चितवन १ का उम्मेदवार पाण्डे, पाैडेल र ढकाल भन्छन्, 'शेयर बजारकाे साझा उम्मेदवार म नै हुँ,'

Nov 11, 2022 05:46 PM merolagani

अहिले  म‌ंसिर ४ गते हुने  चुनावले मुलुक तातिएकाे छ । स‌ंसदीय र प्रदेशसभाका लागि उठेका उम्मेदवारहरुले चुनाव प्रचार प्रसारलाई तिब्रता दिँदै घरदैलाे अभियानमा जुटेका छन् । उनीहरुले चुनाव जिते राष्ट्रिय र स्थानीय समस्याकाे समाधान गर्ने बताउँदै आएका छन् ।

चितवनकाे क्षेत्र नम्बर १ बाट संसदीय निर्वाचनमा उम्मेदवारी  दिएका तीन भाइ सुरेन्द्र पाण्डे, विश्व पाैडैल र हरि ढकालले पनि स्थानीय र राष्ट्रिय  बिषयलाई मुल मुद्दा बनाएका छन् । तीनै जनाले शेयर बजारकाे  साझा उम्मेदवार भएकाे  जिकिर गरेका छन् । चुनावका एजेन्डा, निर्वाचनकाे माहाैललगायतका बिषयमा मेराेलगानीका उप सम्पादक सुवास निराैलाले तीनै जना उम्मेदवारसँग कुराकानी गरेका छन् ।

उमेरका हिसाबले पाको भएको नाताले पनि आजको कुराकानीमा पहिलो प्रश्न सुरेन्द्र पाण्डेलाई गर्दै छु। यति बेला तपाई नेकपा एमालेको तर्फबाट चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ। कस्ता एजेन्डा लिएर जनता सामु गइरहनु भएको छ।

सबैभन्दा पहिले त मेरो पार्टी एमालले अगाडि सारेको एजेन्डा मेरो पनि एजेन्डा हो। होइन त ? यस भन्दा अघि नै नेकपा एमाले सरकारमा हुँदा सन् २००० सम्म पुग्दा नै मुलुकलाई धनी राष्ट्रको सूचिमा पुर्‍याउने घोषणा गरेको थियो। मुलुकमा कमसेकम प्रति व्यक्ति आय १२ हजार भन्दा माथि पुर्‍याउने  उद्घोष गरेका थियौं। आगामी एक दशक भित्र अहिलेको डेभलपमेन्ट स्टेजबाट अर्को खुड्किलो चढाउने लक्ष्य छ। यस अघि नै तय भएका लक्ष्य यस पटकको निर्वाचनसम्म आइपुग्दासम्म हामीले बिर्सेका छैनौं। ती एजेन्डाहरू निरन्तर छदै छन्।

त्यस बाहेक देशलाई स्वावलम्बी,आत्मनिर्भर,देशमै उद्योग धन्दा र खास खास क्षेत्रमा आयातलाई प्रतिस्थापन गरेर स्वदेशमै उत्पादनमा प्रचुरता सिर्जना गर्ने हाम्रा प्रमुख एजेन्डा छन्। त्यसमा पनि कृषिलाई अलि बढी नै फोकस गर्ने हाम्रो लक्ष्य छ। कृषिका पनि खास खास क्षेत्रमा जस्तो केरा, माछा, दूध, मह, चामल जस्ता बस्तुमा आत्म निर्भर गराएरै छाड्ने प्रतिबद्धता जनतामाझ गरिरहेका छौं। ती क्षेत्रमा आत्मनिर्भर हुन सकियो भने ती बस्तुको आयात गर्नु पर्ने छैन। जसले थोरै भएपनि आयात प्रतिस्थापनमा सहयोग गर्छ भन्ने हाम्रो भनाई राख्दै हिँडिरहेका छौं।

उत्पादनमा आत्मनिर्भर हुने कुरासँगै अहिलेको कृषिलाई कृषि प्रशोधन उद्योगहरूको माध्यमबाट कृषिमा रूपान्तरण गर्दै क्रमशः आत्मनिर्भर हुने क्रममा कृषिबाट प्रवेश गरेर हामी औद्योगीकरण तर्फ जान चाहन्छौं।

