अहिलेको शेयर बजार खाना पकाउने कुकरले पहिलो पटक सिठ्ठी लगाउँदा निस्कने ठूलो आवाज जस्तै हो: रामेश्वर खनाल

Dec 04, 2020 06:41 PM merolagani

कालाे धन र स्मगलिङकाे पैसाले बजार बढाएकाे भन्ने कुरामा म सहमत छैन

करिव ९ महिनादेखि कारोना भाइरसको संक्रमणले पुर्याएको मानविय क्षति र अर्थतन्त्रमा पारेको प्रभाव विस्तारै सुधारोन्मुखतर्फ जान लागेको संकेत देखिएको छ । 

गत चैतदेखि सुरु भएको कोरोना भाइरसको महाविपतिले नेपालमा मात्रै १५ सय ५५ जनाको ज्यान लिइसकेको छ । कारोना भाइरसले मानविय क्षतिमात्रै होइन, आर्थिक क्षति पनि पुर्याएको छ ।मानविय क्षतिलाई पूर्ति गर्न नसकिएपनि आर्थिक क्षतिलाई पुनः पुरानै गतिमा फर्कने संकेतहरु देखिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार मौद्रिक नीतिको त्रैमासिक समिक्षामा पनि आर्थिक गतिविधिहरु पुनः गति लिन थालेको बताएका छन । केन्द्रीय बैंकले कोरोना भाइरसले अगाडिको तुलनामा असारमा बिभिन्न क्षेत्रहरुमा औसत २५ प्रतिशत क्षमतामा सञ्चालन भएकोमा हाल त्यो दर बढेर ४८ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक गरेको छ । यसले कोरोना कोरोना भाइरसको संक्रमणले अर्थतन्त्रमा पारेको प्रभाव कम हुँदै गएको देखाउँछ ।

यता, अर्थतन्त्रको ऐनका रुपमा लिएको शेयर बजारले दैनिक नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ । नेप्से बढेर २०५५ अंकमा पुगेको छ । यसले पनि अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको प्रष्ट हुन्छ । हुन त अहिले विश्वका अधिंकाशं मुलुकमा शेयर बजारले नयाँ रेकर्ड बनाउँदै अगाडि बढेका छन् । छिमेकी मुलुक भारतीय शेयर बजार मापन गर्ने सेन्सेक्स ४५ हजार नजिक पुगेको छ ।

पछिल्लो समय कारोना भाइरसको प्रभाव केही कम हुन थालेको र खोपको विकास हुन थालेकाले पनि विश्व अर्थतन्त्र पुनः सुधारोन्मुख गतिमा जान थालेको देखिन्छ । नेपालको आर्थिक गतिविधिहरु पनि क्रमश बढन थालेका छन् । कोरोना भाइरसले समग्र अर्थतन्त्रमा पारेको प्रभाव, अर्थतन्त्रले आगामी दिनमा लिने बाटो, शेयर बजारलगायतका बिषयमा पूर्व अर्थसचिव रामेश्वर खनालले मेरो लगानीका बिष्णु बेल्वासेसँग गरेको कुराकानी 

गत चैतदेखि कारोना भाइरसको संक्रमणले आर्थिक क्षेत्र तहस नहस पार्ने काम गरेको छ । अहिलेसम्मको अध्ययनले तपाईले कोरोना भाइरसले खासगरी कुन कुन क्षेत्रमा बढी प्रभाव पारेको देख्नु भयो ?

कोरोना भाइरसले मुख्यतया रोजगारी र समष्टिगत उत्पादनमा असर पार्ने काम गरेको छ । अनौपचारिक र औपचारिक दुबै रोजगारीमा असर पारेको छ । त्यसमा पनि अनौपचारिक क्षेत्रमा रोजगारीमा बढी प्रभाव पार्ने काम कोरोना भाइरसले गर्यो । यसबीचमा अनौपचारिक क्षेत्रमा काम गर्ने धेरैले रोजगारी गुमाउन पुगे ।

