सोमध्ये ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ। त्यसैगरी, इन्स्योरेन्सले कुल निष्काशनको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। इन्स्योरेन्सले दोस्रो चरणमा बाँकी रहेको ९० लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ। सर्वसाधारणका लागि निष्काशन गरेको ९० लाख कित्ता शेयर बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।
आईपीओमा कसरी आवेदन दिने?
इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसारको पर्याप्त आवेदन नपरे निष्काशन अवधि भदौ २९ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता २४४ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
इन्स्योरेन्सको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको ‘मेरो शेयर’ मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
इक्रा नेपालले इन्स्यारेन्सलाई २०८० जेठ २६ गते क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८१ जेठ २५ गतेसम्म कायम हुनेछ।
कस्तो कम्पनी हो?
सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०६४ असार १२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो। बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार २०७४ भदौ ७ गतेका दिन नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृत प्राप्त गरी जीवन बीमा कम्पनीको हैसियतले २०७४ कात्तिक २ गतेदेखि जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।
इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिक ११, एल.एस कम्प्लेक्स, थापाथली, काठमाडौँमा रहेको छ।
इन्स्योरेन्सले आवश्यकता अनुसार नेपाल बीमा प्राधिकरणको स्वीकृती लिई नेपाल राज्यभर तथा विदेशमा आफ्नो शाखा, उपशाखा तथा सम्पर्क कार्यालय खोली जीवन बीमा सम्बन्धी कारोबार गर्न सक्नेछ। कम्पनीले २०८० असार ७ गतेसम्ममा ७ प्रदेशहरुमा ४६ शाखा कार्यालय तथा ९४ उपशाखा कार्यालयबाट आफ्नो जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ।
आईपीओ निष्काशन गर्नुको उद्देश्य
इन्स्योरेन्सले आईपीओ जारी गर्नुको मूख्य उद्देश्य, इन्स्योरेन्सको सञ्चालनमा सर्वसाधारणहरुलाई समेत संलग्न गर्नु रहेको छ।
यसका साथै, इन्स्योरेन्सको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न तथा इन्स्योरेन्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा बीमा व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न आईपीओ निष्काशन गर्नु परेको इन्स्योरेन्सले जनाएको छ।
इन्स्योरेन्सले आईपीओ निष्काशन गरी संकलन हुने पूँजी कम्पनी ऐन, बीमा ऐन, नियमावली तथा अन्य प्रचलित कानून बमोजिमको अधिमा रही इन्स्योरेन्सको व्यवसायिक प्रयोजनमा उपयोग गरिने जनाएको छ।
जीवन बीमाको प्रकृति बमोजिम व्यवसाय वृद्धिको अनुपातमा चुक्ता पूँजी वृद्धि भएमा इन्स्योरेन्सको वित्तीय क्षमता थप सुदृढ हुनुका साथै चुक्ता पूँजी तथा जगेडा कोषलाई एउटा निश्चित अनुपातमा राख्दा इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन समेत सकारात्मक हुने भई इन्स्योरेन्सको समग्र वित्तीय अवस्था सुदृढ हुने हुदाँ आईपीओ निष्काशन गरिएको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशनपछि संकलन भएको रकममध्ये इन्स्योरेन्सले नेपाल सरकारको ऋणपत्र तथा बचतपत्रमा ३९ करोड २९ लाख ३३ हजार रुपैयाँ, बैंक तथा वित्तीय संस्थाद्वारा जारी मुद्दती निक्षेपमा १ अर्ब २ करोड १६ लाख २४ हजार रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको ऋणपत्रमा ३९ करोड २९ लाख ३३ हजार लगानी गर्ने जनाएको छ।
त्यसैगरी, इन्स्योरेन्सले सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बण्ड, डिबेन्चर, ऋणपत्रमा १३ करोड ९ लाख ७८ हजार, साधारण शेयरमा २० करोड ९५ लाख ६४ हजार रुपैयाँ, नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा ७ करोड ८५ लाख ८६ हजार, घरजग्गा व्यवसायमा २६ करोड १९ लाख ५५ हजार, उत्पादनमूलक व्यवसायिक परियोजनाहरुमा १३ करोड ९ लाख ७६ हजार र शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिवृद्धिका लागि ४ करोड ४४ लाख ५१ हजार रुपैयाँ लगानी गरिने जनाएको छ।
आगामी आर्थिक वर्षसम्ममा करिब ४ अर्ब नाफा कमाउने
इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा करिब ४ अर्ब सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले ३ अर्ब ९३ करोड ९३ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने विवरण पत्रमा उल्लेख छ।
गत आर्थिक वर्ष अर्थात २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ४३ करोड ७० लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षमा इन्स्योरेन्सले ३ अर्ब २ करोड ५ लाख रुपैयाँ सञ्चित नाफा आर्जन गर्ने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्ने प्रक्षेपण रहेको छ।
चालु आर्थिक वर्षमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७ पैसा र प्रतिशेयर नेटवर्थ १६० रुपेयाँ ४१ पैसा पुग्ने अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ सम्ममा भने इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ७९ पैसा पुग्ने प्रक्षेपण गरेको छ।
पूँजी संरचना कस्तो?
