एउटा परिवारले एक वर्षमा जति खर्च गर्छन्, त्यसको ४० प्रतिशत त दशैंमा खर्च गर्छन्

Oct 11, 2021 07:06 PM Merolagani

केशव आचार्य

गत वर्ष कोरोना भाइरसको महामारीले गर्दा दशैं खल्लो भएको थियो। मानिस टिका लगाउन जान सकेनन्। कोभिडका कारण दशैंको उत्सव मनाउन सकेनन्। आ-आफ्नो घरमा बसेर टिका लगाउने काम भयो।

व्यवसाय पनि राम्रो राम्रोसँग चल्न सकेको थिएन। सरकारले लामोदूरीका यातायातका साधान सञ्चालन गर्न पनि रोक लगाएको थियो। हवाइ जहाजबाट ओहोर दोहोर गर्न पनि प्रतिबन्ध लगाइएको थियो।

मानिसहरु झन्डै डेढ वर्षजति खुम्चिएर बसे। अहिले एक डेढ महिनाजति भयो सरकारले लकडाउन पनि खुकुलो बनाएको छ। मुलुकभर जानका लागि यातायातका साधान सञ्चालित छन्। चाडपर्वका बेला कतिपय ठाउँ जानका लागि रुट पर्मिट लिन पनि नपर्ने, जहाँ जान मनलाग्यो त्यहा जान सकिने भनेर यातायात व्यवस्था विभागले भनेको छ। त्यसैले गर्दा गत वर्षको भन्दा यस वर्षको दशैं अलि उमंगको छ।

फेरी यो उमंग पनि एकनासको छैन। जो मानिसले काम पाइरहेको छैन्, जससँग स्रोत छैन। उसलाई निकै नै गाह्राे भयो। निम्न मध्यम वर्गिय, मध्यम वर्गिय, उच्च वर्गिय व्यक्ति वा परिवारलाई जुर्मुराउने अलि सक्रिय हुने पक्कै पनि भएको छ।

एउटा परिवारले एक वर्षमा जति खर्च गर्ने हो, मोटामोटी ४० प्रतिशत दशैं, तिहार र छठमा खर्च गर्छ। औसतमा एक जना मानिसले १५ असोजदेखि १५ कार्तिकसम्मको यो एक महिनाकोबीचमा वर्षभरीमा खर्च गर्ने रकमको ४० प्रतिशत खर्च गर्छ।

गत वर्षको दशैं, तिहार र छठमा धेरै रकम खर्च नभएको हुनाले अहिलेको ती चाडपर्वमा बढी खर्च हुन सक्ला। गत वर्ष लकडाउन भएको बेलामा पसल नै खुलेका थिएनन् र किन्न नै पाएनन्।

अहिले त कमाउने मानिसले यो र त्यो पनि किनौं भन्ने भएको छ। यसपालीको दशैं शुरु भइसकेको छ। अघिल्लो वर्ष दशैंको मुखमा ‘अटो शो’ भएको थियो। त्यसमा हजारौं कार तथा मोटरसाइकलहरु ‘बुक’ गरेका थिए। अहिले पनि बजारमा देखिन्छ मानिसहरुले सुनका गरगहना धमाधम किनिरहेका छन्। त्यस्तै खसी, च्याङग्रा, बोका, सुगुर, रागा, कुँखुरा, हाँस, लौकाको पनि यतिबेला प्रशस्त माग हुन्छ।

अहिले पनि धेरै मानिसहरुले आफ्नो घर भएको शहरमा काम गरिरहेका छैनन्। बाहिरका मानिसहरु काठमाडौंमा काम गरिरहेका छन्। काठमाडौं बाहेक पनि नेपालगन्ज, बुटबल, भैरहवा, पोखरा, नारायणगढ, हेटौडा, विराटनगर, वीरगन्ज, जनकपुरतिर पनि काम गरिरहेका हुन्छन्।

दशैंको बेलामा स्कुल पनि तिहारसम्म बिदा हुन्छ। त्यसैले त्यतिबेलासम्म शहरमा जागिर खाने मानिसहरु श्रीमती, छोरा-छोरी लिएर आफ्नो मूल घर वा बुबा आमा बसेको ठाउँमा जान्छन्।

मूल घरमा जाँदा पनि कोही जहाजमा, कोही बसमा, कोही रिर्जभ र कोही टाटा सुमोमा जालान्। त्यसरी जाते आतेमा पनि निकै खर्च हुन्छ।

कतिपय मलेशिया, कतार, साउदी अरेबियामा बसेका मानिसहरु दशैंमा नेपाल आउछन्। हवाइ जहाजबाट जाने आउने गर्नमा नै उनीहरुले ५० हजारदेखि १ लाख खर्च गर्छन्।

यतिबेला धेरै खर्च हुने गर्छ। त्यसैले मैले भनेको एक परिवारले एक वर्षमा गर्ने खर्चको करिब करिब ४० प्रतिशत खर्च यतिबेला हुन्छ। मैले भनेको ४० प्रतिशत खर्च खल्तीबाट नगद नै झिकेर हुन्छ भन्ने होइन।

खासगरी गाउँठाउँमा मानिसहरुले बाख्रोले पाठो पायो भने यो चाँहि दशैं भाग भनेर छुट्याउँछन्। अल्लि राम्रो कुखुराको चल्ला छ भने यो भाले दशैंका लागि भन्छन्। यो हाँस दशैंलाई भन्छन्। सुँगुर पाल्ने मानिसले पनि यो सुँगुर दशैंलाई भन्छन्। उनीहरुले बजारमा नकिनेर आफैले गर्छन्।