औपचारिक क्षेत्रमा काम नभएपनि तलब पाइरहेका छन् । औपचारिक क्षेत्रमा काम गर्ने चाहे त्यो निजी क्षेत्र,समुदाय र सरकारीमा नै काम गर्ने किन नहुन काम नभएपनि तलब पाइरहेका छन् । कोरोना भाइरसको सुरुको चरणमा तलव नपाएको गुनासो सुनिएपनि अहिले भने त्यस्तो गुनासो सुन्नु परेको छैन् ।

अनौपचारिकमा पनि अलिकति समस्या देखिएको पर्यटन क्षेत्रमा हो । त्यसमा पनि निकै कम ठाउँमा त्यस्तो समस्या देखिएको छ । खासगरी नेपालका चार पर्यटक क्षेत्र काठमाडौंका केही होटलहरु, पोखरा, लुम्बिनी र सौराहमा अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारले कारोनाका कारण रोजगारी गुमाउन पुगे । अरु क्षेत्रमा तलबै नपाउने गरी कामदारलाई हटाइएको देखिएको छैन् ।

त्यो बाहेक अनौपचारिक क्षेत्रमा गाँउबाट शहर आएर काम गर्नेले पनि खासै रोजगारी पाउन सकेका छैनन् । काठमाडौंमा आएकाले पनि काम पाउन सकेका छैनन् । काठमाडौंबाट गाउँ फर्केकाले पनि स्थापित हुन सकेका छैनन् । यो केही समय जारी रहने देखिन्छ ।

कोरोना भाइरसको खोप नेपालमा आइसकेपछि पनि तुरुन्तै गुमेको रोजगारी फर्कने अवस्था देखिदैन् । रोजगारी गुमेका सुदुरपश्चिमका मानिसहरु रोजगारीका लागि भारततिर जान खोजेका छन् । तेस्रो मुलुकमा जानका लागि श्रम स्विकृति लिन ठिक्क परेका मानिसहरु पनि अहिले निदाएका छन् भन्ने सुनिन्छ ।

रोजगारी गुमाउदा त्यसले अर्थतन्त्रमा पनि त असर गर्छ । रोजगारी गुमाउँदा मुलुकको अर्थतन्त्रको कुन पाटोलाई बढी असर पारेको छ ?

कोरोना भाइरसका कारण सबैभन्दा बढी असर रोजगारीमा परेको हुनाले मानिसको बस्तु किन्ने क्षमता  घटेको छ । उपभोग घटने वित्तीकै आयातमा आधारित उपभोग्य बस्तु घटन पुग्यो । यसले व्यापार घाटा पनि घटायो । घटेको व्यापार घाटालाई घटेको रोजगारीसँग पनि दाज्नु पर्ने हुन्छ ।

रोजगारीले अर्थिक बृद्धिमा कतिको असर पार्ने काम गर्छ ?

रोजगारीले आर्थिक बृद्धिमा केही असर परेको छ । उत्पादन बृद्धिमा गएको आर्थिक वर्षको अन्तिम त्रैमासिक अर्थात बैशाख, जेठ र असारमा जुन किसिमले असर पारेको थियो त्यो असर अहिले साउन, भदौै र असोजमा कम परेको जस्तो देखिन्छ । साउनदेखि भदौको पहिलो सातासम्म निषेधाज्ञाका कारण केही असर गरेपनि असोजदेखि त आर्थिक गतिविधीहरु राम्रैसँग सञ्चालन हुन थालेका छन् ।

पछिल्लो समय निर्मााणका काम पनि सुरु भएको देखिन्छ । सिमेन्ट र छडको आपूर्ति बढेकोले पनि निर्माणका काम अगाडि बढेको प्रष्ट हुन्छ ।

कोरोना भाइरसले हामीले पहिले गरेको अनुमान भन्दा त कम असर पारेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको बैशाख, जेठ र असारमा जुन किसिमको ऋणात्मक असर कारोना भाइरसले पारेको थियो । त्यसको तुलनामा अहिले कम असर पार्न थालेको छ ।

