शेयर बजारका जनावरहरु, जस्ले बिभिन्न अर्थ दिन्छन्

Oct 27, 2020 05:00 PM Merolagani

विश्व शेयरबजारमा विभिन्न जनावरका नामहरु प्रचलित छन् । केही नामहरुले बजारको ट्रेण्डलाई बुझाउछ भने केहीले लगानीकर्ताहरुको प्रकारलाई बुझाउँछ।

नेपाली शेयर बजारमा बियर र बुल शब्दको अधिक प्रयोग गरिन्छ। यी दुबै जनावरका नामहरु हुन्। यस्तै, चिकेन, पिग्स, वुल्भ्स, शीप  लगायतका नामहरु विभिन्न खालका लगानीकर्ताहरुको विषेशणका रुपमा प्रयोग गरिन्छ।

बुल र बियरः शेयरबजारमा बुल र बियर विपरितार्थक शब्द हुन्। शेयरबजारमा कुनै पनि सूचक बढ्दो अवस्थामा छ भने त्यसलाई बुलको संज्ञा दिइन्छ। यसले बजारको ट्रेण्डलाई बुझाउँछ। कुनै पनि सूचक बुल (बुलिश) छ भन्नुको अर्थ सो सूचक बढी रहेको छ भन्ने बुझिन्छ।

त्यसैगरी, बियर भन्नाले घट्दो बजारलाई बुझाउँदछ। कुनै पनि कम्पनी अथवा सूचक घटेको छ भने त्यसलाई बियर (बियरिश) भनिन्छ। लामो समयमा सूचक घट्दो क्रममा देखिएको छ भने त्यसलाई बियरिश ट्रेण्ड भनिन्छ।

बुल अर्थात साँढेले आफ्नो सिङले हान्दा तलबाट माथि हान्दछ भने बियर अर्थात भालुले पञ्जा मार्दा माथिबाट तल हान्दछ। यसैको आधारमा यी दुईको नामाकरण गरिएको हो।

चिकेन र पिगः यी दुबै लगानीकर्ताहरुको स्वभाव बयान गर्ने विशेषणको रुपमा प्रयोग गरिन्छ। जो लगानीकर्ताहरु जोखिम लिन मन पराउँदैनन् अथवा जोखिम भएको स्टकमा लगानी गर्न रुचाउँदैनन् तिनीहरुलाई चिकेनको संज्ञा दिइएको छ। यस्ता लगानीकर्ताहरु सुरक्षित धितोपत्र जस्तै बण्ड र बैंक निक्षेपमा लगानी गर्ने गर्दछन्। चिकेन अर्थात कुखुराको स्वभावसँग मिल्दोजुल्दो हुने भएका कारण यस्ता लगानीकर्ताहरुलाई चिकेन भनिने गरेको हो।

यसको ठिक विपरितका लगानीकर्ताहरुलाई पिग भनिन्छ। जुन लगानीकर्ता धेरै जाखिमपूर्ण धितोपत्रमा लगानी गर्दछन् तिनीहरुलाई पिग भन्ने गरेको पाइन्छ। पिग अर्थात सुंगुरहरु लोभी हुने गर्दछन्। त्यस्तै, छोटो समयमा धेरै लाभ लिने लोभमा जोखिमपूर्ण शेयरमा यस्ता लगानीकर्ताहरुले लगानी गर्दछन्।

स्ट्याग्स्ः धितोपत्र बजारमा केही लगानीकर्ताहरु यस्ता हुन्छन् जो आईपीओमा शेयर खरिद गर्छन् र सूचीकरणपश्चात शेयर बिक्री गरी बाहिरिन्छन्। यस्ता लगानीकर्ताहरु स्ट्याग्स् भनिन्छ। अल्पकालीन लगानीकर्ताहरुलाई स्ट्याग्स भन्ने गरिन्छ। छोटो समयमा नै बजारको स्थिति र प्राविधिक विश्लेषण गरी शेयर खरिदबिक्री गर्ने निर्णय लिनेलाई पनि स्ट्याग भनिन्छ। यस्ता लगानीकर्ताहरुसँग धेरै पैसा हुन्छ र सजिलै ठूलो परिमाणमा शेयर खरिदबिक्री गर्न सक्छन्।

शीपः शीप अर्थात भेडा। नेपाली धितोपत्र बजारमा यो शब्द पनि प्रचलित छ। अरुको लहैलहैमा लागेर शेयर कारोबार गर्ने लगानीकर्ताहरुलाई शीप भनिन्छ। यस्ता लगानीकर्ताहरुसँग निर्णय गर्ने क्षमताको कमी हुन्छ। भिडलाई पछ्याउने भएका कारण यस्ता लगानीकर्तालाई शीप भनिएको हो।

