‘नन् फन्डामेन्टल” स्टकहरूको दबदबा, बजार १९% ले बढ्दा शेयर मूल्य १९४% सम्म बढे, बजार कता जाँदै छ ?

Jan 22, 2023 06:10 PM merolagani

सुवास निरौला

दोस्रो बजार आफैमा जोखिमपूर्ण बजार हो। जोखिमपूर्ण बजार भइकन पनि यो बजारमा आउनेको सङ्ख्या दैनिक बढ्दो क्रममा छ।

जोखिमयुक्त भन्ने जान्दा जान्दै पनि कम जोखिमको लागि लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नु पूर्व कम्पनीहरूको बारेमा मिहिन अध्ययन गर्ने गर्छन्। जसको लागि फन्डामेन्टल र टेक्निकल अध्ययन बढी प्रचलित छ।

खासगरी फन्डामेन्टल अध्ययनमा राम्रा मानिएका कम्पनीको शेयर किन्न जानकारहरूले बढी सुझाउने गर्छन्। जुन शेयर बजारको लागि विश्व बजारमै सबैभन्दा राम्रो मान्ने गरिन्छ। जुन स्थापित मान्यता पनि हो।  

तर पछिल्लो समयमा नेपाली बजारमा “नन् फन्डामेन्टल” भन्ने शब्द लगानीकर्ताबीच प्रचलित हुन थालेको छ। खासगरी फन्डामेन्टलमा ‘विक’ मानिएका कम्पनीहरूलाई “नन् फन्डामेन्टल” भन्ने गरिएको हो। हुन त विश्व बजारमा खराब वासलातका कारण शेयर मूल्य निक्कै कम हुन पुगेका कम्पनीका शेयरहरूलाई ‘पेनी’ वा ‘जङ्क’ स्टक भन्ने प्रचलन छ। आफ्नो लगानी क्षमताको पाँच प्रतिशत ‘पेनी’ वा ‘जङ्क’ स्टकमा लगानी गर्नु भन्ने सल्लाह पनि विश्व शेयर बजारमा दिने गरिन्छ। किनकि कुनै पनि दिन ती शेयर बौरिन्छन्। बौरिएका दिन ती शेयरले अरूले भन्दा कयौँ गुणा बढी नाफा दिन्छन्। हुन पनि विश्व शेयर बजारमा त्यस्ता धेरै उदाहरण भेटिन्छन्।

तर नेपाली शेयर बजारमा फन्डामेन्टल विक मानिएका शेयरको मूल्य घटेर ‘पेनी’ वा ‘जङ्क’ स्टकमा झर्ने सम्भावना निक्कै न्यून हुँदै जान थालेको छ। बरु फन्डामेन्टल रुपमा विक मानिएका शेयरहरूमा लगानीकर्ताको चासो बढ्न थालेको छ। वासलातको हिसाबले खराब भए पनि तिनीहरूकै मूल्य बढ्दै जाने अवस्थाले गर्दा पछिल्लो समय लगानीकर्ता बिस्तारै त्यस्तै स्टक तिर मोडिन थालेका छन्। जसले गर्दा त्यस्ता कम्पनीलाई खराब नभनेर फन्डामेन्टल विक भन्ने दर्जा दिन थालिएको छ।

खासगरी फन्डामेन्टल राम्रो मानिएका धेरै जसो बैंक वित्तीय संस्थाको शेयर मूल्य खासै नबढेपछि लगानीकर्ता फन्डामेन्टल रुपमा विक मानिएका कम्पनीतर्फ मोडिन बाध्य भएको बताइएको छ। “मैले लामो सामयदेखि फन्डामेन्टल राम्रो भएको आधारमा कम्पनीहरूको शेयर किन्दै आएको थिए। आज पनि धेरैजसो स्टक बैंक वित्तीय संस्थाकै छन्। तर तिनीहरूको शेयर बढ्ने क्रम निक्कै न्यून हुँदै जान थालेको छ। त्यसलाई हेरेर मैले पनि केही नन् फन्डामेन्टल स्टकमा इन्भेष्ट गर्न थालेको छु। गएको चार/पाँच वर्षदेखि मैले तिनीहरूमा थोरै लगानी गर्न थालेको हो” २० वर्ष भन्दा बढी समयदेखि नेपाली शेयर बजारमा लगानी गर्दै आएका एक अनुभवी लगानीकर्ता दिपेश चापागाईँले मेरो लगानीसँग भने।

