साना व्यवसायी तुलनात्मक रूपमा ठूला भन्दा इमान्दार हुन्छन् : डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष पोखरेल

Apr 16, 2021 05:52 PM Merolagani



मुक्तिनाथ आफै ‘पवित्र’ नाम हो त्यो जोगाउन मुक्तिनाथ विकास बैंकले तीन ‘मन्त्र’ सधै जप्ने गर्छ

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रदयुमन पोखरेल विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्षमा हालै निर्वाचित भएका छन् । 

करिव ९० को संख्या नजिक पुगेका विकास बैंकहरु मर्जर र एक्विजिसनमा गएर अहिले औलामा गन्न सक्ने अवस्थामा आइपुगेका छन् ।

गाँउ गाँउबाट वित्तीय साक्षरताको अभियान सञ्चालन गर्दै आएका विकास बैंकहरु अहिले भने ‘जोगाउनु’ पर्ने अवस्थामा आइपुगेको पोखरेलको भनाइ छ ।

अहिले विकास बैंकहरुको मर्जर वा एक्विजिसनमा गएर १७ वटामा झर्दै छन् । विकास बैंकहरु आवश्यकता भन्दा बढी मर्जर वा एक्विजिसनमा जान लागेका हुन कि भन्ने चिन्ता देखिन लागेको छ ।

अर्कोतिर लगानीयोग्य रकम (तरलता) को अभाव हुने हो कि भन्ने पनि चिन्ता छ । के तरलताको अभाव हुन थालेको हो भन्ने प्रश्न उनै नव निर्वाचित डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सिइओ प्रदयुमन पोखरेलाई मेरो लगानीका विष्णु बेल्वासेले सोधे ?

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांक हेर्ने हो ५ सय ६८ अर्बको रेमिटयान्स भित्रिएको छ । गत आर्थिक वर्षकाे साेही अवधिमा भन्दा करिव ११ प्रतिशतले रेमिटयान्स बढेको छ । प्रत्येक दिन २ अर्ब ७० करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्रिएको छ ।

अर्कोतिर, ‘ब्यालेन्स अफ पेमेन्ट’ हेर्ने हो भने ९७ अर्ब सकारात्मक छ । रेमिटयान्सका कारणले यो सबै भएको हो । रेमिटयान्स बढेका कारण तलतामा कमी हुन पाएकाे छैन् ।

अर्कोतिर, बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक वर्षको सात महिनासम्ममा ऋण लगानी ७ खर्ब ११ अर्बले बढेको छ । निक्षेप ५ खर्ब ८५ अर्बले बढेको छ । निक्षेप भन्दा ऋण लगानी १ खर्ब ७४ अर्ब बढीले बढेको छ । यसले गर्दा तरलतामा चाप देखिन थालेकाे छ ।

गत आर्थिक वर्षमा कोभिडका कारण ऋण लगानी भन्दा निक्षेप संकलन बढी भएका कारण बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थियो । गत आर्थिक वर्षमा निक्षेप भन्दा ऋण कम बृद्धि भएको थियो । सो रकम बजारमा थियो । जसले गर्दा अधिक तरलताको कुरा आएको थियो ।

अहिले निक्षेप भन्दा ऋण लगानी बढेको छ । यसले गर्दा विस्तारै विस्तारै ‘ब्यालेन्स’ मा आउदै छ ।
कोरोना भाइरसको असर कम हुँदै गएपछि ऋण लगानी बढ्दै गएको छ। अहिले फेरी कारोना भाइरसको संक्रमण बढ्दै गएको कुरा बाहिर आएको छ । यसले गर्दा पुनः अर्थतन्त्रमा असर गर्ने हो कि भन्ने शंका उत्पन्न गरेको छ ।

कोरोना भाइरसको प्रकोप बढेन भने आगामी दशैं नजिक गएर तरलताको अभाव हुन सक्ने देखिएको छ । तर, कारोनाको भाइरस बढ्दै गयो भने पुनः ऋण लगानी हुन नसक्ने अवस्था आउने र तरलता बढी हुने अवस्था आउन सक्छ । कोरोनाको दोस्रो चरणको असर देखिएन भने पुनः तरलताको अभाव हुने छ ।

तरलताको अभाव भयो भने त बैंकको ब्याजदर पनि बढने होला । आगामी दिनमा ऋणको ब्याजदर बढ्ने सम्भावना कति देख्नु भएको छ ?