अर्थतन्त्र मजबुत बनाउने कुरासँगै शिक्षामा रूपान्तरण गर्ने अर्को एजेन्डा छ। अहिले जुन किसिमको हाम्रो कमजोर शिक्षा प्रणाली छ। त्यसमा लगानी वृद्धि गर्दै हाम्रो शैक्षिक जनशक्ति र ह्युमन क्यापिटल अर्थात् मानवीय पूँजीको सिर्जनाद्वारा देशको रूपान्तरणको प्रक्रिया र रोजगारी सिर्जनाको काममा पनि हामी अगाडि बढ्छौ। त्यो कुरामा हाम्रो उच्च प्राथमिकता रहेको छ।

अर्को तर्फ युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवा केन्द्रित बजेटहरू निर्माण गर्ने छौं। युवा उद्यमीहरूको नयाँ वर्ग, न्यु क्लास क्रिएट गर्ने छौ। नव युवाहरूको जमातको छुट्टै पहिचान बनाउने विषयमा हामीले प्रतिबद्धता गरिरहेका छौं। सकेसम्म युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने र स्वदेशमै रोजगारी सिर्जना गर्दै स्वदेशमै नयाँ उद्यमीहरूको वर्ग सिर्जना गर्ने लक्ष्यका साथ हामीले हाम्रा योजनाहरू जनता माझ अघि सारेका छौं।

उमेरका हिसाबले दोस्रो बरीयतामा रहनुभएका हिसाबले अबको प्रश्न नेपाली काँग्रेसका उम्मेद्वार विश्व पौडेललाई गर्दै छु। तपाई चाँहि कस्ता एजेन्डा लिएर जनता सामु गइरहनु भएको छ ?

पूर्वी चितवन लामो समयदेखि पछौटेपनको सिकार भएको छ। पश्चिम र पूर्वी चितवनमै पनि धेरै डिफ्रेन्स छ। त्यसलाई कम गर्नै पर्छ। त्यसलाई कम गर्न मैले शिक्षा स्वास्थ्यमा लगानी बढाएर कम गर्ने बाचा गरिरहेको छु। अर्को तर्फ पूर्वाधारमा पनि लगानी बढाउनु पर्छ भन्दै छौं। पूर्वाधारमा पनि सडकमा हामी फोकस हुन्छौ भन्दै छौ। ताकि पश्चिम चितवनलाई अरू छिमेकी जिल्लासँग जोड्न सकियोस्। त्यसका अतिरिक्त पार्टीका आफ्ना एजेन्डा त छँदै छन्।

हरि ठकालजी यहाँका एजेण्डाचाँहि कस्ता छन् ?

सर्वप्रथम त पार्टीको घोषणापत्रका एजेन्डाहरू छन्। जसमा भ्रष्टाचारले लिप्त भएको अवस्थामा भ्रष्टाचार मुक्त समाज र सुशासनका कुरा छन्। दोस्रो मैले स्थानीय घोषणापत्रमा सम्भवतः नेपालमै पहिलो हुने एजेन्डा राखेको छु।  कुनै पनि निर्वाचित सांसदको पाँच वर्षसम्म आफ्नो क्षेत्रमा कार्यालय नै रहेन। कार्यालय नै राखेनन्। म निर्वाचित भए पश्चात् चितवन क्षेत्र नम्बर १ मा मेरो कार्यालय हुने छ। जुन कार्यालय बिहान १० बजेदेखि चार बजेसम्म बिदाको दिन बाहेक सधैँ खुल्ने छ। म स्थानीय भूगोलमा हुँदा म त्यस कार्यालयमा हुने छु। यो नेपालमै पहिलो पटक प्राक्टिस हुँदै छ। नेपालमा अहिलेसम्म कसैले प्राक्टिस गरेनन्। त्यसले जनतासँग भिज्न मदत गर्ने छ।

