बैंकबाट पैसा कम पाउन थालेपछि त्यसको विकल्प पब्लिकबाट पैसा उठाउनु पर्ने अवस्था आएकाे हाेः पवन गोल्यानसँगकाे अन्तरवार्ता

May 12, 2023 05:53 PM merolagani

एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष समेत रहेका पवन गोल्यानले पहिलेदेखि नै बैंकको ब्याजदर एकल अंकमा ल्याउनु पर्ने आवाज उठाउँदै आएका छन् । उनले भनेजस्तै बैंकको ब्याजदर घट्दै जाने थालेको छ । केही महिना अघि १६ प्रतिशतसम्म पुगेको बैंकको ऋणको ब्याजदर घट्न सुरु गरेको छ ।

यसैगरी, उनी अध्यक्ष रहेका बैंक तथा वित्तीय संस्था परिसंघलगायतका संस्थाहरुले यही साता नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने बिषयमा नेपाल बिजनेस समिट गरिसकेको छ । उक्त समिटले १९ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।

व्यवसायी गोल्यानका आधा दर्जन कम्पनीहरुले शेयर सर्वसाधारणमा ल्याउने तयारी गरिरहेका छन् । उनै गोल्यान समूहका अध्यक्षसमेत रहेका पवन गोल्यानसँग शेयर बजार, बैंकको ब्याजदरलगायतका बिषय केन्द्रित रहेर मेरोलगानीका उप सम्पादक सुवास निरौलाले गरेको अन्तरवार्ताः

 

धितोपत्र बोर्डले बुक बिल्डिङ पक्रियामा रहेको तपाईहरूको कम्पनीलाई मूल्य पुनरावलोकन गरेर ल्याउन भनेको विषय अहिले कहाँ पुग्यो ? नागरिक लगानी कोष र नेपाल टेलिकमले आनाकानी गरिरहेको भन्ने कुरा सुनिएको छ। के भएको हाे ?

आनाकानी गरेको होइन। उनीहरुकाे बोर्डबाटै निर्णय गर्नु पर्ने भएकोले अलि लामो समय लागेको मात्रै  हो। अब हाम्रो शेयर किन्ने प्रतिबद्धता गरेका योग्य संस्थागत लगानीकर्ताको म्योजोरोटी  कमिटमेन्ट आइसकेको छ। दुई कम्पनीको मात्रै आउन बाँकी छ। त्यो पनि चाडै आउँछ होला। ज-जसको आयो त्यसलाई हामीले धितोपत्र बोर्ड पनि पठाइ नै सक्यौ।

पछिल्लो समय रिलायन्सको भ्यलुएसन बढेर आएको भन्ने सुनिएको छ। कति बढेको हो ?

अहिले नै मैले यो कुरा खुलाउन चाहिन। त्यो स्वीकृत भएर आएपछि सबैले नै थाहा पाइ हाल्नु हुन्छ।

तै पनि यति प्रतिशत त भन्न मिल्ला नि ?

तपाईले सोधी हाल्नु भयो। १५ देखि २० प्रतिशतसम्म बढेको मैले भन्न सके।

भ्यालुएसन बढेर आउँदा पनि मूल्य बढाउन खोज्नु भएन नि किन ? 

ठिक प्रश्न गर्नु भयो। चाहेको भए यसको भ्यालुएसन अझै बढी आउने थियो भने मूल्य बढाउन पहल पनि गर्न सकिन्थ्यो। तर त्यो नगरेका कारण के हो भने सस्टेनेबल प्राइसमा जानु पर्‍यो भनेर हो। साना लगानीकर्ताले लगानी गर्ने हो। यसमा पाउने भनेको १० शेयर २० शेयर हो। त्यो भन्दा बढी पाउँदैन। उनीहरूको पैसा नोक्सान हुनु हुँदैन र डुब्नु पनि हुँदैन। मूल्य बढाउने काम गर्‍यो भने हामीले दिगो विकास गर्न सक्दैनौ। भोलि गोल्यान समूहले पब्लिकबाट पैसा उठाउन नसकेको खण्डमा हामीलाई नै नोक्सान हुन्छ। त्यसले हाम्रो इमेज बिल्डिङ गर्दैन। भोलि पब्लिकबाट पैसा उठाउन थप गाह्राे हुन्छ।

बुक बिल्डिङ प्रोसेस किन यति लामाे भएको होला ?

