इङ्गल्याण्ड विरुद्धको खेलमा इरानका फुटबल खेलाडीहरूले किन गाएनन् राष्ट्रिय गान?

Nov 24, 2022 02:51 PM Merolagani

कतारमा जारी फिफा विश्वकपमा इङ्गल्याण्डविरुद्धको पहिलो खेलमा इरानको टोलीले सोमबार राष्ट्रिय गान गाउन अस्वीकार गरेको छ।

दोहाको खलिफा इन्टरनेशनल स्टेडियममा राष्ट्रिय गान चलिरहँदा रंगशालामा उपस्थित केही फ्यानहरु हँसिरहेका थिए भने कोहीले ‘नारी, जीवन, स्वतन्त्रता’ एकै स्वरमा गाउँदै थिए।

इरानको सरकारी टेलिभिजनले राष्ट्रिय गानको कभरेज देखाएन, र स्टेडियमको पूर्वपट्टिका फुटेजहरू देखाइएको थियो।

इरानमा विगत केही महिनादेखि हिजाबको विरुद्धमा प्रदर्शनहरू भइरहेका छन्, जबकि सरकारले ती प्रदर्शनहरूलाई दबाउन कडाई देखाएको छ।

दुई महिनाअघि मेहसा अमिनी नामकी २२ वर्षीया युवतीलाई इरानको कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो, त्यसपछि उनको हिरासतमै मृत्यु भएको थियो।

इरानमा भएको प्रदर्शनमा सुरक्षा बलसँगको हिंसात्मक झडपमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १६ हजार ८०० जनालाई गिरफ्तार गरिएको मानवअधिकारकर्मीहरूले दाबी गरेका छन्।

इरानका नेताहरूले यी ‘दंगा’ देशका शत्रुहरूको षडयन्त्र भएको बताएका छन्।

खेलको पहिलो हाफमा केही दर्शकले ‘अली करीमी’ नारा लगाएको पनि सुनिएको थियो।

अली करीमी इरानका चर्चित फुटबल खेलाडी हुन् र उनलाई एशियाका म्याराडोना पनि भनिन्छ।
करीमी इस्लामिक गणतन्त्रको कट्टर आलोचक हुन्।

अली करीमीलाई उनको क्लब स्टिल अजिनले २०१० मा मुस्लिमहरूको पवित्र महिना रमजानको उपवास नगरेको कारण बर्खास्त गरेको थियो। उपवासको समयमा अभ्यास गर्दा पानी पिउदै गरेको देखिएको थियो।

केही प्रदर्शनकारीले ‘बेशरफ’ नारा लगाएको पनि सुनिएको थियो। यो त्यो नारा हो जुन इरानमा प्रदर्शनकारीहरूले सुरक्षा बलहरू विरुद्ध उठाएका थिए।

इस्लामिक गणतन्त्रका धेरै विपक्षीहरूले विरोध प्रदर्शनलाई खुलेर समर्थन नगरेको र गत हप्ता राष्ट्रपति इब्राहिम राईसीसँग भएको भेटमा फुटबल टोलीको आलोचना गरेका थिए।

खामेनी मुर्दाबादको नारा

सामाजिक सञ्जालमा भएका केही भिडियोमा स्टेडियम अगाडि केही दर्शक ‘खामेनी मुर्दाबाद’ भन्दै नारा लगाइरहेको पनि देखिएको थियो।

केही अन्य भिडियोहरूमा इरानी दर्शकहरूले फारसी र अंग्रेजीमा ‘वुमन, लाइफ, फ्रीडम’, ‘फ्रीडम फर इरान’ र ‘डाउन विथ द डिक्टेटर’ को नारा लगाएको पनि देखिएको थियो।

यसबाहेक केही दर्शकले हालै भएको प्रदर्शनमा मारिएकाहरुको तस्बिर पनि बोकेको देखिएका थिए।

प्रहरीले केही दर्शकलाई रोकेको पनि थियो

इङ्ल्यान्डसँगको आफ्नो टोलीको खेल हेर्न स्टेडियममा पुगेका केही इरानी समर्थकहरूले सुरक्षा बलले उनीहरूलाई स्टेडियममा प्रवेश गर्न रोकेको बताएका थिए।