ब्याजदर माग र आपूर्तिमा भर पर्ने कुरा हो । खुला अर्थतन्त्रमा बजारको ब्याज माग र आपूर्तिमा भर पर्ने गर्छ । निक्षेपकर्ताले ‘रिजनेवल रेट अप रिटर्न’ पाउनुपर्छ । जस्तो ब्याजदर मुद्धती खातामा ९ प्रतिशत छ । मूल्य बृद्धि ६ प्रतिशत छ भने वास्तविक ब्याजदर ३ प्रतिशत मात्रै हो । जहिले पनि ‘रियल इन्टरेष्ट रेट’ सकारात्मक हुनुपर्छ ।

व्यवसायीले ऋण लिएर व्यावसाय गर्छन् । व्यवसाय गर्दा ‘फिजिवल’ हुने लागत खर्च ब्याजदरमा झल्किनु पर्छ । पेशा व्यवसायले धान्नै नसक्ने गरी ब्याजदर बढ्यो भने व्यवसाय गर्न सकिदैन् । त्यो हिसाबले ब्याजदर व्यवस्थापन हुनुपर्छ ।

तपाईले दशैं आसपासमा तरलताको अभाव हुने अवस्था आउने तर्फ संकेत गरिसक्नु भयो । बास्तवमै तरलताको अभाव हुने सम्भावना देखिएको हो ?

कोरोना भाइरसको प्रकोप बढेन भने तरलताको चाप पर्ने अनुमान गरिएको छ । दशैअघि व्यवसायीले सामान मगाउने बेला वा दशैंलगतै तरलताको अभाव हुने संकेत देखिएको छ ।

जेठ र असारमा कोरोना भाइरसको संक्रमण बढने अनुमान गरिएको छ । त्यसो भयो भने तरलतामा चाप नपर्न पनि सक्छ । कोरोना भाइरस बढ्दै गयो भने व्यवसाय गतिविधी कम हुने र ऋणको माग पनि कम हुन्छ । त्यो भयो भने तरलतामा चाप नपर्न पनि सक्छ । यी सबै कुरा कोरोना भाइरसले कस्तो असर पार्छ भन्ने बिषयले निर्धारण गर्छ ।

कोरोना भाइरसको संक्रमण बढ्यो भने तरलतामा चाप नपर्ने र कारोना भाइरसको संक्रमण बढेन भने तरलतामा चाप पर्ने देखियो हैन त ?

हो, त्यस्तै हुने सम्भावना देखिएको छ । 

अहिले वाणिज्य बैंकसँग विकास बैंक र फाइनान्स कम्पनीले प्रतिस्पर्धा गर्दै छन् । विकास बैंक र फाइनान्स कम्पनीले जुन क्षेत्रमा लगानी गर्छन् वाणिज्य बैंकले पनि त्यही क्षेत्रमा लगानी गर्दा समस्या परेको छ भनिन्छ नि ?

एकदम सही कुरा गर्नु भयो । नेपालको वाफियाले इन्फास्टक्चर बैंक बाहेक ४ किसिमका बैंक तथा वित्तीय संस्थाको कल्पना गरिएको छ । क, ख ग र घ वर्गका बैंक तथा वित्तीय संस्था भनेर कल्पना गरिएको छ । अर्कोकुरा कार्य क्षेत्रको बारेमा पनि परिभाषित गरेर काम गर्न सकेको खण्डमा त्यसले धेरै राम्रो कम गर्छ जस्तो लाग्छ ।

