बजार बुलिस ट्रेन्डतर्फ लम्कियाे,स्थायित्वका लागि नियामकको भूमिका अपरिहार्य

Nov 20, 2020 02:37 PM Merolagani

सुवास निरौला

गएको एक महिनादेखि शेयर बजार लगातार बढ्दो क्रममा रहेको छ। दोस्रो बजारमा यति बेला निक्कै चहलपहल छ। कोभिडको संक्रमणको कारण अन्य व्यापार व्यवसाय थला परेको भएपनि शेयर बजारका लगानीकर्ता भने दैनिक बजार बढेकै कारण दङ्ग छन्।

प्रत्येक दिन बढेको शेयर मूल्यको हिसाब गर्दै मिठो सपनामा लगानीकर्ता रमाएको प्रशस्तै देखिन थालेको छ। यति बेला बजारमा भेटिने एकआध बाहेक सबै लगानीकर्ता नाफामा छन। कोही हजार पति भएका छन् । कोही लखपति बनेका छन् । कोही त करोडपतिकै दर्जामा समेत उक्लिसकेका छन्। जसले जति लगानी गरेको छन् त्यही अनुरूप नाफा आर्जन गरिरहेका छन्। यसले बजार बुलिस ट्रेन्डतर्फ लम्किएको प्रस्ट हुन्छ। तल्लो बिन्दुबाट १० प्रतिशत बजार बढ्दो क्रममा देखिए बजारले बुलिस ट्रेन्ड समातेको भनिन्छ।

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक नेप्से इन्डेक्स गत असार १५ गते तल्लो बिन्दुमा ओर्लिएको थियो। उक्त दिन सूचक ११८८.७१ बिन्दुमा रहेको थियो। त्यसपछि उक्लिएको बजारले एक सातामै १० प्रतिशत उक्लँदै असार २३ मा १३३६ अंकको बिन्दु पार गरेको थियो। त्यसपछि लगातार उक्लिएको बजार पछाडि फर्किएको छैन। लगातार बढ्दो क्रममै देखिएको बजारले बिहीबारसम्म ५० प्रतिशतको छलाङ मारिसकेको छ। गत असार १५ यता बजार ४९.६३ प्रतिशतले बढेर १७७८.७३ अंकमा पुगेको छ।

गएको तीन महिनामा भने बजार सबैभन्दा बढी बढेको छ। भदौ ४ गते १३९७.५७ अंकमा रहेको बजार त्यस यता करिब २८ प्रतिशतले बढिसकेको छ। गएको एक सातामै बजार १२५.९२ अंकले बढ्यो। जुन ७.६१ प्रतिशतले वृद्धि हो। गएको असार २३ गते देखि बुलिस ट्रेन्ड समातेको बजारले त्यही अनुरूप वृद्धि कायम गर्दै लगेको छ।

बजार बढ्नुका फन्डामेन्टल कारण केही छैन।बजार बढ्नुको मुख्य कारण बजारमा थुप्रिएको तरलता र घट्दो ब्याजदर लाई आधार बनाइएको छ। यही कारण बजार बुलिस ट्रेन्डमा गएको शेयर विश्लेषकहरुको भनाइ छ।"बजार बढ्नुको मुख्य कारण भनेकै पर्याप्त तरलता र घट्दो ब्याजदर नै हो "इन्भेष्टर फोरमका पूर्व अध्यक्ष आत्माराम घिमिरेले मेरो लगानीसँग भने।

दरिलो फण्डामेन्टल आधारले बजारलाई सपोर्ट नगरेसम्म इक्युटि मार्केटको वृद्धि कायम हुँदैन। इक्युटि मार्केट  तीव्र छलाङ मारेसँगै पछाडि समेत फर्किने गर्छ। पछिल्ला बजारका बुलहरुले समेत यसलाई पुष्टि गरिसकेका छन्। जब जब बजारमा प्रशस्त तरलता र ब्याजदर कम हुन्छ।तब तब इक्युटि मार्केटले रेकर्ड कायम गर्ने गरेको छ। यस अघिको बुलमा समेत बजारमा ब्याजदर एकल अंकमा झरेको थियो। अहिले अवस्था ठ्याक्कै त्यही देखिएको छ। लगातार बढिरहेको इक्युटि मार्केटलाई सपोर्ट गर्ने कुनै विकल्प नहुँदा बजार जसरी बढेको थियो त्यसै गरि बाउन्स व्याक हुन सक्ने बिगतका नजीर छन ।

