११ बैंकसहित २७ कम्पनीले गरे लाभांश घोषणा, ११ कम्पनीको खरिद गरे अझै लाभांश पाइने

Nov 29, 2020 06:03 PM Merolagani



रबिन पाैडेल

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश धमाधम घोषणा गरिरहेका छन्। हालसम्म ११ बैंकसहित २७ वटा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन्। 

विगतका वर्षहरुको तुलनामा यस वर्ष सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न केहि ढिलाई गरेका छन्। कारोनाका कारण भन्दै सूचीकृत कम्पनीहरुले लाभांश घोषणा र साधारणमसभा बोलाउन ढिलाई गरेका हुन्।

यस वर्ष बैंक तथा वित्तीय संस्थाहरुले बोनस शेयरलाई बढी प्राथामिकता दिएर लाभांश घोषणा गरेका छन्। केन्द्रीय बैंकको नीतिले नगद लाभांशमा कडाइ गरे पश्चात पनि बैंक तथा वित्तीय संस्थाहरुलाई बढी बोनस दिन बाध्य बनाएको छ। नगद लाभांश बाेनस शेयरकाे अनुपात नमिलाइ लाभांश घोषणा गर्ने बैंकहरुको लाभांश राष्ट्र बैंकले संशोधन गर्न समेत लगाएको थियो।

बैंक तथा वित्तीय संस्थाहरुले शेयरधनीहरुलाई कर तिर्न केहि नगद लाभांश वितरण गरे पनि उनीहरुको जोड बोनस शेयरमा नै रहेको देखिन्छ।

  • ११ बैंकको औसत लाभांश १२ प्रतिशत

हालसम्म ११ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। अझै १५ वटा बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी रहेको छ।

वाणिज्य बैंकहरुमध्ये हालसम्म एनआइसी एशिया बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले १६/१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने सानिमा बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

अन्य बैंककले भने ११ प्रतिशत भन्दा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। वाणिज्य बैंकहरुमा हालसम्म सनराइज बैंकले सबैभन्दा कम ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकहरुले यस वर्ष बोनस शेयरमा बढी जोड दिएर लाभांश घोषणा गरेका छन्। एभरेष्ट बैंकले सबैभन्दा धेरै ५ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ।

  • ९ लघुवित्तको लाभांश घोषणा

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ९ वटा लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन्। लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकहरुले भन्दा पनि बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको देखिएको छ।

समता लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई सबैभन्दा धेरै २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। त्यस्तै आरएमसिडि लघुवित्त र एनएमबि लघुवित्तले पनि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

हालसम्म लाभांश प्रस्ताव गर्ने लघुवित्तहरुमध्ये आरएसडिसि र मिर्मिरे लघुवित्तले सबैभन्दा कम १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

९ वटा लघुवित्तले औसतमा झण्डै १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

यसैगरी सूचीकृत ३ हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। अपि पावरले ९ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ भने अरुण भ्यालीले ६ प्रतिशत र रिद्धि हाइड्रोले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

यता युनिलिभरले गत वर्षकाे कमाइबाट शतप्रतिशत नगद लाभांश दिने भएको छ भने शिवमले २४.२१ प्रतिशत र नेपाल ल्युव आयलले १० प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ। यस्तै साल्ट ट्रेडिङ्गले पनि गत वर्षको कमाइबाट ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे छ।

लाभांश घोषणा गरेका १३ कम्पनीको शेयर किने अझै लाभांश पाइने

हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये १३ वटा कम्पनीकाे शेयर खरिद गरे अझै लाभांश पाइने छ। 
लाभांश घोषणा गरेपनि बुकक्लोज नगरेकाले यी १३ वटा कम्पनीकाे शेयर खरिद गर्दा लगानीकर्ताले अझै लाभांश हात पार्ने भएका हुन्। 

हालसम्म वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंक, सिटिजन बैंक, सानिमा बैंक, एनआइसी एशिया बैंक र बैंक अफ काठमाण्डूको बुकक्लोज भइसकेको छ भने कुमारी बैंकले भोली सोमबार बुकक्लोज गर्दै छ। यी बैंकहरुको शेयर खरिद गर्दा प्रस्तावित लाभांश पाइदैन। तर यस बाहेकका लाभांश घोषणा गरेका ५ वटा वाणिज्य बैंकको शेयर खरिद गर्दा लाभांश पाइन्छ।

त्यस्तै लाभांश घोषणा गरेका हाइड्रोपावरमा अपि र अरुण कावेलीको बुकक्लोज भइसकेको छ भने रिद्धिको भोलि बुकक्लोज हुने भएको छ। यी कम्पनीहरुको शेयर खरिद गर्दा गत वर्षको कमाइबाट वितरण गर्ने लाभांश पाइदैन। 

माइक्रोफाइनान्सहरुमा पनि फस्ट माइक्रोफाइनान्स र आरएमडिसिको बुकक्लोज भइसकेको छ। यी दुई लघुवित्तको शेयर खरिद गर्दा लाभांश पाइदैन। उत्पादनमूलक समुहका तीनै कम्पनीको बुकक्लोज भइसकेको छ। लाभांश घोषणा गरेका युनिलिभर, शिवम र ल्युब आयलको बुकक्लोज भइसकेकाले यी कम्पनीको शेयर खरिद गर्दा पनि लाभांश पाइदैन। यता ब्यापार कम्पनीको रुपमा सूचीकृत साल्ट ट्रेडिङ्ग कम्पनीले पनि लाभांश वितरणको लागि भोली नै बुकक्लोज गर्ने भएकोले अब शेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउदैनन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।