‘यस पटक पनि पौडेल पुनः अर्थमन्त्री भएर आउनु भएको छ, उहाको आगमनले बजार सुधार हुने अपेक्षा गरिएको छ ।’

यसकारण बजार पौडेलाई शेयर बजारको ग्रिन सिग्नल

पहिलो पटक अर्थमन्त्री हुँदा पनि आमलगानीकर्ता भावना अनुसार निर्णय लिएकाले लगानीकर्ता उनीप्रति सकारात्मक भएका हुन् । ‘सबैभन्दा पहिला त अर्थमन्त्री विष्णु पौडेले सबैको कुरा सुन्ने र त्यही अनुसार निर्णय लिने गर्नुहुन्छ त्यो नै लगानीकर्ताले मन पराउँछन्,’ इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले भने, ‘जन निर्वाचितको पृष्ठभूमीबाट आएकाले आमजनताले के चाहना राख्छन्, त्यो चाहाना परिपूर्ति गर्नलाई कस्तो खालको निर्णय गर्दा उपयुक्त हुन्छ भन्ने कुरालाई ख्याल गरेर निर्णय गर्ने खुवी पौडेलमा छ । त्यसैले पनि लगानीकर्ता उहाँ प्रति सकारात्मक भएका हुन् ।’

आमनागरिकको धारणा बुझ्ने र त्यही धारणाको जगमा टेकेर निर्णय गर्ने खुवी अर्थमन्त्री पौडेलमा छ । २०३३ सालदेखि नै सक्रिय राजनीतिमा रहेकाले पनि पौडेलले आमनागरिकको धारणा बुझ्ने र सुधारका कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ ।

अहिले नेप्से १५६१.१७ विन्दुमा छ । गत साता नेप्सेले १६०० विन्दु पार गरेको थियो । नेप्से यसअघि २०७३ को साउन १२ गते अहिलेसम्मकै उच्च विन्दु १८८१ मा पुगेको थियो । ‘नेप्से पौडेलकै अघिल्लो कार्यकालमा सवैभन्दा नयाँ उचाइमा पुगेको थियो,’ स्टक ब्रोकरका अध्यक्ष रानाभाटले भने, ‘यस पटक पनि नेप्सेमा पक्कै पनि सुधार देखिने अपेक्षा गर्न सकिन्छ ।’

यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा भन्दा अहिलेका अर्थमन्त्री पौडेलले सबैका कुरा सुन्ने र त्यसका आधारमा निर्णय गर्ने खुवी भएकाले पनि लगानीकर्ता तथा ब्रोकरहरु उनको पालामा शेयर बजारले सुधारको संकेत लिने अपेक्षा गरेका छन् । ‘हामीले शेयर बजार बढाएर यति पुर्याइ देऊ भनेर माग कहिले पनि गरेका छैनौ,’ इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले भने, ‘शेयर बजार सुधारमा देखिएका अवरोधहरुलाई हटाइदिए त्यतिकै शेयर बजारको सुधार हुन्छ, त्यसका लागि नयाँ अर्थमन्त्री पौडेलले उचित कदम चाल्नु हुने छ भन्ने विश्वास लिएका छौ ।’

अध्यक्ष रौनियारले सरकारले लिएको १० कित्ते नीतिले सर्वसाधारण नागरिकलाई फाइदा पुगेको र यसले पूँजी बजारको विकास र विस्तारमा सहयोग पुगेको पनि रौनियारले बताए । ‘पुँजी बजार विकास र विस्तारका लागि यस्तै खाले नीति ल्याउनु आवश्यक छ,’ उनले भने, ‘यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाले अरुका कुरा नसुन्ने र खाली कर असुल्ने मात्र काम गरेकाले उनीप्रति लगानीकर्ता सकारात्मक हुन सकेका थिएनन् ।’

तर, नयाँ अर्थमन्त्री पौडेलप्रति भने पहिलो पटक अर्थमन्त्री हुँदादेखि नै लगानीकर्ता सकारात्मक भएको पनि अध्यक्ष रौनियारले बताए । पूर्व अर्थमन्त्री खतिवडा प्रति लगानीकर्ता सकारात्मक थिएनन् । ‘पहिलो भेटमै नकारात्मक धारण भयो भने कहिले पनि सकारात्मक हुन सकिदैन रहेछ,’ उनले पूर्व अर्थमन्त्री खतिवडा प्रति लक्षित गर्दै भने, ‘अर्थमन्त्री नियुक्ति भएर आएको दिनदेखि नै अरुका कुरा नसुन्ने र आफै निर्णय लादने कोसिश गर्नु भयो, पछि कार्यकाल सकिनै लाग्दा लगानीकर्ताका कुरा सुन्ने र बजारप्रति सकारात्मक धारण बनाउन लाग्नु भएको थियो । त्यहीबेला अर्थमन्त्रीबाट बाहिरिनु भयो ।’