त्यसैगरी, विकास बैंकले सबैभन्दा बढी साना तथा मझौला व्यवसायलाई सेवा प्रदान गरेका हुन्छन् । नेपालकै कुरा गर्ने हो भने वास्तवमा ९० प्रतिशत भन्दा बढी व्यवसायी साना तथा मझौला छन् । त्यसले गर्दा एउटा किसिमको ‘डिमार्केशन’ ऐनमा नै व्यवस्था गरेर र कार्य क्षेत्र तोकेर काम गर्न पाए भने त्यसले अझै बढी फोकस हुन्छ । व्यवसायीक गतिविधि पनि त्यही अनुसारको हुन्छ । विकासमा योगदान पनि त्यही अनुसार गर्न सक्छन् ।

पूर्वाधार विकास बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको आ आफ्नो महत्व छ । ती सबैले आफ्नो ढंगले काम गर्न सक्छन् । त्यसमा डिमार्केशन कसरी गर्ने भन्ने पनि छ । त्यो अलि बैज्ञानिक पनि हुनु जरुरी छ ।

म विकास बैंकमा छु भन्दैमा विकास बैंकको स्वार्थको कुरा मात्रै आउदैन् । कुनै पनि चिजको प्राकृतिक रुपमा मूल्यांकन हुनुपर्छ । हाम्रो नीति नियमले समग्र राष्ट्रको आर्थिक गतिविधिलाई कसरी अगाडि बढाउन सकिन्छ । त्यतातिर केन्द्रीत भएर लाग्नुपर्छ । त्यतातिर केन्द्रीत भएर काम गर्न सकियो भने त्यसले संस्था र मुलुकलाइ नै फाइदा पुर्याउछ । जुन जुन ‘स्टक होल्डर’ छन्, तिनीहरुलाई पनि यसले राम्रो गर्छ जस्तो लाग्छ ।

विकास बैंकहरु त धेरैजसो मर्जर वा एक्विजिसनमा गइसकेका छन् । अझै कति विकास बैंक मर्जर वा एक्विजिसनमा जाने सम्भावना छ ?

नेपाल राष्ट्र बैंकले २०६८ सालमा मर्जरको नीति ल्याएको थियो । त्यसपछि २०७० सालमा एक्विजिसनको नीति ल्यायो । दुवैलाई एकिकृत गरेर २०७३ सालमा मर्जर र एक्विजिसनको नीति ल्याउने काम गर्यो । त्यो मुताविक बैंक तथा वित्तीय संस्थामा मर्जर र एक्विजिसनको लहर नै चल्यो । आजभन्दा २३ महिना अघि विकास बैंकको संख्या करिव ९० वटा  पुगेका थिए । नेपाल राष्ट्र बैंकको गत फागुनसम्मको तथ्यांकका आधारमा हेर्ने हो भने १९ वटामा झरेका छन् । त्यसमा चैतमा तिनाउ विकास बैंक एक्विजिसनमा गएपछि १८ वटामा झरेको छ । अर्को ४ वटा जाने वाला छन् । भनेपछि अब १७ वटा मात्र विकास बैंक रहन्छन् ।

अर्कोतर्फ वाणिज्य बैंकको संख्या घटेको देखिदैन् । फाइनान्स कम्पनी पनि संख्या घटेकाे घटै छन् । माइक्रोफाइनान्स गत फागुनसम्ममा ७६ वटा झरिसकेका छन् ।

विकास बैंकको वासलातको स्थिति, सुशासन, व्यवस्थापन, वित्तीय समावेशीताको कुरा हेर्ने हो भने संरक्षण गर्नु पर्ने आवश्यकता छ । सकारात्मक किसिमको नीति नियम ल्याएर विकास बैंकलाई जोगाउनु पर्ने अवस्था छ ।