अर्को कृषिमा हाम्रो फोकस हुने छ। पूर्वी चितवनमा किसानका जति पनि मुद्दाहरू छन्। त्यसमा पनि माथिबाट आउने अनुदानहरू दुरुपयोग भएका छन्। यसकालागि मैले देशैभरी कृषि प्रवर्द्धन केन्द्र वडा स्तरमा खोल्ने। कृषि प्रवर्द्धन केन्द्रमा डाइरेक्ट पाँच तहबाट जाने अनुदानलाई एक द्वार बनाएर त्यही वडामा पठाउने र वडाले त्यो अनुदान वितरण गर्ने मेरो अर्को एजेन्डा छ। त्यसले के गर्छ भने अनुदानको दुरुपयोग रोक्छ। कसरी भन्नुभयो भने अहिले त बिचौलियाले झोलामा गाई पालेर खाइदिएका छन्। पल्ला घरकोले गाई नै नपालीकन अनुदान लियो रे भन्ने सुनेपछि वल्ला घरकोले  प्रतिवाद गर्छ।

वडा स्तरमा खुल्ने कृषि प्रवर्द्धन केन्द्रमाचाँहि मेसिनरी औजारहरू हुन्छन्। त्यहाँ ट्याक्टर, थ्रेसरहरु हुन्छन्। त्यो केन्द्रले किन्छ। त्यो औजार इन्धन भरेर किसानले प्रयोग गर्न पाउँछन्। जसले कृषिको लागत घटाउँछ। बिउ बिजनको काम पनि त्यसैले गर्छ भने बजारीकरणको काम पनि त्यसैले गर्छ।

स्वास्थ्य र शिक्षासँगको एजेन्डा छ। आजसम्म खैरेनी नगरपालिका र राप्ति नगरपालिकामा ५० शैयाको अस्पताल  छैन। टाँडीमा भएको एउटा अस्पतालको पनि क्षमता छैन। यो बीचको २० औ वर्षमा पूर्वी चितवनमा जुन किसिमले आवादी बढेको छ। स्वास्थ्य क्षेत्रमा कुनै केही विकास भएको छैन। त्यही भएर यहाँ दुई वटा हस्पिटल खोल्ने एजेन्डा छन्।

आजसम्म पूर्वी चितवनमा सरकारी क्याम्पस छैन। प्रादेशिक स्तरमा दुई विश्वविद्यालय बनाउने एजेन्डा सहित हामी जनतामाझ गइरहेका छौं। मैले मेजर एजेन्डाहरू मात्रै भनिरहेको छु है। 

अर्को पर्यावरणसँग सम्बन्धित योजना पनि छ। यहाँ पाँच ओटा खोलाहरू छन्। त्यो पाँच वटा खोलाहरू यदि भोलिबाट ती खोलाहरू संरक्षण नगर्ने हो भने ढलका नालाहरू बन्दै छन्। त्यो जोगाउनु पर्ने छ। त्यसकालागि हामी लागि परेका छौ।

सामाजिक उत्तरदायित्व कोषमा जुन पैसा खर्च गर्नु पर्छ भनेको छ। यो दुरुपयोग भएको छ। मेरो मुख्य एजेन्डामा सामाजिक उत्तरदायित्व अन्तरगतको त्यो १ प्रतिशत पैसा जुन ठाउँबाट उठ्छ। त्यही नगरपालिकामा तत् समयमै बुझाउन लगाउने भन्ने छ।

फेरि म सुरेन्द्र पाण्डे तर्फ नै आए। तपाईको प्रतिस्पर्धीमा अर्थशास्त्री विश्व पौडेल र तपाईले अघि भने जस्तै नव युवा हरि ढकाल पनि मैदानमा छन्। प्रतिस्पर्धीहरुलाई कसरी लिनु भएको छ ?