उनका अनुसार जसको नेटवर्थ राम्रो छैन,नाफा पनि खासै छैन,ग्रोथ गर्न सक्ने सम्भावना पनि न्यून छ। शेयर कित्ता थोरै भएको कम्पनीहरूको शेयरलाई नन् फन्डामेन्टल स्टक भन्ने गरिन्छ। बुक भ्यालु अर्थात् कम्पनीको किताबी मूल्यले वास्तविक मूल्यलाई प्रतिबिम्बित गर्छ। किताबी मूल्यले कम्पनी अचानक बन्द गर्नु पर्ने अवस्था आई सबै दायित्व चुक्ता गर्दा बाँकी हुन आउने रकमलाई जनाउँछ, जुन शेयरधनीलाई दामासाही हिसाबले बाँड्न सकिन्छ। बुक भ्यालुको तीन गुणासम्म हालेर दोस्रो बजारमा शेयर किन्ने अवस्थालाई सामान्य मानिन्छ। तर यी सब कुरा ज्ञानमा मात्रै सीमित हुन थालेको छ। यस्ता विषय अप्लाइ गर्ने लगानीकर्ता बेवकुफ हुने स्थिति छ।

वास्तवमै पुस तीन गतेदेखि २६ गतेसम्म शेयर बजार लगातार बढ्यो। उक्त अवधिमा बजार ३५६ अंकले बढ्यो। बजारले सो अवधिमा १९.२२ प्रतिशतको छलाङ लगाउँदा सूचिकृत कम्पनीहरूको शेयर मूल्य ०.३१ प्रतिशत देखि १९४.९ प्रतिशतसम्म बढे। सबैभन्दा बढी शेयर मूल्य बढ्ने कम्पनीमा लघुवित्त,जलविद्युत र बिमा समूहका छन्। धेरै मूल्य बढ्ने कम्पनीमा फन्डामेन्टल राम्रा भएका र नराम्रा, दुबै समुहका शेयर छन्। तर ४० प्रतिशतदेखि १९४.९ प्रतिशतसम्म बढेका कम्पनीको सूचिमा ‘नन् फन्डामेन्टल’ कम्पनी धेरै अटाएका छन्। जसले ‘नन् फन्डामेन्टल’ तर्फ लगानीकर्ता मोडिन थालेको प्रमाणित गर्छ।

बजार दीर्घकालीन लगानी भन्दा सर्टटर्म ट्रेडमा बढी चल्न सुरु गरेको चापागाईँको अनुभव छ। जुन पूँजी बजारको दीर्घकालीन विकासका लागि लाभदायक नठहरिने उनको ठम्याइ छ। “शेयर बजारमा दीर्घकालीन लगानी हुनु पर्ने मान्यता छ। तर बजार त्यसको ठिक विपरीत गइरहेको छ। जबकि सरकारले समेत दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्न कर छुट दिएको छ। तर वार्षिक पूँजीगत लाभकरमा सर्टटर्मको भूमिका बढ्दै जानुले पनि शेयर बजार कता तर्फ मोडिँदै छ भन्ने प्रस्ट्याउँछ ” चापागाईँले भने।

शेयर बजारमा ठुला लगानीकर्तालाई खुम्च्याउनु, बैंक वित्तीय संस्थालाई शेयर किनबेच गर्न वञ्चित हुने गरी कडाइ गर्नु,शेयर बजार लक्षित अस्थिर नीति अख्तियार गरिनुले नै दीर्घकालीन लगानी भन्दा सर्टटर्म तर्फ लगानीकर्ता आकर्षित हुन थालेको बताइएको छ। जसलाई न्यूनीकरण गर्नै पर्ने हुन्छ। दीर्घकालीन लगानीकर्ता आकर्षित गर्न नीतिगत रूपमै सरकारले व्यवस्था गर्नु पर्ने बताइएको छ। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।