विदेशबाट दोस्रो बजारमा कारोबार कति सहज?

Jun 18, 2021 03:03 PM Merolagani

सुधा देवकोटा
रोजगारको सिलसिलामा देश बाहिर रहेका नेपालीहरुले दोस्रो बजारमा नियमित रुपमा कारोबार गर्न थालेका छन्। नेपाली शेयर बजारमा पूर्णरुपमा अनलाईन मार्फत नै कारोबार हुने भएपछि प्रदेशबाट पनि दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्यामा वृद्धि भएको हो।

यद्यपि दोस्रो बजारमा कारोबार गर्नको लागि विभिन्न मुस्किलहरु छन्। शेयर कारोबार गर्ने अवधिमा लगानीकर्ताहरुले विविध समस्याहरु भोग्नु परेको गुनासो आउने गरेको छ।

शेयर बजार बढ्दो गतिमा रहेको अवस्थामा दास्रो बजारमा भित्रिने लगानीकर्ताको संख्या बढेसँगै बजारमा भएका समस्याहरु अझ धेरै बढिरहेको देखिन्छ। स्वदेशमा रहेर कारोबार गर्ने र परदेशमा बसेर कारोबार गर्ने लगानीकर्ताको समस्याका केही समानता रहेको पाईएको छ।

ब्रोकरमा सम्पर्क गर्न र भुक्तानी पाउनै मुस्किल पर्ने जस्ता स्वदेशी लगानीकर्ताहरुले भागिरहेको समस्या विदेशका लगानीकर्ताले पनि भोगिरहेका छन्। लगानीकर्ताले खरिद गरेको शेयर समयमा भुक्तानी नहुने, बिक्री गरेको शेयरको रकम समयमा आफ्नो खातामा नआउने समस्या रहेको लगानीकर्ताहरुको आरोप रहेको छ।

यस्तो अवस्थामा स्वदेशमा रहेका लगानीकर्ताले ब्रोकरमा सहजै सम्पर्क गरेर आफ्नो भुक्तानी लिने गरेका छन् भने विदेशमा रहेका लगानीकर्ताले फोन मार्फत ब्रोकरमा सम्पर्क गर्न पनि धेरै दुःखहरु झेल्नु परेको रोजगारीको सिलसिलमा दक्षिण कोरियामा रहेका निमेश गुरुङ बताउछन्।
परदेश र नेपालको समय फरक पर्ने हुँदा कारोबार अवधि फरक समयमा पर्ने र त्यस समयमा पनि ब्रोकर, टिएमएस, मेरोशेयरमा समस्या आउदा कारोबार गर्नबाट नै बञ्चित हुनु परेको गुरुङको अनुभव छ।

नेपालको पूँजीबजारमा विगतका दिनमाभन्दा धैरै सुधार भएको र अहिले प्रविधिमैत्री बनेको उनी बताउछन्। मोबाइलको सहायताले सजिलै घर तथा संसारको जुनसुकै कुनाबाट पनि शेयर खरिदबिक्री गर्न सकिने विषय सकारात्मक रहेको उनको भनाइ छ।

यसो भनिरहँदा अझै पनि बजार पूर्ण रुपमा प्रविधिमैत्री भइनसकेको गुरुङको बुझाई छ। बजार अझ व्यवस्थित र सुधार गर्नको लागि धैरै पाटाहरु रहेको गुरुङ बताउछन्। उनी भन्छन्, ‘दैनिक नेप्से सूचक, कारोबार रकम र बजार भित्रने लगानीकर्ताको संख्या बढिरहेको हुँदा ब्रोकरको संख्या बढाउनुका साथै हाल भएका ब्रोकरलाई अझ प्रतिस्पर्धी र जवाफदेही गराउनु पर्छ।’

कारोबार गरेबापतको कमिसन दिँदा दिँदै केही काम गर्नुपर्यो भने ब्रोकरसँग बिन्ती बिसाउँदा पनि समयमा काम नहुनुले उनलाई दुःखी बनाउने गरेको छ। शेयर खरिदबिक्री गराए बापतको कमिसन बुझाउँदा पनि सित्तैमा काम गरेर जस्तो हार गुहार गर्नुपर्ने समस्या विकराल रहेको उनी बताउछन्। परदेशबाट कारोबार गर्ने भएको कारणले भौतिक रुपमा ब्रोकर कार्यालय पुगेर आफ्नो काम फत्ते गर्न सक्ने अवस्था छैन।

ब्रोकर कार्यालय धेरै भयो भने यस्तो समस्या कम हुने उनको बुझाई छ। त्यसैगरी, नेप्सेको टिएमएसमा समयसमयमा समस्या आउने भएको कारणले आफ्नो कामबाट समय निकालेर कारोबार गर्न नसकेको उनी बताउछन्। त्यसैले उक्त प्रणालीलाई तत्काल परिमार्जन गर्ने वा नयाँ प्रणाली व्यवस्था गर्नुपर्ने नितान्त आवश्यक भएको उनी बताउछन्।

साउदी अरेबियाबाट अर्का लगानीकर्ता सरोज पौडेलले पनि नेपाली शेयर बजारमा कारोबार गर्ने गरेका छन्। नेपाली शेयरबजार अनलाईन मार्फत गर्न सकिने भएको कारणले आफूसँग भएको धेरथोर बचतलाई बजारमा लगानी गरेर बढाउन पाउदा खुसि लागेको पौडेलले बताए।

विदेशमा रहेर कारोबार गर्नको लागि ब्रोकरमा धितो (कोल्याट्रल) राख्नको लागि धेरै समस्या हुने गरेको उनको अनुभव छ। शेयर कारोबार गर्नको लागि ब्रोकरमा कोल्याट्रल राख्नका लागि र अन्य काम विशेषले ब्रोकरमा सम्पर्क गर्न सबैभन्दा धेरै मुस्किल पर्ने पौडेल बताउछन्। कामबाट केही समय निकालेर कारोबार गर्न खोज्दा बेला बेलामा अनलाइन नचलेको गुनासो गरेका छन्।

नेपालको पूँजीबजार विगतका दिनमाभन्दा धेरै सुधार भएर अनलाईन मार्फत कारोबार भई विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुले कारोबार गर्न सकिने सकारात्मक पक्षको विकास भएको छ। यद्यपि शेयर बजार जस्तो संवेदनशील क्षेत्रमा प्रयोग हुने पुर्वाधारमा समस्या हुँदा लगानीकर्ताले कारोबार गर्नकै लागि दुःख पाउनुपर्ने अवस्था छ। यसलाई सम्बन्धित सरोकारवालहरुले भएका पूर्वाधार परिमार्जन गरी तत्काल सुधार गर्नुपर्ने देखिन्छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।