गत आर्थिक वर्षको बैशाख, जेठ र असारमा अर्थतन्त्र नकारात्मकमा गएको हुनाले चालु अर्थिक वर्ष भरी पनि कुल ग्राहस्थ उत्पादन (जीडीपी) घटने अनुमान गरिएको थियो । गत अर्थिक वर्षमा आर्थिक बृद्धि शुन्यको हाराहारीमा पुगेको अनुमान गरिएको छ । गत आर्थिक वर्षको सुरुको ६ महिनामा ठिकै थियो । त्यसपछिको तीन महिनामा अलि घटेको थियो । अन्तिम तीन महिनामा बेसरी नै घटन पुग्यो ।

त्यसको तुलनामा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मुलुकको आर्थिक अवस्था सुधारोन्मुख छ । आर्थिक बृद्धि धनात्मक हुने देखिएको छ । तर, तथ्यांकमा नै यति प्रतिशतले यो चालु आर्थिक वर्षको तीन महिनामा यति आर्थिक बृद्धि भएको छ भन्न त सकिने अवस्था छैन् । तथ्यांक बिभागले लेखाजोखा गरेर तथ्यांक निकाल्दै होला ।

चालु आर्थिक वर्षमा आर्थिक बृद्धि कति हुने सम्भावना देख्नु भएको छ ?

मेरो बिचारमा चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४ देखि ५ प्रतिशतको बीचमा आर्थिक बृद्धि भएको हुनुपर्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हामीले राम्रो गरेका छौं कि जस्तो लागेको छ । राजश्व असुली पनि राम्रै भएकाले यसको जीडीपीमा राम्रै काम गरेको हुनुपर्छ । पहिलो तीन महिनामा सरकारले उठाउने राजश्व घटेको छैन् । जुन हिसाबले बढनु पर्ने हो त्यो अनुसार राजश्व बढन सकेको छैन् । त्यो अलग बिषय हो ।

मैले पहिला पनि भनिसके रोजगारी गुमेको हुनाले उपभोग पनि घटेको छ । तर, विदेशबाट आउने रेमिटयान्सले उपभोग अत्याधिक घटेन सकेको छैन् । बिदेशबाट आउने रेमिटयान्स बढेको छ । विदेशबाट आउने रेमिटयान्स नघटेपनि स्वदेशमा बसेकाले रोजगारी गुमाउन पुग्दा आम्दानी घटेकोले उपभोग पनि अलिकति घटेको हो ।

तर विदेशबाट आउने रेमिटयान्स र लगानी बढिरहेको हुनाले उपभोगमा जुन हिसावले ह्मउन्मुख हुनु पर्दथ्यो त्यो हदसम्म हसउन्मुख नभएकाले अर्थतन्त्रमा सकारात्मक नै छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ देखि ५ प्रतिशतकोबीचमा आर्थिक बृद्धि भएको हुनु पर्ने मैले अनुमान गरेको छु ।

कारोना भाइरसले कृषि क्षेत्रमा असर पारेको छैन् । कृषि क्षेत्रले २८ देखि २९ प्रतिशत जीडीपीमा योगदान गर्छ । पर्यटन बाहेक सेवा क्षेत्रमा पनि ज्यादै असर पारेको देखिदैन् । खासगरी उत्पादनमूलक उद्योगमा गत आर्थिक वर्षको पछिल्लो तीन महिनामा भन्दा यो आर्थिक वर्षको पहिलो तीन महिनामा कम असर पारेको छ । तपाइले उद्योगपतिलाई सोध्नु भयो भने पनि यो कुरा थाहा पाउनु हुने छ ।

चालु आर्थिक वर्षको भदौ र असोजमा उद्योगहरु राम्रो गरी सञ्चालन भएका छन् । उद्योगहरु राम्रैसँग सञ्चालनमा भएको कुरा नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि देखाउँछ । ऊर्जाको उपयोग बढेकाले पनि उद्योगहरु राम्रैसँग सञ्चालन भएको पुष्टि हुन्छ ।

तपाईले उद्योग व्यापार बढेको त भन्नु भयो तर बैंकबाट ऋण लिएर लगानी थपेको त देखिदैन । अहिले पनि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) १ खर्ब भन्दा बढी छ । लगानीयोग्य रकमको अभाव हुने सम्भावना कति देख्नु हुन्छ ?