विकास बैंकका करिव ९५ प्रतिशत ग्राहक साना व्यवसायी छन् । गरिव तथा विपन्न वर्गलाई विकास बैंकले सेवा दिइरहेका छन् । भोली गएर विकास बैंकको अस्तित्वमा प्रश्न चिन्ह उठदा त्यसले विकास बैंकको स्वार्थको मात्र कुरा होइन त्यसले गर्दा समग्र अर्थतन्त्र र जनताहरु सेवाबाट बन्चित हुन्छन् ।

नेपालमा दुई खाले वित्तीय संस्था छन् । एउटा गाँउबाट सेवा दिँदै शहर आएका छन् । अर्को शहरबाट सेवा दिँदै गाँउमा गएका छन् ।

विकास बैंकहरु गाँउबाट शहरमा आएका संस्था हुन् । तपाई गाँउमा जानु भयो भने गरिव निमुखा जनताहरु धेरै ठूला अफिसमा जान डराउँछन् । चप्पल बाहिरै खोलेर डराइ डराइ जाने अथवा जादै नजाने चलन छ । हामीले वित्तीय सेवा र पहुँचको कुरा गछौं । विकास बैंक भएका कारण गर्दा यो वा त्याे सेवा दिएर दुर दराजमा गएका छन् ।

अहिले प्रत्येक स्थानिय तहमा वाणिज्य बैंकका शाखा जानु पर्छ भनिएको छ । बैंकहरु गएका पनि छन् । तर, त्यसले लागत खर्ब बढाएको छ । ती वाणिज्य बैंकले कति वित्तीय पहुँच पुर्याउने काम गरेका छन् भन्ने कुरा भने हेर्न बाँकी नै छ । तर, विकास बैंकले पहिलेदेखि नै गाँउमा  गएर सेवा दिइरहेका छन् ।

आजका दिनमा जति विकास बैंक छन्, तिनीहरुलाई बचाउने तर्फ लाग्नु पर्छ । विकास बैंकले वास्तवमा गाँउमा वित्तीय पहुँच पुर्याउन सहयोग गरिरहेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण विकास बैंकले सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । कोरोना भाइरसले विकास बैंकको नाफामा कस्तो असर पर्ने सम्भावना देख्नु भएको छ ?

यसमा दुई तीन वटा कुरमा बिशेष ख्याल गर्नुपर्छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले केही समयअघि मंसिरसम्मको एउटा सर्भे रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसमा नेपालभरीका ठूला, मझौला र साना व्यवसाय वर्गीकरण गरेको छ । जसले के देखाउँछ भन्दा ५० करोड भन्दा बढी पूँजी भएका ऋणीहरुको व्यवसाय ७५ प्रतिशत सञ्चालनमा छन् । जवकि साना व्यवसाय ५१ प्रतिशत मात्र सञ्चालनमा छन् । साना व्यवसायीलाई बढी समस्या परेको छ । संख्यात्मक रुपले, व्यवसायीको व्यक्तिगत रुपले र रोजगारीका हिसावले साना व्यावसायीलाई कोरोनाको असर बढी भएको छ ।

साना व्यवसायी गाँउमा छन् । तिनीहरु तुलनात्मक रुपले ठूला भन्दा बढी इमान्दार हुन्छन् । साना व्यवसायीले नखाइ नखाइ पनि ऋण तिर्ने गरेका छन् । त्यो ‘टेन्डेन्सी’ छ ।

समग्रमा भन्नु पर्छ विकास बैंकलाई कोरोना भाइरसको असर त्यति धेरै परेको छैन् । अहिले फेरी कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अस्पतालहरु भरिन थालेका छन् । भोली लकडाउनको अवस्था आउन पुग्यो भने  कमाएको प्रतिफललाई असर गर्छ । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थाको विकासमा असर पार्न सक्छ । यदी कोरोना भाइरसको संक्रमण नर्मल हुँदै गयो भने समग्रमा बैंक तथा वित्तीय संस्थाको जुन वित्तीय विवरण छ त्यो राम्रो आउँछ जस्तो लाग्छ ।

बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा पनि गरेको छ । कोरोना भाइरसले थिलो थिलो भएको बेलामा राहत दिने गरी मौद्रिक नीतिको समिक्षा गर्दै गएको छ । यसलाई तपाईले कसरी मूल्यांकन गर्नु भएको छ ?