मैले त्यस्तो कडा प्रतिस्पर्धा देखेको छैन। गठबन्धनको हिसाबले हाम्रो पछि पछि गठबन्धनको उम्मेदवार हुनुहुन्छ। तर अरू चर्चा गरिएका उम्मेदवार प्रतिस्पर्धाको लाइनमा छैनन्। गठबन्धन बाहेक उम्मेदवार पनि प्रतिस्पर्धामा छन् भन्ने जुन चर्चा छ। त्यो यथार्थ होइन। त्यो हुनाले मूलत अहिले एमाले र गठबन्धनकै बिचकै मुख्य प्रतिस्पर्धा हो। त्यो प्रतिस्पर्धाको दौडमा नेकपा एमालेको तर्फबाट हामी अग्र पंङ्तिमा छौं।

आजको कुराकानीमा रहनु भएका सबैलाई एकै खाले प्रश्न दोहोर्‍याउने क्रममा विश्वनाथ पौडेललाई पुनः त्यही प्रश्न दोहोर्‍याउछु। तपाईको  प्रतिस्पर्धीका रुपमा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे  र हरि ढकाल पनि मैदानमा छन्। प्रतिस्पर्धीहरुलाई कसरी लिनु भएको छ ?

उहाँहरुको स्थिति कमजोर छ। प्रतिस्पर्धीहरुको बारेमा मैले डिटेलमा धेरै भन्न चाहिन। अर्को तर्फ चुनावी दौडमा रहँदा प्रतिस्पर्धीहरुको बारेमा धेरै बोल्नु ठिक हुँदैन भन्ने मलाई लाग्छ। तै पनि सुरेन्द्र पाण्डे जी को बारेमा चाहिँ म के भन्न चाहन्छु भने १० वर्षदेखि उहाँ सांसद हुनुहुन्छ। उहाँको नेतृत्वमा पूर्वी चितवनले जुन पछौटेपन पायो त्यसमा जनताले परिबर्तन चाहेका छन्। ढकालजीको बारेमा मलाई कुनै कमेन्ट गर्नु छैन। मैले यत्ति भन्छु मेरो इभ्यालुएसनमा उहाँहरु दुवै जनाको स्थिति कमजोर छ।

स्वतन्त्र पार्टीका  हरि जीको प्रतिस्पर्धा दिग्गज नेता सुरेन्द्र पाण्डे र धुरन्धर अर्थशास्त्री सित हुँदै छ। तपाईले प्रतिस्पर्धीहरुलाई कसरी लिनु भएको छ ?

सबैभन्दा पहिले त दुवै जनाको प्रतिक्रियामा मैले कुनै टिप्पणी गर्न चाहिन। तर यति भन्दा भन्दै पनि यति चाहिँ तपाईले जोडिदिनु होला। मङ्सिर ५ गते त आउँछ नि। ४ गते मतदान गर्ने दिन भयो। ५ गते बुथका बक्सा खोलिने दिन हुन्छन्। हो त्यो दिनको प्रतीक्षा गर्न म पूर्वी चितवन क्षेत्र बासीलाई आग्रह गर्छु।

अब मैले प्रश्नको उत्तर दिनु पर्दा, म आज १६२ दिनदेखि अभियानमा छु। मैले प्रत्येक घर दैलो गर्दादेखि प्रत्येक जन गुनासाहरू सुन्दा यस पटक मेरै पक्षमा मत परिणाम आउने पक्का देखिन्छ। मेरै क्षेत्रमा उठेका मेरा प्रतिस्पर्धीहरुले जुन एजेन्डाहरू ल्याउनु भएको छ। त्यो एजेन्डाहरू हेर्नु होला। मैले जुन पर्यावरणसँग सम्बन्धित एजेण्डा तीन महिना अघि नै घोषणा गरेको थिए। त्यही एजेन्डा उहाँहरुले कपि पेस्ट गर्नु भएको छ। जबकि अर्काको एजेन्डा कपि गर्नेले यहाँका जनतालाई के नयाँ कुरा दिन सक्छन् ? त्यो कुरा जनताले नै निर्णय गर्ने नै छन्। चुनावको सन्दर्भमा परिणाम मेरो पक्षमा छ। उहाँहरुसित मैले हार्दिकता सहितको प्रतिस्पर्धा चाहेको छु। लोकतन्त्र भनेको यही हो। हार्दिकता सहितको प्रतिस्पर्धाकोलागि म अब्बल छु। हार्दिकता बिगार्ने चिजहरूमा उहाँहरु लाग्नु भयो भने यही पूर्वी चितवनको जनमानसले प्रतिकार गर्छन्। 

तपाईका चुनावी एजेन्डामा युवालाई बढीनै प्राथमिकता दिनु भएको छ। तर यता गठबन्धन बाहेक अरू प्रतिस्पर्धी नै छैनन् पनि भन्दै हुनुहुन्छ। तर जनताले यस पटक वैकल्पिक उम्मेदवारको रुपमा आएका युवा प्रतिस्पर्धीलाई पनि स्थान दिने हो कि भन्ने मनसाय व्यक्त गरिरहेका छन् नि पाण्डे जी ?

