छिमेकी र आफन्तले भनेकाे भरमा आइपीओमा लगानी गर्ने र पछि हराउने बढी देखिए

Jan 19, 2021 08:00 AM Merolagani

ज्याेति शाह

ललितपुर छम्पीकी बिन्दा अधिकारीको परिवारले मेरो शेयर खाता (डिम्याट अकाउण्ट) खालेको तीन वर्ष जति भयाे। बिन्दा सदस्य रहेको सहकारीमा काम गर्ने एक बहिनीको आग्रहमा दुई छोरी, एक छोरा र श्रीमानसहित परिवारका पाँच सदस्यले खाता खालेको उनी बताउँछिन्।

ती बहिनीको सल्लाहमा दुईवटा जलविद्युत कम्पनीको आइपीओमा बिन्दाले उतिबेला आवेदन पनि दिइन् तर त्यसपछि उनको परिवारको कसैको पनि डिम्याट खाता सक्रिय रूपमा सञ्चालनमा छैन। बिन्दा भन्छिन्, 'आम्दानीको राम्रो स्रोत भनेर ती बहिनीको सल्लाहमा खाता खोले तर पछि विश्वास नै लागेन,' उनी थप्छिन्, 'छिमेकी र आफन्तले पनि शेयर भनेको जुवा हो हामी जस्ता सोझा मान्छेलाई काम छैन, फसिन्छ भनेपछि त्यता मनै गएन।' तीन वर्ष पहिले भरेको जलविद्युतको शेयर आफूलाई परे नपरेको वा के कति नाफा छ? भन्ने समेत उनलाई जानकारी छैन।

सञ्चयकोषका सञ्चयकर्ताले अनिवार्य भर्न पाउने भएपछि माथिल्लो तामाकोशीको आईपीओमा सीतापाइलाका सुदन क्षेत्री पहिलोपटक शेयर बजारमा जोडिए। शेयर बजारबाट आम्दानी हुने भन्दै उनले दाजुभाई, भाउजू, बुहारी र बुबा आमासहित सातजनाको डिम्याट खाता खोले। माथिल्लाे तामाकोशीको आईपीओपछिका एक दुईवटा आईपीओमा परिवारका सबै सदस्यहरुको आवेदन पनि उनले नै दिए। सुदन आफैले भने केही समय दोस्रो बजारबाट केही शेयर किने पनि। केही आईपीओसहित दोस्रो बजारबाट किनेको तीन चार वर्ष अघिदेखिको लक्ष्मी बैंकको शेयर आफ्नो खातामा रहेको सुदन बताउँछन्। 'अरु नै काममा व्यस्त हुन थालियो, बजारबारे सहयोग र सिकाउने साथी पनि विदेश हिँडेपछि खासै चासो गएन,' उनले मेरोलगानीसँग भने।

शेयर बजारमा इन्ट्री भएका तर, सञ्चार तथा सूचना अभाव र समाजमा व्याप्त भ्रमका कारण निष्क्रिय रहेका सुदन र बिन्दा त प्रतिनिधि पात्र मात्रै हुन्। नेपालको शेयर बजारमा यस्ता पात्र लाखौंको संख्यामा छन्।

प्राथमिक बजारमै निष्क्रिय छन् आधा लगानीकर्ता

शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका अनुसार झण्डै २५ लाख लगानीकर्ताको नाममा डिम्याट खाता खुलेको छ। तर, गत पुस २४ मा खुलेर पुस २८ गते बन्द भएकाे चन्द्रागिरी हिल्सको आईपीओ आवेदन हेर्दा आधाभन्दा धेरै मानिस अझै प्राथमिक बजारमा निष्क्रिय रहेको देखिन्छ। साे समयमा २४ लाखमध्ये जम्मा १२ लाख लगानीकर्ताले आईपीओमा आवेदन गरेको बोर्डले जनाएको छ। उक्त आईपीओ नेपालमा हालसम्मकै सबैभन्दा बढीले भरिएको हो। यस अघिको दुईवटा बीमा कम्पनीको आईपीओमा पनि ५ लाखको मात्रै आवेदन परेको थियो।