एक महिलाले रङ्गशालाको सुरक्षाकर्मीले आफुसँग भएका सबै चीजहरू फ्याँकिदिएको बताएकी थिइन्। यसमा इरानी झण्डा पनि समावेश थियो। सोध्दा सुरक्षाकर्मीले रिसाउँदै यो नियम हो भनेको बताएकी थिइन्।

यसका बाबजुद पनि यी महिला स्टेडियममा भएको ‘प्रदर्शन’मा सहभागी भइन् र खेलका क्रममा अन्य दर्शकसँगै ‘वुमन, लाइफ, फ्रीडम’ भन्दै नारा लगाइरहेकी थिइन्।

के भने इरानका कप्तानले?

इङ्गल्याण्डविरुद्धको खेलअघि इरानका कप्तान एहसान हजसाफीले प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको समर्थनमा खेलाडीहरू उभिएको बताएका थिए।

३२ वर्षीय हाजसाफीले भने, ‘हाम्रो देशको अवस्था राम्रो छैन र हाम्रा जनता खुसी छैनन् भन्ने हामीले स्वीकार गर्नुपर्छ।’

उनले भने, ‘सबैभन्दा पहिले, म इरानमा प्रदर्शनमा आफ्ना प्रियजनहरू गुमाएका परिवारहरूप्रति संवेदना व्यक्त गर्न चाहन्छु। उनीहरूलाई थाहा हुनुपर्छ कि हामी उनीहरूको साथमा छौं। हामी उनीहरूलाई समर्थन गर्छौं र हामी उनीहरूप्रति सहानुभूति राख्छौं।’

एईके एथेन्स क्लबबाट खेल्ने हाजसाफीले भने, ‘हामी परिस्थितिबाट पछि हट्न सक्दैनौं। मेरो देशको अवस्था राम्रो छैन र खेलाडीहरूलाई यो राम्रोसँग थाहा छ। हामी यहाँ छौं, तर यसको मतलब यो होइन कि हामी उनीहरुको आवाज बन्न सक्दैनौँ या हामी उनीहरूलाई सम्मान गर्न सक्दैनौं।’

‘हामीसँग जे छ त्यो उहाँहरुकै कारण हो। हामीले लड्नुपर्छ, हामीले राम्रो खेल्नुपर्छ ताकि हामीले गोल गर्न सकौं र हाम्रा साहसी इरानी नागरिकहरूलाई उपहारको रूपमा राम्रो नतिजा दिन सकौं,’ उनले भने।

इरानका टोली प्रबन्धक कार्लोस क्विरोजले भने कि जबसम्म यो विश्वकप नियम र खेलको भावनाको विरुद्धमा हुँदैन तबसम्म उनका खेलाडीहरू देशमा महिला अधिकारका लागि विरोध गर्न स्वतन्त्र छन्।

‘यो फुटबल खेलभन्दा बढी हो’

इरानी खेलाडीहरूको यो व्यवहार प्रतीकात्मक भए पनि यसलाई बेवास्ता गर्न सकिँदैन।

इरानी दर्शकहरूले जतिबेला मौका पाउँथे, उनीहरू ठूलो स्वरमा आफ्नो टोलीको जयजयकार गर्न थाल्थे। उनीहरु प्रायः ड्रमको तालमा ‘इरान–इरान’ गाएको सुनिन्थ्यो। धेरैको अनुहारमा इरानको झण्डा थियो भने अन्यको अनुहारमा आफ्नो देशको नक्सा कोरिएको थियो।

धेरै महिला दर्शकहरूले आफ्नो टाउकोलाई इरानी झण्डाले छोपेका थिए र उनीहरूको टोली विपक्षी टोलीको गोलपोस्ट नजिक पुग्दा चिच्याउँथे। पक्कै पनि, यो फुटबल खेलको लागि एक शानदार दृश्य थियो, तर यो सायद त्यो भन्दा धेरै थियो।

कस्ता आशंकाहरू छन्?