त्यस्तै गाई, भैंसी पाल्नेले घरमा घ्यु दशैंलाई चाहिन्छ छोरी-ज्वाई, भान्ज-भान्जी, नाति-नातिना आउँछन् भनेर राख्ने गर्छन्। मिठो मसिनो चामल, दालहरु चाहिन्छ है भनेर राख्छन्।

मानिसले आफूले गरेको खर्च मैले जुन माथि उदाहरण दिए खसी बोका छुट्टाउने, कुखुराको भाले, हाँस, त्यो सबै जोडेर ४० प्रतिशत हुन्छ।

अर्को विशेषता मुद्रालाई ‘भेलोसिटी अफ सर्कुलेसन’ त्यो भनेको मुद्रा प्रचलनको बेग एकदम तिव्र हुन्छ। अरुबेला खल्तीमा भएको पैसा केही दिन बस्छ तर यो बेलामा पेश्की आयो, पैसा आयो भने इन्द्रचोक, असन गइहाल्ने गर्छ। अथवा खसी बजार जाने गर्छ। साहुले पनि त्यो पैसा लगेर अरु के-के सामान चाहिने हो त्यो मगाउने काम गर्छ।

पैसा धेरै बेर रहदैन। दशैंदेखि तिहारसम्ममा अरु बेलामा भन्दा पैसा बढी चाहिन्छ। एउटाको हातबाट अर्कोको हातमा र अर्कोको हातबाट पनि अर्कोमा पैसा तिव्र बेगमा चलिरहेको हुन्छ।

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिगत रुपमा वा अरुहरुले पनि हेरिरहेका होलान्। त्यसैले, राष्ट्र बैैंकले चलनचल्ती रहेको मुद्रा, चल्ती निक्षेप, बचत तथा कल निक्षेपलगायत विस्तृत मुद्रा प्रदायक भनेर निकाल्छ। अहिले मुद्रा प्रदायक जति चलनचल्तीमा हुन्छ, त्यो हामीले हिसाब त गरेका छैनौं। त्यो भन्दा धेरै बढी हुन्छ।

अब तपाईले दशैंमा टिका लगाइ दिनुभयो, केटकेटी तुरुन्त पसलमा गएर चक्लेट वा अरु किन्ने गर्छन्। त्यसले आर्थिक क्रियाकलापलाई एकदमै सघन बनाउँछ। तर, दुर्भाग्य हाम्रो कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशतभन्दा बढी आयात हुने गर्छ। त्यसो भएकाले त्यो पैसाले जुन चक्र सिर्जना गर्छ, त्यो चक्रको सम्पूर्ण लाभ हामीले लिन पाउँदैनौं।

हामीले अक्षेतादेखि चिनी, मिठाइ, फलफूल, तरकारी सबै बाहिरबाट आउने हुनाले चुहावट भएर बाहिर जान्छ। दशैं, तिहार, छठमा खर्च हुने पैसा सबै नेपालमा नै घुम्न पाएको भए त्यो एकदम उच्च हुन्थ्यो।

जे सुकै किन्नुहोस त्यो पैसा आयातमा जान्छ। लताकपडा आयात गर्ने नै हो। गाडीको त कुरै भएन। यो दशैंमा मानिसहरुले माइक्रोवेभ, वासिङ मेसिनयस्ता यस्ता वस्तुहरु किनिरहेका हुन्छन्। त्यो पैसा बाहिर नै जाने हो।

त्यसैले मुद्राको बेग तिब्र हुँदा आर्थिक क्रियाकलाप तिव्र हुनुपर्ने हो। दशैंमा किनमेल हुन्छ, तर अन्ततगत्व हामीले गरेको खर्चको ७०/८० प्रतिशत बाहिर नै जान्छ।

धेरै जसो भारत, त्यसपछि चीन, थाइल्याण्ड, हङकङ जान्छ होला। त्यसैले जति हाम्रो अर्थतन्त्रले जति लाभ लिन सक्थ्यो यो दशैंमा हुने चहलपहलको खर्चले त्यसबाट हामी बिमुख छौं। सबै आयात प्रतिस्थापन गर्न त नसकिएला। आधारभूत वस्तुहरु दाल, चामल, चिनी, तरकारी, खसी, बोका, रागो मात्र पनि स्वदेशमा नै उत्पादन गर्न सकिएको भए केही नभएपनि १ खर्ब रुपैयाँ भए पनि नेपालमा नै घुम्थ्यो। त्यसले रोजगारी सिर्जना हुन्थ्यो र अर्थतन्त्र उकास्न मद्दत हुन्थ्यो।

तर, हामीकहाँबाट धेरै ठूलो रकम चुहावट भएर विदेश जान्छ। सरकारले मात्र होइन, निजी क्षेत्रले पनि त्यतातिर हेर्नुपर्ने हुन्छ। त्यत्रो रकम आयात गर्नका लागि बाहिर जाने रहेछ, हामी किन उत्पादन गर्नतर्फ नलाग्ने भनेर निजी क्षेत्रले पनि हेर्नुपर्ने हुन्छ। निजी क्षेत्रले पनि स्वदेशी उत्पादनलाई बढावा दिनका लागि सहयोग पुर्याउनु पर्छ।

(अर्थविद् आचार्यसँग मेरोलगानीका विष्णु बेल्वासेले गरेको कुराकानीका आधारित लेख)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।