आठ अर्ब बढीको धान बाली क्षति हुँदा जम्मा १५ लाखको बीमा दाबी, कृषि बीमाकाे अवस्था किन नाजुक?

Oct 28, 2021 08:11 AM Merolagani



अरूण पाख्रेन

सरकारले कृषि बीमालाई उच्च प्राथमिकतामा राखेको भएपनि सर्वसाधारणको भने आर्कषण देखिएको छैन। दशैं लगतै भएको बेमौसमी वर्षातले अर्बौको क्षति भए पनि बीमा दाबी भने न्यून देखिएको छ।

कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार दशैं लगतै भएको अविरल वर्षाका कारण ८ अर्ब २७ करोड रुपैयाँ बराबरको धान बाली क्षति भएको छ। ६७ हजार ९१९ हेक्टर क्षेत्रफल रहेको २ लाख ५८ हजार मेट्रिक टन धान बालीमा क्षति पुगेको कृषि विकास मन्त्रालयले जनाएको छ।

बेमौसमी वर्षातले ८ अर्ब २७ करोड रुपैयाँ बराबरको धान बाली क्षति भएपनि बीमा दाबी भने न्युन देखिएको छ। बीमा समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार धान बाली वापत जम्मा १४ लाख ९० हजार रुपैयाँको मात्रै दाबी परेको छ।

यो धान बालीमा भएको कुल क्षतिको ०.०२० प्रतिशत मात्रै हुन आउछ। यो तथ्यांकले कृषि बीमा सर्वसाधारणको आकर्षण बढ्न नसकेको प्रष्ट हुन्छ।

सरकारी अनुदानले पनि आकर्षण बढेन

सरकारले कृषि बीमामा निरन्तर अनुदान प्रदान गर्दै आएको छ। गत आर्थिक वर्षसम्म सरकारले कृषि तथा पशुपन्छी बीमामा बीमाशुल्कको ७५ प्रतिशत अनुदान दिदै आईरहेको थियो। चालु आर्थिक वर्षदेखि भने सरकारले प्रदान गर्ने अनुदान रकम बढाएर ८० प्रतिशत पुर्याएको छ।

त्यस अनुसार किसानहरुले २० प्रतिशत बीमाशुल्क भुक्तानी गरेर आफ्नो बाली तथा पशुपन्छीको बीमा गर्न सक्नेछन्।

धन बाली बीमामा सबै किसानले बीमा नगरेकोले कम दाबी परेको हुन सक्ने बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले अनुमान गरे।

‘कृषि बीमाको गतिविधि नै कम छ। त्यसमाथि धान बालीको बीमा सबै किसानले नगरेको पनि हुन सक्छ। कति फाइलहरु अझै दाबी प्रकृयामै रहेका छन्,’ कृषि तथा लघु बीमा विभागका प्रमुख समेत रहेका सुवेदीले भने, यसले गर्दा पनि धान बालीको बीमामा न्युन दाबी परेको हुनसक्छ।’

यद्यपी उनी कृषि बीमा अपेक्षाकृत रुपमा विस्तार हुन नसकेको स्वीकार गर्छन्। ‘पशुपन्छी बीमाको तुलनामा बाली बीमा केही झन्झटिलो भएको कृषि बीमा अपेक्षा अनुसार पक्कै विस्तार भएको छैन्,’  सुवेदीलेले भने, ‘हामीले देशभरी नै बीमा सचेतनाको लागि कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं। यसले कृषि बीमाको दायरा बढाउनमा सहयोग पुग्नेछ।’

सरकारी अनुदानमा भएको वृद्धि तथा बीमा समितिले देशव्यपी रुपमा सञ्चालन गरेको जनचेतना कार्यक्रमले कृषि बीमाको दायरा बढ्ने बीमा समितिको विश्वास छ।

बीमा समितिले बाली अनुसार बीमालेख बनाएर जारी गर्ने गरेको छ। त्यसमध्ये धान बाली बीमा पनि एक हो।

समितिले अहिले लागतमा आधारिक धान बाली बीमालेख र उत्पादनमा आधारित चैते धान बाली (सामुहिक) बीमालेख जारी गर्दै आईरहेको छ।

बीमा अवधिभित्र आगलागी, चट्याङ, भूकम्प, बाढी/डुवान/खडेरी, पहिरो/भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरु तथा किरा तथा रोगबाट धान बालीको हानी–नोक्सानी वा क्षति भएमा बीमालेख अनुसार लागत मूल्य वा उत्पादनकाे आधारमा क्षतिपूर्ति रकम भुक्तानी दिइन्छ।

अहिले सगरमाथा इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले बीमालेख जारी गरेका छन्।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।