राष्ट्र बैंकले जति पनि नीति, नियम र निर्देशन ल्याउने गर्छ । ती नीति, नियम र निर्देशनले बिग्रेका बिषयलाई रोक्न र सपार्नका लागि भूमिका खेल्ने गर्छन् । नीति, नियम र निर्देशनले ‘लेन्ड मार्क’ तोकेको हुन्छ । यो काम गर्नु पर्छ भनेको छ । धेरै राम्रो काम गरेको छ भने त्यसलाई प्रोत्साहन गर्दै पुरस्कारको व्यवस्था गर्नुपर्छ । जसले राम्रो काम गर्दैन उसलाई दण्डित गर्नु पर्ने हुन्छ । यस्तो प्रवधान ल्याउनु पर्छ ।

विकास बैंकलाई अब ‘पिक अप’ गर्नु पर्ने अवस्था आउन थालेको छ । यो राष्ट्रको आवश्यकता हो । सरकारी कारोवार विकास बैंकले गर्न पाएका छैनन् । विकास बैंकको वित्तीय अवस्था, सुशासन, जोखिम व्यवस्थापन क्षमता, वित्तीय पहुँच हेर्ने हो भने विकास बैंक धेरै बलिया छन् ।

यसले गर्दा सरकारका अंगहरु छन्, उनीहरुको कारोबार विकास बैंकले गर्न पाउनु पर्छ । नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले आफ्नो निक्षेप विकास बैंकमा राख्ने गरेको छ । तर त्यही वित्तीय क्षेत्रमा भएका नागरिक लगानी कोष, कर्मचारी संचय कोषहरुले निक्षेप विकास बैंकका राख्ने गरेका छैनन् । ‘बेन्च मार्क’ गर्न सक्छौं । तर त्यही अनुसारको कारोबार गर्न सकिएको खण्डमा विकास बैंकले पनि राहत पाउने थिए । विकास बैंकको नाम हेर्ने भन्दा पनि वित्तीय आकँडा हेर्नु पर्ने हुन्छ ।

त्यस्तै एलसी खोल्ने कामहरु पनि विकास बैंकले पाउनु पर्छ । पेड कार्डहरु कुराहरु पनि छन् । आज त साना साना व्यवसाय गर्न पनि बैंक ग्यारेन्टीको आवश्यकता पर्छ । यो त सामान्य कुरा भए । आगामी दिनमा राष्ट्र बैंकले एलसी खोल्नका लागि विकास बैंकलाई अनुमति दिनुपर्छ ।  विकास बैंकले पहिलेदेखि नै माग गरिरहेका छन् ।

शेयर बजारलाई तपाईले कसरी हेर्नु भएको छ ?

शेयर बजार कुनै पनि देशको अर्थतन्त्रको महत्वपूर्ण अंग हो । केही दिनअघि अमेरिकाकाे राष्ट्रपतिको अन्तरवार्ता पढ्दै थिए । उहाँले केही सिमित वित्तीय आँकडामा शेयर बजारको आँकडालाई राख्नु भएको रहेछ । अमेरिकी राष्ट्रपतिले मात्र नभइ धेरै मुलुकले शेयर बजारलाई अर्थतन्त्रको एउटा अभिन्न अंग मन्ने गरेका छन् ।

त्यसकारणले यो क्षेत्रलाई पनि सुदृढ बनाउँदै लैजानु पर्ने आवश्यकता छ । यसको एकदमै महत्वपूर्ण भूमिका छ । आजका दिनमा व्यवसायीले पैसा उठाउने ठाँउ एउटा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर हो भने अर्को आफ्नो कम्पनीको शेयर बिक्री गरेर हो ।

आफ्नो व्यवसाय गर्न पैसा चाहिन्छ । त्यसमा शेयर बजारको धेरै सकारात्मक भूमिका हुन्छ भन्ने मेरो मान्यता छ ।

मुक्तिनाथ विकास बैंकको वित्तीय अवस्था कस्तो छ ?

