कर उठ्न नसक्नु व्यवसायीको समस्या होइन, व्यवसायीकाे समस्या व्याजकाे मात्र हाे: मल्हाेत्रा

Oct 16, 2020 06:24 PM Merolagani

भाग्यले मेराे धेरै व्यापार माेवाइलकाे छ, याे समयमा त्यसैले जाेगायाे

विभिन्न क्षेत्रमा व्यवसाय बिस्तार गरेका दीपक मल्होत्रा चर्चामा आइरहने व्यापारी हुन्। नेपालमा सामसुङ माेवाइल भित्र्याउने मल्होत्राले पछिल्लाे समय रियल स्टेट, हस्पिटालिटी र अटाे माेवाइल्सकाे क्षेत्रमा लगानी गरेका छन्। 

चेम्वर्स अफ कमर्सका उपाध्यक्ष समेत रहेका मल्होत्रासँग मेराे लगानीका उप सम्पादक  सुवास निराैलाले समसामयिक बिषयमा कुराकानी गरेका छन् । 

कस्तो छ देशको आर्थिक अवस्था ?

यतिबेलाको स्थिति हेर्दाखेरि देशको आर्थिक अवस्था दयनीय नै छ। लकडाउन र निषेधाज्ञा केही खुकुलो भएको अवस्था छ। तर बजार पूर्ण रुपमा पुरानै लयमा फर्किसकेको छैन। बजारमा बिक्री कम हुँदै गएका कारण व्यवसायी समस्यामा पर्दै गएका छन्। उनीहरूलाई खर्च चलाउन मुस्किल हुँदै गइरहेको छ। मेरो नजरमा अहिले कन्टेक्स्टमा असाध्यै दयनीय नै छ। यो समयलाई कसरी चाडै भन्दा चाँडै पार गर्न सकिन्छ भनेर कुर्नु बाहेक अर्को विकल्प पनि छैन। जति छिटो यो अवस्थाबाट पार पाउन सकिन्छ, त्यति नै मुलुक र व्यवसायीका लागि हितकर हुन्छ। 

दयनीय अवस्था भन्नु भयो। त्यसका आधार क- के हुन् ?

हाम्रो देशको परिप्रेक्षमा कुरा गर्नु पर्दा, देश सक्षम भइदिएको भए वा भनौँ राष्ट्र सक्षम भइदिएको भए समस्यामा उसकै भरथेग हुने थियो। स्टुमुलस प्याकेजहरू आउने थिए। त्यसले राहत हुने थियो। तर राष्ट्रको पनि त्यो ल्याकत छैन। राष्ट्रको ल्याकत नहुँदा मैले समस्या कहाँ देखेको छु भने ऋणमा। चाहे मुलुकले होस् या निजी क्षेत्र दुवैले ऋणमै काम गरिरहेका छन्। जस्तै राज्यले बैदेशिक ऋण बढाउँदै लगेको छ। व्यवसायीले बैक ऋण बढाउँदै लगेका छन्। बिना ऋण काम गर्ने मुलुकमा नगण्य मात्रै होलान्।

ऋण लिएर काम गर्दाको समस्या भनेको व्याज नै हो। अरू काममा हामी मितव्ययीता अपनाउन सक्छौ। खर्च घटाउला, कम काम गरौला, क्वारेन्टिन र आइसोलेसनमा बसौला। तर यति गर्दा गर्दै पनि व्याजको मिटर भने घुम्न छोडेको हुँदैन। त्यो अनवरत घुमिरहन्छ। ऋण लिँदा व्याजको मिटर घुम्न सुरु गरेपछि ऋण चुक्ता गर्नु भन्दा अघि त्यो कुनै पनि हालतमा घुम्न रोकिँदैन। 

हो, यही अनवरत घुमिरहेको मिटरले राज्य र व्यवसायी दुवैलाई सबैभन्दा बढी पिरोलेको अवस्था छ। मैले देखिरहेको छु धरै व्यवसायी यसैका कारण चिन्ताजनक स्थितिमा छन्। उनीहरूलाई व्याज तिर्नै धौ धौ परिरहेको छ।

