मदिराकाे स्वादमा "चकाे रक्सी", चकलेटलाई देशव्यापी बनाउँदै यी दुई युवा

Nov 17, 2022 06:42 PM Merolagani

ज्याेति शाह 

चकलेट भनेपछि बच्चाहरु हुरुक्क हुन्छन् । तर बच्चाहरुले नै खान नमिल्ने चकलेट नेपाली बजारमा आएको छ । युवाहरुलाई लक्षित गरेर मदिरायुक्त चकलेट नेपालमा नै बन्न थालेको हाे।

सामान्यतया, चकलेटमा मदिरा हुँदैन तर विश्वमा मदिरा भएका चकलेट बनाउने र खाने प्रचलन रहेको छ । सोहि तरिका पछ्याउँदै नेपालमा नै पहिलो पटक चको रक्सीले मदिरा मिसाइएको चकलेट बनाइरहेको छ । काठमाडौंका धारणा शाह र निकेश श्रेष्ठले चको रक्सी स्थापना गरेको भरखर पाँच महिना मात्र पुग्दैछ । तर युवापुस्तामाझ यस चकलेटले राम्रो स्थान पाएको छ ।

"कति विदेशी मात्र खाने, नेपाली उत्पादन पनि गरौँ न भन्ने सोंचेर सुरु गर्योँ," सहसंस्थापक धारणा र निकेश भन्छन् ।

भारतको दिल्लीबाट अध्ययन गरेर नेपाल फर्किएका हुन् धारणा शाह र निकेश श्रेष्ठ । धारणाले कानुन विषयमा स्नातक गरेकी छिन् भने निकेशले बीबीए अध्ययन गरेका छन् । अध्ययन सकिएपछि के गर्ने भन्ने विषयले पिरोलिरहेको अवस्थामा यी दुई साथीलाई कोरोना महामारीकै बीचमा लिक्वेयर चकलेटको आईडिया फुर्यो । १० वर्षअघि खाएको मदिराको स्वादमा बनेको विदेशी चकलेट नेपालमा पनि बनाउन पाए ? कौतुहलता जाग्यो । र कोरोना संक्रमण न्युन भएपछि सुरु भयो चकलेट बनाउने अनुसन्धान तथा प्रकृया ।

पहिले नै 'कोरा क्रियसन' नामक विज्ञापन कम्पनी संचालन गरिरहेका धारणा र निकेशका लागि यो अत्यन्त नौलो विषय थियो । तर चकलेट वा कन्फेक्शनरी क्षेत्रमा केहि गर्ने अठोटकासाथ उनीहरु लागि परिरहे ।

सुरुवातमा सामाग्री कहाँ, कसरी र कति किन्ने ? अनि चकलेट कसरी बनाउने दुबिधा उत्पन्न भयो । बजारमा खोज गर्दै गएपछि केही ज्ञान मिल्यो ।

धारणा र निकेशको चकलेट बनाउने कला नभएपनि उनीहरुलाई तालिम दियो इन्टरनेटले । इन्टरनेटकै माध्यमबाट उनीहरुले रक्सीको स्वाद भएको चकलेट बनाउन सिके र झण्डै एक वर्षअघि चको रक्सी सुरुवात भयो । "चकलेटको चको र अल्कोहोल अर्थात् रक्सी जोडेर चको रक्सी नाम राखेका हौँ," धारणाले मेरोलगानीलाई बताइन् ।

"पहिलो ग्राहक सधैँ आफन्त नै हुने गर्छन् । हाम्रो पनि त्यस्तै भयो, बिस्तारै वर्ड अफ माउथ हुँदै गएर देशका विभिन्न ठाउँबाट युवाहरुको अर्डर आउन थालेपछि हामीलाई हौसला मिल्यो," धारणा सम्झिन्छिन् ।

त्यसमा निकेश थप्छन्, "हाम्रो उत्पादन मानिसहरुलाई इन्ट्रेस्टिङ लाग्दो रहेछ । चकलेट पनि, रक्सी पनि ? विदेशबाट ल्याएर मात्र खाने पनि कम हुनुहुने रहेछ । नेपालमा  नेपालीले नै बनाएको कस्तो रहेछ चाखौं न भनेर चाख्नुहुन्छ ।"

