लगानीकर्ता र बैंकर स्तब्ध, राष्ट्र बैंकले आफ्नो अडान छोडेन,समस्या ज्यूका त्यूँ राखेर गभर्नर अग्नि परीक्षामा पास

Nov 26, 2021 04:41 PM merolagani



सुवास निरौला

लगानीकर्ता र बैंकरलाई स्तब्ध पार्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गरेको छ। शुक्रबार बिहान भर्चुअल माध्यमबाट गरेको समीक्षामा लगानीकर्ता र बैंकरले उठाएको विषयलाई बेवास्ता गर्दै समीक्षा आएपछि उनीहरू स्तब्ध भएका हुन्।

दुई विषयलाई लिएर तीन महिनादेखि बैंकर र लगानीकर्ता असन्तुष्ट थिए। खासगरी केन्द्रीय बैंकले पहिलो पटक मौद्रिक नीति मार्फत प्रयोगमा ल्याएको सिसिडि रेसियोको खारेजीसँगै प्रयोगमा ल्याइएको सिडि रेसियो र शेयर बजारमा दिने ऋणमा लगाइएको ४/१२ को क्यापमा लगानीकर्ता र बैंकर असन्तुष्ट थिए।

मौद्रिक नीति सार्वजनिक भएदेखि नै यी दुई विषय सबैभन्दा बढी चर्चामा थिए। तीन महिनादेखि विरोध भइरहेका यी दुई नीतिमा अर्थ मन्त्रालय र अर्थ मन्त्रीले पनि बढी नै चासो दिएका थिए। विरोध गर्नेहरूले शक्ति केन्द्रदेखि अर्थमन्त्रीसम्मलाई दबाव बढाउँदै आएका थिए। उनीहरूको चर्को दबावका कारण पहिलो समीक्षामा उक्त नीति पुनरावलोकन हुने बढी नै अपेक्षा गरिएको थियो। तर यी दुवै विषयमा केन्द्रीय बैंकले आफ्नो अडान कायम राखिदियो। जसले गर्दा बैंकर र लगानीकर्ता स्तब्ध बने।

चौतर्फी रुपमा दबाव झेलिरहेको केन्द्रीय बैंक यस पटक भने अलि बढी सजग देखियो। यसअघि बैठक बसेको केही समय पछि मात्रै निर्णय सार्वजनिक गर्ने परम्परा थियो। जुन यसपटक राष्ट्र बैंकले उक्त परम्पराको बिट मारिदिएको छ । गभर्नरले  यस पटक सञ्चालक समिति सदस्यहरूमाथि अविश्वास गरेको देखियो। सञ्चालक समितिबाटै सूचना चुहिने खतरालाई मध्यनजर गर्दै उनले सूचना चुहिने अवसर समेत नदिई समीक्षा सार्वजनिक गरिदिए। चुहिएको सूचनाले गरिसकिएको निर्णयमा  परिवर्तन नै गराउन सक्ने गरी दबाव सिर्जना हुने खतरा पनि उत्तिकै थियो। जुन समय नराखिँदा गभर्नरले उक्त दबाव झेल्नु परेन।बैठक सकिनसाथ पत्रकार सम्मेलन हुनुलाई पहिलो समीक्षाकाे क्रममा देखिएका नयाँ आयाम मान्न सकिन्छ।

राष्ट्र बैंकले जसरी आफूले लिएका दुई बोल्ड विषयमा आफ्नो अडान छोडेन त्यसले भने राष्ट्र बैंकको संस्थागत गरिमा थप मजबुत बनाएको छ। जस्ताेसुकै परिस्थिति र दबाव आए पनि राष्ट्र बैक आफूले लिएका नीतिमा अडिग रहन्छ भन्ने सन्देश यस पटक गभर्नरले दिएका छन्। जुन अग्नि परीक्षामा गभर्नर पास हुने वा नहुने भन्ने संशय अलि बढी नै रहेको थियो।

राष्ट्र बैंकले आफ्नो अडान नछाड्नुलाई सकारात्मक रुपमा लिन सकिए पनि उक्त नीतिले अहिले पारिरहेको समस्या भने आउने दिनमा सर्टआउट हुन्छ कि हुँदैन भन्ने अर्को परीक्षाको प्रतिफल भने आउन वाँकी नै छ। केन्द्रीय बैकले सिसिडि रेसियो खारेज गरेर सिडि रेसियो लागु गर्दा त्यसले मुलुक र मुद्रा व्यवस्थापनमा कतिको सहयोग गरिरहेको छ भन्ने विषय भने अझै पनि अनुत्तरित नै छ। किनकि उक्त नीतिले गर्दा बैंकहरुको लगानी क्षमता घटेको छ भने अर्को तर्फ ब्याजदर दोहोरो अंकमा उक्लिएको छ। आउने दिनमा थप ब्याजदर बढ्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। लगानी क्षमता घटेकै कारण ब्याजदर आकासिँदै गएको हो भने आकासिँदै गएको ब्याजदरले मुद्रा स्फीति चाप पार्दै लगेको छ। महँगी बढ्न थप टेवा पुर्‍याएको छ। जुन सर्वसाधारण र मुलुकको आर्थिक ग्रोथको लागि सहज स्थिति होइन।

अर्कोतर्फ शेयर बजारमा लगाइएको क्यापले बजार प्रभावित हुँदै गएको छ। बजार प्रभावित हुँदा विप्रेषण प्रवाहमा समेत त्यसले धक्का दिँदै आएको छ। बढ्दै गएको बजारकै कारण विदेशबाट शेयरका लागि आउने रकम उतै रोकिन थालेको छ। जसले शोधनान्तर घाटा बढ्दै गइरहेको छ। शेयर बजारमा लागेको क्यापलाई सामान्य रुपमा केन्द्रीय बैंकले लिएको भए पनि त्यसले पारेका सूक्ष्म प्रभावका विषयमा अझै पनि केन्द्रीय बैंकले पर्याप्त अध्ययन गरेको देखिएन। शेयर बजारमा मात्रै पछिल्लो समय कति रकम विदेशबाट आउने गरेको छ भनेर उसले अझै अध्ययन गरेको छैन। जसले गर्दा पनि त्यसको प्रभावको बारेमा केन्द्रीय बैंक जानकार नभएको ठहरिन्छ।

कोभिड पछि उक्सिँदै गएको अर्थतन्त्रमा राष्ट्र बैंकको योगदान के कति रह्यो ? ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकको सफलता,मुद्रा व्यवस्थापनमा उसको दक्खल, मुद्रा स्फीतिमा उसको सफलता, आन्तरिक वित्तीय स्थायित्वमा उसले खेलेको भूमिकासँगै बाह्य क्षेत्र व्यवस्थापनमा गभर्नर अधिकारीले लिएका नीतिको अंक गणितले नै उनी चार वर्षे कार्यकालमा कति सफल हुन्छन्  या हुँदैनन् भन्ने बारे वास्तविक मूल्याङ्कन हुने छ।   




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।