पहिलो चोटी गर्दा त गाह्राे र लेन्दी त हुन्छ नै। हाम्रो नेपालमा कसरी काम हुन्छ भन्ने कुरा कसैबाट लुकेको छैन। नयाँ कुरा, राम्रो कुरा गर्दा खुट्टा तान्ने धेरै जना हुन्छन्। यहाँ दुबैतिर समस्या छ। हामीले पाइला चाल्दा सोची सोची चाल्नु पर्ने हुन्छ। सायद सर्वोत्तमको विषयमा पहिला कुरा नउठेको भए यो त्यतिखेरै आउने थियो। त्यसले पनि समय लगायो। त्यसपछि थोरै सचेत हुनु स्वाभाविक नै हो। अलि टाइम बढी लागेको कारण त्यो पनि हो।

हिजो आज तपाई सार्वजनिक फोरमहरूमा पूँजी बजारको विषयमा बोल्न थाल्नु भएको छ। अहिले आएर किन रियल सेक्टरलाई पूँजी बजार आवश्यक भएको हो ?

हो तपाईले ठिक भन्नु भयो। आइतबार मात्रै हामीले राजधानीमा एउटा समिट गर्‍यौ। त्यहाँ पनि पूँजी बजारकै विषय उठेको थियो। दोस्रो बजारमा दुई सय कम्पनी मात्रै सूचिकृत छन्। यता रियल सेक्टरले अहिले मागे जति बैंकबाट पैसा पाउन छाडेको छ। बैंकबाट पैसा कम पाउन थालेपछि त्यसको विकल्प खोज्नु पर्‍यो। अब सोझै पब्लिकबाट पैसा उठाउनु पर्ने अवस्था आइसक्यो। अब बैंकको ऋण कम गरेर पब्लिकबाट पैसा उठाउनु पर्ने अवस्था आइसकेको छ। अर्को तर्फ पारदर्शिता पनि ल्याउनु पर्ने आवश्यकता पनि छ। यो सबै हिसाबले सूचिकृत दुई सय कम्पनीलाई दुई हजार कसरी बनाउन सकिन्छ भनेर आइतबारको कार्यक्रममा छलफल गरेकै हो।

यो भनेको के हो भने दोस्रो बजारमा जति कम्पनी आयो त्यति नै राम्रो हुन्छ। पब्लिकलाई पनि छनौट गर्ने अवसर प्राप्त हुन्छ। होइन भने घुमिफिरी भएकै ती दुई सय कम्पनीमा लगानी गर्नु पर्ने हुन्छ। दुई हजार भयो भने छनौट गर्ने अवसर हुन्छ। जति धेरै दायरा फराकिलो भयो त्यति नै बढी इन्भेष्टर्स पनि छिर्छन्। घाटा हुने सम्भावना पनि कम हुँदै जान्छ।

अहिले कस्तो छ भने एउटा न्युज आउने वित्तिकै त्यसैको पछाडि सबै जना हुर्रै दौडिने अनि पछि गएर नोक्सानीमा पर्छन्। फेरि नोक्सान हुने भनेको साना लगानीकर्तालाई नै बढी हुने हो। धेरै कम्पनी र लगानीकर्ता भयो भने मूल्य स्थिर हुन जान्छ। धेरै ठुलो उतार चढाव हुँदैन। जसले लगानीकर्तालाई घाटा हुने सम्भावना धेरै नै घट्छ। त्यसले गर्दा ती साना लगानीकर्ता र बजार दुवैको लगानी धेरै भन्दा धेरै कम्पनी भित्रिन आवश्यक छ।

अहिले सय करोड लिएर कोही बस्यो भने पुरै शेयर मार्केट चलाइ दिन सक्छ। बजार नै ठुलो भयो भने सय होइन हजार करोड लिएर बस्यो भने पनि कसैले बजारलाई चलाउन सक्दैन। अब सबै मिलेर त्यस्तो बनाउनु पर्‍यो।

