सीमावर्ती होटल व्यवसायीहरु भन्छन्ः ‘पर्यटक बढेर भारुको आपूर्ति बढेको होइन’

Mar 14, 2023 05:54 AM MeroLagani

पछिल्लो दुई अढाई महिनादेखि नेपाल भारत सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको आपूर्ति बढेको पाइएको छ । सीमावर्ती क्षेत्रका उद्योगी व्यवसायीहरुले उच्च आपूर्तिका कारण नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको बताएका छन् । 

केन्द्रीय बैंकले १ सय भारु सटही गर्दा १ सय ६० नेपाली रुपैयाँ कायम गरे पनि सीमावर्ती क्षेत्रमा भने अहिले १ सय ५२ देखि ५५ रुपैयाँमा नै पाइने गरेको बताउने गरिएको छ ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय धेरै होटलहरु बढेको छ । नेपालसँग सीमा जोडिएका बिहारलगायतका क्षेत्रमा अहिले मदिरा सेवन निषेध छ । त्यसैगरी पछिल्लो समय सीमावर्ती क्षेत्रमा धेरै क्यासिनोहरु पनि खुलेका छन् । राष्ट्र बैंक अधिकारीले भारतीय पर्यटकहरु मदिरा सेवन गर्न नेपाल छिर्ने एवम् क्यासिनोमा खेल्न समेत आउने गरेका कारण भारुको आपूर्ति बढेको हुन सक्ने बताउने गरेका छन्।

भारतीय पर्यटक यहाँ आएर गरेको खर्चले मात्रै नेपालको सीमावर्ती इलाकामा भारतीय रुपैयाँको आपूर्ति बढेको भन्नेमा सीमावर्ती क्षेत्रका होटल व्यवसायीहरु सहमत छैनन् । सीमावर्ती क्षेत्रमा भारु सस्तोमा पाउन थालेको सत्य भए पनि भारतीय पर्यटक बढेर भारुको सप्लाइ बढेकोमा सत्यता नरहेको होटल एसोसिएसन नेपाल मध्य प्रदेशका अध्यक्ष विजयकुमार झुनझुनवालाले बताए । उनका अनुसार भारतीय पर्यटकहरुलाई धेरै नगद बोक्न कडाई गरेका कारण उनीहरुले कार्डबाट धेरै भुक्तानी गर्ने गरेको छ । ‘धेरैजसो कार्डबाट भुक्तानी हुन्छ । प्रायः होटल बुकिङ पनि ट्राभल एजेन्टको माध्यमबाट नै हुन्छ । नगद कारोबार एकदमै न्यून छ ।’–उनले भने ।

नेपालमा भारुको सप्लाइ बढ्नुमा हालै सम्पन्न स्थानीय र संघीय निर्वाचनमा नेताहरुले सहयोग स्वरुप संकलन गरेको चन्दा रकम अहिले बजारमा देखिएको हुनसक्ने उनले आँकलन गरे । नेपाल भारतबीच रोटी बेटीको सम्बन्ध हुने बताउँदै नेपाली नेताहरुलाई भारतीय समकक्षी नेता र व्यापारीहरुले सहयोग गरेको रकम अहिले बजारमा देखिएको हुनसक्ने उनले अनुमान गरे । सीमावर्ती क्षेत्रका नेपालीहरु धेरैजसो सपिङको लागि भारततिरै जाने गर्दछन् । अनौचापरिक तथ्यांक अनुसार नेपालीहरुले दैनिक करोडौं रुपैयाँ भारतीय बजारबाट खरिद गर्ने गर्दछन् भने सीमावर्ती भारतीय बजारका व्यापारीहरुले पनि सहजै नेपाली नोट स्वीकार गर्दछन् । नाकाबन्दीको समयमा लामो समय नेपाली रुपैयाँ भारतीय क्षेत्रमै लक भएर बस्यो । यो रकम साटिने क्रममा धेरै अनौपचारिक गतिविधिका कारण पछिल्लो समय नेपाली सीमा क्षेत्रमा भारतीय रुपैयाँको आपूर्ति बढेको हुनसक्ने उनले बताए । पछिल्लो समय नेपाली सीमावर्ती इलाकामा धेरै अस्पतालहरु खुलेका छन् । ती अस्पतालका ग्राहक भनेका अधिकांश भारतीयहरु नै हुन । तिनीहरुले पनि धेरै भारु नेपाल भित्र्याएको उनको अनुमान छ ।

क्षेत्रीय होटल संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठले पनि भारतीय पर्यटक बढेर मात्रै नेपालमा भारुको आपूर्ति बढेकोमा सत्यता नभएको बताए । उनले भने–‘पर्यटकहरुले मात्र खर्च गरेर यति धेरै मात्रामा भारुको आपूर्ति कहाँ बढ्छ र । अरु नै केही कारण हुनुपर्छ ।’ विराटनगर क्षेत्रमा दुईटा क्यासिनो सञ्चालनमा आएको छ । क्यासिनोमा आपूर्ति भएको भारुले बजारमा नै असर पर्ने गरी भारुको आपूर्ति बढेकोमा भने उनले आशंका व्यक्त गरे । उनले भने–‘क्यासिनोमा आउने हरेकले करोड रुपैयाँ हार्ने त पक्कै होइन होला । भारतीयले खर्च गर्नेभन्दा २० गुणा बढी रकमको सामान नेपालीले जोगबनी गएर खर्च गर्छन । नेपालीले दैनिक करोडौं रुपैयाँको सामान किन्छन्, भारतीय पर्यटकले दैनिक करोड बराबरको खर्च त पक्कै गर्दैन ।’

क्षेत्रीय सिद्धार्थ होटल एसोसिएसन, भैरहवाका अध्यक्ष सीपी श्रेष्ठले भने भैरहवा क्षेत्रमा भारतीय पर्यटकको संख्या नगन्य रहेकाले पर्यटकको कारण भारुको आपूर्ति बढेको मान्न नसकिने बताए । ‘अहिले दैनिक ७–८ वटा रुम मात्रै बिक्री भएको अवस्था छ । त्यसले कति भारु नेपाल भित्रिन्छ ?’–उनले प्रतिप्रश्न गरे । उनले सीमा क्षेत्रका मनि चेन्जरहरुले अवैधानिक रुपमा ५ सय र २ हजारका भारु नोटहरुको कारोबार गरिरहेको आरोप लगाए । राष्ट्र बैंकले नेपालमा ५ सय र २ हजारको भारु नचल्ने बताए पनि केही मनी चेन्जरहरुले कम मूल्यमा किनेर हुण्डीमार्फत कारोबार गर्ने गरेको आशंका व्यक्त गरे । सीमा क्षेत्रमा केही मात्रामा क्यासिनोका कारण भारुको आपूर्ति आंशिका रुपमा बढेको हुन सक्ने उनको आंकलन छ । सुन तस्करीमा समेत नेपाली रुपैयाँमा माग बढ्दा भारतीय रुपैयाँको आपूर्ति बढेको अनुमान धेरै उद्योगी व्यवसायीहरुले लगाउने गरेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।