हामीले तीनवटा कुरालाई बढी ध्यान दिएका छौं । अर्थात हामीले ‘इजीआई’ लाई मन्त्र ठान्छौं । ‘इ’ भनेको कुनै पनि काम एक्सिलेन्ट गर्नु पर्ने हाम्रो सोच छ । काम एकदम उत्कृष्ट हुुनुपर्छ भन्ने हाम्रो टिमको उद्देश्य हो ।

दोस्रो, हामीले गरेको कामलाई निरन्तर अगाडि बढाउनु पर्छ । कामको विस्तार हुनुपर्छ भन्ने मान्यता छ । जुन बस्तु जिवित हुन्छ, त्यसको विस्तार अबस्य हुन्छ । निर्जीव मात्र स्थीर हुन्छ । त्यसैले जिवित चिजको विस्तार हुनु आवश्यक छ ।  विस्तारमा हामीले जाेड दिने गरेका छाैं ।

तेस्रो, ‘आई’ भनेको ‘इम्पयाक्ट’ । कुनै पनि काम गरिसकेपछि त्यसको सकारात्मक प्रभाव पर्नु पर्छ । पाँच वटा स्टक होल्डरहरू जसमा डिपोजिटर, रेगुलेटर, इन्भेष्टर्स, स्टाप र जुन क्षेत्रमा गएर काम गरिरहेका छौ, त्यो क्षेत्रमा प्रभाव पर्नुपर्छ । त्यो पाँच वटा क्षेत्रमा नै प्रभाव पर्नु पर्छ ।

जहासम्म मुक्तिनाथ विकास बैंकको कुरा छ । पुँजी बढ्दै गएको छ । छोटो समयमा नै मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी वाणिज्य बैंकले पुर्याउनु पर्ने न्यूनतम चुक्ता पुँजी पुग्दैछ । तर, त्यतिले मात्र पुग्दैन, सुशासन, मेनेजमेन्ट स्टोङ, इन्टरनल कन्ट्रोल, जोखिम व्यवस्थापनामा बैंक सवल छ ।

आउदो अर्थिक वर्षदेखि वासल-३ फलो गर्नु पर्छ जस्तो लाग्छ । त्यो हिसाबले पनि सबल बन्नु जरुरी छ । यही हिसाबले हामी अगाडि बढ्यो भने नियमन निकायले पनि भन्न सक्छ, तपाईहरु अब अपग्रेड गर्न सक्नु हुन्छ । दीर्घकालसम्म मुक्तिनाथ नाम अक्षुण राख्नका लागि पाँच बटै स्टेक होल्डरलाई खुशी पार्नुपर्छ । बिशेषगरी, हाम्रा ग्राहक खुशी हुनुपर्छ । प्रतिफलका हिसाबले पनि हामी लगानीकर्तालाई खुशी पार्दै आएको छौं । आगामी दिन पनि त्यो खुशी मार्ने छैनौं ।

मुक्तिनाथ विकास बैंक अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्भावना कति छ ?

मुक्तिनाथ विकास बैंक मर्जर वा एक्विजिसनमा जाने अधिकार सञ्चालक समितिलाई हुन्छ । म पनि लामो समय सञ्चालक समितिसँग बसेर काम गरेको छु । मुक्तिनाथ कति पवित्र नाम छ । त्यो नाम मेटिने छैन् । हामी आफैले अर्गानिक ग्रोथ गरी साना साना संस्थालाई जसको मिसन, भिजन र भेलु एलाइन्स हुन्छ, उनीहरुलाई लिएर हामी अगाडि बढ्छौं । मुक्तिनाथको नाम चाँहि कहिले पनि मेटिने छैन् । पवित्र नामलाई जाेगाएर राख्ने छाैं ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।