अब जुन हिसाबले अरू क्षेत्रमा विकास भएको छ। जस्तै उदाहरणको लागि बैंकिङ सेक्टरमा विकास भएको छ। जिडिपी भन्दा बढी ऋण बैंकले प्रवाह गरिसकेको स्थिति छ। अनि पूँजी बजारचाहिँ जहाँको त्यही बस्नु पर्ने भन्ने कतै लेखेको छ र ? छैन नि। त्यही कारण यो सेक्टरको विकासको लागि बहस चलाउन थालिएको हो।

तर शेयर बजार उत्पादनशील क्षेत्र होइन भन्ने गरिन्छ। यसको विकास आवश्यक हो र ?

जसले शेयर बजारलाई उत्पादनशील क्षेत्र होइन भन्छन्। ती मानिस गलत हुन् भन्ने लाग्छ। मैलेचाहिँ यो क्षेत्रलाई उत्पादनशील क्षेत्र हो भनेर कहिले पनि भन्दिन। मलाई के लाग्छ भने दोस्रो बजार गैर उत्पादनमूलक क्षेत्र नै हो। तर प्राथमिक बजार भनेको उत्पादन शील क्षेत्र नै हो।

तपाईँहरूले भटा भट कम्पनीहरू शेयर बजारमा उतार्दै हुनुहुन्छ। तपाईँहरूका अरू कुन कुन कम्पनीको शेयर निष्कासन गर्दै हुनुहुन्छ ?

हाम्रो गोल्यान समूहको जति पनि कम्पनी छन्। सबैलाई पब्लिकमा लैजाने योजनामा काम गरिहरेका छौं। केही पुराना कम्पनी बुक बिल्डिङ वा प्रिमियममा लैजान्छौ। नयाँ कम्पनी भए फेस भ्यालुमै आउने छ

हाम्रो सिटी होटेल आइ नै सक्यो। दोस्रोमा रिलायन्स आउँछ। तेस्रो शिवम् प्लास्टिक भन्ने कम्पनी छ। त्यसको पनि पाइप लाइनमा छ। त्यसपछि हाम्रो कृषि कम्पनी छ। जसले माटो ब्रान्डको उत्पादन बिक्री गर्छ। त्यसको पनि शेयर निष्कासन गर्छौ। अलि त्यसलाई समय लाग्ला। तर पनि एक वर्ष भित्रमा ल्याउँछौ। त्यसपछि पस्मिना र स्वेटर बनाउने ट्र्याक वर्ड भन्ने कम्पनी छ। त्यसलाई पनि हामी बजारमा उतार्छौ।

किन भटाभट कम्पनीहरूलाई शेयर बजारमा उतार्न लाग्नु भएको ?

स्ट्याटिजी के हो भने जबसम्म ट्रान्सपरेन्ट हुँदैनौ तबसम्म रियल सेक्टरलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदैन। रियल सेक्टरले मात्रै गाली खानु परिरहेको छ। यो सेक्टर ट्रान्सपरेन्ट छैन भनेर। त्यस कारण अब पब्लिकमा लगेर पारदर्शी बनाउने गोल्यान समूहको अभियान हो। त्यही अभियान अन्तर्गत पब्लिकमा लैजान लागिएको हो।

बैंकको लगानीले अब नपुग्ने जस्तो कुरा आइसक्यो। बैंकले लोन दिन नसक्नु भनेकै अब प्राथमिक बजारमा जानुको विकल्प छैन भन्ने सन्देश पनि हो। म आफैलाई अहिले बैंकबाट लोन लिन गाह्रो भइरहेको छ। अब अल्टरनेट मार्केट खोज्नु पर्‍यो नि। अल्टरनेट मार्केट खोज्दा जुन सबैभन्दा पारदर्शी हुन्छ त्यही रोज्ने हो। त्यही कारण पनि पब्लिकमा लैजान लागेको हो।