बजार बाउन्स व्याक हुँदा धेरै लगानीकर्ता बजारमा फस्ने गरेका छन्। यस अघिको बुलिसमा समेत बैकिङ क्षेत्रमा लगानी गरेका लगानीकर्ता अझै उक्सिएका छैनन्। उनीहरू अझै त्यही घट्दो बजारको भुमरीमा रुमल्लिइरहेका छन्। धेरै वर्षसम्म मूल लगानी नै नोक्सानमा पर्दा लगानीकर्तामा निराशा समेत देखिदै आएको छ।

इक्युटि मार्केटले माथिल्लो उचाइ लिएर फर्किन थालेपछि हरेक लगानीकर्ताले गुमाउन थाल्ने छन्। उनीहरू बिस्तारै फस्दै जान सक्छन्। छोटो समयमा बजार निक्कै माथि उक्लिनु र घट्नुले बजारलाई अप्राकृतिक बनाउँछ। अप्राकृतिक बजारको वृद्धिमा सिधासाधा लगानीकर्ता बढी फस्ने सम्भावना हुन्छ। किनकि यति बेलाको वृद्धिमा स्पेकुलेटरको बढी प्रभाव रहेको छ। स्पेकुलेटरले बजारलाई निश्चित बिन्दु्सरम्म मात्रै माथि लैजान सक्छन्। उनीहरूले बजारलाई प्राकृतिक बनाउन सक्दैनन्। जुन दिन स्पेकुलेटरले बजारबाट आफ्नो पैसा झिक्न थाल्छन् त्यही दिनबाट बजार बाउन्स व्याक हुन थाल्ने छ।

यतिबेला साधारण लगानीकर्ता शेयर मूल्य बढेका कारण नाफामा छन्। ब्रोकर कम्पनी धेरै कारोबार भएको कारण नाफामा छन्। बजार सञ्चालक र सरकार दुवै नाफामा छन्। पछिल्लो तीन महिनामै पूँजीगत लाभकर  मात्रै सकारले एक अर्व भन्दा बढी प्राप्त गरेको छ। यो वर्ष नेप्से र सेबोन दुवैको आम्दानीले रेकर्ड बनाउने आँकलन हुन थालिसकेको छ।

यो बजारलाई स्थायित्व तर्फ लैजानु पर्ने चिन्ता बजारविज्ञहरुले गर्न थालेका छन्। अघिल्लो पटक जस्तै बजार बाउन्स व्याक भए पनि बजारको गतिलाई निरन्तरता दिन नियामक निकायको भूमिका खोज्न थालिएको छ। यति बेला पनि नियामकले बजारलाई स्थायित्व दिने कुनै विकल्प नल्याए बजारले निम्त्याउन सक्ने दुर्घटना प्रति सचेत रहन उनीहरूले सर्बसाधारण लाइ आग्रह गर्न थालेका छन्। "सधैँ बजार बढ्दैन। यति बेला लगानी गर्दा सचेत भएर लगानी गर्नु पर्छ। अन्यथा दुर्घटना हुन सक्छ" घिमिरेले भने।

उता बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले पनि  बजारलाई स्थायित्व दिन स्पेकुलेटरहरुको लागि छिट्टै नयाँ विकल्प दिनु पर्ने बताउँछ। इक्युटि मार्केटको गिर्दो अवस्थाबाट निस्कँदै गरेका स्पेकुलेटर हरुको लागि डेरिभेटिभ प्रडक्ट,इन्ट्रा डे ट्रेडिङ र स्थानीय तहलाई ऋण पत्र निष्कासनको बाटो खोल्न सकिए बजारलाई न्याचुरल वेमा लान सकिने उसको तर्क छ। तर बजार संचालक भन्दा पनि नियामकहरुले यति बेला सबैभन्दा बढी भूमिका खेल्नु पर्ने उसको तर्क छ। "बढ्दो बजारलाई स्थीर राख्न स्पेकुलेटरहरूलाई विकल्प दिनु पर्छ। त्यसको लागि बोर्ड र अर्थ मन्त्रालयको भूमिका बढी हुनु पर्छ। बोर्डले इन्ट्रा डे र डेरिभेटिभ लगायत अन्य औजार चलाउन सक्ने नियम बनाउनु पर्छ। उता स्थानीय सरकारले समेत ऋण पत्र निष्कासन गर्ने वातावरण तयार गर्न अर्थ मन्त्रालयले नियम बनाइदिनु पर्छ " नेप्सेका एक उच्च अधिकारीले भने।

नेप्सेले डेरिभेटिभ प्रडक्टका लागि अध्ययन गरिसकेको र इन्ट्रा डे उसको अनलाइन सिस्टममै रहेकोले त्यसलाई चलाउने अनुमति मात्रै बोर्डले दिनु पर्ने नेप्सेकाे जिकिर छ। अन्यथा बढ्दो बजारलाई स्थायी बनाउन सकिँदैन । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।