तरलताको कुरामा त नेपाल राष्ट्र बैंक र सरकारले अतिरिक्त १ खर्ब ५० अर्बको प्रवन्ध गरि दिएको हुनाले त्यो पैसा बजारमा गएको छैन । बजारमा रकम बढी भएकाले ५० अर्ब राष्ट्र बैंकले यही हप्ता बजारबाट तानेको छ ।
विगतवर्षहरुमा पुस र माघमा तरलतामा कमी (संकुचन) आउने गर्दथ्यो । अहिले त्यो तहमा तरलता संकुचन नआउला । केही गरी तरलताको अभाव हुने अवस्था आयो भने पनि नेपाल राष्ट्र बैंकले बजारबाट तानेको १ खर्ब ५० अर्ब पुनः बजारमा पठाएर पनि सन्तुलन मिलाउने काम गर्ने छ ।

अहिले खासगरी होटल व्यवसायीहरु र केही उद्योगीले राष्ट्र बैंकले ऋण तिर्ने भाका सारी दिएकाले पनि सहज अवस्थामा छन् । कतिपयले पुससम्मको त कतिपयले १ वर्षको समय पाएका छन् । उनीहरुले अतिरिक्त ऋण लिनु पर्ने देखिदैन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि ऋणको माग बढदै गएको देखाएको छ । यसले पनि आर्थिक बृद्धि सकारात्मक दिशातिर गइरहेको देखिन्छ । ऋण लिने क्रम बढेपनि तरलताको अभाव होला भनेर भन्न सक्ने अवस्था देखिदैन् ।

नेपाल राष्ट्र बैंकले बिहीबारमात्र मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेको छ । त्रैस्रो त्रैमासिक समिक्षामा खासै परिवर्तन गरेको छैन् । परिवर्तन गर्नु पर्ने आवश्कता थियो कि थिएन ?

अहिले नै मौद्रिक नीतिमा कुनै परिवर्तन गर्नु पर्ने अवस्था छैन् । मौद्रिक नीति अर्धवार्षिक (पुससम्म) को समिक्षा गर्दा त्यतिबेला भने केही समस्या भएका बुदाँलाई परिवर्तन गर्न सकिन्छ । पुससम्म राष्ट्र बैंकले बैंकको सावाँ र ब्याज बुझाउने समय दिएकाले पनि अहिले नै समिक्षा गर्नु पर्ने देखिदैन् । कर्जा र ब्याज भुक्तानीको म्याद पुसमा सकिएपछि कतिले तिर्छन र कतिले तिर्दैनन् त्यो हेरेर समिक्षा गर्दा राम्रो हुन्छ । अहिले ऋणको ब्याज पनि धेरै बढेको छैन र बचतको ब्याजदर पनि धेरै घटेको छैन् । अहिले मौद्रिक नीति खासै नचलाउनु नै ठिक हुन्छ ।

अहिले विश्व भरका शेयर बजार बढेका छन् । नेपालको शेयर बजार पनि निकै माथि अर्थात २०५५ अंकमा पुगेको छ । अहिले शेयर बजार बढाइलाई कतिपयले कृत्रिम बढाइ भनेका छन् भने कतिपयले बजार बढनुलाई स्वभाविक मानेका छन् । यसबारेमा तपाई के भन्नु हुन्छ ?

