सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Mar 25, 2023 06:33 AM Merolagani



यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेको छ। गत साता १९३३.३० विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९४ प्रतिशत अर्थात १८.१६ अंक घटेर १९१५.१४ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन मात्र बजार बढेको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक साढे २२ अंक बढेको थियो।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ३.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब २६ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साता नेप्सेको दैनिक औषत कारोबार रकम १.३५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता नेप्सेको दैनिक औषत कारोबार संख्या ६.२३ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या ११.२६ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण २३ अर्ब रुपैयाँ घटेको छ। गत साता २७ खर्ब ९३ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता घटेर २७ खर्ब ७० अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३७ अंक बढेको छ। गत साता २१०१.९१ विन्दुमा रहेको व्यापार उपसमूहको परिसूचक, यस साता २८.८४ अंक बढेर २१३०.७५ विन्दुमा पुगेको छ। लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक २.६२ प्रतिशत घटेको छ। गत साता ३५७२.१५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९३.५८ अंक घटेर ३४७८.५७ विन्दुमा झरेको छ।

अंकका आधारमा यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २८.८४ अंक बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १८६.०५ अंक घटेको छ।

यस साता नेप्सेमा ८ कम्पनीको कुल ४ करोड ६५ लाख ६९ हजार ५६३.२८ कित्ता शेयर सूचीकृत भएको छ। यस साता विन्ध्यबासिनी हाइड्रोपावर, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने माया खोला हाइड्रोपावर, सुपरमाइ हाइड्रोपावर, कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता युनिक नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक १२.२१ प्रतिशत बढेको छ। गत साता १ हजार ६०४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य, यस साता १८०० रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने १० प्रतिशतभन्दा कम रहेको छ। यस साता श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.५३ प्रतिशत घटेको छ। अन्य स्टकको मूल्य गिरावट दर १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सामुदायिक लघुवित्त, तेह्रथुम पावर कम्पनी, उन्नती सहकार्य लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेपाल लाइफ, लक्ष्मी बैंक, समिट लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।