वित्तीय क्षेत्रको समस्या बैंकसम्म पुग्ने डर, लघुवित्तको कर्जा नउठ्दा वाणिज्य बैंक पनि पर्न सक्छन् समस्यामा

Mar 05, 2023 02:51 PM Merolagani



केहि समयअघि सहकारी संस्थाहरुबाट सुरु भएको वित्तीय क्षेत्रको समस्या बैंकसम्म पुग्ने डर बढेको छ। अर्थतन्त्रमा देखिएको समस्याले गर्दा बैंक तथा वित्तीय संस्थामा पनि समस्या देखिन थालेको हो।

केहि सहकारी संस्थामा देखिएको समस्याले गर्दा गत केहि महिना अघिदेखि सहकारी क्षेत्र नै तरंगित भएको थियो। निक्षेपकर्ताले आफ्नो निक्षेप समेत फिर्ता पाउन नसक्ने अवस्था आएको थियो। सहकारीको समस्या साम्य हुन नपाउदै अहिले लघुवित्त वित्तीय संस्थाहरु समस्यामा पर्न थालेका छन्। लघुवित्त वित्तीय संस्थाहरुको कर्जा उठाउन कठिन हुन थालेको छ।

बुधबार जाजरकोटमा एनआईसी एशिया लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायमाथि कालोमोसो दल्ने र संकलित रकम समेत लुटेर भाग्ने कार्य भएको लघुवित्त बैंकर्स सँघले जनाएको छ। यसरी लघुवित्तका कर्मचारीहरुमाथि नै दुरब्यवहार हुन थालेपछि लघुवित्त वित्तीय संस्थाले लगानी गरेको कर्जा उठ्ने कुरामा संका उत्पन्न हुन थालेको छ। जसले गर्दा उनीहरुलाई समस्यामा पार्नसक्छ।

लघुवित्तको कर्जा नउठ्नुमा एक त साना ऋणीहरुको पनि अहिले कर्जा तिर्न सक्ने क्षेमतामा ह्रास आएको छ भने क्षमता भन्दा धेरै कर्जा लिएका तथा कर्जा लिएर उपभोग्य बस्तुहरु खरिद गरेका ऋणीहरुलाई अहिले कर्जा तिर्न समस्या भएको छ। अर्कोतर्फ बैंक तथा वित्तीय संस्था विरुद्ध आन्दोलनको नाममा कर्जा नै नतिर्न उक्साउनेहरुको कारण पनि कर्जा उठाउन गाह्रो भएको लघुवित्त कम्पनीहरु बताउछन्।

लघुवित्त वित्तीय संस्थाहरुले वाणिज्य बैंकमार्फत सापटी लिएर ग्रामिण क्षेत्रमा रहेका विपन्न बर्गमा कर्जा लगानी गर्ने गर्छन। पुस मशान्तसम्मको तथ्याँक अनुसार वाणिज्य बैंकहरुले २ खर्ब ७७ अर्ब रुपैयाँ विपन्न बर्ग कर्जा दिएका छन्। यो कर्जा बैंकहरु आफै र लघुवित्त वित्तीय संस्थाहरुमार्फत विपन्न बर्गमा दिइएको कर्जा हो।

पुस मशान्तसम्मको तथ्याँक अनुसार लघुवित्त वित्तीय संस्थाहरुको १ खर्ब ६७ अर्ब रुपैयाँ आफ्नो निक्षेप छ भने २ खर्ब १४ अर्ब रुपैयाँ सापटी लिएका छन्। यो सापटी बैंक वित्तीय संस्थाबाट नै लिएका हुन्। बैंकबाट लिएको सापटी पनि अन्तत सर्वसाधारणकै पैसा हो। अहिले लघुवित्त कम्पनीहरुले कुल ३ खर्ब ८२ अर्ब रुपैयाँ सर्वसाधारणको पैसा र आफ्नो करिब ६५ अर्ब रुपैयाँ आप्नो पूँजीकोषको रकमबाट कर्जा लगानी गरेका छन्।

पुस मशान्तसम्मको तथ्याँक अनुसार लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ३८ अर्ब ९८ करोड रुपैयाँ कर्जा सर्वसाधारणमा दिएका छन्। लघुवित्तहरुले दिएको कर्जामा करिब ८० प्रतिशत कर्जा विना धितो नै कर्जा दिएका छन्। लघुवित्तहरुले लगानी गरेको कुल कर्जामा शेयरधनीहरुको हिस्सा निकै कम छ। अन्य रकम सर्वसाधारणकै छ।