हैन मैले त्यसो भन्न खोजेको होइन। युवाहरू राजनीतिमा आउनु राम्रो कुरा हो। तर युवा मात्रै राजनीतिको आधार कहि पनि हुँदैन। कुनै पनि राजनीतिक दलका कार्यक्रमहरूले नै देशलाई डोर्याउछ। ती कार्यक्रमहरूले युवालाई, बुढालाई, बालबालिकालाई डोर्याउछ, महिला, शिक्षक, मधेस, पहाड,गाउँ सबैलाई डोर्याउछ। त्यो भनेको कार्यक्रमले डोर्‍याउने हो। बिना कार्यक्रम युवाले मात्रै केही हुँदैन। ७२ वर्षका देङ स्याओ पिङले चिन बनाए। ३६ वर्षका पोलिटब्युरो सदस्यहरूले केही गर्न सकेनन्। त्यो हामीले इतिहास पढेका छौं। सिङ्गापुर बनाउँदाको विषयमा लि क्वान युको चर्चा गरिन्छ। उहाँ लगातार ३०/३५ वर्ष प्रधानमन्त्री हुनु भयो। त्यही कारण सिङ्गापुर बन्यो। पाँच पाँच वर्षमा त्यहाँ परिवर्तन भएको भए, नत सिङ्गापुर बन्थ्यो, नत उहाँको नाम नै चर्चामा आउँथ्यो होला। त्यस कारणले अनुभव र नेतृत्वको निरन्तरताको पनि त्यतिकै जरुरत पर्दछ। भिजन सहितको नेतृत्व पनि त्यतिकै आवश्यक हुन्छ। त्यसो भयो भने मात्रै कुनै पनि देशको विकास हुन्छ।

वैकल्पिक शक्तिहरूको पक्षमा पनि थोरै जनधार देखिन थालेको सर्वेक्षणहरूमा देखिन थालेको छन्। त्यस्ता सर्वेक्षणमा देखिएका कुरालाई विश्वजीले कसरी हेर्नु भएको छ ?

वैकल्पिक शक्तिले अहिले गर्न सक्छ चाहिँ के ? भन्ने मै म क्लियर छैन। यो भन्दा अघि विवेकशीलकै बागमती प्रदेशमा तीन सिट थियो। उहाँहरुले गर्नु भयो के ? उहाँहरु आफै हराएर जानु भयो। अहिले विवेकशीलको नेता नै राप्रपामा जानु भएको छ। राजा चाहिन्छ भनेर हिँडिरहनुभएको छ। वैकल्पिक शक्ति कुन ? के ? कहाँबाट आएको छ ? भन्ने कसैलाई थाहा छैन। अहिलेको स्थिति त्यो हो।

त्यही भएर वैकल्पिक भनेर कोही एकातिर असफल भएपछि हाम फालेर वैकल्पिक भनेर हुन्छ ? वैकल्पिक भन्दैमा त्यसै हुन्छ कि ? केही दक्षता भएको मान्छे वैकल्पिक हुन्छ भन्नुस् त ? पहिलेदेखिकै पार्टी, मर्दा पर्दा मलामी गएका हुन्छन्। बिरामी पर्दा नेता अस्पताल पुगेका हुन्छन्। स्थानीय नेता हुन्छन्, राजनीतिक दल भनेको ठुलो परिवार जस्तो हो।