तेस्रो कारण भनेको कुनै पनि कम्पनी खोलेर धेरै मान्छेलाई रोजगारी दिएर अनि पब्लिकलाई शेयर दिएर नाफा बाँडेको राम्रो हो कि ? एक्लै कमाउनु राम्रो हो ? लगानी गरेपछि प्रतिफल पाइन्छ भन्ने सन्देश पनि दिन खोजेको हो।

भारतमा कसले सिकायो ? भारतमा धीरुभाइ अम्बानीले सिकाएको होइन ? हो। न टाटाले गर्‍यो न बिरलाले गर्‍यो न अरू कसैले गर्‍यो। अल्टिमेट्ली धिरुभाइ अम्बानीले गर्नु भयो। त्यहाँ पनि रिलाइन्सले गर्‍यो। यहाँ पनि रिलायन्सले नै रियल सेक्टरमा पहल गरिरहेको छ। हामीले ८-१० वर्ष पहिले नै ल्याउन खोजेको थियौ। त्यो बेलामा कुनै कारणले आउन सकिन्न। पहिले नै आइदिएको भए अझै धेरै मानिसले प्रतिफल पाउने थिए। तर अझै ढिलो भएको छैन। त्यसैले अहिले हामी होटेलमा गयौ। होटेलमा अरूले नोक्सान हुन्छ भनिरहेका छन्। हामी नाफा गरेर देखाउँछौ। नाफा गरेर प्रतिफल दिन्छौ। 

१० प्रतिशत मात्रै पब्लिकमा लैजान पनि रियल सेक्टर आनाकानी गरिरहेका छन् नि ?

हो तपाईले ठिक भन्नु भयो। अब अर्को प्रोजेक्टहरू आउँदा १० प्रतिशत मात्रै किन ल्याउने, २० देखि ५० प्रतिशतसम्म पब्लिकमा किन नलैजाने ? बैंकबाट लोन लिएर कारोबार गर्नु भन्दा पब्लिकबाट वा लिएर उनीहरूलाई लाभांश दिँदा झन् राम्रो हुन्थ्यो। आफू मात्रै लगानी गर्छु, नाफा पनि आफै मात्रै राख्छु भन्ने परिस्थिति फेर्नु पर्ने बेला भइसकेको छ ।

तपाई आफू चाहिँ बढी नल्याउने अरूलाई चाहिँ ल्याउनु पर्छ भन्दा आफ्नै कुरा आफैले काटे जस्तो भएन र ?

हामीले नयाँ कम्पनीहरूको फेस भ्यालुमै ल्याइरहेका छौ। तर पुराना कम्पनीको मात्रै बढी प्रिमियम मूल्यमा उतार्दै छौ। तर सिटी होटेलमा पनि हामीले लगानी गरेको चार-पाँच वर्ष भइसक्यो। त्यस कारण मात्रै हामीले थौरै ल्याएको हो। हेर्नुस् मैले सफा कुरा गर्दै छु। कुरा नचपाई एक दम फ्याक्ट कुरा गर्दै छु। तर अब नयाँ आउने कम्पनीमा त हामीले त्यो अभ्यासको पनि थालनी गर्छौ। तर त्यसका लागि एउटा भए पनि सफल पारेर देखाउनु पर्‍यो नि। हैन। हामी अहिले सुरुवाती चरणमा छौ।

फेरि हाम्रो बजार यस्तो छ कि शुद्ध चित्तले ३० देखि ४० प्रतिशत ल्याउला अर्को तर्फ के कुरा सुरु हुन्छ भने किन यति धेरै ल्याएको ? पब्लिकलाई मूर्ख बनाउन ल्याएको हो। यो भन्दा यति धेरै ल्याइएकै थिएन। ऋण तिर्न ल्यायो। कम्पनीले नाफा दिन सुरु गरेकै छैन भन्ने कुरा आउँछन्। तर मानिसले पब्लिक कै पैसाले प्रोजेक्ट बनाउन लागेको भन्ने बुझ्दैन। पब्लिकलाई आपिओ आएकै वर्ष प्रतिफल चाहिन थाल्छ। यसमा नेगेटिभ र पोजेटिभ दुवै कुरा छन्। तर बजारमा के ले प्राथमिकता पाउँछ भन्ने महत्त्वपूर्ण कुरा हो। तर मेरो बिचारमा १० भन्दा बढी प्रतिशत नै निष्कासन गर्नु पर्छ।

तपाई त अघि बढ्दै हुनुहुन्छ। तर तपाईको जस्तै अरूको आँखा किन नखुलेको ?