जब व्यवसाय चल्दैन, ऋणीलाई व्याज तिर्न धौ धौ पर्छ। यहीबाट थाहा हुन्छ अर्थतन्त्रको अवस्था कति दयनीय छ। किनकि आखिर अर्थतन्त्र मापन गर्ने प्रमुख इन्डिकेटर त यही हो। जुनसुकै क्षेत्र पनि ऋणमा काम गरिरहेको छ। उसले समयमा व्याज भुक्तान गर्न सकिरहेको छैन भने पक्का अर्थतन्त्र सही दिशामा छैन भन्ने सजिलै बुझ्नुपर्ने हुन्छ। 

तर फेस्टिभल सिजन सुरु भएको छ नि, त्यसले केही भरथेग गरेको छैन र ? 

दशैको कुरा गर्दा तपाइले भनेको ठिक हो। यो वर्ष परिस्थिति बदलिएको अवस्था छ। पहिले जस्तो बिल्कुलै छैन। गत वर्षको जस्तो चहल पहल पनि छैन। खरिद बिक्री पनि छैन। कतिपय सामानहरू तातोपानी बोर्डरमा अड्किएको अवस्था छ। दशैंलाई मगाएको समान त्यही छ। अनि दशैं कस्तो छ भनेर यसैले पनि प्रस्ट्याउछ । 

भनेपछि राज्यलाई पनि यसले समस्यामा पार्ने भो। किनकि उसले लिएको लक्ष्य अनुसार कर उठाउन  सक्दैन ? 

कर उठ्न नसक्नु व्यवसायीको समस्या होइन। किनभने व्यवसायी फाइदा हुँदा कर तिर्ने हो। भ्याट उठाएको छ भने भ्याट तिर्ने हो। नाफा भएको छैन र भ्याट उठाएको छैन भने त्यो व्यवसायीको समस्या होइन। त्यसैले म के भन्छु भने करको समस्या व्यापारीलाई छँदै छैन।व्यापारीलाई समस्या भनेको व्याजकै मात्रै हो। अर्थतन्त्र चलायमान नहुँदा व्यवसायीले कर तिर्नै नपर्ने स्थिति आउनुको क्षति भने राष्ट्रले भोग्नु परिरहेको छ। किनभने राज्यले त सम्पूर्ण खर्च नै त्यही करबाट उठाएको रकमले चलाउने हो। व्यवसायीले त्यो रकम बुझाउनु नपर्दाको क्षति राज्यले बेहोरिरहेको अवस्था छ। 

यतिबेला असोज मसान्तको नजिकै छौं। के मसान्तमा साँच्चै व्याज तिर्नै नसक्ने अवस्थामा पुगिएको हो ?

हामी क्वाटर क्लोजिङ भन्छौ। हरेक क्वाटर क्लोजिङमा व्याज, स्टलमेन्ट लगायत सम्पूर्ण कुरा बैकलाई तिर्नुपर्ने हुन्छ। त्यो तिर्न रकम चाहिन्छ। तर अहिले व्यापार चलेको छैन। व्यापारीले तिर्ने भनेको व्यापारबाट आएकै पैसाले हो।  यतिबेला काठमाण्डौमा यस्तो स्थिति देखिदै गएको छ कि कोरोना नदेखिएको क्षेत्र र व्यवसाय भेट्टाउन मुस्किल हुँदै गएको छ। त्यसले गर्दा पनि व्यापार सहज नभएको हो।

व्यवसायीक क्षेत्र मात्रै होइन कति सरकारी कार्यालयसम्म बन्द भएको स्थिति छ। कति मालपोत कार्यालय खुलेको छैन। धेरै सरकारी कार्यालय हप्तौँ बन्द हुन थालेका छन्। सरकारलाई त यति अप्ठ्यारो परिरहेको छ भने झन् व्यवसायीको हालत के भएको होला त्यो आफै अनुमान गर्न सकिन्छ। यस्तो अवस्थामा क्वाटरको व्याज कसरी धान्ने ? 

