राधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Oct 11, 2022 06:01 AM Merolagani



राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले असोज ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असोज २५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद जारी गरेको छ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

हाल ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ ५० पैसा पुग्नेछ।