नागरिक स्टक डिलर घुमाउरो पाराले बजारमा छिर्यो, ब्रोकरबाट धमाधम शेयर किन्दै

Jan 10, 2021 06:06 PM Merolagani



विष्णु बेल्वासे

नागरिक स्टक डिलर घुमाउरो पाराले बजारमा छिरेर शेयर खरिद गर्न थालेको छ । नेपाल धितोपत्र बोर्डले डिलरको कामका लागि अन्तिम स्वीकृत दिन ढिला गरेपछि नागरिक स्टक डिलरले ब्रोकर मार्फत धमाधम शेयर खरिद गर्न थालेको हो ।

करिव ५ अर्ब रुपैयाँ लिएर बजारमा छिरेको नागरिक स्टक डिलरका एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा मेरो लगानीलाई बताए । ‘बोर्डले स्टक डिलरको काम गर्नका लागि अन्तिम स्वीकृत दिन ढिला गरेपनि ब्रोकरमार्फत शेयर खरिद गर्ने कामको थालनी गरिसकिएको छ,’ उनले भने, ‘तर, हामीले यस बिषयमा कसैलाई भनेका छैनौं ।’ अहिलेसम्म कुन कम्पनीका कति कित्ता शेयर स्टक डिलर कम्पनीले खरिद गर्यो भन्ने सम्बन्धमा भने नागरिक स्टक डिलरका ती उच्च अधिकारीले बताउन चाहेनन् ।

नागरिक स्टक डिलरले नयाँ बानेश्वरको कृष्ण टावरमा कार्यालय स्थापना गरिसकेको छ । उक्त कार्यालय सञ्चालन गर्न लाग्ने खर्च र कर्मचारीलाई तलब खुबाउनलगायतका काममा लागि आम्दानी गर्नु पर्ने भएकाले पनि घुमाउरो पाराले शेयर बजारमा हात हाल्न बाध्य भएको ती अधिकारीले बताए ।

उता, बोर्डले सफ्टवेयर, डेटा प्याकअप, डेटा स्टोरेजलगायतको पूर्वाधार तयार पारेपछि डिलरलाई अन्तिम स्वीकृति दिने बताउँदै आएको छ।नागरिक स्टक डिलरले पूर्वाधार तयार पारिसकेको जानकारी गएको धितोपत्र बोर्डको प्रवक्ता निरज गिरीले बताए । ‘पूर्वधार तयार भए नभएको हेर्नका लागि एउटा टिम जान लागेको छ,’ उनले भने, ‘त्यो टिमले दिएको अध्ययन प्रतिवेदनका आधारमा स्टक डिलरलाई अन्तिम स्वीकृति दिने वा नदिने भन्ने बिषयमा निर्णयमा पुग्छौ ।’

गत असोजको दोस्रो साता नागरिक स्टक डिलरले नेपाल राष्ट्र बैंकबाट अवकास पाएका तत्कालीन कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको छ । उनले स्टक डिलरलाई नयाँ उचाइमा उद्घोष गरेका छन् । त्यसैले पनि शेयर खरिद गर्न बाध्य भएको नागरिक स्टक डिलरको भनाइ छ ।

लगानीकर्ताले नागरिक स्टक डिलर कहिले बजारमा प्रवेश गर्छ भनेर प्रतिक्षा गरेका थिए । तर, बजारमा प्रवेश गरेको चाल भने कमैले पाएका छन् ।

पछिल्लो समयमा शेयर मूल्य बढेको पनि नागरिक स्टक डिलरको प्रवेशका कारण भएको नागरिक स्टक डिलरका ती उच्च अधिकारीले दावी गरे । नेप्से दैनिक उकालो लागेर २२३५.७२ अंक पुगेको छ । साताको पहिलो कारोबार आइतबार ४१.२४ अंकले बढेको छ । यसरी बजार उकालो लाग्नुको कारण पनि नागरिक स्टक डिलरको प्रवेशलाई लिने गरिएको छ ।

नागरिक स्टक डिलरको प्रवेशले लगानीकर्ताको मनोबल बढ्ने

नागरिक स्टक डिलर कम्पनीले नयाँ बानेश्वरको कृष्ण टावरमा कार्यालय खोलेको लामो समय भएको छ । नागरिक लगानी कोष (सिआईटी) का कर्मचारी राखेर उक्त कार्यायलबाट स्टक डिलरको काम गर्ने अन्तिम तयारीमा पुगेको छ ।