कुनै दिन जनताकोमा गएर सेवा नगरेका मान्छेहरू, नगरेका पार्टीहरूले वैकल्पिक हुँ भनेर त्यतिकै भोट खाने सपना देख्दैमा हुन्छ ? कि त उनीहरूले पहिले राम्रोसँग सेवा गर्नु पर्‍यो। यिनीहरू आइडियोलजिक्लि राम्रोसँग क्लियर छैनन्। त्यत्तिकै हाँ हुँ गरेको भरमा दुई सिट कसैले, कतैबाट उछिट्टायो भने  त्यो कुरा आफ्नै ठाउँमा भयो। त्यसले समग्र जनतालाई खुसी पार्न सक्ने स्थिति हुँदैन। हामीले पहिले नै देखि हाल्याै नि। एक/दुई सिट पाउने बित्तिकै झगडा गरेर पार्टी फुटेको। कति टुक्रा भयो विवेकशील ? त्यही भएर वैचारिक मजबुती नभएको दलको भर हुँदैन। पुराना दलहरूमा हेर्नुस्। १०/१० वर्ष झ्यालखानामा बसेका नेताहरू हुनुहुन्छ। उहाँहरुको वैचारिक  व्याकराउण्ड छ। तिनै दलहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट सुधार गर्दै लैजाने हो।

हरि जीपुराना पार्टीको विकल्पमा तपाई खडा हुनु भएको छ। घर दैलोमा जनताबाट तपाईले कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

जनताहरूको एक्सपेक्टेसन यति बढी छ। त्यति धेरै एक्सपेक्टेसन हुने थिएन। हामीहरूले घर दैलो गर्दै गर्दा  विगतको ३३ वर्षमा जन स्तरको काम नहुनु नै हामीप्रति यति धेरै एक्सपेक्टेसन बढेको हो। म प्रति उहाँहरुले धेरै आशा राख्नु भएको छ। यो केटाले, यो युवाले काम गर्छ भनेर। जनस्तरमा एक्सेपेक्टेसनहरु यति धेरै हाई छ। जुन धेरै गर्नै नसकिने छैनन्। असाध्यै सामान्य छन्। ठुलो रेलका कुरा छैनन्। पानीजहाज पनि यहाँको जनताले खोजिराखेको छैन। माग सामान्य छन्। तर धेरै छन्। यही आधारमा हाम्रो पार्टीले अप्रत्याशित नतिजा ल्याउँदै छ।

हाम्रो अनलाइन पूँजी बजारसँग बढी केन्द्रित भएकोले शेयर बजारको विषय तर्फ कुराकानी मोड्दै छु। नेकपा एमालेको तर्फबाट तपाई निर्वाचित हुनु भएको खण्डमा अर्थमन्त्री हुने सम्भावनालाई नकार्न सकिदैनतपाईले पूँजी बजारलाई कसरी लिनु भएको छ ?

म निरन्तर जहिले पनि पूँजी बजारको पक्षमा छु। आज भन्दा दुई / तीन सय वर्ष अगाडि युरोपमा स्टकको वा भनौँ पूँजीको ट्रेडिङ हुन्थ्यो।  त्यस बेलै एडम स्मिथले भनेका थिए “जग्गाका धनीहरू लोकल हुन्छन् र शेयरका धनीहरू ग्लोबल हुन्छन्” त्यस कारण शेयरको चरित्र ग्लोबल हुन्छ।

मान्छेहरूले जग्गामा धन थुपारेर राख्नु भन्दा लगानीमा धन ल्याउनको लागि शेयर बजारमा आउनु पर्दछ। हामीले जग्गा जमिनमा वा भनौँ अनुत्पादक भएर बस्ने धनमा भन्दा त्यसलाई बाहिर ल्याएर लगानी योग्य पूँजी बनाउनु पर्दछ भन्ने मान्यता राख्ने मान्छे हु म। त्यसो गर्ने बित्तिकै शेयर बजार गुलजार हुन्छ। शेयर बजार गुलजार नै हुनु पर्छ। शेयर बजारमा देखा पर्ने कमजोरीहरूलाई करेक्सन गर्नु पर्ने होला। त्यो त जहाँ पनि कमजोरीलाई करेक्सन गर्नै पर्ने हुन्छ। तर यो शेयर बजारलाई अर्थमन्त्री भएका मान्छेहरू पनि के भन्छन् भने “यो चाहिँ ठगी हो। यो सट्टे बजार हो” भन्ने टिप्पणी गरेको पनि मैले सुनेको थिए। तर म त्यो बिचारको खण्डन गर्छु। त्यो गलत कुरा हो।

