त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।
आईपीओमा कसरी दिने आवेदन?
कम्पनीले निष्काशन गेरको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म म्याद थप हुनेछ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा सनराईज क्यापिटल रहेको छ।
कमजोर जनाउने रेटिङ्ग
कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउछ।
केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई सन् २०२० डिसेम्बर २८ मा रेटिङ्ग प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ।
कस्तो कम्पनी हो?
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०५९ साउन ७ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएर कारोबार शुरु गरेको कम्पनीको हो।
२०७१ भदौ ६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो।
कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको छ। कम्पनीको आयोजना स्थल भने रसुवा जिल्ला उत्तरगया गाँउपालिका (साविकको हाकु गा.वि.स) मा रहेको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता मैलुङ खोला जलविद्युत कम्पनीलाई हस्तान्तरण गरी नेपाल विद्युत प्राधिकरणसँग २०६१ असार ३० गते प्रथम संशोधन गरेको छ।
आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणका लागि कम्पनीले स्वपूँजीबाट २.७ किमी लामो ६६ केभी ट्रान्मिसन लाइन तथा राम्चे गा.वि.सको ग्राङ गाउँमा सवस्टेसन निर्माण गरीसकेको छ।
आयोजना अन्तर्गत रसुवा जिल्लाको राम्चे गा.वि.स. स्थित सबस्टेसनबाट नेपाल विद्युत प्राधिकरणका ६६ के.भी. चिलिमे त्रिशुली राष्ट्रिय प्रसारण लाईनमा जडान गरी विद्युत आपूर्ती गर्ने गरी मिति २०७० बैशाख १० गते नेपाल विद्युत प्राधिकरणको ग्रीड विभागसँग कनेक्सन सम्झौता सम्पन्न भएको छ।
आईपीओ निष्काशन गर्नुको उदेश्य
कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ११ करोड ४ लाख ४३ हजार रुपैयाँ बराबरको ११ लाख ४ हजार ४३० कित्ता शेयर निष्काशनमा ल्याएको छ।
आईपीओ निष्काशन गरेर संकलन भएको रकम विभिन्न बैंकबाट लिएको ऋण रकम भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।
तीन वर्षमा सञ्चित नाफा करिब ७ करोड ६२ लाख रुपैयाँ पुर्याउने
कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा ७ करोड ६२ लाख ६७ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। अघिल्लाे आर्थिक २०७६/७७ सम्म कम्पनी सञ्चित मुनाफा १ करोड २० लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।
यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ४४ लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ७ करोड ६८ लाख रुपैयाँ सञ्चित नाफा कमाउने कम्पनीको प्रक्षेपण छ।
यस्तै, आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७२ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २५ पैसा र प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५४ पैसा हुने अनुमान गरिएकाे थियाे।
आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार ४९६ रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत १८ करोड ५ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ।
साधारण तर्फ लगानी फिर्ता हुने अवधि ६ वर्ष २ महिना रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना रहेको छ।
पूँजी संरचना
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।
कम्पनीको अधिकृत पूँजी ७५ करोड रुपैयाँ र जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ।
आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ।
सञ्चालक समिति
कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। संस्थापक शेयरधनीको तर्फबाट ५ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ७ को सञ्चालक समिति रहने व्यवस्था छ। सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ।
कम्पनी सञ्चालक समितिको अध्यक्ष विरेन्द्र प्रसान महताे रहेका छन्। यस्तै समितिमा गोरे शेर्पा, डा. ताराप्रसाद पोखरेल, बसन्त चन्द मरहट्टा र फुल्मु शेर्पा रहेकी छन्। हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ५ जना मात्रै सदस्यहरु रहेका छन्।
आईपीओ निष्काशन गरेपछि सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन हुनेछन्।
भावी योजना तथा रणनीति
कम्पनीले आफ्नो व्यवसाय तथा सेवाको वृद्धिको लागि भावी योजना तथा रणनीति बनाएको छ। कम्पनीले जलविद्युत क्षेत्रको विकास, विस्तार र प्रर्वधन गर्नको जलविद्युत आयोजनाहरुको सर्वेक्षण, उत्पादन र वितरण गर्ने एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने मुख्य उद्देश्य लिएको छ।
कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ।
नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने, कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रूपमा सम्भाब्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने, कम्पनीले विद्युत व्यापारका निमित्त आवश्यक नीति तर्जुमा गर्न सरकार समक्ष निवेदन गर्ने तथा नयाँ कम्पनी स्थापना गरि विद्युत व्यापारमा जोड दिने लक्ष्य राखेको छ।
मध्य मैलुङको सम्भाव्यता अध्ययन गरि विद्युत उत्पादन गर्ने लक्ष्य पनि कम्पनीले राखेको छ।