तेस्रो त्रैमासमा नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा सामान्य बढ्यो, बीमाशुल्क भने करिब २० प्रतिशतले वृद्धि

Jul 16, 2021 07:14 AM Merolagani



नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले निर्जीवन बीमा व्यवसाय ८२ करोड ४७ लाख र जीवन बीमा व्यवसाय १० करोड १० लाख रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको हो।

कम्पनीको अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कुल खुद नाफा १.०५ प्रतिशत अर्थात ९६ लाख ४० हजार रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ९१ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यसैगरी, कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड ६१ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको कुल खुद बीमाशुल्क समीक्षा अवधिमा १९.९४ प्रतिशत बढेको हो।

यस्तै, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ८७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३१ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तै कम्पनीले सो अवधिमा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत खर्च गरेको छ।

सो अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ १ अर्ब ७० करोड ९० लाख रुपैयाँ र जीवन बीमातर्फ २८ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने क्रमशः २ अर्ब १७ करोड ६ लाख रुपैयाँ र १७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ६८.७० गुणा छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।