अपेक्षा विपरित नीति समीक्षा हुँदा बजार दबावमा,ऋण नै नपाउने कम्पनीको शेयर मूल्य धेरै घटे

Nov 28, 2021 05:31 PM Merolagani



सुधा देवकोटा 

गत हप्ता स्थिर रहेको शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार फराकिलो अंकले घट्यो।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर बजारको विषय नछोएपछि शेयर बजार फराकिलो अंकले घटेको हो।

लगानीकर्ताको अपेक्षा विपरीत मौद्रिक नीतिको समीक्षा भएकोले बजारमा ठूलो अंकको गिरावट देखिएको लगानीकर्ता रोमनाथ रिमालले बताए।

आइतबार बजारमा १८८ कम्पनीको शेयर कारोबार भयो। कारोबारमा आएका मध्ये ६ कम्पनी बाहेक सबैको शेयर मूल्य घट्यो। कारोबारमा आएका १८२ कम्पनीको शेयर मूल्य घट्दा कारोबार मापक सूचक ८०.२९ अंकले घटेर २६५१.४९ अंकमा खुम्चियो। शेयर बजारमा दिइँदै आएको ऋणमा गरिएको कडाइमा पुनरावलोकन नगरिएको कारण बजार घटेको बताइएको छ। तर बजारमा ऋण पाइने र नपाइने दुवै शेयरका मूल्य घटेका छन्। ऋण पाइने शेयरको मूल्यमा बढी प्रभाव पर्नुको सट्टा बजारमा ऋण नै नपाउने कम्पनीको शेयर मूल्य भने बढी घटेका छन्। जसले समीक्षाले पार्ने प्रभाव भन्दा लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास नै बजारमा बढी हाबी भएको ठहरिन्छ।   

“समीक्षा हुनु भन्दा पहिले शेयर बजारका लगानीकर्ताहरूले ४÷१२ सम्बन्धी नीतिमा केही परिमार्जन हुने आकंलन गरेका थिए। जुन विषय समीक्षाले छुँदै छोएन। जसले गर्दा लगानीकर्ताको मनोभावनामा असर गर्दा आजको बजारमा शेयर बिक्री चाप बढेको हो” रिमालले मेरो लगानीसँग भने।

जबकि राष्ट्र बैंकको समीक्षामा सम्बोधन गर्नु पर्नेमा पुँजी बजारका मुद्दाहरू पनि रहेका थिए। तर राष्ट्र बैंकले बजारको मागहरूलाई सम्बोधन गरेन। शेयर बजारमा आफ्नै कारणले गर्दा लगानीकर्ताहरूले ठूलो क्षति ब्यर्होनु परेको छ भन्ने हेक्का केन्द्रीय बैंकले नराखेको नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको आरोप छ। लगानीकर्ताहरूमा परेको मर्कालाई राष्ट्र बैंकले नबुझेको हुँदा अब राज्यको नीति अनुरूप धितोपत्र बजारले आफ्नो कार्यनीति बनाउनु पर्नेमा उनको जोड छ ।

“समीक्षा मार्फत र सिडी रेसियोलाई ९० प्रतिशत कायम गर्ने समय आगामी असारसम्म पुर्याउदा केही हदसम्म बैंकिङ प्रणालीमा तरलता सहज हुने छ” पौडेलले भने । साथै समीक्षामा आयातलाई केही कडाइ गरिएको छ। त्यसले गर्दा केही न केही आयात घट्छ। जसले गर्दा आयातमा जाने पैसा कम हुनेछ। आयातकालागि बाहिरिने रकम बैंकमै रहँदा थोरै तरलता बढ्ने पौडेलको भनाई छ।

आइतबारको घटाइमा बजारमा देखिएको तरलता सङ्कटकै बढी प्रभाव पारेको लगानीकर्ता शङ्कर महर्जनले बताए। बैंकहरु कर्जा विस्तार गर्न नसक्ने गरी सिडी रेसियोको सीमा नाघिसकेको कारणले बजारमा असर परेको उनको अनुमान छ। नेपाल राष्ट्र बैंकले पहिलो समीक्षा मार्फत ४÷१२ को नीति परिमार्जन नगर्दा पनि लगानीकर्तामा  मनोवैज्ञानिक असर परेको उनको भनाई छ।

तर जसरी शेयर बजारमा समीक्षाको असर पर्‍यो त्यसले भने बजारकोलागि त्यति राम्रो सङ्केत नगरेको उनको ठम्याइ छ। बजारमा यति धेरै त्यसको प्रभाव पर्नु पर्ने अवस्था भने थिएन। किनकि शेयर बजारमा ऋण लिएर कारोबार गर्ने भन्दा स्व पूँजीमा लगानी गर्ने लगानीकर्ता बढी छन्। जम्मा  दुई प्रतिशत पनि लगानीकर्ताले शेयर बजारमा ऋण लिएर कारोबार गर्दैनन्। दुई प्रतिशत पनि ऋण लिएर कारोबार नगर्ने बजारमा ऋणमा गरिएको कडाइ नै बजार घट्नुको प्रमुख कारण बन्दा त्यसले बजार तिनै दुई प्रतिशतको कब्जामा रहेको पुष्टि गर्ने महर्जनको जिकिर छ। “शेयर बजारमा सक्रिय रुपमा कारोबार गर्ने एक प्रतिशतले मात्र कर्जा लिएका छन्। एक प्रतिशतले लिएको ऋणको कुरालाई लिएर समग्र बजार नै प्रभावित हुनु दुखद पक्ष हो“ महर्जनले भने। “यदि यस्तो हो भने बजार दीर्घकालीन सुधार उन्मुख हुँदैन” महर्जनले थपे।

निरन्तर आफ्नो गतिमा चलेको बजारमा मौद्रिक नीति मार्फत मार्जिन कर्जामा कढाई गरिएपछि बजारले घट्दो लय समाउन थालेको हो। ४/१२ को कारणले नै गएको तीन महिनादेखि बजार प्रभावित हुँदै आएको थियो। राष्ट्र बैंकले शेयर बजारमा गरेको कडाइकै कारण लगानीकर्ताले ठूलो क्षति ब्यहाेरी सकेका छन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।