हाल शेयर बजारमा सक्रिय रहि दैनिक रुपमा कारोबार गर्नेको संख्या ४० हजारदेखि ५० हजार रहेको बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

निष्क्रिय लगानीकर्ताले बजारबाट गुमाएको अवसर

लगानीकर्ता शेयर बजारमा निष्क्रिय बन्दा धेरै अवसर गुमाएका प्रशस्त उदाहरणहरु छन्। जसमध्ये पछिल्लो समय नेपाल पुर्नबीमा कम्पनीको आईपीओ प्रमुखमा पर्ने गर्दछ।

चैत्र ७ गते खुलेको सो कम्पनीको आईपीओका लागि तीन लाख ९० हजार आवेदन परेको थियो। उक्त आईपीओ भर्ने सबै व्यक्तिको भागमा शेयर परेको थियो। १०० रुपैयाँ प्रतिकित्ता भर्दा एक व्यक्तिले न्यूनतम ४० कित्ता शेयरसम्म पाएका थिए। त्यसपश्चात जेठ ११ गते कम्पनीको सूचिकृत भएको उक्त शेयर दोश्रो बजारका लागि भने सो पछि खुलाइएको थियो। जसअन्तर्गत तथ्यांकमा उक्त कम्पनीको सबैभन्दा बढी शेयरमूल्य एक हजार ८३६ रुपैयाँसम्म पुगेको थियो।

बिन्दा अधिकारीले चासो नदिएका कारण तथा पर्याप्त सुचना नभएका कारण पुर्नबीमा कम्पनीको आईपीओ भरिनन्। तर, सो आईपीओ नभर्दा उनले घाटा बेहोर्नुपर्यो। यदि बिन्दाले यो आईपीओ भरेकी भए उनले प्रतिव्यक्ति गरेको चार हजार रुपैयाँ लगानी ७३ हजार ४४० रुपैयाँसम्म पुग्न सक्थ्यो। यस हिसाबले उनको लगानीभन्दा उनलाई ६९ हजार ४४० रुपैयाँ फाइदा हुने थियो। उनको परिवारका सबै पाँच जना व्यक्तिकै लागि आवेदन दिएको भए गरिएको २० हजार लगानीबाट स्वत : तीन लाख ४७ हजार २०० रुपैयाँसम्म नाफा कमाउन सक्थिन् उनले।

यस्तै, सुदन क्षेत्रीले पनि घरबाट फेसबुक चलाउने समयमा उक्त आईपीओ भरेको भए परिवारका सात जनाको आवेदनका लागि २८ हजार रुपैयाँ लगानी गर्दा चार लाख ८६ हजार ८० रुपैयाँसम्म विशुद्ध आम्दानी गर्न सक्थे। उक्त शेयर सो उचाइमा पुग्यो भन्ने थाहा पाएपछि भने अहिले उनलाई थकथक लाग्छ।

कसरी जोड्ने उनीहरुलाई बजारसम्म?

जनसंख्याका आधारमा प्राथमिक बजारमा ८ देखि ९ प्रतिशत सर्वसाधारणहरु आवद्ध छन्। दोश्रो बजारमा भने आवद्ध हुनेको संख्या निकै कम रहेको छ। उक्त बजारमा १ देखि २ प्रतिशत मानिस संलग्न छन्।

ब्रोकर एसोशियसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार हाल प्राथमिक बजारमा देखिएको संलग्नता सन्तोषजनक रहेको छ। तर, दोश्रो बजारमा भने सहभागिता बढाउनु्पर्ने उनी जोड दिन्छन्। अध्यक्ष मैनाली भन्छन्, 'लगानीकर्ताहरुलाई सक्रिय बनाउनका लागि जनचेतना तथा पहुँच विस्तारको आवश्यकता रहेको छ। जनचेतनाका लागि धितापत्र बोर्ड, ब्रोकर एसोशियसन तथा सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य अघि बढिरहेको छ,' उनी थप्छन्, 'पहुँच विस्तारका लागि भने आधिकारिक प्रतिनिधिको नियुक्तिका लागि पहल गर्नुपर्छ। देशका सबै क्षेत्रमा पहुँच विस्तार गर्न सके राम्रो प्रगति हुनेछ।'