नागरिक स्टक डिलरले नयाँ कार्यालय खोलेपनि नेपाल धितोपत्र बोर्डले भने स्टक डिलरको काम गर्न अनुमति दिएको छैन् । भदौदेखि स्टक डिलरको काम गर्ने भनिएपनि बोर्डले अन्तिम स्वीकृति नदिएका कारण पुसको अन्त्यतिर पनि काम हुन नसकेको नागरिक स्टक डिलरको भनाइ छ ।

नागरिक बिधिबत रुपमा डिलर सञ्चालनमा आए यसले शेयर बजारमा अझै सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताको छ ।

केही लगानीकर्ताले नागरिक स्टक डिलरको औपचारिक प्रवेश भएको खबर आए शेयर बजार अब बुलिस ट्रेन्ड्स जाने बताउँदै आएका छन् ।

केही लगानीकर्ताले नागरिक लगानी कोषलाई मार्केट डिलरको काम गर्न दिँदा पनि यसले बजारलाई खासै अर्थ नराख्ने बताउँदै आएका छन् । पूँजी बजार ठूलो आकारको भएकालेले नागरिक लगानीकोषले लगानी गर्ने ५ अर्बको रकमले बजारलाई तल माथि गर्न सक्ने सम्भावना नभएकाले पनि बजारमा यसको प्रभाव नगन्य हुने शेयर बिश्लेषकको भनाइ छ ।

नागरिक लगानी कोषलाई मार्केट डिलरको काम गर्न दिँदा बजारमा सकारात्मक सन्देश जाने र शेयर बजार बढन सक्ने शेयर बिश्लेषकले अनुमान गरेका छन् । ११०० अंकको नजिक रहेको नेप्से अहिले बढेर २२०० माथि पुगेको छ । नागरिक लगानी कोष शेयर बजारमा प्रवेश हुन लागेकोले बजार बढने सम्भावना पनि त्यतिकै देखिएको छ ।

नागरिक लगानी कोष सहायक कम्पनी स्टक डिलरले शेयरबजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्ने, विक्री नभएको शेयर किन्ने जस्ता काम गर्ने भएकाले शेयर बजार धेरै नघटने स्टक ब्रोकरको भनाइ छ । उक्त कम्पनी सञ्चालनले शेयर बजारमा स्थायित्व आउने लगानीकर्ताले अपेक्षा गरेका छन् ।

नागरिक लगानी कोषले शेयर किनबेच गर्ने उद्देश्यले छुट्टै स्टक डिलर कम्पनी स्थापना गरेको हो । सिआईटीको ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी नागरिक स्टक डिलर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएसँगै सिईआइटीलाई औपचारिक रूपमै स्टक डिलरको काम गर्ने बाटो खुलेको थियो ।

सिआईटीको सहायक कम्पनीका रूपमा स्थापना गरिएको उक्त कम्पनीको चुक्ता पूँजी ५ अर्ब र अधिकृत पूँजी १० अर्ब छ । त्यसमा सिआईटीले २ अर्ब ५५ करोड लगानी छ । उक्त कम्पनीमा नेपाल टेलिकमको ९ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत शेयर स्वामित्व छ ।

सिआईटीका अनुसार नेपाल टेलिकमले ४५ करोड र नेपाल पुनर्बीमा कम्पनीले ५० करोड शेयर लगानी गरेका छन् । बाँकी रहेको ३० प्रतिशत शेयर भने सर्वसाधारण अर्थात् आईपीओमार्फत जुटाइने सिआईटीको भनाइ छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर १ अर्ब ५५ करोड बराबरको आईपीओ जारी गर्ने सम्भावना छ ।

साढे ३ अर्ब चुक्ता पुँजी रहेको नागरिक स्टकले १ अर्ब ५० करोडको आइपीओजारी गरेपछि चुक्ता पुँजी ५ अर्ब पुग्ने छ । चुक्ता पुँजीको ६ गुणासम्म बास्केट फन्ड तयार गर्ने व्यवस्था छ ।

कार्यविधिमा स्टक डिलरले न्युनतम एक हजार कित्ता शेयर मात्र खरिद बिक्री गर्न पाउने व्यवस्था छ । विगत २ वर्षदेखि नाफामा रहेका,लगानीकर्ताहरुको संख्या कम्तीमा १० हजार रहेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको र विगत एक वर्षको कारोबार दिन मध्ये कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएका कम्पनीहरुमा मात्रै स्टक डिलरले लगानी गर्न पाउनेछन् ।