माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Aug 27, 2023 10:22 AM Merolagani



माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज आइतबार (भदौ १० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको २ प्रतिशत अर्थात २ करोड ७२ लाख ७३ हजार रुपैयाँ बरारको २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात १ करोड ३६ लाख ३६ हजार ४०० रुपैयाँ बराबरको १ लाख ३६ हजार ३६४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये कर्मचारीहरुका लागि २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषका योजनाहरुका लागि ७२ हजार १३३ कित्ता शेयर बाँडफाँट गरिसकेको छ। सर्वसाधारण लगानीकर्ताले अब बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि भदौ २४ गतेसम्म लम्बिनेछ।

सो आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा कुमारी क्यापिटल लिमिटेड तथा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले कम्पनीलाई २०७९ असोज १३ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८० असोज १२ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

माण्डु हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत २०६९ वैशाख ३ गते पब्लिक लिमिटेड कम्पनीमा दर्ता भई कारोबार सञ्चालक गर्दै आइरहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला का.म.न.पा वडा नं. २८, कमलादीमा रहेको छ। कम्पनीको जलविद्युत उत्पादन केन्द्र मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ८ (साविक ईपा पञ्चकन्या गा.वि.स. मा रहेको छ। कम्पनीले वागमती साना जलविद्युत आयेजनाबाट २२ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २०७१ असार १९ गते र २०७४ कात्तिक १४ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो। यसका साथै कम्पनीले उक्त आयोजनामा नै १० मेगावाट क्षमता थप गर्नको लागि नेपाल सरकार, विद्युत विकास विभागबाट २०७९ माघ १२ गते थप अध्ययन गर्न सैद्धान्तीक सहमती प्रदान गरेको थियो।

सो आयोजना निर्माण सम्पन्न भइसक्दा कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ हुने अनुमान छ। आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २७ लाख हुनेछ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.९६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.९६ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

निष्काशनबाट प्राप्त रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गरिने मुख्य उद्देश्य रहेको छ। त्यसैगरी, कम्पनीको वित्तीय एवम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न पनि आईपीओ निष्काशन गरेको जनाएको छ।

साथै, कम्पनीको प्रवन्ध–पत्रमा रहेको जारी पूँजीको १२ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप १६ करोड ३६ लाख ३७ हजार शेयर पूँजी आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरु (कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र सामूहिक लगानी कोषसमेत) लाई बिक्री वितरण गरी कम्पनीको जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार पुर्याउने उद्देश्यक रहेको छ।

कम्पनीले हाल तूँदी पावर कम्पनी प्राइभेट लिमिटेडमा लगानी गर्नको लागि सनराइज बैंकबाट ४० करोड रकम ब्रिज ग्याप ऋण उपभोग गरेको र उक्त रकम कम्पनीको नाममा शेयर पूँजीको रुपमा कायम हुने तथा उक्त ऋण यस निष्काशनपश्चात प्राप्त भएको रकम तथा स्वः पूँजीले भुक्तान गर्न कम्पनीको योजना रहेको छ।

आर्थिक वर्ष २०७८/७९ मा २९ करोड सञ्चित मुनाफा

कम्पनीले अघिल्लो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९ मा २९ करोड ३१ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षसम्ममा कम्पनीले ३१ करोड २४ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, चालु आर्थिक वर्षमा कम्पनीले ५९ करोड ५२ लाख रुपैयाँ र आगामी आर्थिक वर्षमा ९२ करोड ३१ लाख रुपैयाँ पाउने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४५ पैसा र प्रतिशेयर आम्दानी २० रुपेयाँ ७४ पैसा रहने प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा वास्तविक प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ४२ पैसा र प्रतिशेयर आम्दानी २२ रुपैयाँ १ पैसा रहेको छ।

आगामी आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चित मुनाफा ९२ करोड ३१ लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। त्यस्तै, सो आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ५० पैसा र प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५ पैसा रहने प्रक्षेपण रहेको छ।

पूँजी संरचना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ। यस्तै कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ।
स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि छुट्याइएको १६ लाख ३६ हजार ३७० कित्ता शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ८८ प्रतिशत आयोजना प्रभावित क्षेत्रका शेयरधनीहरुको २ प्रतिशत र सर्वसाधारणको १० प्रतिशत कायम हुनेछ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ।

सञ्चालक समितिको गठन कम्पनी ऐन २०६३ को दफा ८६ को उपदफा (२) र कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार गरिएको छ। सञ्चालकहरुको कार्यकाल बढीमा ४ वर्षको हुनेछ। कम्पनीको नियमावलीको नियम २८ मा व्यवस्था भए अनुसार सञ्चालक समितिमा नियुक्त हुन कम्तीमा १ कित्ता शेयर लिएको हुनुपर्नेछ। तर, संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालक तथा स्वतन्त्र सञ्चालकको हकमा यो व्यवस्था लागु हुने छैन।

हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ५ जना मात्रै सञ्चालक समितिमा रहेका छन्। हाल कम्पनीमा सर्वसाधारण समूहबाट १ जना तथा संस्थापक समूहबाट १ जना गरी २ जना सञ्चालकको मद रिक्त रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा महेश्वर प्रकाशन श्रेष्ठ रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकहरुमा सिवान्त बहादुर पाँण्डे, टियान जियुआन, जु चिनचियान र रविन्द्र लाल श्रेष्ठ रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ । त्यसैगरी, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सोलाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई दशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको छ।

कम्पनीको प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने योजना रहेको छ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।