मैले साथीहरू सबैलाई भन्ने गरेको छु। कि अब बैंकबाट ऋण लिने होइन पब्लिकबाट पैसा उठाउने हो। तर सबैले अहिले नै पत्याउने स्थिति छैन। त्यसका लागि मैले बाटो देखाउँदै छु। मैले सबै कम्पनीहरूको आइपिओबाट पैसा उठाएर देखाइदिएपछि मेरो पछि पछि सबै जना आउनु हुन्छ भन्ने मलाइ पूर्ण विश्वास छ।

भारतमा पनि धिरु भाइ अम्बानीले सुरु गर्नु भयो। त्यस पछि नीतिहरू पनि खुल्दै गए। अरू कम्पनीहरू पनि थपिँदै गए। त्यसले भारतमा कम्पनीहरूको भ्यालुएसन बढाउने काम गर्‍यो। अर्को तर्फ मुलुककै विकासमा ठुलो योगदान गर्‍यो। देश भित्र पूँजी निर्माण गर्न ठुलो टेवा दियो। बैंक बाहेक अल्टरनेट क्यापिटल मार्केटको सिर्जना भयाे ।  

त्यही काम यहाँ कुनै न कुनै कर्पोरेट सेक्टरले अगुवाइ गर्नु पर्ने थियो। जसको ट्र्याक रेकर्ड राम्रो छ। आफै पहिले ढुक्क हुनु पर्‍यो कि पब्लिकको पैसा समातेपछि त्यो प्रोजेक्टमा नोक्सान हुँदैन। यो गरेर देखाइदिएपछि त पैसाको कमी हुँदैन नि। बैंक तिर धाउनु परेन। केही वर्षको लागि बैंकको लोन कसरी तिरौँ भन्ने चिन्ता लिनु पर्दैन। अब कुनै पनि प्रोजेक्ट गर्दा किन अब लोनमा जाने सिधै पब्लिकमा जाने नि। जुन काम गोल्यान समूहले गर्दै छ। नेपालमा पनि हामीले सुरुवात गरेका छौ। ८० को दशकमा हामीले समातेको बाटो धेरैले समाउने छन् भन्नेमा म पूर्ण विश्वस्त छु।

नयाँ स्टकमा स्थापनामा तपाईँहरूको समूह छ कि छैन ?

हामी त्यस्तो कन्ट्रोभर्सीकाे कुनै पनि कुरामा जान चाहँदैनौ। स्थापना हुन लागेको कुनै पनि नयाँ स्टक एक्सचेन्जमा गोल्यान समूहको कति पनि लगानी छैन। यस अघि रि इन्स्योरेन्समा धेरै अफर आउँदा पनि मैले लगानी नगरेकै हो। रि इन्स्योरेन्सको भ्यालुएसन बढ्छ भन्ने थाहा हुँदा हुँदै पनि हामीले लगानी गरेनौ। अर्कोतर्फ नयाँ स्टकको भविष्यमा भ्यालुएसन बढ्छ भन्ने जान्दा जान्दै पनि हामीले लगानी गरेनौ। यस्ता विवादास्पद विषयमा जानु हुँदैन भन्नेमा हामी चाहिँ प्रस्ट छौ।

नयाँ स्टकमा पनि एउटासम्म आउँदा ठिकै थियो। तर एक भन्दा बढी आयो भने त्यसले पक्कै पनि नेपालको शेयर बजारलाई राम्रो गर्दैन। हुन त धितोपत्र बोर्डले एउटा मात्रै दिने भनेको सुनेको छु। त्यो गर्‍यो भने मात्रै राम्रो निर्णय हुन सक्छ। भारत जस्तो देशमा त दुई वटा छ भने नेपालमा कति वटा स्टकको आवश्यकता छ ? बिचार गर्नु पर्ने हुन्छ।

