खातामा आएकै दिन शेयर बिक्री गर्ने लगानीकर्ताको प्रतिशत बढ्दै, यसले के सङ्केत गर्छ ? के बजारले इट्रा डे माग गरेको हो ?

Aug 10, 2022 06:19 AM merolagani

सुवास निरौला

दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ताहरूमा खातामा शेयर आएकै दिन बिक्री गर्ने क्रम पुनः बढ्न थालेको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) का अनुसार खातामा शेयर आएकै दिन बेच्ने क्रम बढेको हो।

सरकारले दोस्रो बजारमा हुने शेयर कारोबारमा दुई किसिमको पूँजीगत लाभकर असुल्ने गर्छ। एक वर्ष भन्दा बढी अवधि शेयर होल्ड गरेर आर्जन भएको नाफामा सरकारले पाँच प्रतिशत मात्रै लाभकर लिने गरेको छ भने एक वर्ष भित्रै बिक्री गर्दा प्राप्त मुनाफामा साढे सात प्रतिशत लाभकर लाग्ने गर्छ। उक्त लाभकरको दर अनुसार सर्ट टर्म कारोबारीले गर्ने मुनाफाबाट प्राप्त हुने लाभकर र लामो समयबाट आर्जित लाभकरमा पुनः फराकिलो अन्तर देखिन थालेको सिडिएससिले जनाएको छ। बजार घटेको बेला उक्त लाभकर बराबरी जितैमा झरेको थियो। त बजार बढेको बेलामा भने सर्ट टर्म कारोबारबाटै बढी लाभकर उठ्ने गरेको सिडिएससिको भनाई छ।

गत वर्ष भदौमा सर्ट टर्म कारोबारबाट आर्जित रकम कुल रकमको ७८.७८ प्रतिशत रहेको थियो भने लामो समयको कारोबारबाट उठेको लाभकरको हिस्सा २१.२२ प्रतिशत थियो। तर गत जेठमा भने उक्त दर ५०/५० प्रतिशतको हाराहारीमा झरेको थियो। जेठमा बजार बेस्सरी घटेको कारण ५०/५० प्रतिशतमा झरेको सिडिएससिको भनाई थियो। तर उक्त दर असार पछि भने पुनः बढ्न थालेको छ। साउनमा मध्यसम्म आइपुग्दा सर्ट टर्म कारोबारबाट उठ्ने लाभकर ७० प्रतिशत माथि उक्लिएको बताइएको छ। अझै त्यसमा पनि खातामा आएकै दिन शेयर बिक्री गर्ने लगानीकर्ता १० प्रतिशत भन्दा माथि उक्लिन थालेका छन्।

शेयर बजारको तीव्र उतार चढावकाबीच प्रफिट बुकिङ गर्ने र स्टप लस गर्न समेत पछि नहट्ने लगानीकर्ताको सङ्ख्या बढ्दै गएको इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए। “यति बेला शेयर बजारमा असाध्यै अस्थिर लगानीकर्ताको सङ्ख्या बढ्दै गएको छ। केही लगानीकर्ता यस्तासम्म छन्, जसलाई खातामा आएको दिन नाफा हुनै पर्छ। यति नाफा भएन भने स्टप लस गर्न पनि पछि पर्दैनन्। त्यसले बजारलाई अस्थिर बनाउँदै लगेको हो। अन्यथा लाभांशको सिजनमा किन शेयर बेच्नु पर्‍यो। जबकि यति बेला भनेको शेयर किन्ने समय हो” ढकालले मेरो लगानीसँग भने।

शेयर बजारमा थरी थरीका लगानीकर्ता हुन्छन्। यिनै लगानीकर्ताको कारण नै शेयर बजारमा घट/बढ हुने हो। उनीहरूले अपनाएको विधि पनि गलत होइन। किनकि शेयर बजारमा लगानी गर्ने भनेको नाफाकै लागि हो। तर यति भन्दा भन्दै पनि छोटो समयकोलागि कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या बढ्दै जानु भने शेयर बजारको लागि उचित होइन। खासगरी शेयर बजार लामो समयको लागि नै लगानी गर्ने ठाउँ हो। त्यसैले गर्दा सर्ट टर्म कारोबारी र खातामै आएको दिन शेयर बेच्न चाहने लगानीकर्तालाई पनि केही अप्सन दिनु पर्ने बेला भइसकेको अहिलेको अवस्थाले दर्साउँछ। त्यस कारण नेपाल स्टक एक्सचेन्जले छोटो समयमा नै नाफा कमाउन चाहने लगानीकर्ताकोलागि इन्ट्रा डे कारोबार लन्च गर्नु पर्ने हुन्छ। किनकि उक्त कारोबारले त्यस्ता मानसिकता भएका लगानीकर्तालाई व्यवस्थित गर्ने ढकालको भनाई छ।

“दोस्रो बजारमा प्रयोग गर्ने उपकरणको विविधीकरणमा निक्कै ढिलाइ हुँदै गएको देखिन्छ। लगानीकर्ताको मनोविज्ञान अनुसार नेप्सेले उपकरणमा विविधीकरण गर्नै पर्ने हुन्छ। अन्यथा बजार स्टेबल हुन निक्कै कठिन छ। विश्वका बजारमा २० प्रतिशत तल माथि हुदा  खैला बैला नै मच्चिन्छ। तर नेपालमा ५० प्रतिशत शेयर सूचक घट्नु सामान्य जस्तै छ। यो उपकरणको विविधीकरण नभएकैले गर्दा यस्तो भएको हो। घटेको बेलना समेत शेयर बिक्री गर्न सक्ने सर्ट सेल जस्ता उपकरण भए। निश्चित बिन्दुमा उनीहरूले किन्नै पर्ने हुन्छ। जसले गर्दा पनि बजार तल जानबाट रोकिन्छ” ढकालले भने। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।