पहिलो हेराइमा नै नकारात्मक धारणा बनेकाले होला पूर्व अर्थमन्त्री खतिवडाप्रति कहिले पनि लगानीकर्ता सकारात्मक नभएको रौनियारको भनाइ थियो । तर, नयाँ अर्थमन्त्री पौडेलले भने पहिलो पटक अर्थमन्त्री हुँदादेखि नै बजारप्रति सकारात्मक धारणा राखेकाले लगानीकर्ता पनि उनको पुनः दोस्रो कार्यकालमा पनि बजारले सुधारको गति लिने अपेक्षा राखेको उनले बताए ।

नयाँ अर्थमन्त्रीलाइ कालाे दाग पखाल्ने चुनौती

कोरोना भाइरसले थिलाथिला भएको अर्थतन्त्र उकास्ने चुनौती अर्थमन्त्री पौडेलको काँधमा आइपुगेको छ । कोरोना भाइरसले गर्दा आर्थिक बृद्धिदर नकारात्मक हुने प्रक्षेपण गरिरहेका बेला पौडेलको आगमन भएको छ । विश्व बैंकले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ०.६ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको छ । यस्तो बेलामा आर्थिक गतिविधी चलायमान बनाउनु चुनौती उनका सामु छ ।

जननिर्वाचित नेता भएकाले पनि पौडेलले लोकप्रिय कार्यक्रम पनि ल्याउनु आवश्यक छ । हुन त २०७२ सालको भुकम्प र नाकावन्दीले अर्थतन्त्र थिलोथिलो भएको समयमा उनले सामाजिक भक्ता बढाएर दोब्बर बनाएका थिए । त्यसैको परिणाम पछिल्लो आमनिर्वाचनमा नेकपाले अत्यधिक मत पाउन पाएको थियो । त्यतिमात्रै होइन, कर्मचारीको तलब पनि १५ प्रतिशत बढाएर लोकप्रिय नेतामा बनेका थिए । पौडेल ऊर्जामन्त्री हुँदा पनि विद्युत खरिद सम्झौता (पिपिए)को दर बढाएर निजी क्षेत्रप्रति नरम र लोकप्रिय बनेका थिए ।

तर, अहिले परिस्थिति त्यतिबेलाको भन्दा फरक छ । अर्थतन्त्र पूरै भुकम्पले भत्काएको घर जस्तै भएको छ । कोरोनाका कारण उद्योग व्यवसाय चौपट हुँदा आर्थिक गतिविधी शिथिल हुन पुगेको छ । जसका कारण राजश्व उठन सकेको छैन् ।

आर्थिक अवस्थामा मात्रै होइन, पौडेललाई पार्टी भित्रै पनि उनलाई चुनौती छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ट नेता माधव नेपाल कित्ताका सुरेन्द्र पाण्डे, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका जनार्दन शर्मा र आफै कित्ताका प्रदीप ज्ञवालीलाइ पछारेर अर्थमन्त्री बन्न पुगेका छन् । ती नेताहरुको पनि चित्त बुझाउने चुनौती उनीमाथि छ ।

त्यस्तै प्रधानमन्त्री ओलीका अति निकट पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका काम भन्दा बढी काम गरेर देखाउने चुनौती पनि उनीसँग छ । त्यसैगरी, प्रदेश ५ को राजधानी बुटवलबाट दाङको भालुवाङमा सार्ने निर्णय भएको छ । बुटवलबासीको मन जित्न पनि उनले केही न केही गर्नु पर्ने देखिन्छ । रुपन्देही क्षेत्र नं ४ बाट निर्वाचन जितेकाले पनि उनले त्यहाका मतदाताको मन जित्नु पर्ने छ ।

विदेशी दातृ निकायसँग राम्रो छवि बनाउन नसकेको भनेर पौडेलको आलोचना हुने गरेको थियो । पहिलो पटक अर्थमन्त्री हुँदा विदेशी दातृ निकायहरुको छलफलमा खुलेर कुरा राख्न नसकेको भनी पौडेलको आलोचना भएको थियो । यसपटक विदेशी दातृ निकायको मन जित्नु पर्नेछ ।

यतिमात्रै होइन, बेलाबेलामा उनी माथि लाग्ने गरेको आरोपसँग पनि प्रतिवाद गर्नु पर्ने छ । सुकुमबासीका नाममा बुटवलमा जग्गा लिएको र बालुवाटार जग्गा प्रकरणमा उनको नाम जोडिएर आएकाले निकै विवादित बन्न पुगेका थिए । उनी माथि लागेको त्यो कालो दाग पनि हटाउनु पर्ने छ ।

समग्र मुलुकको अर्थतन्त्र, पार्टीको आन्तरिक कलह, विदेशी निकायप्रतिको विश्वास बढाउने र शेयर लगानीकर्तको मन जित्न सक्ने चुनौती पौडेलसँग छ । उक्त चुनौतीलाई चिर्न सके पौडेल सफल अर्थमन्त्रीको रुपमा चिनिने छन् अन्यथा अर्थमन्त्रीको सूचीमा मात्र नाम थपिने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।