हाम्रो देशमा पहिलेदेखि नै एउटै सेक्टरमा चाहिने भन्दा बढी कम्पनी खुल्ने परिपाटी बढ्दै गइरहेको छ। बैकिङमा सुरुमा केही आए पछि सबैलाई नभई भएन। त्यस्तै जीवन बिमामा देखियो। त्यही रोग नन् लाइफमा पनि त्यस्तै भयो। अहिले अब रि इन्स्योरेन्समा पनि त्यस्तै भई राखेको छ।

थोरै बैक तिर कुरा मोड्छु। ब्याजदर घटाउनु पर्ने हो कि होइन ?

ब्याज नघटाई उपाय नै छैन। निक्षेपको व्याज घट्यो भने ऋणको ब्याज आफै घट्छ। त्यसको लागि हामी पनि लगानी परेका छौ। आइतबारको कार्यक्रममा पनि यही कुरा उठाएकै हो। हामीले दिएको सुझावमा पनि यो कुरा बारम्बार भनि नै रहेका छौ। प्रडक्टिभ सेक्टर र नन् प्रडक्टिभ सेक्टरको लागि दुई खाले ब्याजदर लागु गर्नु पर्छ। त्यो ल्याउन जरुरी छ। क्यापिटल एडुकेसि, सिडी रेसियो र रिक्स वेटेज एभरेज पनि उत्पादनमूलक क्षेत्रको लागि घटायो भने अहिले नै लोनेबल फण्ड निस्किएर आउँछ। त्यसले तुरुन्तै अर्थतन्त्र चलायमान हुन्छ भनेर अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बारम्बार भेटमा भन्दै आइरहेका छौ। उहाँहरुले पनि हुन्छ नै भन्नु भएको छ। गर्ने काम त उहाँहरुको हो। हामीले त माग मात्रै राख्ने हो। यो भनेर हामी पन्छिँदैनौ त्यसमा हामी पनि काम गर्छौ। 

अन्तिममा बजेटमा तपाईँहरूको अपेक्षा अनि सुझाव के छ।

त्यसका लागि पनि हामीले सुझाव दिएका छौ। बारम्बार मैले सार्वजनिक कार्यक्रमहरूमा बोल्दै आइरहेको छु। अबको आवश्यकता के हो भने विलासिताको समान रोक्नु भएन। आयात रोक्दा सरकारको राजस्व नै घट्यो। यस्ता कुराहरूमा कर बढाइदिनु पर्‍यो। आत्मनिर्भर हुन लागेको उत्पादनमा कर बढी लिने व्यवस्था गर्नु पर्‍यो। कृषिमा करहरू पुगेको छैन। त्यसमा सुधार गरियो भने तुरुन्तै हामी फड्को मार्न सक्छौ। कृषि प्रशोधन र प्राइमरी तरकारी फलफूलहरूमा भन्सारका दर अथवा ट्यारिफ तथा नन् ट्यारिफ बेरियरहरु लगाउनु पर्छ। जसले गर्दा कृषि क्षेत्रको उत्थानमा टेवा मिल्छ। जुन क्षेत्रमा नेपालको दुई तिहाइ जनता छन्। त्यही क्षेत्रलाई प्रोटेक्ट नगरेकै कारण हामीले दुख पाइरहेका छौ। चिनीमा केही व्यवसायी लागे जसले गर्दा त्यसमा ५० प्रतिशत भन्सार लगाइयो । तर त्यही कुरा तरकारी र फलफूलमा किन नगर्ने ?  त्यसमा बढाउँदा महँगी बढ्छ भन्ने कुण्ठित बिचार त्याग्नु पर्छ। मैले त प्रस्ट बोलेको छु। तपाईँलाई पनि प्रस्ट तरिकाले भनेको कारण पनि यही हो।

हामी जस्ता उद्यमी व्यवसायीहरूलाई पोस्ने नीति होइन मुलुकलाई अघि बढाउने नीति ल्याउनु पर्छ भन्ने नै मेरो भनाई र सुझाव छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।