आफै खाना पकाएर खान सकिने सुशान्तकाे विट्टीज होटल

Mar 09, 2023 06:41 PM Merolagani

ज्याेति शाह

पाटन मन्दिर वरपरको रमाइलो हेर्नेको भीडभाड हरेक दिन लगभग उस्तै हुन्छ । खासगरी, सो क्षेत्रमा युवायुवतीहरु बढी रमाउने गर्दछन् । यस्तै पाटन ढोका नजिकै रहेको नयाँ पुस्ताको झुण्ड भेटिने एक स्थल हो "विट्टिज" होटल ।

पाटन ढाेकाबाट ५० मिटर अगाडि, पाटन मल्टिपल क्याम्पसको छेवैमा रहेको मन्दिरबाट दाहिने बाटो समातेर दुई घर अगाडि देब्रेपट्टि छ विट्टिज होटल । ३० वर्षिय सुशान्त तिमिल्सिनाको विट्टीज होटल अघि नै विट्टीज कफी पनि चर्चित छ ।

सात महिना अघि खोलिएको विट्टिज होटलमा पस्ना साथ नेवारी संस्कृति झल्किन्छ । होटलमा कलात्मक झ्याल ढोका, आँगन, पेन्टिंग्सलगायत पुरै परिवेशले नै नेपालीपन दिन्छ ।

विट्टीज होटलमा कफी, खाजादेखि बाससम्म पाइन्छ । ग्राहकले बस्ने कोठामात्र नभएर खाना पकाउन भान्सा समेत यस होटलले उपलब्ध गराउने संचालक सुशान्तको भनाई छ । नेपाली तथा विदेशी पर्यटकलाई ध्यानमा राख्दै यो होटल निर्माण गरिएको सुशान्त बताउँछन् । "पाटनको मौलिकतालाई झल्काउन खोजेका छौं । साम्प्रदायिक भावना र संस्कृतिलाई जोगाउनमा म केन्द्रित छु," उनी भन्छन् ।

एक करोड २० लाख रुपैयाँको लगानी

करिब एक करोड २० लाख रुपैयाँको लगानीमा बनेको यस होटलमा ९ वटा कोठा छन् । यस होटलका कोठामा तयार भएको भान्सामा प्यान, इन्डक्सन, माइक्रोवेभ वोभन, ग्यास चुलो राखिएको छ । ग्राहकले आएर यहाँ खाना पकाएर खान सक्नेछन् । होटलमा महिनाभर, साताभर वा एक दिन मात्र पनि बस्न सकिनेछ ।

४ वटा सिम्पल डिलक्स रुम, अपार्टमेन्ट जस्तो देखिने ३ वटा सुपर डिलक्स रुम यस होटलमा बनाइएको छ । त्यस्तै गरी, तीन जनाको परिवारलाई उपयुक्त हुने २ वटा फेमिली रुम पनि रहेको सुशान्त मान्छन् । "अहिले साथीभाई, जोडी वा परिवार आउँदा आफै पकाएर खाना पाइयोस् भन्ने सोंच हुन्छ । पर्यटनलाई पनि ध्यानमा राख्दै यस्तो होटलको परिकल्पना गरिएको हो," उनी सुनाउँछन् ।

त्यस्तैगरी, खाजामा नेवारी खाजा प्लाटर (समयबजी), किमा नुडल्स पनि यहाँ रुचाइने खाजा मध्येको एक हो । यसबाहेक विदेशी तथा स्वदेशी दुबै ग्राहकहरुले आफ्नो रोजाई अनुसारको खाजा यस हाेटलमा पाईन्छ । अन्य खानाका साथै पिम्बाहालको चिप्स कम्पिलीमेन्ट्रीमा दिइने गरेको छ ।

 
 
 
View this post on Instagram
 
 
 

A post shared by Witty’s (@wittyscoffeehouse)

कफीमा भने प्राय सबै कफी ग्राहकले मन पराउने गरेको सुशान्त बताउँछन् । विभिन्न फ्लेवरका नेपाली कफी नै यहाँको विशेषता हो । यस कफी सपमा तीन महिनाका लागि १०० रुपैयाँमा अमेरिकानो पिउन पाईन्छ ।

 

जन्मदिन, विवाहोत्सव, वार्षिकोत्सव, बेचलेरेट पार्टी तथा अन्य कर्पोरेट कार्यक्रमहरु पनि यस होटलमा भइरहने सुशान्तले मेरोलगानीलाई बताए । उनले सुनाए, "अब हामी रुफटप बार पनि बनाउँदैछौं । सानो पार्टीहरु यहाँ गर्न सकिन्छ ।"