इरानमा फुटबल धेरै लोकप्रिय छ र यसको सेरोफेरोमा धेरै राजनीति छ।

फुटबल खेलाडीहरूले आफूलाई ‘असहज’ स्थितिमा पाइरहेका थिए। एकातिर आन्दोलनकारीले उनलाई आफ्नो लोकप्रियता र कतारमा भएको फिफा विश्वकपजस्तो लोकप्रिय प्लेटफर्म प्रयोग गरेर आफ्नो आवाज विश्वमा पु¥याउन आग्रह गरिरहेका थिए भने अर्कोतिर सरकारलाई अन्तर्राष्ट्रिय मञ्चमा इस्लामिक गणतन्त्रको प्रतिनिधित्व गर्न दबाब दिइरहेको थियो।

तर इरानमा शासनको विरुद्धमा बोल्नु निकै खतरनाक हुनसक्छ भन्ने कुरामा कुनै शंका छैन र यसका कारण विरोध गर्ने व्यक्ति मात्र होइन उनको परिवार पनि जेलमा जान सक्छ।

महिलाको समर्थनमा इन्स्टाग्राममा पोस्ट साझा गर्ने इरानी फुटबलर सरदार अजमोनले पछि आफू र एक टोलीका साथीलाई इरान फुटबल महासंघले सार्वजनिक रूपमा उभिन प्रतिबन्ध लगाएको दाबी गरे।

इरान फुटबल संघको सरकार र अत्यन्त शक्तिशाली रिभोलुसनरी गार्डसँग नजिकको सम्बन्ध रहेको बताइएको छ।

अजमोन चाँडै माफी माग्न बाध्य भए र एक बिन्दुमा यस्तो देखा प¥यो कि अजमोनलाई राष्ट्रिय टोलीबाट बाहिर निकाल्न सकिन्छ, तर प्रशिक्षक कार्लोसले उनलाई कतार लैजान आग्रह गरे।

अब के हुन्छ?

मैदानमा राष्ट्रिय गानमा मौन बसेर इरानका खेलाडीले स्वदेश तथा विदेशमा निकै चर्चा सृजना गरे पनि इङ्ल्यान्डसँग ६–२ ले पराजित भएपछि अर्को खेलका लागि टोली र यसको प्रशिक्षकमाथि निकै दबाब परेको छ।

समूह चरणमा इरानका थप दुई खेल बाँकी छन् र दुई पटक इरानको राष्ट्रिय गान बजाइनेछ। इरानका हरेक खेलाडीलाई थाहा छ कि यदि उनी राष्ट्रिय गानमा मौन रहे भने उनीहरुले कति मूल्य चुकाउनु पर्छ।

इङ्ल्यान्डका कप्तान ह्यारी केनले एलजीबीटी समुदायसँग ऐक्यबद्धता देखाउन ‘वन लभ’ आर्मब्यान्ड लगाउने बताएका थिए।

तर फुटबलको विश्व निकाय फिफाको धम्कीपछि इङ्ल्यान्डका कप्तान ह्यारी केनले आफूले ‘वन लभ’ आर्मब्यान्ड नलाउने बताएका छन्। ह्यारी केन मात्र नभई वेल्स, नेदरल्यान्ड्स, बेल्जियम, स्वीट्जरल्याण्ड, जर्मनी र डेनमार्कका कप्तान पनि फिफाको दबाबमा झुकेका छन्।

कस्तो छ इरान–कतार सम्बन्ध?

कतार र इरानबीचको सम्बन्ध निकै घनिष्ट छ ।

कतारसँग सिमाना जोड्ने एक मात्र देश साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सले सन् २०१७ मा कतारमाथि आर्थिक नाकाबन्दी लगाएपछि उनीहरुका १३ मागमध्ये कतारले इरानसँगको सबै कूटनीतिक सम्बन्ध तोड्नु र त्यहाँस्थित आफ्नो दूतावास बन्द गर्नुपर्ने पनि एक माग थियो।

तर कतारले यो माग अस्वीकार ग¥यो र बदलामा इरानले मित्रतामा विमानबाट दोहामा खाद्य सामग्री ढुवानी गरेको थियो।

साउदी अरेबिया र इरानबीचको दुश्मनी कसैबाट लुकेको छैन। सायद यही कारण हो कि कतार र इरानको निकटता साउदी अरेबियालाई मन पर्दैन।

सन् २०२१ मा साउदी अरेबिया र उसका सहयोगी राष्ट्रहरूले कतारसँगको कूटनीतिक सम्बन्ध पुनर्स्थापित गरेका थिए।

(बीबीसी हिन्दीबाट)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।