पहुँचवाला व्यावसायीले बिराेध गरेकाे २४ घण्टा नबित्दै राष्ट्र बैंककाे सर्कुलर, शेयर बजारका लगानीकर्ताकाे राेदन भने राष्ट्र बैंकले सुनेन

Oct 20, 2021 04:20 PM merolagani

सुवास निरौला

नेपाल राष्ट्र बैंकले ‘व्यवसायीलाई काखा,शेयर लगानीकर्तालाई पाखा’ जस्तो व्यवहार गरेको आरोप लगानीकर्ताहरूले लगाएका छन्। ब्याजदरको विषयमा तत्काल एक्सन लिएको राष्ट्र बैंकले ४/१२ को नीतिमा भने कुनै सुनवाइ नगरेको भन्दै उक्त आरोप लगाएका हुन्।

“हुनेखाने र पहुँचवाला व्यवसायीले ब्याजदरको विरोध गरेको २४ घण्टा नबित्दै कडा निर्देशन जारी गरेर व्यवसायीलाई काखा र शेयर लगानीकर्तालाई भने पाखा जस्तो व्यवहार गर्‍यो। यसले नेपालमा व्यवसायीले विरोध गर्ने बित्तिकै नीति परिवर्तन हुने तर शेयर लगानीकर्ताको गुनासो भने कहिल्यै सुनवाइ नहुने परम्पराले जरा गाड्दै गएको ठहरियो” पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने।

राष्ट्र बैंकको शेयर बजार प्रतिको रवैया यस्तै रहिरहने हो भने निकट भविष्यमा साना शेयर लगानीकर्ताले आत्महत्या गर्ने स्थिति आउने लगानीकर्ताको भनाई छ।  “४/१२ को नीति पछि शेयर बजार लगातार घटेपछि साना लगानीकर्ता आत्महत्या गर्ने स्थितिमा आइपुगेका छन्। अझै यो नीति नसच्याए चाँडै दुर्घटनाको खबर नसुनिएला भन्न सकिन्न” अर्यालले भने।

व्यवसायीहरूले ब्याजदरको विषयमा कुरा उठाउन भन्दै बैठक बाेलाउन साथ  राष्ट्र बैंकले अबेर राती नै निर्देशन जारी गर्‍यो। तर लामो समयदेखि लगानीकर्ताले ४/१२ को नीतिले शेयर बजार नै ध्वस्त पार्दै लैजाँदा समेत राष्ट्र बैकले कुनै सम्बोधन नगरेकोप्रति लगानीकर्ता आक्रोशित छन्। ब्याजदर बढेको विषयमा मंगलबार मात्रै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले विरोध गरेका थिए। सोही विषय केन्द्रीय बैकले मंगलबार राति नै सम्बोधन गरिदिएको प्रति अर्यालको सङ्केत हो।

शेयर कर्जामा लगाइएको ४/१२ को सीमाको विरोध सुरुदेखि नै सङ्गठित लगानीकर्ताहरूले गर्दै आएका छन्। तर उक्त विषय भने अझै पनि केन्द्रीय बैंकले सम्बोधन गरेको छैन। केन्द्रीय बैकले उक्त विषय सम्बोधन नगरे पनि लगानीकर्ताले भने अझै विरोध गर्न छाडेका छैनन्। तर उनीहरूको विरोधलाई  केही मानिसहरूले बजार बढाउन गरेको प्रपञ्चकाे रूपमा आक्षेप लगाउने गरिएकाे छ । “हामी हरेक दिनको हरेक घण्टा ४/१२ को विरोधमा अनौपचारिक रुपमा लागिरहेका छौ। औपचारिक रुपमा लाग्दा बजार बढाउन यसको विरोध गरिएको भन्ने आक्षेप आउन थालेपछि विरोधलाई अनौपचारिक गर्न बाध्य हुनु परेको हो” अर्यालले भने।

पछिल्लो समय शेयर बजार लगातार घट्नुको प्रमुख कारण नै ४/१२ को नीति रहेको उनीहरूको ठम्याइ छ। बजारकाे याे अवस्था आउने भन्दै उनीहरूले नीति आएको भोलिपल्टै अर्थमन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए। उक्त ध्यानाकर्षण पत्रमा लेखिएका कुरा अहिलेको बजारले प्रमाणित गर्दै लगेको उनीहरूको जिकिर छ। “जब नेपाल राष्ट्र बैकले ४/१२ को नीति ल्यायो। त्यो नीतिले बजारलाई प्यानिक बनाउँछ। अन्त्यमा डुब्ने साना लगानीकर्ता नै हुन्छन्,नीति सच्याउनु पर्छ भन्दै नीति आएकै भोलिपल्ट अर्थमन्त्रीलाई लिखित पत्र नै दिएका थियौं। त्यति खेर यसलाई सामान्य रुपमा लिइयो। आखिर ती कुरा प्रमाणित हुँदै गएको छ। समस्यामा लगानीकर्ता नै पर्दै गएका छन्” अर्यालले भने।

