एभरेष्ट बैंकले माघ ३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

Jan 09, 2022 09:04 AM Merolagani



एभरेष्ट बैंक लिमिटेड (EBL) ले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले माघ ३ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि ८ वर्ष रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।