२०७८ मा १७ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Apr 14, 2022 12:29 PM MeroLagani



२०७८ सालभरिमा पेट्रोलियम पदार्थको मूल्यमा १७ पटक मूल्य वृद्धि भएको छ । १७ पटक मूल्य बढ्दा सबैभन्दा धेरै आन्तरिक प्रयोगको हवाई इन्धनमा १ सय ५ दशमलब २६ प्रतिशत मूल्य वृद्धि भएको छ भने सबैभन्दा कम पेट्रोलमा ३२.२३ प्रतिशत मूल्य वृद्धि भएको छ ।


त्यस्तै डिजेलमा वर्षभरिमा ३७.५० प्रतिशत, मट्टितेलमा ३७.५० प्रतिशत, एलपीजी खाना पकाउने ग्याँसमा १४.२९ प्रतिशत र हवाई इन्धन बाह्य प्रयोजनमा ७३.०१ प्रतिशत मूल्य वृद्धि भएको छ ।

२०७८ को शुरुवातसँगै विस्तारै कोभिड संक्रमणको असर कम हुँदै गएपछि विश्व बजारमा पेट्रोलियम पदार्थको माग बढ्न गई कच्चा तेलको मूल्य पनि बढेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि भारतले नेपाल आयल निगमलाई पठाएको मूल्यमा पनि वृद्धि भयो । नेपालले पेट्रोलियम पदार्थ भारतबाट मात्रै खरिद गर्ने गरेको छ । भारतले साउदी अरेबिया, रसियालगायतका देशबाट कच्चा तेल आयात गरेर प्रशोधन गरी नेपाललाई बिक्री गर्ने गर्दछ । कोभिड संक्रमण उच्च हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २० डलर प्रति ब्यारेलसम्म झरेको थियो भने कोभिडको असर विस्तारै कमजोर हुँदै गएपछि बढेर सन् २०२२ को मार्चमा कच्चा तेलले नयाँ उचाई हासिल गरेको छ । कच्चा तेलको मूल्य मार्चमा १ सय ३० डलर प्रति व्यारेल भन्दा माथि पुगेको थियो । पछिल्लो समय कच्चा तेलको मूल्य बढ्नुमा रुस युक्रेन युद्धलाई पनि लिने गरिएको छ । विश्वको पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रमा रुस तेस्रो स्थानमा पर्दछ । विश्वमा अमेरिका, साउदी अरेबियापछि तेल निर्यात गर्ने राष्ट्रको सूचीमा रसिया नै आउने गर्दछ । रुस युक्रेन युद्धको असर स्वरुप नेपालमा विद्यमान अहिलेको मूल्य पनि अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

२०७८ भरिमा पेट्रोलको मूल्य १२१ बाट बढेर १६० रुपियाँ, डिजेल र मट्टितेलको १०४ बाट बढेर १४३ रुपियाँ पुगेको छ । त्यस्तै एलपीजी ग्याँसको मूल्य प्रति सिलिन्डर १४ सय रुपियाँ रहेकोमा वर्षभरिमा २ सय रुपियाँ बढेर १६ सय रुपियाँ पुगेको छ । निगमनका अनुसार सबैभन्दा बढी नोक्सानी पनि ग्याँसमै रहेको छ ।

पछिल्लो चोटि बढेको मूल्य अनुसार नेपालमा अहिले पेट्रोलको मूल्य १ सय ६० रुपियाँ, डिजेल र मट्टितेल १ सय ४३ रुपियाँ, खाना पकाउने ग्याँस प्रति सिलिण्डर १६ सय रुपियाँ रहेको छ भने हवाई इन्धन (आन्तरिक) १ सय ५६ रुपियाँ र हवाई इन्धन (बाह्य) १५ सय ४५ रुपियाँ रहेको छ । भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्यसूची अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा २२।९८ रुपियाँ, डिजेलमा २८ रुपियाँ र एलपी ग्याँस प्रति सिलिन्डर ९३२।३८ रुपियाँ घाटा रहेको छ भने मट्टितेलमा ६।६९ रुपियाँ, हवाई इन्धन (आन्तरिक)मा १७।१५ रुपियाँ, हवाई इन्धन (बाह्यतर्फ) ६७।६५ रुपियाँ नाफा रहेको छ । आयल निगमलाई महिनामा अनुमानित ९ अर्ब २७ करोड रुपियाँ घाटा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य वृद्धि अनुसार नेपालको आन्तरिक बजारमा मूल्य समायोजन नहुँदा निगमको सञ्चित नोक्सानी ३३ अर्ब रुपियाँ पुगिसकेको छ ।

कोभिडको उच्च संक्रमण हुँदा अन्तर्राष्ट्रिय बजारमा एकदमै मूल्य घट्दा पनि निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य नघटाउँदा केही वर्ष नाफामै थिए । विगत केही वर्षको नाफाबाट निगमको सञ्चित कोषमा जम्मा भएको ३४ अर्ब रुपियाँ र मूल्य स्थिरीकरण कोषमा रहेको झन्डै १० अर्ब रुपियाँ समेत निगमले भुक्तानी गरिसकेको छ । अहिलेकै मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई सरकारले मासिक ९ अर्ब भन्दा बढी अनुदान दिनुपर्ने अथवा कुनै वाणिज्य बैंकको ऋणको लागि जमानी बस्नुपर्ने अवस्था रहेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको भए पनि नेपालमा अहिले रहेको पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य भन्दा कमै रहेका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना कम रहेको निगमका अधिकारीहरु बताउँछन् ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।