निष्क्रिय कर्जा बढेसँगै डिप्रोक्स लघुवित्तको नाफामा दबाब

Feb 10, 2023 06:04 AM Merolagani



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्सँगै निष्क्रिय कर्जा बढेपछि लघुवित्तको खुद नाफा घट्न दबाब पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.५५ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ७.२४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३५.७७ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तकाे निष्क्रिय कर्जा ०.५९ प्रतिशतबाट बढेर ३.७४ प्रतिशत पुगेकाे छ। जसका कारण इम्पेरमेन्ट चार्ज बढेकाे छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २६ रुपैयाँ ८१ पैसा घटेर ३१ रुपैयाँ ५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.२१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ५१ पैसा रहेको छ।

१ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९० करोड ७९ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको सापटी तथा निक्षेप ०.२५ प्रतिशत बढेको छ भने कर्जा १.६८ प्रतिशत बढेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।