यसका साथै मुरली शो, लाइभ कमेडि शो, नाटक प्रस्तुती, फार्मस मार्केट, फोटो प्रर्दशनी, पेन्टिंग्स प्रर्दशनीलगायतका कार्यक्रम पनि यस हाेटलमा गरिन्छ । "कलालाई ध्यानमा राख्दै कलकारहरुको प्रर्दशन होस् भन्नलाई हामी यस्ता शो गर्ने गरेका छौं," उनी खुलाउँछन् ।

खासगरी, १८ देखि ३० वर्षसम्मका उनका ग्राहक रहने गरेका छन् । कर्पोरेट ग्राहक पनि विट्टिजका छन् । "हामीले पर्सनल टच दिन सकेकै कारण हामी अरुभन्दा फरक छौं । हाम्रो मूख्य केन्द्र नै ग्राहक र उहाँहरुको सहजता  छ ।" जसकारण विट्टिजमा ग्राहकले घर जस्तो महसुस गर्ने सुशान्तको धारणा छ ।

विट्टिज होटलमा हाल १० जना कर्मचारी कार्यरत छन् भने कफी सपमा पाँच जना काम गर्दछन् । बिहान ८ बजे खुल्ने यो रेष्टुरेन्ट तथा कफी सप रातको ९ बजे बन्द हुने गर्दछ । होटलका लागि भने १० बजेसम्मका लागि खुला रहने सुशान्तले बताए ।

चार हजारदेखि ७,५०० सम्मका कोठा 

विट्टिज होटलमा डिलक्स रुमका लागि ग्राहकले एक रातकाे चार हजार रुपैयाँ तिनुपर्ने हुन्छ । यसका साथै सुपर डिलक्स कोठाकाे पाँच हजार ५०० रुपैयाँ पर्ने गर्दछ । विट्टिजले परिवारको लागि फेमिली रुमको भने सात हजार ५०० रुपैयाँ लिने गरेको छ । यो प्याकेजमा बिहानको खाजा पनि समावेश गरिएको विट्टिजका संचालक सुशान्तले जानकारी दिए ।

खाजा तथा खानाको मूल्य पनि सबै वर्गकालाई मध्यनजर गर्दै तिर्न सकिने राखिएको उनले बताए । "अहिले आम्दानी भन्दा पनि हामी पुनः लगानी गर्ने कोशिसमा छौं । आम्दानी गर्दै, पूँजी बढाउन खोजिरहेका छौं ।"

सुशान्तका अनुसार बुकिङ डट कम, विट्टिज होटल र विजट्टिज कफी नामको इन्स्टाग्राम, फेसबुक र टिकटक विट्टिज नेपाल तथा फोन नम्बरबाट पनि बुक गर्न सकिन्छ ।

अभावमा अवसर, साढे तीन लाखको भट्टी बन्यो ३५ लाखको कफी सप

नयाँ बानेश्वरका सुशान्त तिमिल्सिना बाल्यकालदेखि नै बुवाको व्यापारीक जीवन देखेका थिए । बुवाबाट प्रभावित भएर नै उनलाई व्यापार व्यवसायमा रुची थियो । "मलाई बच्चा हुँदादेखि नै साना कुरा व्यापरको दृष्टि कोणले हेर्ने बानी लागेको थियो ।"

तर पनि सुशान्तले आफ्नो बुवाको प्रेसप्रिन्टको व्यवसाय सम्हालेनन् । "मैले आफ्नो यात्रा आफैले सुरु गरौँ भनेर सुरुवात गरेँ । खासमा, परिवारसँग आर्थिक सहयोग नलिइ आफ्नै व्यापार गर्ने सोंच थियो । तर पछि भने अलिअली नलिइ नहुने रहेछ," उनी हाँस्छन् ।

थापाथली स्थित ट्रेड टावरमा केहि समय ईभेन्ट म्यानेजमेन्टको व्यवसाय गरेपछि अपरेशन डाइरेक्टरका रुपमा ६ वर्ष व्यसाय संचालन उनले गरे । सुशान्तले करिब तीन वर्ष फ्रिल्यान्सरका रुपमा विभिन्न काम गरे । तर फुर्सदको समयमा उनका मनमा कुरा खेल्थे । "विदेश जाने वा नेपालमा नै केही गर्ने ? म मा दुविधा थियो ।"

कोरोनाको पहिलो लहर सकिएपछि तिनकुनेको रिभर कोरिडोरमा एक भट्टि बिक्री हुने सुनेपछि उनले सोहि समयलाई माैका माने । "अभावमा किन्नुपर्छ भनिन्छ । त्यो भट्टिलाई कसरी क्याफेका रुपमा स्थापना गर्न सकिन्छ ?  यो 'क्राइसिसमा अपरच्युनिटी हुन्छ' भन्ने लागेर लगानी गर्न पाएमा राम्रो हुन्छ भन्ने सोंचे ।" साढे तीन लाख रुपैयाँमा सो भट्टी खरिद गरेपछि विट्टिज कफी हाउसको पुँजी उनले करिब ३५ लाख रुपैयाँसम्म पुर्याए ।

