शेयर बजार सर्ट टर्म बियरिश ट्रेन्डमा गएपछि धेरैजसो लगानीकर्ता एभरेजिङ, टाइप अफ इन्ट्रा डे ट्रेडिङ र स्टप लसको रणनीतिमा

Oct 22, 2021 08:38 AM Merolagani

सुधा देवकोटा

शेयर बजारमा जसरी हुन्छ नाफा कमाउनै पर्ने उद्देश्य राखेर लगानीकर्ताले लगानी गर्ने गर्छन्। नाफाकै लागि गरिएको लगानीको प्रतिफल र सुरक्षण दुवैको लागि लगानीकर्ता तयार रहनुपर्छ। जसको लागि लगानीकर्ताले बजारको ट्रेन्ड अनुसार लगानीको रणनीति बदल्ने गर्छन्।

बजार घट्दो गतिमा होस् या बढ्दो गतिमा, जुन गतिमा बजार दौडिन्छ त्यही गतिमा लगानीकर्ताले रणनीति बदल्ने गर्छन्। बजारमा सर्ट टर्म बियरिश शुरु भइसकेको छ। गएको एक महिनादेखि शेयर खरिद गरेका अधिकांश लगानीकर्ताले मुनाफा आर्जन गर्न सकेका छैनन्। किनकि त्यस यता सबैजसो कम्पनीको शेयरमूल्य अस्तिभन्दा हिजो र हिजोभन्दा आज घट्दै गएको छ। जसले गर्दा गएको एक महिनामा अधिकांश  लगानीकर्ता नाफामा नगएका हुन्।

हरेक दिन जसो बजार घट्दो लयमा गएपछि यति बेला धेरैजसो लगानीकर्ता एभरेजिङ, टाइप अफ इन्ट्रा डे ट्रेडिङ र स्टप लसको रणनीतिमा देखिएका छन्। बजार निरन्तर रुपमा घट्दै गर्दा बजारबाट लगानीकर्ताहरूले धेरै नोक्सानी भएको हुन्छ। उक्त नोक्सानीलाई केही कम गर्नको लागि लगानीकर्ताहरूले यस्तो रणनीति मार्फत शेयर काराेबार गर्ने गरेको लगानीकर्ताहरूको भनाई छ।

महँगो मूल्यमा खरिद गरेको शेयरको सामान्य करेक्सन होला भन्दाभन्दै न्यून मूल्यमा झर्‍यो त्यसैले आफूसँग भएको शेयर नै किन्दै एभरेजिङ्ग गर्न थालेको लगानीकर्ता विकास महर्जन बताउँछन्। महँगो मूल्यमा खरिद गरेको शेयरकाे मूल्य घट्दै जाँदा पुनः त्यही कम्पनीको शेयर खरिद गरी प्रतिशेयर लगात कम गराउनुलाई  नै  एभरेजिङ्ग  गर्नु  भनिन्छ।   

अर्को तर्फ लगानीकर्ताले इन्ट्रा डे कै शैलीमा समेत कारोबार गर्न थालेका छन्। आफूसँग भएको कम्पनीको शेयर बिक्री गर्ने र सोही दिन पुन: त्यही शेयर किन्ने समेत रणनीति अख्तियार गर्न थालेको महर्जनले सुनाए। नेपालमा वास्तविक रुपमा इन्ट्राडे कारोबारको सुरुवात भने भएको छैन। वास्तविक रुपमा आजै शेयर किनेर आजै बिक्री गर्न सकिने कारोबार प्रणालीलाई इन्ट्रा डे कारोबार भनिन्छ।

