बीमा अभिकर्ताको लाईसेन्स लिन परीक्षा पास गर्नैपर्ने, यस्था छन् व्यवस्था

Nov 24, 2022 09:12 PM Merolagani



नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बीमा अभिकर्ता लाइसेन्सको परीक्षा लिने अधिकार दिएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिदै अभिकर्ताको लाइसेन्सको परीक्षा लिन निर्देशन दिएको हो ।

बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा (२) मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था उल्लेख रहेको छ । उक्त व्यवस्था अनुसार प्राधिकरणले अर्को निर्णय नभएसम्मको लागि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने अधिकार दिएको हो ।

बीमा कम्पनीहरुले अभिकर्ताको परीक्षा लिँदा परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कायम गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै परीक्षाको अङ्कभार १०० र उतिर्णाङ्क ५० हुनुपर्ने, प्रश्नहरु वस्तुगत हुनुपर्ने र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्ने प्राधिकरणको शर्त छ ।

अभिकर्तालाई परीक्षा उत्तीर्ण गरेको प्राप्ताङ्क सहितको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने, परीक्षा सम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

परीक्षा सम्बन्धी सम्पूर्ण कागजातहरु भने सुरक्षित राख्नु पर्ने प्राधिकरण शर्त रहेकाे छ ।

२०७९ कात्तिक २२ भन्दा अघि बीमा अभिकर्ताको तालिम प्राप्त गरी इजाजत प्राप्त नगरेका व्यक्तिको हकमा समेत उपरोक्त बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।