हकप्रद शेयर जारी गर्न लविङ गर्दै बैंकर, राष्ट्र बैंक अझै हकप्रद निष्काशन गर्न नदिने पक्षमा, कसरी होला सम्बोधन ?

May 25, 2023 06:15 PM Merolagani

पूँजीकोष दबाबमा पर्न थालेपछि हकप्रद शेयर निष्काशनको लागि बैंकरहरुले लविङ गर्न थालेका छन्। पूँजीकोषको दबाबले गर्दा व्यववसाय विस्तार रोकिने अवस्था आएको भन्दै बैंकहरुले हकप्रद शेयर निष्काशन गर्न दिन राष्ट्र बैंकलाई आग्रह गर्न थालेका हुन्।

पछिल्लो समय तिब्र रुपमा व्यवसाय विस्तार गर्ने केहि वाणिज्य बैंकको प्राथमिक पूँजीकोष निकै दबाबमा देखिएको छ। बैंकर्स सँघको अनुसार ४ वाणिज्य बैंकको टाएर १ क्यापिटल ९ प्रतिशतभन्दा पनि तल झरेको अवस्था छ। यसले गर्दा अहिले केहि बैंकहरुलाई प्राथमिक पूँजीकोष कायम गर्न चिन्ताको विषय बनेको छ। कतिपय बैंकहरुलाई व्यवसाय विस्तार रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।

"११ बैंकको टाएर १ क्यापिटल १० प्रतिशत भन्दा कम छ भने ४ बैंकको ९ प्रतिशत भन्दा पनि कम छ," नेपाल बैंकर्स सँघका अध्यक्ष सुनिल केसीले भने "४ अटा बैंक हो स्ट्रेसमा भएको अरु समस्यामा छैनन। तर यो एउटा समस्या हो त्यसले गर्दा समयमा नै सम्बोधन गर्नुपर्छ भन्ने हो।"

धेरै बैंकहरु सहज अवस्थामा नै रहेपनि केहि बैंकलाई समस्या हुने देखिएकोले त्यसलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग गरेको केसी बताउछन्।

अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्राथमिक पूँजीकोष ८.५ प्रतिशत र पुरक पूँजीकोष २.५ प्रतिशत गरी कुल ११ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यसमा अहिले बैंकहरुको प्राथमिक पूँजी कोषमा भने दबाव बढ्दै गएको हो।

राष्ट्र बैंकले घरजग्गा, शेयरबजार लगायतका क्षेत्रकाे कर्जाको जोखिम भार १५० प्रतिशत पुर्याएपछि बैंकहरु झनै समस्यामा परेका हुन। यसले गर्दा बैंकहरुको पूँजीकोष थप दबाबमा परेको हो। पूँजीकोष सुधारको लागि बैंकहरुको लागि सहज उपाय भनेको हकप्रद नै हो यसले गर्दा उनीहरु हकप्रद निष्काशनको लविङमा लागेका हुन्।

  • यसअघि नै मागेका थिए केहि बैंकले हकप्रद निष्काशनकाे अनुमति

यसअघि नै पूँजीकोष दबाबमा रहेका बैंकहरुले हकप्रद शेयर निष्काशन गर्न दिन केन्द्रिय बैंकलाई आग्रह गरेका थिए। एनआइसी एशिया बैंकले केहि समय अघि नै पूँजीकोष दबाबमा रहेको भन्दै केन्द्रिय बैंकलाई हकप्रद निष्काशन गर्न दिन आग्रह गरेको थियो तर केन्द्रिय बैंकले हकप्रद निष्काशन गर्न दिएन।

बैंकहरुले एकल रुपमा हकप्रद निष्काशनको अनुमति माग्दा केन्द्रिय बैंकले हकप्रद निष्काशन गर्न नदिएपछि अब बैंकहरुले नेपाल बैंकर्स एशोसियसनमार्फत हकप्रद शेयर निष्काशन गर्न लाविङ गर्न थालेका छन्। बैंकर्स एशोशियसनले अहिले राष्ट्र बैंकसँग हकप्रद शेयर निष्काशन गर्न दिनको लागि छलफल भइरहेको बताएको छ। तर केन्द्रिय बैंक भने हकप्रद निष्काशन गर्न दिन अझै सकारात्मक छैन।

"केहि बैंकको समस्या छ। ओभरअल बैंकिङ सिस्टमले त कर्जाको मागलाई धान्न सक्छ तर नेपाल बैंकर्स सँघले समग्र बैंकहरुको कुरा गर्नुपर्ने हुन्छ," हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने "त्यसले गर्दा यसलाई सम्बोधन गर्न धेरै पटक छलफल भएको छ।"

कर्जाको माग आयो भने समग्र बैंकिङ्ग सिस्टमले कर्जा दिन नसक्ने अवस्था भने अहिले तत्कालै नआउने उनले बताए।

राष्ट्र बैंक हकप्रद निष्काशनकाे  लागि सकारात्मक नदेखिएपछि टायर १ क्यापिटलमा गणना गर्न मिल्ने गरी बण्ड जारी गर्न दिन माग गरिरहेको बैंकरहरु बताउछन्। "राष्ट्र बैंक हकप्रद निष्काशनमा सकारात्मक छैन त्यसले गर्दा प्रोफेसनल बन्ड जारी गर्न दिन माग गरेका छौ," राणाले भने "एक दुई वटा बैंकले हकप्रद जारी गर्न माग गर्दा पनि राष्ट्र बैंकले अनुमति दिएको छैन।"

  • पूँजीकोष नपुर्याउदा गत वर्ष नै कारवाहीमा परेका थिए ३ बैंक

पूँजीकोष सम्बन्धि विवरण बैंक तथा वित्तीय संस्थाले हरेक महिना राष्ट्र बैंकमा पठाउनु पर्ने हुन्छ। बैंकले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेमा सो आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण गर्न पाइदैन।

केहि बैंकको पूँजीकोष विगत एक दुई वर्षदेखि नै दबाबमा छ। एनआइसी एशिया बैंकले विगत दुई बर्षदेखि नै लाभांश वितरण गर्न पाएको छैन भने गत वर्ष लक्ष्मी बैंक र सनराइज बैंकले पनि शेयरधनीलाई लाभांश वितरण गर्न पाएनन्।

यसका साथै केन्द्रिय बैंकले पूँजीकोष नपुर्याउने बैंकलाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ बमोजिम नयाँ शाखा खोल्न रोक लगाउने तथा बैंकका सञ्चालकको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनको तलब भत्ता तथा सुविधा बृद्धिमा रोक लगाउन सक्ने छ।

राष्ट्र बैंकको कारवाहीमा परिने डरले पनि धेरै बैंकले बैंकमा लगानीयोग्य रकम हुँदा हुँदै पनि कर्जा लगानी रोकेर रिकभरीमा केन्द्रित भएका छन्।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।