धितोपत्र बोर्डले ब्रोकर एसोशियसनसँगको सहकार्यमा आधिकारिक प्रतिनिधि चयन गर्नका लागि अध्ययन गरिरहेको धितोपत्र बोर्डका एक अधिकारीले मेरोलगानीलाई बताए। स्थानिय निकायसम्म लगानीका लागि सचेतना जगाउन यस्ता प्रतिनिधि चयन गरिने बोर्डले बताएको छ। 'दूर-दराजमा मानिसहरुलाई कारोबारका लागि डिम्याट तथा ब्राेकर खाता खोल्न, कारोबार सहजीकरण गर्नका लागि यस्ता प्रतिनिधिले सहयोग गर्ने र उक्त कदमले लगानीकर्ताको संख्या तथा सहभागिता बढ्न मदत गर्ने आशा छ,' उनले भने। यसबाट दूर-दराजका सर्वसाधारणहरु लगानीका लागि आकर्षित हुने बोर्डको विश्वास रहेको छ।

यस बाहेक नियमित रुपमा अनलाईन प्रशिक्षण भइरहेको पनि बोर्डले जानकारी दिएको छ।

यसैगरी, कक्षा १० देखि कक्षा १२ का पाठ्यक्रममा शेयर शिक्षा समावेश गर्नका लागि राष्ट्र बैंक सहित सम्बन्धित सरोकारवालासहित बनेको कमिटिमा सुझाव दिएको पनि जनाएको छ।

बढ्दैछ लहर

देशभरमा तीन कराेडकाे जनसंख्यामा डिम्याट भर्नेको संख्या एक चौथाई पनि छैन। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)का अनुसार माघ ५ गते सोमबारसम्ममा २५ लाख ८२ हजार १०४ डिम्याट खाता खुलेको छ। माघ ४ गतेसम्म डिम्याट खाताको संख्या २५ लाख ३४५ थियाे। यस हिसाबले एकै दिन ८१ हजार ७५९ डिम्याट खाता थपिएकाे छ।

हाल दैनिक रुपमा औसतमा ३० हजारको हाराहारीमा डिम्याट संख्या थपिइरहेको सिडसएससिले जनाएकाे छ। पछिल्लो ६ दिन अर्थात पुस २६ गतेदेखि माघ ४ गतेसम्ममा देशभरमा कुल ७२ हजार ११ डिम्याट खाता थपिएको हो। 

सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले सोमबार २२ हजार नयाँ डिम्याट खाता खोलिएको मेरोलगानीलाई जानकारी दिए। आइतबार पनि ३० हजार खाता खुलेको उनले बताए। वेबसाइटमा भने शनिबार पनि खोलिएका खाताको एकैपटक तथ्यांक आउँदा एकैदिन धेरै खाता खोलेको देखिएको उनले खुलाए।

यद्यपी, लकडाउन पश्चात लगानीका लागि उपयुक्त क्षेत्र खोज्दै नयाँ लगानीकर्ताहरुको ओइरो शेयर बजारमा लागेको देखिन्छ। विशेषगरी पुस महिनापछि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको छ। हालसम्मकै धेरै आईपीओ निष्काशन गरिरहेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर धितोपत्र बोर्डबाट स्वीकृत भएपछि हितग्राही खाता खोल्नेमा सर्वसाधारणहरुको लगाव बढेको हो।

आईपीओतर्फ मानिसहरुको आकर्षणका साथै घरबाट नै शेयर कारोबार गर्न सक्ने सुविधाका कारण नयाँ लगानी गर्न चाहनेहरुको शेयर बजारमा झुकाव बढेको हो। यस उल्लासले लगानीकर्ताहरु, सम्बन्धित निकाय तथा समग्र अर्थतन्त्रलाई टेवा पुगेतापनि यो संख्या भने अझै पर्याप्त छैन।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।