कम्पनीको रजिष्टर्ड कार्यालय कास्कीको, पोखरा महानगरपालिका वडां नम्बर ७ मा रहेको छ । आवश्यकतानुसार स्वीकृती लिई अन्य स्थानहरुमा पनि रजिष्टर्ड कार्यालय सार्न वा शाखा कार्यालय खोल्न सकिने व्यवस्था छ । कम्पनीको जलविद्युत केन्द पनि कास्की जिल्लाकै मादी गाँउपालिका वडा नं.१, २ र ३ मा रहेको छ ।
कम्पनीले १३ मेगावाटको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत्र १९ गते देखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।
आयोजनाको कूल लागत २ अर्ब ३१ करोड ७६ लाख ५५ हजार रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत १७ करोड ८२ लाख ८१ ह्जार रुपैयाँ रहेको छ ।
साथै कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.९१ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १२.९९ वर्ष रहेको छ ।
आईपीओ जारी गर्नुको उदेश्य
कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माण तथा विकासको लागि बैंकसँग सम्झौता भई लिएको ऋण चुक्ता गर्न तथा सर्वसाधारणलाई शेयरमा लगानी गर्ने अवसर दिन आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत र सर्वसाधारणलाई १३.५३ प्रतिशत गरी कुल २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो ।
आईपीओ निष्काशन गरेर संकलन भएको २० करोड रुपैयाँ नै विभिन्न बैंकबाट लिएको कर्जा भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
दुई वर्षमा सञ्चित नाफा २४ करोड माथि पुर्याउने
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा २४ करोड ४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले १० करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै गत आर्थिक वर्षमा भने कम्पनी १२ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ २९ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा रहको थियो ।
पूँजी संरचना
कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ८५ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी भने ६५ करोड रुपैयाँ मात्रै रहेको छ ।
आयोजना प्रभावित स्थानियलाई ८ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।
आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापकको ७६.४७ प्रतिशत र सर्वसाधारणको २३.५३ प्रतिशत कायम हुनेछ ।
सञ्चालक समिति को को छन्?
कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालनक १ जना गरी ७ जना सञ्चालक समिति रहने व्यवस्था छ ।
हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट मात्रै ६ जना सञ्चालकहरु रहेका छन् ।
सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी २ जना र थप एक जना विषेशज्ञ सञ्चालक चयन गर्नेछ । सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।
कम्पनी सञ्चालक समितिको अध्यक्ष प्रेम कुमारी केसी रहेकी छन् । यस्तै सञ्चालक समितिमा रोशन केसी, सुनील नारायण श्रेष्ठ, किरण केसी, मनिषा भण्डारी केसी र कुल प्रसाद आचार्य रहेका छन् ।
भावी योजना तथा रणनीति
कम्पनीले आफ्नो व्यवसाय वा सेवाको वृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने चरणवद्ध रणनीति बनाएको छ ।
कम्पनीको मूख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने योजना बनाएको छ । यसको लागि कम्पनीले नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्नेछ
यस्तै नेपालभरी हाइड्रोपावर सम्बन्धी विद्युत आयोजनाहरु निर्माण गरी उत्पादन, प्रसारण तथा बिक्री वितरण गर्ने, जलविद्युतको संभाव्यता अध्ययन गरी इन्जिनियरिङ्ग परामर्शबाट विद्युत उत्पादन प्रसारण तथा बिक्री वितरण गर्ने साथै सोलार, बायोग्यास, तापीय उर्जा, जैविक विकास, वायु उर्जा उत्पादन तथा नविकरण उर्जा सम्बन्धी अध्ययन, अनुसन्धान तथा तालिम सम्बन्धी काम गर्ने कम्पनीको योजना छ ।
विभिन्न आयोजनाहरु तथा अन्य विद्युत उर्जा उत्पादकहरुबाट उत्पादित बिजुली खरिद गरी नेपाल विद्युत प्राधिकरण तथा सर्वसाधारण जनतालाई बिक्री वितरण गर्ने र उत्पादित विद्युत तथा अन्य उर्जा शक्ति वितरण गर्न आवश्यक प्रसारण तथा वितरण लाइन निर्माण गर्ने र सञ्चालन समेत गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा समेत लगानी रणनीति लिएको छ ।