यति भन्दा भन्दै पनि कहिले काही, केही एकआद मानिसले गलत फाइदा उठाउन खोज्छन्। त्यसको आधारमा सिङ्गो क्षेत्रलाई बदनाम गर्नु हुँदैन। त्यसलाई नियन्त्रण गरे भई गयो नि। ती व्यक्तिलाई नियन्त्रण गरे हुन्छ। शेयर बजारलाई एउटा मर्यादित क्षेत्रको रुपमा क्रमशः विकास गर्दै लगानीयोग्य पूँजी सङ्कलनको महत्त्वपूर्ण क्षेत्रको रुपमा अघि बढाउँदै लैजानु पर्छ भन्ने पक्षमा म छु।

विश्व जीले पूँजी बजार लाई कसरी लिनु भएको छ ?

म धितोपत्र बोर्ड अध्यक्ष छनौट समितिको अध्यक्ष थिए। अर्कोतर्फ म अर्थशास्त्री भएको नाताले धितोपत्र बजारको एनालिसिसिस् गर्ने मान्छे मै हो। नेपालमा एनआरएनहरूलाई १० प्रतिशत जुन कोटा छुट्टाइयो। त्यो पनि मैले नै प्रस्ताव गरेको हो। त्यो तपाईहरूलाई थाहै छ। मैले जहिले पनि साना लगानीकर्ताको पक्षमा काम गर्नु पर्छ भनेर राष्ट्र बैंकसँग बारम्बार कुरा गरिरहे। पदमा भएको बेलामा होस् वा अहिले नभएको बेलामा पनि। साना लगानीकर्ता र शेयर बजारको सम्वर्धन गर्ने काममा मेरो धेरै भूमिका छ। अरू प्रतिस्पर्धीहरुको के हो एक्सपर्टिज ? दक्षता के हो ? के छ उहाँहरुमा अनुभव ? त्यो मलाई थाहा छैन। कोही मानिस शेयर मार्केटमा लगानी गरेर टाट पल्ट्यो, त्यसपछि स्वतन्त्र भनेर राजनीति गर्न आएको त्यस्ता मान्छेले शेयर मार्केट अगाडि बढाउन सक्छ ? शेयर मार्केट बुझेको, अनुभव भएको अर्थशास्त्रीले अघि बढाउन सक्छ। त्यही भएर शेयर मार्केटका लगानीकर्ता हरूले ध्यान दिनु पर्ने कुरा यो हो। त्यही भएर उहाँहरुले मेरै समर्थनमा भोट हाल्नु हुन्छ।

हरि जी त शेयर बजारको विषयमा आन्दोलन नै गरेको मान्छे। तपाई के भन्नु हुन्छ ?

शेयर बजारको विषयमा तीन वटै पालिकामा हामीले सर्वसाधारणको आइपिओ समेत कलेक्ट गरेर कृषिसँग सम्बन्धित उद्योग खोल्छौ। त्यसपछि केन्द्रीय घोषणापत्रमा स्टक एक्सचेन्जको कुरा गरिएकै छ। शेयर बजारसँग सम्बन्धित जति पनि माग मुद्दा छन्। ती मुद्दाहरूको विषयमा ठ्याक्कै भन्नुपर्दा संसदमा आवाज उठाउने एउटा प्रतिनिधि नभएर पनि ती मुद्दाहरू ओझेलमा परेको भन्ने आम लगानीकर्ताको बुझाइ छ। त्यसकालागि सम्भवतः यो सेक्टरको म साझा उम्मेदवार हुन सक्छु।

यति बेलासम्म मैले साझा प्रश्न गरे अब म फरक व्यक्तिलाई फरक प्रश्न गर्दै छु। सुरेन्द्र पाण्डे जी तपाईको आफ्नै पार्टीबाटै अन्तरघात हुने सम्भावना छ भन्ने चर्चा सुनिँदै छ। किनकि तपाई यस अघि माधव नेपाल समूहमा भएकोले पनि त्यो सम्भावना रहेको भन्ने तर्क गरिँदै छ। त्यस बारेमा तपाई के भन्नु हुन्छ ?