धान्नै पर्ने बाध्यताका बिच व्यवसायीले अर्को विकल्प खोज्नुपर्छ। त्यो भनेको पनि फेरि ऋण नै हो। ऋण माथि ऋण लिएर कति दिन अघि बढ्ने? त्यसैले असोज मसान्तमा तिर्नु पर्ने व्याज, किस्ता लगायतलाई हामीले तिहार पछि सम्म धकेलि दिनुपर्छ भनेर नेपाल चेम्बर अफ कमर्सले रिक्वेस्ट गरेको छ।

त्यो वास्तवमै गर्नैपर्ने हो। हामीले अरू कुनै सहुलियत मागेको होइन। अहिलेको अवस्थालाई मध्यनजर राखेर भनेको हो। त्यो हामीले लिखित रूपमै केन्द्रीय बैकलाई दिएका छौं। 

तर यसलाई अझै सम्बोधन गरिएको अवस्था छैन। यसलाई हिजो आजमै सम्बोधन गरिदिएको भए सबैले राहत महसुस गर्ने थिए। तर सम्बोधन नहुँदा सबैलाई तनाव थपिएको छ। 

बैंकलाई पनि मसान्तसम्म पैसा आउनै पर्छ भन्ने छ। तर व्यवसायीले तिर्न नसक्ने अवस्था आएको देख्दै छु म। 

तपाईहरूले  राख्नु भएको समस्याबारे केन्द्रीय बैकको प्रतिक्रिया कस्तो पाउनु भयो ?

हामीले औपचारिक रूपमै कुरा राखेको पनि निकै दिन भइसकेको छ। तर कस्तो दखिदै गएको छ भने नेपाल राष्ट्र बैक र बैंकहरुले सम्बोधन गर्ने मनसाय बनाएका छैनन्। अन्तिम दिनसम्म जति पैसा तान्न सकिन्छ त्यति पैसा तान्दै जाऊ, नसक्दा खेरिको अवस्थामा चाहिँ १५ दिन एक महिना थप्ने प्रचलन पछिल्लो दिनमा देखिदै आएको छ।

तर अहिले र पहिले स्थिति साँच्चै फरक छ भनेर उनीहरूले बिचार गर्नुपर्ने हो। पहिलेकै अवस्था रहन्थ्यो भन्नुको अर्थ काठमाण्डौमा सङ्क्रमण कम हुन्थ्यो भने हामी केही बोल्दैन पनि थियौ। तर जसरी समस्या बढिरहेको छ। त्यसलाई हेरेर दुई दिन अघि सम्बोधन गरिदिएको भए निकै ठुलो राहत हुने थियो भनेर पहल गरिरहेका छौं, तर अहिलेसम्म कुनै आश्वासन पाइहालेको स्थिति भने छैन।

प्रसङ्ग बदलौँ लकडाउनले डिजिटल मार्केटलाई निकै सघाउ पुर्‍याएको छ। मोबाइल लगायतका सामाग्रीको खपत कस्तो छ?

मोबाइल, ट्याब्लेट, ल्यापटप यो सबै बिक्री बढ्नुको कारण सबैजनाले वर्क फ्रर्म होम गरिरहेका छन्। स्कुल कलेज बन्द भएको अवस्था छ। सबैजनाले घरमै बसेर अनलाइन क्लास गरिरहेको अवस्था छ। डिमान्ड बढ्नुको प्रमुख कारण नै त्यही हो। 

अर्को कारण भनेको लकडाउन अवधिमा जसको हातमा स्मार्ट फोन थियो उसले त्यो समयमा त्यसको पूर्ण उपयोग गर्न पायो। तर जसको हातमा स्मार्ट फोन थिएन उसले अभाव महसुस गर्‍यो। त्यसबेला स्मार्ट फोन प्रयोग नगर्नेले पनि स्मार्ट फोनको महत्त्व बुझे। जसले गर्दा स्मार्ट फोन नहुनेले पनि त्यसको उपयोग बढाए। लकडाउन अघि नेपालमा स्मार्ट फोन प्रयोगकर्ता पचास प्रतिशत थिए भने वाँकी बेसिक फोन प्रयोग गर्थे। तर अहिले बेसिक फोन युज गर्ने स्मार्ट फोन किन्दै छन्। त्यसले गर्दा फोनको बिक्रि बढेको अवस्था छ।