इन्स्योरेन्सको अधिकृत पूँजी र जारी पूँजी दुबै ५ अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ।
इन्स्योरेन्सले सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि समेत) लाई निष्काशन गरेको १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर बाँडफाँटपश्चात चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ।
आईपीओ निष्काशनपछि इन्स्योरेन्समा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व कायम हुनेछ।
आईपीओ निष्काशन अघि शेयर प्रिमियम खातामा १ करोड ३० लाख ३७ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको आईपीओ निष्काशनपश्चात १ अर्ब ५५ करोड २० लाख ३७ हजार रुपैयाँ रहनेछ।
सञ्चालक समितिमा को को छन्?
इन्स्योरेन्सको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ।
इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा प्रदीपजङ्ग पाण्डे रहेका छन्। यस्तै, सञ्चालक समिति सदस्यहरुमा सुमित कुमार अग्रवाल, मनोज कार्की, महेश स्वाँर, दावा फुटी शेर्पा र अभिनव ज.व. राणा रहेका छन्। त्यस्तै, इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रीमान कार्की रहेका छन्।
इन्स्योरेन्सको साधारण शेयरको सार्वजनिक निष्काशनको क्रममा रहेकाले सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको सट्टा संस्थापक समूहबाट नियुक्त गरिएको छ।
भावी योजना तथा रणनीति
जीवन बीमा सेवालाई समाजका हरेक समुदायका व्यक्तिहरुसम्म विस्तार गर्न उपयुक्त बीमा योजनाहरु तर्जुमा गरी गुणस्तरीय बीमा सेवा प्रदान गर्ने कार्यमा प्रयासरत रहने इन्स्योरेन्सको योजना रहेको छ।
त्यसैगरी, लगानी विविधिकरण गरी औषत आय वृद्धि गर्ने तथा बीमितहरुको प्रतिफल वृद्धिमा प्रयासरत रहने, भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिमका बीमा सेवा सुविधाहरु आफ्ना ग्राहकवर्गमा ल्याउन प्रयत्नरत रहने, लघुबीमा योजनाको माध्यमबाट आम मानिसमा बीमा सेवा पु¥याउन प्रयासरत रहने रणनीति इन्स्योरेन्सले बनाएको छ।
अन्तर्राष्ट्रिय बजार समेतलाई दृष्टिगत गरी नयाँ बीमा योजनाहरु तर्जुमा गर्ने, कम्पनीको सूचना प्रविधिको विकास र विस्तारलाई थप तिव्रता दिई कार्यक्षमता र सुरक्षामा वृद्धि गर्ने, बीमितको सेवा प्रणालीमा गुणात्मक वृद्धि गर्ने, दाबी भुक्तानी प्रकृयामा सरलीकरण एवं नवीकरण बीमा शुल्क भुक्तानीमा सहजता अपनाउने, कर्मचारी तथा अभिकर्ताहरुको पेशागत दक्षता अभिवृद्धिका कार्यक्रमहरु तर्जुमा गर्ने योजना पनि इन्स्योरेन्सले बनाएको छ।
यसका साथै, व्यवसायिक सम्भाव्यताको आधारमा विदेशमा सम्पर्क कार्यालय स्थापनाका लागि पहल गर्ने, सेवाग्राहीहरुको संख्यामा वृद्धि गर्दै लग्ने, समयसापेक्ष रुपमा कार्यक्षेत्र विस्तार गरी कम्पनीको दायरा फराकिलो बनाउदै लग्ने रणनीति समेत इन्स्योरेन्सको रणनीति रहेको छ।