सातामा नेप्से ६ प्रतिशत बढ्दा कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jan 14, 2022 01:16 PM Merolagani



यस साता नेप्से परिसूचक ६ प्रतिशत बढेको छ। गत साता २६९२.४७ विन्दुमा बन्द भएको नेप्से, यस साता १६५.२८ अंक अर्थात ६.१४ प्रतिशत बढेर २८५७.७५ विन्दुमा बन्द भएको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार उकालो लागेसँगै नेप्से सो दरमा बढेको हो। यस साताको बुधबार नेप्सेमा साढे ३० अंकको करेक्सन भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.८७ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.२३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७३ प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम, कारोबार संख्या र शेयर संख्या पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस साता दैनिक औषत कारोबार रकम ६७.७६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता कारोबार संख्या ४९.९९ प्रतिशत बढेको छ भने शेयर संख्या ६७.४७ प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि ६ प्रतिशतभन्दा बढी बढेको छ। गत साता ३८ खर्ब ३ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण यस साता २ खर्ब ३३ अर्ब रुपैयाँ बढेर ४० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १६.९४ प्रतिशत बढेको छ। गत साता २२३९.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ३७९.३७ अंक बढेर २६१८.७८ विन्दुमा पुगेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १४ हजार ८६७.१३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १ हजार २७२.६१ अंक बढेर १६ हजार १३९.७४ विन्दुमा बन्द भएको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा कम ०.६१ प्रतिशत बढेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मध्य भोटेकोशी जलविद्युत कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, किसान लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्। त्यसैगरी, यस साता एनआईबिएल प्रगति फण्ड, बोटलर्स नेपाल (तराई), जोशी हाइड्रोपावर लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।