नेप्सेको पिई रेशियो कति?

Oct 28, 2021 12:54 PM Merolagani

रबिन पाैडेल

दोस्रो बजारमा शेयर कारोबार गर्नेहरूले कम्पनीको शेयरमा करिब ३८ गुणा सम्म मूल्य चुकाउन थालेका छन्। नेपाल स्टक एक्सचेन्जको पिई रेसियो (मूल्य आम्दानी अनुपात) गणनाले करिब ३८ गुणासम्म मूल्य चुकाएको देखिएको हो।

मेरोलगानीले गत मंगलबार भएको कारोबारको तथ्याङ्कको आधारमा नेपाल स्टक एक्सचेन्जको पिई रेसियो गणना गरेको थियो। उक्त गणनामा नेपाल स्टक एक्सचेन्जको पिइ रेसियो ३७.९६ गुणा देखिएको छ। नेप्सेमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षमा कमाएको कुल नाफा र हालको बजार पूँजीकरणको आधारमा गणना गर्दा पिई रेसियो ३७.९६ गुणा रहेको देखिएको हो।

नेप्सेको गत मंगलबारसम्मको तथ्याङ्क अनुसार हाल २२१ वटा कम्पनी नेप्सेको कारोबार कक्षमा सूचीकृत छन्। ती कम्पनीहरूले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब १ अर्ब ४६ करोड ४ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए। जसमा १२ कम्पनी घाटामा देखिएका थिए।

सूचीकृत कम्पनीहरूको अन्तिम कारोबार मूल्य अनुसार मङ्गलबारसम्ममा कुल बजार पूँजीकरण ३८ खर्ब ५१ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय प्रचलन अनुसार सूचीकृत कम्पनीहरूको खुद नाफाले कुल बजार पूँजीकरणलाई भाग गरेर सूचकको पिई निकालिन्छ। सोही विधि अनुसार नेप्सेको पिई रेसियो ३७.९६ गुणा देखिएको हो।

माथि उल्लेखित पिइ रेसियो अझै घटेको हो। बजार उचाइमा पुगेको बेला लगानीकर्ताले यो भन्दा बढी मूल्य चुकाउने गरेका थिए। किनकि नेप्से हालसम्मकै उच्च विन्दु ३१९८ विन्दुमा पुग्दा पिई ४४ गुणाभन्दा माथि पुगेको थियो। तर पछिल्लो समय सूचक उच्च विन्दुबाट करिब ५०० अंक तल झरेको छ। सूचक तल झर्दा कुल बजार पूँजीकरण पनि सोही अनुपातमा घटेको छ। कुल बजार पूँजीकरण घटेकै कारण पिई रेसियो समेत घटेको देखिएको हो।

पछिल्लो करेक्सनमा नेप्से घटेर २५११ सम्मको तल्लो विन्दुमा झरेको थियो। उक्त दिन बजार पूँजीकरण घटेर ३५ खर्ब १५ अर्ब ५१ करोड ४ लाख रुपैयाँमा झरेको थियो। सो दिन नेप्सेको पिई रेसियो घटेर ३४ गुणा सम्म झरेको थियो।

बजारमा पिइ रेसियो निक्कै तल हुनुलाई राम्रो मानिँदैन भने धेरै बढी हुनु पनि राम्रो हुँदैन। जस आधारमा नेप्सेको अहिलेको पिई रेसियोलाई हेर्ने हो भने पनि लगानीकर्ताले सूचीकृत कम्पनीहरूको नाफाको आधारमा निक्कै बढी रकम चुकाएको देखिन्छ। एक वर्ष यता बजार बढ्दै जाँदा लगानीकर्ताले ३० देखि करिब ४५ गुणा बढी सम्म मूल्य चुकाउन थालेका छन्। जुन औसत भन्दा माथि हो। सामान्यतया १२ देखि २० सम्म पिई रेसियो लाई बजारमा सामान्य रुपमा लिने गरिन्छ।

तर जुन पिई रेसियो नेप्सेको देखिएको छ, उक्त पिई रेसियोलाई कम्तीमा पनि आधा मान्नु पर्ने देखिन्छ। किनकि नेप्सेले कुल बजार पूँजीकरण गणना गर्दा साधारण शेयरको मूल्यको आधारमा गर्ने गर्छ। जबकि नेप्सेमा सूचीकृत कम्पनीको कम्तीमा पनि ५१ प्रतिशत शेयर संस्थापक छन्। ती संस्थापक शेयरको मूल्य साधारण शेयर भन्दा ५० देखि ८० प्रतिशत भन्दा कम मूल्यमा कारोबार हुने गर्छन्। त्यस आधारमा पनि ती सबै शेयरलाई बजार मूल्यकै आधारमा गणना गर्दा उक्त पिई रेसियो देखिएको हो। जुन वैज्ञानिक छैन। संस्थापक शेयर र सर्वसाधारण शेयरको मूल्य अनुसार कम्पनीको नाफालाई हिसाब गर्ने हो भने अनुमानित ५० प्रतिशतसम्म पिई रेसियो कम हुन सक्छ।

अर्को तर्फ कतिपय सूचीकृत कम्पनीहरूले धेरै समयदेखि वित्तीय विवरण प्रकाशित गरेका छैनन्। ती कम्पनीहरूको नाफालाई समेत यहाँ समावेश गरिएको छैन। ती कम्पनीहरूले गरेको नाफालाई समेत गणना गर्ने हो भने पिई रेसियो केही कम हुन सक्छ। उदाहरणको लागि विशाल बजार, नेपाल पुनर्बीमा कम्पनी नेप्सेमा सूचीकृत भएपनि गत वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छैनन्। ती कम्पनीको बजार पूँजीकरण उच्च भएपनि नाफा भने गणना नहुँदा पिई रेसियो केही बढी देखिएको हो।

संस्थापक शेयरको गणना र वित्तीय विवरण प्रकाशित नगरेका कम्पनीहरूको समेत हिसाब गर्ने हो भने अहिले देखिएको पिई रेसियोमा आधा भन्दा बढी कटौती हुन सक्छ। त्यस आधारमा हेर्ने हो भने बजार उचाइमा पुगेको बेला देखिएको पिई रेसियो समेत जोखिमयुक्त देखिदैन। अझै पनि दोस्रो बजारमा लगानी गर्नेहरूले प्रशस्त नाफा कमाउन सक्छन्। यस आधारमा अझै पनि नेप्सेमा सूचीकृत कम्पनीहरूको मूल्य कम देखिन्छ।

तर, सबैलाई सोलो डोलो हिसाब गर्दा भने अहिलेको पिई रेसियो बढी देखिन्छ। यद्यपि बजार उचाइमा पुगेको बेलाको पिई रेसियोलाई आधार मान्ने हो भने ५० सम्मको पिई रेसियो नेपाली शेयर बजारले सजिलै पचाउन सक्ने देखिन्छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।