साढे दुई लाखको लगानी

चको रक्सी साढे २ लाख रुपैयाँको लगानीबाट सुरु भएको हो । औपचारिक रुपमा चको रक्सी सुरु भएको पाँच महिना भएपनि राम्रै ग्राहक पाएको धारणा र निकेशको भनाई छ । "भर्खर सुरुवात गर्दा त्यो लगानीले सहयोग गर्यो तर हामी बढ्दैछौँ," धारणा भन्छिन् ।

यस चकलेट कम्पनीले दैनिकजसो कम्तिमा ७ प्याकेट चकलेट बिक्री गर्ने गर्दछ । चाडपर्वको समयमा मासिक २१० प्याकेटसम्म चकलेट ग्राहकहरुलाई डेलिभर गरिऐको अनुभव यी दुईको छ । अनलाईन व्यापारमा निर्भर रहेको चको रक्सीको फ्याक्ट्री छाउनीमा छ । पाँच जना कर्मचारी रहेको चको रक्सीका सबै चकलेटहरु हातैले बनाइएका हुन्छन् । "हाम्रो इन्ग्रिडियन्ट्स त सबै खुलाउन मिल्दैन," निकेश हाँस्छन् । "र पनि चकलेट मेल्ट गछौंँ, मोल्डिङ गर्छौँ र रक्सी तथा अन्य इन्ग्रिडियन्ट मिक्स गर्छौँ । अनि प्याकेजिङ गरेपछि तयार हुन्छ ।"

कतिमा किन्न पाईन्छ ?

एक प्याकेट असोर्टेड चकलेट लिक्वेयर बक्समा ९ पिस चकलेट राखिएको छ । यसको मूल्य एक हजार २४५ रुपैयाँ पर्ने सहसंस्थापक धारणा बताउँछिन् । चको रक्सीले चार रक्सीको स्वादमा चकलेट बनाउँछ । ती चार स्वादहरुमध्ये व्ह्स्किी, भोड्का, रम र ब्राण्डी हुन्। चको रक्सीले डार्क र ह्वाइट चकलेट बिक्री गर्ने गर्दछ । तीमध्ये भोड्का र रम ह्वाइट चकलेटमा र व्हीस्की र ब्राण्डी डार्क चकलेटमा पाइन्छ ।

यसैगरी, कस्टमाईज पनि गर्न मिल्ने कम्पनीका सहसंस्थापक धारणाले बताइन् । "आफूलाई मनपर्ने स्वाद र संख्या अनुसार कस्टमाईज पनि यहाँ गर्न मिल्छ । हाम्रो चकलेटमार्फत् मेसेज पनि दिन सकिन्छ । कर्पोरेट गिफ्ट बक्स पनि बनाउने गरेका छौं । बैंक, कम्पनी वा होटल हामी सबैको अर्डर लिन्छौं ।" तर चको रक्सीमा कस्टमाईज चकलेट बनाउनका लागि कम्तिमा ५० प्याकेट मगाउनुपर्ने पनि उनले जानकारी दिइन् ।

चको रक्सीका चकलेट देशैभर फेसबुक र इन्स्टाग्राममार्फत मेसेज वा कल गरेर अर्डर गर्न सकिन्छ । विशेषगरी एक दिन अगावै नै चको रक्सीका चकलेट अर्डर गर्नुपर्ने हुन्छ । उपत्यकाभित्र १५० देखि २५० रुपैयाँ डेलिभरी शुल्क लिने गरिन्छ भने उपत्यकाबाहिर एयरपोर्टका नियम अनुसार शुल्क लिइने निकेश बताउँछन् ।

हाल उपत्यकाबाहिरका राजविराज, पोखरा, चितवन, विराटनगर, सिमरा लगायतका शहरबाट पनि यो चकलेट धेरैजसो मगाइने गरिएको छ ।

आम नेपाली जनताका लागि चकलेटको मूल्य महंगो लागेपनि हालको बजार र समय अनुसारको मूल्य तोकिएको उनीहरुको भनाई छ । "विशेषगरी, ह्याण्डक्राफ्टेड चकलेट भएकाले यो मूल्य परेको हो । आजभोलि उपहार दिनकालागि १,२४५ रुपैयाँमा के आउँछ ? यो हरेक पर्व र हरेक उत्सवमा उपहार दिन राम्रो हुन्छ," निकेश सुनाउँछन् । धारणाका अनुसार नेपाली उत्पादनको मदिरा भएको चकलेट विदेशी चकलेटभन्दा सस्तो रहेको छ ।

मूल्यवृद्धि भइरहँदा चकलेटलाई चाहिने सामाग्रीहरु महंगो पर्ने भएपनि उपभोक्ताका लागि चकलेटको मूल्य नबढाएको निकेशले सुनाए ।

चाडपर्व, नयाँ वर्ष, क्रिसमस, जन्मदिन र अन्य उत्सवमा उपहार दिनुपरेमा चको रक्सीको मिठाई उपयुक्त हुनेमा सहसंस्थापक धारणा जोड दिन्छिन् ।

रक्सी भएको चकलेट खाँदा मात लाग्छ कि लाग्दैन ?