४/१२ को नीतिलाई राष्ट्र बैकले गरेको नीतिगत भ्रष्टाचार सम्मको गम्भीर आरोप लगाएका छन्। “यदि राष्ट्र बैंकले साना लगानीकर्ताहरूलाई संरक्षण गर्ने नीति थियो भने अब आउने नीतिमा साना लगानीकर्तालाई प्राथमिकता दिएर ठूला लगानीकर्ता भनिएकाहरूलाई ऋण नवीकरण गर्ने मौका दिएको भए बजारमा राहत हुने थियो। तर, बजारमा जानी बुझिकन नीतिगत भ्रष्ट्राचार भएकाे प्रष्ट भइसकेको छ” अर्यालले भने।

उनीहरूले नीतिगत भ्रष्टाचार नै हो भन्ने प्रमाणको रुपमा पछिल्लो समयको कर्जा सीमा र शेयर बजारमा प्रवाह भएको ऋणलाई आधार बनाएका छन्। “जति बैक वित्तीय संस्थाले शेयर लोन प्रवाह गर्न सक्थे त्यसको ५० प्रतिशत पनि ऋण गएको छैन। अहिले चलाउन किन जरुरी थियो ? यो नीति कुन बेला आवश्यक थियो भने जुन बेला शेयर लोनमा लगाइएको सीमा भन्दा बढी ऋण प्रवाह भएको र त्यसमा पनि प्रवाह भएको ऋण सीमित व्यक्तिमा गएकाे भए उक्त नीति ठिक हुने थियो। न त शेयर लोन सीमा भन्दा बाहिर गएको स्थिति हो। न साना लगानीकर्ताले नपाइको स्थिति नै हो। अर्को तर्फ बैक वित्तीय संस्थाले प्रवाह गर्ने ऋणमा यो क्षेत्रको ऋणको भूमिका दुई प्रतिशत पनि नपुग्दै बीचैमा यस्तो नीति अघि सार्नु भनेको त सरासर नीतिगत भ्रष्टाचार नै हो” अर्यालले भने।अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक नै नेपालको शेयर बजार विकासको बाधक बनेको निष्कर्ष लगानीकर्ताले निकालेका छन्।

भारतमा लगानीकर्ताकाे यसरी हुन्छ सम्मान

छिमेकी राष्ट्र भारतमा शेयर बजारले ऐतिहासिक बिन्दु पार गर्दै गर्दा प्रधानमन्त्रीले लगानीकर्तालाई भेटेरै बधाई दिँदै खुसी महशुस गरेको अभिव्यक्ति दिने तर नेपालमा शेयर बजार बढ्दा नीति निर्मातादेखि सरकार र नेपाल राष्ट्र बैकको टाउको दुखाइ हुनु नै नेपालको शेयर बजार तथा लगानीकर्ताको लागि दुर्भाग्य मान्नु पर्ने अर्यालको जिकिर छ।

“भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले शेयर बजारको कति महत्त्व छ भन्ने कुरा राकेश झुनझुनवालालाई भेटेको खबरले प्रमाणित गर्छ। हाम्रो मुलुकमा भने तालुकदार मन्त्रालय र निकायहरूका वरिष्ठ अधिकारीहरू भने शेयर सम्बन्धी कुरा गर्नै नआउनुस् भनेर तर्कने गर्छन्। यस्ता मानसिकता भएका नीति निर्माता भएका देशमा लगानीको अपेक्षा गर्नु, लगानीकर्ताले लगानीको सुरक्षण खोज्नु नै दुर्भाग्य हो। उनीहरूले शेयर बजारको महत्त्व नै बुझेनन्” अर्यालले भने।

गत असोज १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  शेयर बजारका चर्चित लगानीकर्ता राकेश झुनझुनवालासँग भेट गरेका थिए। शेयर बजारले ऐतिहासिक बिन्दु पार गरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका थिए। उनले बधाई मात्रै दिएनन् सामाजिक सञ्जाल ट्विटरमा भेटको तस्बिर सहित उनीसित प्रत्यक्ष भेट्न पाउँदा खुसी लागेको क्याप्सन लेखेका थिए। झुनझुनवालाले आफ्नै देशमा लगानी गर्नु पर्छ। आफ्नै घरको खाना मिठो छ भने किन अन्य ठाउँमा गएर खाने भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि मोदीले उनलाई भेटेका थिए। सोही विषय उक्काउँदै अर्यालले नेपाली नीति निर्माता र भारतीय प्रधानमन्त्रीले शेयर बजारले हेर्ने दृष्टिकोणको बारेमा टिप्पणी गरेका हुन्। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।