अर्को प्रमुख कारण थियो लकडाउन। त्यसबेला सबै बन्द रहेको अवस्था थियो। नेपालमा गैर कानुनी तरिकाले फोन धेरै भित्रिने गरेको थिए। तर लकडाउनमा त्यो आउन पाएन। त्यसले गर्दा पनि माग बढेको देखिएको हो। 

तर केही समय बढेको लिगल फोनको मार्केट फेरि बिस्तारै घट्दै छ। किनकि बोर्डर बिस्तारै खुलेका छन्। बजार सहज हुँदै गएको छ। त्यसले पनि पुरानै अवस्थामा फर्किन थालेको हो। 

यतिबेला थोरै बढेको मोबाइलको बजारमा पुन अवैध कारोबारलाई नियन्त्रण गर्न सकिएन भने त्यो पुन घट्छ नै। 

आईटीसँग सम्बन्धित बाहेक अरू कुनै पनि समानको बिक्री यतिबेला छैन। यो यतिबेला अति आवश्यक बस्तुमा परेकोले मानिसहरुले यसको खरिद बढाएका हुन्। तर अन्य समानको बिक्रि भने बढेको छैन।

पछिल्लो महिना घटेको आयात बिस्तारै बढ्न थालेको सुनिँदै छ। माग नबढी आयात त बढ्दैन । कुरा अलि मिलेन कि ? 

त्यसको सरल उत्तर हो ह्वात्तै बढ्नु पर्ने। किनकि यो बेला भनेको सबैभन्दा बढी व्यापार हुने समय हो। यो बेलामा थोरै बढ्यो भनेर रमाउनु नै गलत छ।

नेपालीहरुले अरू बेला समान नकिने पनि दसैँमा केही नयाँ कुरा किन्न छुटाउदैनन्। फेरि लुगादेखि गाडीसम्म दसैँमा नै किन्ने चलन छ। त्यसैले दसैलाई मध्यनजर राखेर व्यापारीहरूले सामानहरू इनपोर्ट गर्ने गर्छन्। दसैलाई टार्गेट गरेर मगाइएको समान आउँदा पक्कै पनि थोरै आयात त बढेको देखिनु स्वभाविक नै हो।

फेरि अर्को कुरा बुझ्नु पर्ने कुरा के छ भने । दसैलाई टार्गेट गरेर व्यवसायीले सामान मगाए। त्यसले आयात बढेको देखियो। तर दसैलाई भनेर मगाइएको समान बजारमा बिक्यो कि बिकेन ? त्यो महत्त्वपूर्ण प्रश्न हो। यति बेलाको यथार्थ बजारमा समान खपत असाध्य न्यून छ। 

बजारमा समान बिक्री हुन नसक्नुको प्रमुख कारण के देख्नुहुन्छ ?

यसमा दुईवटा कारण छन्। एकथरि मानिसहरू पैसा भएर पनि खुल्ला रुपमा बजार जान डराइरहेका छन्। उनीहरू हुलमुलमा किन जाने भन्दै सतर्क भएर घरमै बसेको स्थिति छ। थोरै मानिस मात्रै बजार निस्किरहेको अवस्था छ। जति धेरै मानिस बजार निस्कने वातावरण बन्छ बिक्री त्यति नै धेरै बढ्छ।

अर्को कुरा भनेको क्रय शक्ति हो। पाँच छ महिना देखि काम नचल्दा पक्कै पनि मानिसको क्रय शक्ति कमजोर भएको छ। प्राइभेट सेक्टरले कति कर्मचारीलाई आधा तलब दिए। कतिले कामनै कटौती गरे । त्यसले मानिसहरूको रेगुलर इनकम कम हुन गयो।

इनकम कम भएपछि मानिसले पैसालाई तौली तौली खर्च गर्न थालेको छ। मानिसले यति बेला अति आवश्यक काम बाहेकमा निकै कम खर्च गरिरहेको छ। यही कारणले बजारमा बिक्रि कम भएको हो।

खर्च बढाउन राज्यले भूमिका खेल्नुपर्ने हो ?

