जीवन बीमा कम्पनीहरूको बीमाशुल्क १ खर्ब माथि, सूर्यज्योति र हिमालयन लाइफ सहित पाँच कम्पनीको व्यवसाय भने खस्कियो

May 31, 2023 04:42 PM Merolagani

जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दश महिना (बैशाख) सम्ममा एक खर्ब १४ अर्ब १० करोड ९४ लाख रूपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३.३६ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।

आर्थिक मन्दीका बाबजुद पनि अधिकाँश जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । १५ वटा जीवन बीमा कम्पनीहरु मध्ये  हिमालयन लाइफ सहित पाँच कम्पनीको व्यवसाय भने खस्किएको छ ।

 

व्यवसाय विस्तारमा आइएमई लाइफ अघि, नेपाल लाइफको अग्रता भने कायमै

जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.९९ प्रतिशत हो ।

गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले २८ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा आइएमई लाइफ भने आफ्नो व्यवसाय उल्लेख्य बढाएको छ ।

आइएमई लाइफ सबैभन्दा धेरै २७.२१ प्रतिशतले बीमाशुल्क बढाउँदै ३ अर्ब २६ करोड रूपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ५६ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै नेशनल लाइफ इन्सोरेन्सको १२.८५ प्रतिशत र महालक्ष्मी लाइफ इन्स्योरेन्सको १०.६९ प्रतिशतले कुल बीमाशुल्क बढेको छ । बाँकि कुनैपनि कम्पनीको कुल बीमाशुल्क १० प्रतिशत भन्दा धेरैले बढाउन सकेका छैनन् ।

सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने एशियन लाइफ इन्स्योरेन्स रहेको छ । एशियन लाइफको बीमाशुल्क यस अवधिमा २.७६ प्रतिशतले मात्रै बढेर ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधीमा कम्पनीले ५ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

सूर्यज्योति र हिमालयन लाइफ सहित पाँच कम्पनीको व्यवसाय भने खस्कियो

चालु आर्थिक वर्षको दश महिनासम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इस्योरेन्स सहित पाँच कम्पनीको व्यवसाय भने खस्किएको छ । मेट लाइफ, सन नेपाल लाइफ र रिलायवल नेपाल लाइफको पनि बीमाशुल्क घटेका छन् ।

साविकको गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ मर्जर पश्चात बनेको हिमालयन लाइफको बीमा शुल्क सबै भन्दा धेरै ६.९० प्रतिशतले घटेर १२ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा मर्जरमा गएका तीनवटै कम्पनीले १३ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै रिलायवल नेपालको ६.५० प्रतिशत, सन नेपालको ३.८३ प्रतिशत र मेट लाइफको बीमाशुल्क २.३० प्रतिशतले घटेका छन् ।

सबै भन्दा कम बीमाशुल्क घट्नेमा सूर्यज्योति रहेको छ । यस अवधिमा कम्पनीको बीमाशुल्क ०.५३ प्रतिशतले मात्रै घटेर ६ अर्ब ७७ करोड रूपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६ अर्ब ८१ करोड रूपैयाँ कुल बीमाशुल्क कमाएको थियो ।

कुल बीमा शुल्कमा २०.४४ प्रतिशत प्रथम बीमा शुल्कको योगदान

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनामा कुल एक खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसमध्ये २०.४४ प्रतिशत अर्थात २३ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट मात्रै संकलन भएको छ ।

यस्तै नविकरण शुल्क वापत ९० अर्ब ७८ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले जनाएको छ ।

यस अवधिमा एक करोड ३८ लाख ८३ हजार ३५७ वटा सक्रिय बीमालेख रहेको नेपाल बीमा प्राधिकरणको तथ्यांक रहेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।