वुल्भस्ः बजारमा सबै लगानीकर्ताहरु उद्देश्य नाफा आर्जन गर्ने नै हुन्छ। तर, केही यस्ता लगानीकर्ताहरु पनि बजारमा पाईन्छन् जसले नाफा कमाउनका लागि जालझेल गर्दछन्। यस्ता लगानीकर्ताहरुलाई वुल्भस् भनिन्छ। यस्ता लगानीकर्ताहरु विशेषगरी एक्सपर्ट र शक्तिशाली हुन्छन्। ठूला विशेषज्ञ भनाउँदा केही लगानीकर्ताले आफ्नो सिपको गलत प्रयोग गरी बजारबाट पैसा कमाउन खोज्छन् भने तिनीहरु वुल्भ्स हुन्।

हकः सो शब्द विशेषगरी नियामक निकायहरुलाई प्रयोग गरिन्छ। त्यस्ता निकाय जरले मुद्रास्फिती घटाउन ब्याजदर उच्च कायम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछन्। त्यसैगरी, लगानी गर्नुअघि सबै पक्षहरुको विश्लेषण गरी उपयुक्त समयमा धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरुलाई पनि हक भन्ने गरिन्छ। बाजको विशेषतासँग मेल खाने भएका कारण यस्ता लगानीकर्ताहरुलाई हकको संज्ञा दिइएको हो।

डभः हकको ठीक उल्टो डभ हो। वित्तीय क्षेत्रमा निष्क्रिय र शान्ती चाहने निकायलाई डभ भनिन्छ भने ब्याजदर कम भएको खुकुलो मौद्रिक नीति चाहने लगानीकर्ताहरुलाई पनि यो नाम दिइएको छ।

अष्ट्रीचः प्रतिकुल अवस्थामा प्रतिकृया गर्न नसक्ने लगानीकर्ताहरुलाई अष्ट्रीच भनिन्छ। जसरी अष्ट्रीचले खतरापूर्ण अवस्थामा आफ्नो टाउको जमिनमा लुकाई सो अवस्थालाई नजरअन्दाज गर्छ त्यसरी नै यस्ता लगानीकर्ताहरु पनि आफ्नो पोर्टफोलियो घट्दा त्यसलाई वेवास्ता गरी बस्छन्।

टर्टलः यो नाम दीर्घकालीन लगानीकर्ताहरुलाई दिइएको छ। त्यस्ता लगानीकर्ताहरु जो शेयर खरिद गर्न पनि समय लगाउँछन् र बिक्री गर्न पनि समय लगाउँछन्, तिनीहरुलाई टर्टल भनिन्छ। यस्ता लगानीकर्ताहरु शेयर खरिद गरी लामो अवधिका लागि होल्ड गरिराख्छन्। यस प्रकारका लगानीकर्ताहरुलाई अल्पकालीन उतारचढावले केही असर गर्दैन।

डगः बजारबाट कुटिएको शेयर अर्थात लगानीकर्ताहरुले नरुचाएको शेयरलाई डग भन्ने गरिन्छ। कम्पनीहरुको कमजोर प्रदर्शनका कारण यस्तो अवस्थाको सिर्जना हुन्छ। यस्ता शेयरहरु पुनः बढ्ने अपेक्षाले बजारका खेलाडी तथा विश्लेषकहरुले यस्ता शेयरको सूक्ष्म विश्लेषण गरिरहेका हुन्छन्।

लेम डक्सः बजारबाट सबैले नाफा नै आर्जन गरि बाहिरिन्छन् भन्ने छैन। केही लगानीकर्ताहरु यस्ता हुन्छन् जसले ठूलो घाटा व्यवहोरी बजारबाट बाहिरिन्छन्। यस्ता लगानीकर्ताहरुलाई लेम डक्स भनिन्छ।

ह्वेलः बजारका ठूला लगानीकर्ताहरुलाई ह्वेल भनिन्छ। ठूला लगानीकर्ता जसले शेयर खरिद बिक्री गरी शेयरमूल्यमा नै प्रभाव पार्छ, त्यस्ता लगानीकर्ताहरुलाई ह्वेल भनिन्छ।

डेड क्याट बाउन्सः कुनै पनि शेयर निरन्तर ओरालो लागेर अस्थायी वृद्धि हुन्छ भने त्यसलाई डेड क्याट बाउन्स भनिन्छ। मरेको बिरालो पनि कुनै उचाईबाट खस्यो भने बाउन्स हुन्छ भन्ने अवधारणाले नै यसको प्रयोग भएको हो।

प्रस्तुति : प्रत्येक अवाले


comments powered by Disqus

सिद्धार्थ बैंकको लाभांस घोषणा

Dec 04, 2020 09:07 PM

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।