मर्जरका लागि ‘जोडी’ खोज्दै पाँच तारे होटलका गोप्य कोठामा बैठक, यी बैंकहरुको पाक्दैछ मर्जरको ‘खिचडी’

Jun 27, 2022 05:31 AM Merolagani

पहिला पहिला नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जानका लागि जोडी खोजी दिँदा पनि नगएका बैंकहरु अहिले भने मर्जरका लागि आफै जोडी खोज्न हतारिएका छन् । अहिले धेरै जसो बैंकका सञ्चालकहरु मर्जरको जोडीका लागि पाँच तारे होटलको गोप्य कोठामा घन्टौ विताउने गरेका छन् ।

पछिल्लो समय सञ्चार माध्यमले सुइको समेत नपाउने गरी मर्जरमा जान तम्सेका बैंकका सञ्चालकहरुको भेटघाट बाक्लिन थालेको छ । अहिले होटलको गोप्य कोठामा करिव एक दर्जन बैंकका सञ्चालकहरु मर्जरको खिचडी पकाउन व्यस्त छन् ।

पछिल्लो पटक सिभिल बैंक र हिमालयन बैंक मर्जरका लागि निकै गोप्य बैठकहरु हुँदै आएका छन् । सिभिल र हिमालयन बैंकबीच मर्जरपछि बन्ने सञ्चालक समिति, स्वाप रेसियो र कर्मचारी समायोजनका सम्वन्धमा एकीकृत रुपमा सहमतिमा पुग्ने प्रयास भइरहेको एक बैंकका सञ्चालकले बताए ।

‘धेरैजसो बिषयमा सहमति नजिक पुगेका छौं,’ ती सञ्चालकले भने ‘मर्जरको अन्तिम तयारीमा रहेका नबिल बैंक र नेपाल बंगालादेश बैंकका कर्मचारीमा भएको बिवाद जस्तो समस्या नआओस भनेर पनि सचेत हुँदै छौं ।’

पछिल्लो पटक मर्जरको अन्तिम चरणमा पुगेको नबिल र बंगालादेश बैंकबीच कर्मचारीको तह निर्धारणमा समस्या आएपछि मर्जरमा अवरोध उत्पन्न भएको छ । ती बैंकका कर्मचारीमा आएजस्तो समस्या अरु मर्जरमा जाने बैंकमा पनि समस्या नआओस भन्ने तर्फ सचेत हुनैपर्छ ।

सेन्चुरी बैंक पनि बिभिन्न बैंकसँग मर्जरमा जानका लागि होटका गोप्य कोठामा छलफललाई तिब्रता दिँदै आएको बुझिएको छ । यसैगरी, कुमारी, सनराइजलगायतका बैंकहरु पनि मर्जरमा जानका लागि उपयुक्त पार्टनरको खोजीमा लागेका छन् ।

विवाहका लागि बर र बधुले उपयुक्त पार्टनर खोजेजस्तै बैंकहरुले पनि मर्जरका लागि उपयुक्त पार्टनर खोजी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले उनको पालामा बिग मर्जरका लागि उपयुक्त जोडी खोज्न बैंकहरुलाई आग्रह गरेपनि त्यतिबेला बैंकहरु इच्छुक देखिएका थिएनन् । तर, अहिले भने राष्ट्र बैंकले मर्जरमा जानका लागि बाध्यकारी व्यवस्था नगरेपनि स्वफूर्त रुपमा बैंकहरु मर्जरमा जानका लागि उपयुक्त पार्टनरको खोजीमा लागेका छन् ।

यसकारण मर्जरमा जानका लागि हतार गर्दैछन् बैंकहरु

पहिला राष्ट्र बैंकले जाउ भन्दा नमानेका बैंकहरु पनि अहिले मर्जरमा जान हतार हतार गरिरहेका छन् । बैंक मर्जरमा जान हतारिनुको कारण अर्थतन्त्रमा बारम्बार आउने उतार चढाव नै मुख्य बिषय भएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बताए ।

‘हतारिनुको पछाडिको कारण अर्थतन्त्रको स्लोडाउन नै हो । कहिले भूकम्प भनेको छ, कहिले कोभिड भनेको छ,’ उनले भने, ‘लगानीको अवसर खुम्चदै गएको, तरलताको अभाव छ भनेर सधै भन्नु पर्ने अवस्था, यी सबै परिस्थितिसँग जुध्नलाई पुँजीको पर्याप्तता आफैसँग हुन सक्ने परिस्थिति रह्यो भने त्यसले पार्ने नोक्सान कम हुन्छ भन्ने कुरा बैंकहरुले बुझेका छन् । त्यसो हुनाले बैंक ठूलो भयो भने लक्ष्य एक प्रकारले ठूलै प्रकारले हासिल गर्न सकिन्छ भन्ने हो जस्तै लाग्छ ।’

सानाहरुलाई मासेर ठूलो बनाएपछि पुँजीको पनि प्रर्याप्तता हुने पूर्वगभर्नर क्षेत्री बताउँछन् । ‘लगानी गर्नका लागि जसरी अहिले बैंकहरुले पैसा ऋण खोज्न जाँदा दिन सक्दैनन् भन्ने कुरा आइरहेको छ नि त्यसमा पनि सुधार हुन्छ होला । ठूला बैंक भएपछि सिमितसँग प्रतिस्पर्धा गर्न पर्ने हुन्छ,’ उनले भने, ‘अहिले खुद्रा खुद्री सबै बजारमा छन् । त्यसो भएपछि प्रतिस्पर्धा गर्दा पनि स्वस्थ्य किसिमको नहुने भयो ।’ मर्जरमा गएर बैंकहरु ठूला भए भने अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउन पनि सहयोग पुग्ने क्षेत्रीको भनाइ छ ।

मर्जरपछि ठूलो बैंक हुने प्रतिस्पर्धा

ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो हुन कस्सिएको छ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत १ बराबर १ को अनुपातमा गाभिने भएका छन् ।

मर्जरमा गए भने दुवैका लागि नै ठूलो उपलब्धि हुन सक्ने पूर्व गभर्नर क्षेत्रीले बताए । ‘ग्लोबल आईएमईले पुँजी बृद्धिको निमित्त ठूलो हुने अवसर पायो,’ उनले भने, ‘ठूलो भनेको ठूलो भाग लिने हो ।’

मर्जरमा गएका नबिल बैंक र नेपाल बंगालादेश बैंकबीच अन्तिम समयमा कर्मचारीको खिचलोका कारण समस्या आएको छ । तर, त्यो समस्या समाधान हुनेमा दुबै बैंक आशावादी रहेका छन् । नबिलले बंगालादेश बाहेक एनसीसी बैंकलाई पनि गाभ्ने तयारी गरेको छ । एनसीसीलाई पनि नबिल बैंकले गाभ्यो भने पुँजीका आधारमा ग्लोबल आईएमई जत्रै बन्ने छ ।

यता हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टबीचको मर्जर तोडिएपछि इन्भेष्मेन्ट बैंकले मेगा बैंक रोजी सकेको छ । इन्भेष्टमेन्ट र मेगाबैचबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

यी बाहेक अन्य बैंक पनि मर्जरमा जान तयार देखिएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।