बैंकको मार्जिन कलले बजार घटायो, अब विस्तारै शेयर किन्ने बेला हो

Jun 25, 2022 11:01 AM MeroLagani



रोहन कार्की
हाम्रो १९ बुँदे माग भनेको आजको आजै कार्यान्वयनमा जाने खालको होइन । अहिले १९ बुँदे माग कार्यान्वयन गर्नको लागि एउटा कार्यान्वयन समिति बनेको छ । 

त्यसमा हामी आन्दोलनकारीको तर्फबाट एसपी चौलागाई, म रोहन कार्की र अनसनरत तिलक कोइराला छौं भने धितोपत्र बोर्डको तर्फबाट विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ बस्नुभएको छ ।

१९ बुँदे मागमा बोर्डको जुन प्रतिबद्धता छ,त्यही प्रतिबद्धता अनुसार कार्यान्वयन गर्नको लागि समितिले काम गर्छ । आइतबारदेखि नै समितिले विभिन्न बुँदामा फलो अप गर्छ, एक्सनमा लैजानको लागि त्यसले काम गर्छ ।

बुधबारको दिन नै तिलक कोइरालाको आमरण अनसन तोडिने गरि बोर्डले पहल नगरेको होइन तर बोर्डले अनसनरत कोइरालालाई पठाएको पत्रमा पहिला अनसन तोड्ने त्यसपछि बल्ल समिति गठन हुने, समिति गठन भएपछि निर्णय गरेर प्रतिबद्धता जाहेर गर्ने भन्ने कुरा थियो । अहिले चाँहि पहिला समिति बन्यो, समिति बनेपछि लगानीकर्ताको १९ बुँदे मागमा सम्पूर्ण सदस्यको रोहवरमा अनसनरत कोइराला र बोर्ड अध्यक्ष रमेश हमालले हस्ताक्षर गरेर कार्यान्वयनको लागि प्रतिबद्धता जनाए । हरेक बुँदालाई कुन समयावधिमा क–कसले के गर्ने भन्ने सम्बन्धमा स्पष्ट खाकासहितको सम्बोधन भएको छ । यस्तो स्पष्ट खाकासहितको प्रतिबद्धता आएपछि मात्रै अनसनरत तिलक कोइरालाले अनसन तोडेका हुन ।

धितोपत्र बोर्डले गर्न सक्ने काम पहिला सम्पन्न गरेर बोर्डका अध्यक्ष हमालको प्रतिबद्धता अनुसार बढीमा ३ महिनाभित्र सम्पूर्ण माग सम्बोधन गर्ने सहमति भएको हो । अहिलेसम्म आन्दोलनको उपलब्धि भनेको धितोपत्र बोर्डका अध्यक्षले १९ बुँदे मागलाई यो यो तरिकाले सम्बोधन गर्छु भनेर त्यसलाई स्वीकार गर्नुभएको छ ।

बजार यतिधेरै घट्नुपर्ने कारण नै छैन । एकदमै तल्लो विन्दुमा बजार आइसकेको छ । अहिले बजार घटेको भनेकै बैंकहरुको मार्जिन कलले गर्दा हो । यसले बजारमा स्पाइरल प्रभाव पारेको छ । एउटा बैंकको मार्जिन कल एउटा ऋणीले तिर्ने र त्यसले बजार केही घटाउने भयो । फेरि केही समयपछि अर्को बैंकको ऋणीलाई मार्जिन कल आउने भयो र उसले आफ्नो शेयर बेच्नुपर्ने भयो । यसरी स्पाइरल प्रभाव परेर बजार घटेको घट्यै भइरहेको छ । यसमा बैंकहरुले ऋणीलाई अलिकति सहयोग गर्नुपर्ने थियो । बैंकहरुले अलिकति फोर्सफुलरुपमा शेयर बिक्री गर्दा खेरी समस्या भएको हो। केही ब्रोकर साथीहरुले पनि समन्वय गर्न नसकेको जस्तो देखिन्छ । पछिल्लो समय बजार हेर्दा बायर मार्केट भन्दा पनि सेलर मार्केट भए जस्तो देखिन्छ ।

यही बीचमा राष्ट्र बैंकका गभर्नर साहेवले यो बीचमा कहिले नेपाल श्रीलंकाजस्तो हुने खतरा देखिएको त कहिले व्याज दर बढ्न सक्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । उहाँले पटक पटक व्याज दर बढ्न सक्छ भने पनि व्याज दर विगत ३ महिनादेखि स्थिर छ । अहिले पहिलोचोटि सीडी रेसियो पनि ८९ को हाराहारीमा आएको छ । सीडी रेसियो ९१ बाट ८९ मा आउँदा खेरि व्याज दर बढ्ने भन्ने कुरा त रहेन । विगतमा व्याज दर बढेर पनि निक्षेप त बजारमा आएको छैन ।

हामीले के स्वीकार गर्नुपर्छ भन्दा हल्लाको पछाडि लाग्ने भन्दा पनि बजार धेरै तल झरिसकेको छ । पछिल्लो समय बजारमा धेरै नयाँ कम्पनीहरु सूचीकरण भएर मात्रै बजार परिसूचक १८ सय देखिएको हो । मलाई लाग्छ यथार्थ रुपमा भन्ने हो भने अहिलेको बजार भनेको पुरानो परिसूचकसँग तुलना गर्दा १२ सयको हाराहारीमा मात्रै हो । अब कुनै पनि बेला बजारले राम्रो बाउन्स गर्न सक्छ, बजार फर्किनुपर्छ र फर्किन्छ भन्ने लाग्छ । तर यसो भन्दै गर्दा बजार भोलि नै वा पर्सि नै फर्किन्छ भन्ने होइन । बजारले अझै केही चीज खोजिरहेको होला । केही सुधारहरु बजारले खोजिरहेको छ । ती चीजहरु कार्यान्वयनको चरणमा गएका छन् । विस्तारै लागू होला । अब विस्तारै बजारमा सुधारको संकेतहरु देखिन थाल्छ जस्तो लाग्छ । किन्ने बेला यही हो । अहिले विस्तारै विस्तारै शेयर खरिद नै गर्ने बेला हो । बेच्ने बेला होइन । कम्पनीको सही विश्लेषण गरेर धैर्य भएर संयम भएर हल्लाका पछाडि नलागिकन अहिलेको समग्र अवस्थालाई पनि अध्ययन गरेर कारोबार गर्न म सबै लगानीकर्ता साथीहरुलाई अनुरोध पनि गर्छु ।

(धितोपत्र बोर्डले बनाएको कार्यान्वयन समितिमा अनसनरत लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गरेका कार्कीसँग कुराकानीमा आधारित लेख)




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।