तथ्याँक अनुसार लघुवित्तहरुको कुल चुक्ता पूँजी ३० अर्ब ७६ करोड छ भने ३६ अर्ब ४३ करोड रुपैयाँ रिजर्भमा छ।

लघुवित्त वित्तीय संस्थामा समस्या आए त्यसको करिब १० खर्बको अर्थतन्त्रलाई असर गर्ने लघुवित्त बैंकर्स सँघका अध्यक्ष प्रकाश शर्मा बताउछन्।

लघुवित्त कम्पनीहरुमा समस्या आए त्यसले बैंकको ब्यालेन्स सिट समेत बिगार्न सक्छ। किनभने लघुवित्त कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाबाट नै सापटी लिएर कर्जा दिएका छन्।

लघुवित्तको कर्जा नउठ्दा त्यसले बैंकलाई पनि समस्या पर्ने बैंकिङ्ग विज्ञ अनलराज भट्टराई बताउछन्। "बैंकहरुले लघुवित्तलाई सापटी दिएका छन्। लघुवित्तको कर्जा नउठ्दा त्यसले बैंकको वित्तीय विवरणमा पनि असर गर्छ। तर त्यसलाई नीतिगत सुधार गरेर सामाधान गर्न सकिन्छ," उनले भने ।

लघुवित्तको ऋणी सँख्यामा धेरै छ तर ऋणको रकम भने धेरै छैन। अहिलेसम्म धेरै ठुलो डिफल्ट भइसकेको छैन तर अहिले समुहकै हिसाबले ठुलो जमातको कर्जा तिर्न नसक्ने अवस्था आउछ कि भन्ने चिन्ता रहेको उनी बताउछन्।

लघुवित्तहरुले कतिपय ऋणीलाई क्षमता भन्दा धेरै कर्जा दिएको कारण अहिले समस्या देखिएको हो। साना ऋणीले पनि ठुला ऋणीले जस्तै धेरै संस्थाबाट कर्जा लिए। त्यो गर्नु नहुने भट्टराई बताउछन्। ठुला ऋणीको आम्दानीको स्रोत धेरै हुन्छ तर साना ऋणीको स्रोत सिमित हुन्छ जसले गर्दा कर्जा तिर्न नसक्ने अवस्था देखिने उनको बुझाइ छ।

कोभिडपछि लघुवित्तहरुबाट पनि धेरै कर्जा गयो। त्यो कर्जाहरु उपभोगमा पनि गएको छ। त्यसले गर्दा अहिले समस्या भएको हो। लघुवित्तमा समस्या आँउदा त्यसले अर्थतन्त्रमा नै समस्या ल्याउने उनी बताउछन्। "आजै ठुलोमा यसले असर नपर्न सक्छ। तर मास डिफल्ट भयो र धेरै साना ऋणीहरुले तिर्न सकेनन् भने आगामी ८-९ महिनामा त्यसको असर देखिन सक्छ," उनले भने "८ महिना जतिको समयमा मिलाउन सकियो भने त्यति ठुलो समस्या हुँदैन । त्यसको लागि राष्ट्र बैंक र नेपाल सरकारले नीतिगत सुधार गर्नुपर्ने आवश्यक हुन्छ।"

अहिले लघुवित्तको मात्रै होइन बैंककै पनि धेरै कर्जा उठ्न सकेको छैन। बैंकहरुले पनि अहिले दैनिक रुपमा कर्जा तिर्नको लागि ३५ दिने सूचना निकालिरहेको अवस्था छ। कर्जा नउठेकै कारण उनीहरुको खराब कर्जा बढ्दै गएको छ। जसले गर्दा बैंकहरुलाई पनि समस्यामा पार्न सक्छ। 

अहिले तत्कालै यो समस्या बैंकसम्म भने नपुग्ने उनको बुझाइ छ। किनभने बैंकहरुको कर्जाभन्दा धेरै बैंकहरुको सम्पत्ति छ। धेरै कर्जाहरु रियलस्टेटमा आधारित छ। त्यसले बैंकहरु सुरक्षित छन्। तर सबैको डिफल्ट हुन थाल्यो भने त्यो सम्पत्ति खरिद गर्ने मान्छे पनि हुँदैन यसले भने समस्या ल्याउन सक्छ। अहिले त्यसको संकेत देखिएकोले चनाखो हुनुपर्ने अवस्था आएको उनले बताए।

 




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।