त्यसको कुनै सम्भावना छैन। यो विपक्षीहरूले चलाएको हल्ला हो। खासगरी अहिले नेपाली काङ्ग्रेस भित्र तीव्र असन्तुष्टि छ। यो क्षेत्रमा जसलाई टिकट दिनु पर्थ्यो, जसले चितवनमा काँग्रेस चिनायो, ती मानिस आएनन्। फुत्त कसैको गोजीबाट उम्मेदवार आयो, कुनै किसिमको लगानी र पृष्ठभूमी नभएको तथा सामान्य राजनीतिक जीवनमा समेत प्रवेश नगरेको मान्छेलाई यसरी थोपरियो भन्ने चरम असन्तुष्टिलाई डाइभर्ट गर्न गरिएको एउटा प्रचार मात्रै हो। हाम्रो पार्टी नेकपा एमालेको बीचमा त्यस्तो कुनै असन्तुष्टि, त्यो खालको अवस्था र अन्तर घातको सम्भावना छैन।

यतिखेर गठबन्धनको जित भए विश्व पौडेल आगामी अर्थमन्त्री हुन् भन्ने अडकडबाजी भइरहेको छ। तपाईले कस्तो रुपमा लिनु भएको छ ?

यो संसदीय निर्वाचन हो। यसमा संसद् चुनिने हुन्। यो निर्वाचन मन्त्री चुन्न भएको होइन। निर्वाचन पछि नै यो विषयवस्तुमा जानु उपरयुक्त होला। अहिले नै धेरै पछाडिका कुरा नगर्दै बेस होला।

त्यो भए अहिलेको राजनीतिक माहौलको बीचमा गठबन्धनको स्थिति कस्तो देख्नु हुन्छ विश्व जी ?

गठबन्धनको स्थिति एकदम ठिक छ। हामी जित्ने स्थितिमा छौ। जुनसुकै ठाउँमा पनि हामी बलिया प्रतिस्पर्धीकाे रुपमा छौ। सबै क्षेत्रमा हाम्रो जित सुनिश्चित छ। त्यसका आधारका रुपमा हाम्रो राजनीतिक स्थिरता र निरन्तरतालाई लिन सकिन्छ। अघिल्लो पटकको जुन सरकार थियो। त्यो चलेन। त्यसले स्थिरता दिन सकेन। स्थिरता दिन नसकेपछि विकास र शान्ती दुवै नहुने भयो। त्यही भएन जनताले गठबन्धनलाई नै विश्वास गरेका छन्।

स्वर्णिम वाग्लेलाई पन्छाएर तपाईँलाई टिकट दिइएको भन्ने चर्चा छ। त्यसमा तपाई केही भन्न चाहनुहुन्छ ?

म त्यस बारेमा अहिले केही कुरै गर्न चाहन्न। टिकट आइसकेपछि हाम्रो प्रतिस्पर्धा सकिसक्यो।

विश्व पौडेल जी पहिलो पटक निर्वाचन लड्दै हुनुहुन्छ। कस्तो अनुभूति हुँदै छ ? थोरै अनुभव पनि सुनौँ न।

“मस्ट हमलिङ इक्सिपिरिन्स” यतिखेर मैले के भनौँ र खै। एउटा ठुलो पार्टीको टिकट लिएर निर्वाचन लड्न जति फरक खालको अनुभव अरू केही हुँदैन होला। एउटा ठुलो इज्जतको कुरा पनि हो हेर्नुस्। वर्षौँसम्म मानिसले सम्झिन्छ को लडेको थियो भनेर। जनता माझ आउने जाने क्रम बढ्दो रैछ। आफ्नो क्षेत्रमा कति घर छन्, को बिरामी छ, कसका छोराछोरी विदेशमा अलपत्र परेका छन्, कसको छोराछोरीले जागिर पाएको छैन।  धेरै कुराहरू बुझ्ने मौका हुन्छ। यही बेला कसको घरमा धारा पुगेको छैन, कसको घरमा पानी पुगेको छैन। यस्तो मौका सिति मिति पाइँदैन भन्ने मैले अनुभव गरे। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।