रक्सी भएको चकलेट खाँदा मात लाग्छ कि लाग्दैन भन्ने जिज्ञासा सबैमा हुनसक्छ । तर चको रक्सीको चकलेटमा एक प्रतिशत अल्कोहोल हुन्छ । अब यो चकलेट खाएर मात लाग्ने नलाग्ने व्यक्तिमा निर्भर हुन्छ । धारणा भन्छिन्, "नेपाल सरकारको नियम अनुसार एक प्रतिशत रक्सीको मात्रा राख्ने गरेका छौँ । यो केवल रमाइलो र स्वादकालागि मात्र हो । अब मात्ने नमात्ने त्यो तपाईँमा निर्भर हुन्छ । एक जनाले ९ वटा नै चकलेट खाएमा भन्न सकिन्न तर एक दुईवटा खाँदैमा मात्तिदैन ।"

"अब नेपाल प्रहरीको नियम अनुसार रेड बुल खाएर सवारी चलाउँदा मापसेमा परिन्छ भने यो चकलेट खाएर परिँदैन भन्न सकिन्न । यो चकलेट खाएर सवारी चलाउनुभएमा हामी जिम्मेवार छैनौं," उनी मुस्कुराउँछिन् । यद्यपी बालबालिका र गर्भवती महिलाले भने यो चकलेट खान नहुने निकेशको भनाई छ ।

चको रक्सीका ग्राहकहरु प्राय १८ वर्ष माथिका र ५० वर्ष मुनिका छन् । आफ्ना परिवार, आफन्तजन र साथीभाईलाई मायाको चिनोको रुपमा पनि दिन मनपराउने गरेको पाइएको छ । यसबाहेक रक्सी र चकलेट दुबैको स्वाद रुचाउनेले पनि चको रक्सीबाट चकलेट मगाउने गरेका छन् ।

अब चाँडै नै नयाँ उत्पादनसहित चको रक्सी बजारमा ल्याउने धारणाको योजना छ । ग्राहकहरुको मायाकासाथ गुणस्तर भएका मिठो लिक्वेयर चकलेट बनाउँदै अघि बढ्ने यी दुई बिजनेस पार्टनरहरुको इच्छा छ ।

अन्तरराष्ट्रिय माग भएपनि पहिला नेपाल अधिराज्यभर चको रक्सी पु्र्याउने यी दुई सहसंस्थापकको चाहना पनि छ । "डिजिटल्ली फैलिरहेका छौं तर उत्पादन नै भने पुर्याउन सकेका छैनौं ।"

चको रक्सीका चकलेट तीन महिना भित्र खाइसक्नुपर्ने हुन्छ । अन्यथा यसको म्याद गुज्रिन्छ । त्यसैगरी, चकलेट टुट्ने फुट्ने संभावना धेरै हुने हुँदा रिटेलका पसलहरुमा बिक्री गर्नका लागि दिन धारणा र निकेशलाई ठुलौ चुनौती बनेको छ । जसकारण आफ्नै आउटलेट स्थापना गर्ने सोंचमा उनीहरु छन् ।

"अप्ठ्यारा सबै व्यवसायमा हुन्छ, नेपालमा अवसर पनि धेरै रहेको छ । आजको भोलि केही पनि हुँदैन तर लगनशिलता र धैर्यता चाहिन्छ," आफ्ना अनुभवका आधारमा धारणा नयाँ स्टार्टअप गर्न चाहनेहरुलाई सुझाउँछिन् । यी दुईले आफ्नो कम्पनीलाई पञ्च वर्षे योजनाभित्र राखेको भन्दै उनीहरु हाँस्छन् । "कन्फेक्शनरी व्यवसायमा एक परिवर्तन गर्न चाहेको हो," उनीहरु दृढ सुनिन्छन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।