सेञ्चुरी र एनएमबि बैंकको ऋणपत्र सर्वसाधारणले किनेनन्, ५० प्रतिशत ऋणपत्र बिकेन

May 19, 2022 04:05 PM Merolagani

सेञ्चुरी कमर्शियल बैंक र एनएमवि बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा सर्वसाधारणको आकर्षण कम देखिएको छ। बैंकहरुले बिक्रीमा ल्याएको ऋणपत्र समय थप्दा पनि आधाभन्दा कम मात्र बिक्री भएको छ।

अहिले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै पाइन थालेको अवस्थामा बैंकहरुले ११ प्रतिशतभन्दा कम ब्याजदरमा ऋणपत्र बिक्रीमा ल्याउदा ऋणपत्र बिक्री गर्न कठिन भएको हो।

सेञ्चुरी कमर्शियल बैंकले बैशाख २१ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो। सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणले खरिद गर्न पाउने व्यवस्था थियो।

तर बैंकले बिक्रीमा लएको ऋणपत्रमा जेठ ४ गतेसम्ममा ४ लाख ७५ हजार २२० कित्ता मात्रै खरिद आवेदन परेको छ। यो भनेको कुल बिक्रीमा ल्याएको ऋणपत्रको झण्डै आधा हो।

यसैगरी, एनएमबि बैंकले पनि प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता उर्जा ऋणपत्र बिक्रीमा ल्याएकाेमा २१ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री खुला गरिएको हो। जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन व्यवस्था थियो।

तर उक्त ऋणपत्रमा पनि सर्वसाधारणको उपस्थिति निकै कम देखिएको छ। बैंकको उक्त ऋणपत्रमा ४ लाख १६ हजार ४४५ कित्ता खरिदको लागि मात्र आवेदन परेको छ।

दुबै बैंकले बिक्रीमा ल्याएको ऋणपत्र बुधबारदेखि बिक्री बन्द भइसकेको छ। तर त्यसमा आधाभन्दा धेरै ऋणपत्र भने बिक्री हुन सकेन।

यसअघि ऋणपत्र जारी गरेका गरिमा विकास बैंक, प्राइम कमर्शियल बैंक, सिभिल बैंकलगायतलाई पनि ऋणपत्र बिकाउन गाह्रो परेको थियो। बैंकहरुले समय थप गर्दा पनि सर्वसाधारणमा बिक्री गर्न खोजेको सबै ऋणपत्र बिक्री नभएपछि उनीहरुले बाँकी रहेको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गरेका थिए।

यसअघि माछापुच्छ्रे बैंकले बिक्रीमा ल्याएको ऋणपत्र पनि सर्वसाधारणले १४ प्रतिशत मात्रै खरिद गरेका थिए भने लक्ष्मी बैंकको ऋणपत्र पनि १४ प्रतिशत मात्रै बिक्री गरेको थियो। यस्तै ज्योति विकास बैंकको ऋणपत्र पनि २४ प्रतिशत मात्रै सर्वसाधारणमा बिक्री भएको छ।

अहिले बैंकहरुको मुद्दती निक्षेपको ब्याजदरनै उच्च विन्दुमा पुगेको र बजारमा तरलता अभाव भएको कारण ऋणपत्रमा उल्लेख्य आवेदन पर्न नसेको बैंकरहरु बताउछन्। मुद्दतीको ब्याजदर कम हुँदा करिब करिब सबैजसो ऋणपत्र बिक्री हुन्थ्यो तर अहिले ब्याजदर महँगिदा ऋणपत्र बिक्री गरेर बजारबाट पैसा उठाउन गाह्रो भएको उनीहरु बताउछन्।

लगानी गर्नको लागि ऋणपत्रलाई सुरक्षित उपकरणको रुपमा लिइन्छ तर बैंक तथा वित्तीय संस्थाले बिक्री गर्ने ऋणपत्र दोस्रो बजारमा सहजै खरिदबिक्री हुन नसक्दा पनि यसमा लगानीकर्ताको चासो कम देखिएको हो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।