नेपालको शेयर बजार तल्लो विन्दुमा थियो । ज्यादै दबिएर बसेको थियो । तर पछिल्लो समय बढेको छ । यो बढाइलाई मैले स्वभाविकै मानेको छु । दबिएर बसेको बस्तुमाथि आउनलाई ज्यादै बल प्रयोग हुन्छ । खाना पकाउने कुकरको सिठ्ठी पहिलो पटक लाग्दा पनि जोडले आवाज निकाल्छ । त्यसपछि विस्तारै वाफ बाहिर गएपछि सिठ्ठीको आवाज कम हुँदै जान्छ । अहिलेको शेयर बजारको बढाइ पनि त्यही हो । तल्लो विन्दुमा थियो माथि आउँदा जोडले आयो ।

शेयर बजार लामो समय न्यूनतम बिन्दुमा बस्यो । त्यो अहिले ठिक्क तहमा आएको छ ।

बजार बढनुमा अर्थमन्त्रीको परिवर्तनले पनि असर पारेको हो । नयाँ अर्थमन्त्री आएपछि केही गर्छन कि भन्ने आशाले पनि लगानीकर्ताले शेयर किन्न पुगेको देखिन्छ । त्यसैगरी, कोरोना भाइरसको प्रभाव पनि कम हुँदै गएको छ । आर्थिक गतिविधी पनि सुधारउन्मुख हुँदै गएको छ । शेयर धितो राखेर लिइने ऋणको ब्याजदर पनि कम छ । यी तीन कारणले शेयर बजार बढन पुगेको हो । अहिलेको शेयर बजारको बढाइलाई स्वभाविक नै मान्नुपर्छ ।

केहीले अहिलेको शेयर बजार बढनुको कारण कालो धनलाई सेतो बनाउन थालेको र स्मगलिङको पैसा शेयर बजारमा आएका कारण बताउने गर्छन् । म त त्यसमा सहमत छैन् । शेयर बजारको अहिलेको बृद्धि बजारको माग हो । न्यूनतह (सरफेर) मा रहेको नेप्सेले एकैचोटी फोर्स क्रियट गरेका कारण उच्च दरले बढेको हो ।

तर कतिपयले शेयर बजारको अहिलेको बढाइलाई अस्वभाविक भनेका छन नि ?

अन्तरनिहीत उद्देश्यहरु खोजीगर्दा त्यस्तो अस्वभाविक बढेको देखिदैन् ।

अर्थतन्त्रमा सुधारका संकेत कतिको देख्नु भएको छ ?

म केही दिन पहिला सौराहा, लुम्बिनी, पोखरामा एक हप्ता घुमफिर गरेर आए । ती पर्यटकीय क्षेत्र पनि विस्तारै पुरानै गतिमा जाने स्थितिमा छन् । मानिसहरु घुम्न नपाएर छटपटाइरहेका छन् । कोरोना भाइरसको संक्रमण कम हुने वित्तीकै आन्तरिक पर्यटक भएर घुम्न निस्कने धेरै देखिन्छन् । विदेशी पर्यटक तत्काल नआएपनि आन्तरिक पर्यटकले पोखरा, सौराहा र लुम्बिनीका व्यवसायी उकास्न धेरै समय लाग्ने देखिएको छैन् ।

पोखरामा प्याराग्लाइडिङमा यसपाली देखेको भिड पहिला कहिल्यै देखेको थिइन् । बाग्लुङ, पर्वतबाट विहान घुम्न आउने अनि बेलुका फर्कनेको संख्या ज्यादै थियो । आन्तरिक पर्यटकले पनि पोखरा, सौराहा र लुम्बिनी तुरुन्त उस्कने देखिन्छ ।

कोरोना भाइरसको संक्रमणले एउटा राम्रो काम के गरेछ भने होटल, प्याराग्लाइडिङमा चर्को शुल्क लिने गरिएको थियो । त्यसमा सुधार आएछ अर्थात करेक्सन आएछ । प्याराग्लाइडिड. चढन ७ हजार तिर्नुपथ्यो । त्यो अहिले घटेर ३५ सयमा आएछ । ७ हजार तिर्न नसक्ने मानिस ३५ सय तिरेर चढन सक्ने भएछन् । दोब्बरले शुल्क घटेपछि धेरै मानिस प्याराग्लाइडिङ चढन सक्ने भए । त्यसैगरी, होटलहरुमा बस्ने शुल्क पहिला धेरै थियो । अहिले ठिक्क तहमा आएछ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न यस्ता खालका कार्यले मदत गर्छ । पर्यटन क्षेत्र पनि यसले दीगो बनाउने काम गर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।