राज्यले के भूमिका खेल्ला ? राज्य कै ढुकुटीमा असर पर्दै गएको खबर त हामीले पढ्दै छौ। उसलाई अब झन् गाह्राे छ भनेर खबरै आइराखेको अवस्था छ। यहाँ तपाईँलाई एउटा कुरा के बताऊ भने लकडाउनको सुरुवाती सुमयमा व्यवसायी राहतको खुबै माग गरेका थिए। तर यति बेला व्यवसायी कतै पनि राहत मागेको सुनिँदैन।

तर यति बेला व्यवसायीको माग भनेको बजार चलायमान बनाऊ भन्ने हो। त्यसको लागि कसरी हुन्छ उपाय लगाऊ भन्ने छ। त्यसमा पनि आन्तरिक पर्यटन कसरी बढाउने भन्ने कुरा छ। मानिसहरू पाँच ६ महिना देखि एकै ठाउँमा बसेर बोर पनि भई सकेका छन्। उनीहरूलाई घुम्न जान मन लागेको अवस्था पनि होला । त्यसको लागि चाहिँ सरकारले सहजीकरण गर्न सक्छ। जसले थोरै भएपनि अर्थतन्त्र चलायमान बनाउन सक्ने सम्भावना छ।

मानिसहरू त्यसै पनि बाहिर निस्कन सकिरहेका छैनन्। त्यस अवस्थामा बाहिर घुम्न निस्केलान् र?

हैन यसलाई यसरी हेर्नु पर्छ। सबै ठाउँमा कोभिड फैलिएको अवस्था पनि होइन। सबैभन्दा बढी काठमाण्डौमा बढिरहेको छ। त्यसैले मलाइ लाग्छ काठमण्डौका मानिस यति बेला डेफिनेटलि बाहिर जान चाहन्छन्। मैले सुनिरहेको छु । केही ठाउँमा दशैका लागि होटलहरु प्याक हुन थालेको छ। मैले थाहा पाए अनुसार पोखरा र चितवनका होटेलको दसैँ कालागि बुकिङ बढेको छ। अरू उपाय केही नभएको बेलामा यसलाई चाहिँ सरकारले प्राथमिकतामा राख्नु पर्छ।

सरकारले हप्ताको दुई दिन बिदा दिने कुरा पनि आएको थियो। मैले व्यक्तिगत हिसाबले सकारात्मक रुपमा लिएको छु। बिहीबार बेलुकी प्लान गर्छन्। शुक्रवार शनिवार बाहिर बस्छन्।आइतबार बिहान आफ्नो काममा फर्किन सक्छन्। त्यो पनि एक उपाय त हो।

भन्नुको अर्थ हस्पिटालिटि सेक्टरको माग बढेको हो ?

यति बेलै त बढी हालेको अवस्था त हैन। तर दसैँ र तिहारको लागि पोखरा चितवनमा बुकिङ चाहिँ बढेको छ। सरकारले यो क्षेत्र लाई प्राथमिकतामा राखेर केही कदम चाल्यो भने यसमा आस चाहिँ पक्कै गर्न सकिन्छ। त्यसको लागि दुई दिन छुट्टी दिएर हुन्छ कि अन्य कुनै उपाय लगाएर हुन्छ यसलाई अघि बढाउनु पर्छ।

किनकि यति बेला सबैभन्दा बढी अप्ठ्यारो स्थितिमा यही क्षेत्र छ। हिजो मात्रै म कामको सिलसिलामा एक होटेलमा गएको थिए। होटेल पुरै खालि थियो। मानिसहरुनै थिएनन्। मनमनै मैले सोचे उसले आफ्नो अपरेटिङ कष्ट कसरी धानी रहेको होला ? उसले आफ्नो स्टाफ कसरी पालिरहेको होला ?

मेरो त यति बेला होटेल सञ्चालनमा आइसकेको अवस्था छैन। मैले त त्यस्तो समस्या भोग्नु परेको छैन।

अन्तिममा, भनेपछि तपाईले कोभिडको बिचमा समस्या भोग्नु परेको छैन ? 

अरूलाई जस्तो समस्या परेको छ, मलाई पनि त्यही नै समस्या छ। भाग्यले मेरो धेरै बिजनेस मध्ये एक मोबाइल फोनको छ। जसले मलाइ यो अवधिमा जोगाएको हो। तर मोबाइल बाहेकको सबै बिजनेसमा मलाइ पनि त्यति नै समस्या छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।