आफूसँग भएको शेयर आजै बिक्री गर्ने र पुन:आजै सोही शेयर किन्ने केही लगानीकर्ताले निश्चित कम्पनीको मात्रै शेयर कारोबार गर्ने गरेका छन्। एकदेखि तीन कम्पनीमा मात्रै शेयर कारोबार गर्ने लगानीकर्ताले यस्तो रणनीति बढी अख्तियार गरेको महर्जनको भनाइ छ। “यसरी लगानी गर्दा आफ्नो क्षमतामा रहेको लगानी कुनै एउटै कम्पनीमा नै केन्द्रित रहने र थोरै कम्पनीको अवस्थाको बारेमा मात्र जानकार भए हुने भएको कारण पनि यसरी कारोबार गर्न सहज हुन्छ,” महर्जनले भने।

तर, यस्तो किसिमको कारोबारले बढ्दो बजारमा बढी फाइदा पुर्‍याउने भएकोले घट्दो बजारमा भने उक्त रणनीति खासै उपलब्धिमूलक सिद्ध नहुने नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट बताउँछन्। “बढ्दो बजारमा केही सहज भएता पनि घट्दा अझ गाह्रो हुन्छ,” रानाभाटले भने। आजै शेयर किन्ने र बिक्री गर्ने थोरै मात्र रहेको रानाभाटको अनुमान छ। किनकि म्यासिभ रुपमा त्यस्तो कारोबार भएको भए कारोबार भोल्युममा समेत त्यसको असर देखिने थियो, जुन नदेखिएको रानाभाटको जिकिर छ। “बजारमा इन्ट्राडे कारोबार भइरहेको भएमा भोल्युम बढ्नुपर्ने हाे तर त्यसो भएको छैन,” रानाभाटले भने।

रानाभाटले यस्तो खालको कारोबार थोरै मात्रामा भएको अनुमान गरिरहँदा उता नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने यस्तै कारोबार शैलीले नै बजारमा बढी घट्दो प्रेसर परेको बताउँछन्। “अहिले बजारमा छोटो अवधिको लागि मात्र लगानी गर्ने लगानीकर्ताहरूको हाबी हुनु र दूरदर्शी कारोबार नगरेकै कारण यो परिणाम भएको हो,” ढकालले भने। लगानीकर्ताहरूले अध्ययन विना हचुवाको भरमा लगानी गर्न नहुने, शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले, कम्पनी र त्यसले दिने प्रतिफल सहित भावी योजनालाई समेत ध्यान दिएर लगानी गर्न अध्यक्ष ढकालले सुझाए।

शेयर बजारलाई आफूले यता लैजाने वा उता लैजाने भन्दा पनि शेयर बजारले जस्तो गति लिन्छ त्यही गति अनुसारको रणनीति अख्तियार गर्नु राम्रो रहेको रानाभाटको बुझाइ छ। “बजारमा लगानीकर्ताले आ-आफ्नै रणनीति अनुसार कारोबार गरिरहेका छन्। बजार घट्दै गर्दा एभरेजिङ गर्न, केही घटेको मौका सदुपयोग गर्दै र महँगोमा बिक्री गरेर बसेका लगानीकर्ताहरूले बिस्तारै खरिद गर्दै लैजाने, कसैले स्टप लस गरिरहेका छन्,” रानाभाटले थपे। यस्तै रणनीति, बजारको अवस्था र परिस्थिति अनुसार सोच बदल्नु पर्ने रानाभाटको भनाई छ।

पछिल्लो समय बजारमा देखिएको लगानीकर्ताको कारोबार रणनीतिको बारेमा रानाभाट भन्छन् “बजारमा कारोबार गर्दै आएका लगानीकर्ता नै बजारको अवस्था अनुसार फरक ढङ्गले कारोबारी हुने गरेका छन्। नियमित लगानीकर्ताहरूमा समय अनुसार लगानी सम्बन्धी रणनीति मात्र परिमार्जन भएको हुन्छ। बजार बढी रहेको भए बाहिरबाट पनि लगानी आउने थियो। तर घटेको समयमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा लगानी सम्बन्धी रणनीति नै परिमार्जित भएको हो”।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।