बजार बढेर शेयरमूल्य उच्च भएका कम्पनीहरुमा लगानीकर्ताले नाफा बुक गर्दा शेयरमूल्य केहि घटेको थियाे। मूल्य घटेर केहि तल आएको अवस्थामा शेयर खरिद गर्नको लागि लगानीकर्ताले बाइङ सिग्नल देख्न थालेका हुन्।
बजारमा राजनीतिक प्रभाव र तरलता कम हुँदै गएको अवस्थामा ब्याजदर बढ्न सक्ने आँकलनले केहि लगानीकर्ता प्रोफिट बुक गर्नेतर्फ लागेका थिए। जसले गर्दा गत पाँच दिन बजारमा १६६ अंकको करेक्सन देखिएको थियो। तर साेमबार बजार पुनः ४० अंकले बढेकाे छ। दुई तीन महिनापछि बढ्न सक्ने ब्याजदरको कारणले अहिले नै बजार घट्नुपर्ने नदेखिएको पुर्व बैंकर तथा शेयर बजारका विश्लेषक अनलराज भट्टराई बताउछन्।
पछिल्लो पाँच दिनमा १६६ अंकको करेक्सनपछि सोमबार बजार पुनः सम्हालिएको हाे। अहिले बजारमा करेक्सन पुगिसकेको बताउदै केहि लगानीकर्ताले बजारमा खरिद बढाएका छन् भने केहि लगानीकर्ता अझै 'पर्ख र हेर' को अवस्थामा देखिएका छन्। साेमबार बजारमा सुधार आएपनि आगामी दिनमा बजार के हाेला? भन्ने अन्याेल उनीहरूमा देखिएकाे छ। जसले गर्दा साेमबारको बजारमा कारोबार रकम भने बढ्न सकेको छैन।
तर विश्लेषक भट्टराई भने बजार छोटो समयको करेक्सनपछि साेमबारबाट बाउन्स ब्याक भएको र हाललाई करेक्सन सकिसकेको बताउछन्। "तत्काल राष्ट्र बैंक र सरकारको पनि कुनै नीति परिवर्तन हुने अवस्था छैन यसले गर्दा बजार थप घट्नुपर्ने कारण छैन," भट्टराइले भने, "मेरो बुझाइमा करेक्सन सकिसकेको अवस्था हो।"
आगामी आर्थिक वर्षको बजेट पनि बजारलाई 'सपोर्ट' गर्ने नै आउने र कोरोनापछिको रिकभरी फेजमा केन्द्रिय बैंकको 'एकोमोडेटिभ मोनिटरी पोलिसि' र बैंकहरुका ब्याजदर एकल अंकमा नै रहनुले शेयर बजारलाई थप टेवा पुग्ने उनको भनाइ छ।
पछिल्लाे पाँच दिनमा आएकाे करेक्सनपछि बजारमा स्ट्रङ बाइङको अवस्था आएको उनले बताए। "बजारमा स्ट्रङ बाइङको सिग्नल देखिएको छ," उनले भने, "ब्याजदर बढ्न ३-४ महिना लाग्ला, ब्याजदर बढ्छ भनेर आज मार्केट घट्नुपर्ने कारण छैन।"

बजारमा कर्जा विस्तार 'एग्रेसिभलि' भइरहेको अवस्थामा तरलता सँकुचन आउने सम्भावन जहिलेपनि रहन्छ। तरलता सँकुचन आएपछि बैंकहरुले ब्याजदर बढाउनु सामान्य कुरा हो। तर, तत्कालै तरलता सँकुचन आउने र ब्याजदर बढीहाल्ने संकेत भने नदेखिएको भट्टराई बताउछन्। अहिले बैंकहरुको औषत सिसिडि रेशियो ७६ प्रतिशतकै हाराहारीमा रहेको बताउदै उनले केहि बैंकमा समस्या देखिएपनि समग्र बैंकिङ्ग इन्डस्ट्रिमा तरलता र ब्याजदर बढीहाल्ने संकेत नदेखिने बताउछन्।
सोमबारसम्ममा बैंकिङ्ग प्रणलिमा ७१ अर्ब रुपैयाँ तरलता रहेको केन्द्रिय बैंकले जनाएको छ। केन्द्रिय बैंकले कोरोना प्रभावित व्यवसायीलाई करिब २०० अर्ब रुपैयाँको पुनरकर्जा उपलब्ध गराउने जनाएको छ। जसमा ८२ अर्ब पठाइसकेको अवस्था छ भने झण्डै १२० अर्बको पुनरकर्जा आउनै बाँकी छ। यसले पनि बैंकिङ्ग प्रणलीमा तरलता सहज बनाउन सहयोग गर्ने भट्टराइको विश्वास छ।
बैंकिङ्ग प्रणलीमा केहि समय तरलता दबाब देखिए पनि सरकारको खर्च बढेसँगै त्यो सहज हुँदै जाने छ। जेठ र असारमा विगतको ट्रेण्ड हेर्दा करिब २०० अर्बको तरलता बढ्ने उनी बताउछन्।
अर्का लगानीकर्ता गणेश खड्काले पनि शेयर बजारको पछिल्लो गतिलाइ सामान्य करेक्सनको रुपमा लिएका छन्। बजारमा 'पोलिटिकल' परिस्थितिले गर्दा केहि करेक्सन देखिएको भएपनि थप घट्ने ठाँउ नदेखिएको उनले बताए।
शेयर बजार उच्च रुपले बढ्दै गएको अवस्थामा कतिपय राम्रो रिटर्न दिन नसक्ने कम्पनीहरुको शेयरमूल्य पनि उच्च रुपले बढेको थियो। जसले गर्दा यस्ता कम्पनीहरुमा जोखिम बढ्दै गएको थियो। शेयर बजारमा सूचीकृत कम्पनीहरुले दिने रिटर्नको आधारमा मूल्य निर्धारण हुनुपर्नेमा नेपालको सन्दर्भमा भने 'फाइनान्सिएल एनालाइस' भन्दा पनि 'पोलिटिकल एनलाइस' र 'परिस्थितिको आधारमा' कम्पनीको शेयरमूल्य निर्धारण हुने गरेको लगानीकर्ता गणेश खड्का बताउछन्। जुन कम्पनीले राम्रो रिटर्न दिन्छ त्यसको त्यहि अनुसार मूल्य कायम हुनुपर्ने अवस्थामा नेपालको परिस्थितिमा भने केहि फरक देखिएको उनी बताउछन्।
यता बजारमा तरलता अभाव हुनसक्ने र बैंकहरुले ब्याजदर बढाउन सक्ने आँकलन भइरहेको अवस्थामा आगामी चैत महिनामा बैंकहरुको आधारदर बढ्ने नदेखिएको उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका संयोजक अम्बिका प्रसाद पौडेल बताउछन्। उनले आफ्नो फेसबुकमार्फत फागुनमा भन्दा चैतमा बैंकहरुको आधार दर घटेर आउने बताएका छन्।
पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको प्रवेश धेरै भएको कारण पनि बजारमा उत्साह थपिएको लगानीकर्ताहरु बताउछन्। धेरै लगानीकर्ता बजार भित्रिदा बजारमा लगानी बढेको छ। गत एक वर्षअघिसम्म २-३ अर्बको कारोबार हुन मुस्किल पर्ने अवस्थामा अहिले ८ अर्बको कारोबार सामान्य भइसकेको अवस्था छ। सिडिएससिको तथ्याँक अनुसनर डिम्याट खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको अवस्था छ जबकी एक वर्ष अघिसम्म डिम्याट खाता खोल्नेको संख्या १५ लाख भन्दा कम थियो।