छट्टु सुशान्तकाे विट्टिज हाेटल

"बच्चा बेलामा सबैले मलाई यो छट्टु छ भन्नुहुन्थ्यो । विट्टिज अंग्रेजी शब्दको अर्थ बाठो र रमाइलो भएकोले आफूलाई त्यसमा फिट गर्दै नाम राखेँ ।" र यो नाम जस्तै मान्छेहरु यहाँ आएर त्यस्तै हाँसी मजाक गर्ने, दुख बिर्सने ठाउँ र रमाइलो गर्ने ठाउँ होस् भनेर विट्टिज नाम राखेको उनी बताउँछन्।

सुशान्त आफैले पहिले कफी मन पराउँदैनथे । उनी आफूलाई चिया एडिक्टका रुपमा लिन्थे । तर बिस्तारै कफीका स्वादमा रुची जागेपछि पहिलो तितो लाग्ने कफी उनलाई मिठो लाग्न थाल्यो । "तर म खासमा कफी भन्दा पनि मान्छेलाई सामाजिक कसरी बनाउन सकिन्छ ? भन्नेमै केन्द्रित थिएँ," उनी सुनाउँछन् ।

विट्टिज कफीको २ वर्षसम्म राम्रै कमाई गरेपछि सुशान्तले विट्टीज होटल खोलेका थिए । अब अर्को कफी सप खोलौं कि भनेर खोजी गर्न थाले। "त्यहिँ समयमा यो ठाउँ देखेँ । ९० वर्ष पुरानो घरमा रेट्रो फिटिङ भइरहेको थियो, अचानक होटल खोलौं न त भन्ने लाग्याे । मैले कुनै योजना बनाएको थिएन, यतिकै निर्णय लिने खालको हुँ म, सुशान्तले अनियाेजित जुरेकाे माैका सम्झिन्छन् । "त्यो समयमा मसँग खल्तिमा १६५ रुपैयाँ थियो होला तर पनि बिस्तारै लगानी जुटाउँला भनेर आँटे," उनी थप्छन् । कफी सप र शेयर कमाईले पनि उनलाई यो होटल निर्माण गर्न सहयोग गर्यो । 

सुशान्तको लागि विट्टिज कफी व्यवसाय मात्र नभएर एकता हो । "लगानी गरेर छोड्ने होइन म । मान्छेहरुलाई कसरी साथमा ल्याउन सकिन्छ र उहाँहरुको तनाव कसरी कम गर्न सकिन्छ? भन्ने नै मेरो फोकस हो," उनी खुलाउँछन् । सुशान्त आफ्ना कर्मचारीहरुसँगसँगै काममा खटिएका हुन्छन् ।

शेयरमा २० र व्यसायमा ८० प्रतिशत लगानी 

सुशान्तको लगानी केहि कम्पनीका शेयरमा पनि रहेको छ । सुरुवातमा लहलहैमा शेयर बजारमा प्रवेश गरेका उनले बिस्तारै शेयर लगानी सम्बन्धित ज्ञान बटुलेको बताउँछन् । उनी खुलस्त पार्छन्, "पहिला हाइड्रोपावर कम्पनीमा प्रोमोटर शेयर हाल्थ्यौं । दोश्रो बजारमा भने ६ वर्ष भयो प्रवेश गरेको ।"

सुशान्तको शेयर अनुभव तितो र मिठो दुबै भएको उनकाे भनाई छ । उनी भन्छन्, "कुनै बुल पिरियडमा परियो, कहिले लस पनि बेहोरियो । देशको विकास नभएको अवस्थामा आफ्नो विकास होला कि भनेर गरिने लगानी हो जस्ताे मलाई लाग्छ ।"

सुशान्तले आफ्नो लगानीको २० प्रतिशत शेयर बजारमा र व्यवसायमा ८० प्रतिशत रहेको बताउँछन् । हालको अवस्थामा उनका लागि व्यवसाय नै फापेको छ । भविष्यका लागि पनि यो व्यवसाय राम्रो हुने उनको ठम्याई छ ।

"एक्लै लगानी गरेपछि छटपट पनि धेरै हुन्छ, त्यसो हुँदा कसरी ग्राहक तानौं र व्यवसाय बढाऔं भन्ने मात्र सोंच आउँछ," उनी सुनाउँछन् ।

विट्टिज होटलको नेपालभरमा विभिन्न शाखा खोल्ने सुशान्तको उद्देश्य रहेको छ । "यसबाहेक अन्य भेन्चर्समा लगानी गर्ने र रिसोर्टमा पनि लगानी गर्ने सोंच बनाएको छु," उनी योजना सुनाउँछन् ।

@wittysnepal #coffeehouse#coffeelover#foodlover#tiktok #art ♬ original sound - Witty’S Coffee House

comments powered by Disqus