हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Sep 07, 2023 10:52 AM Merolagani

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणका लागि आज बिहीबार (भदौ २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्य २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये पहिलो चरणमा कम्पनीले १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ। सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसारको पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता ५० रुपैयाँका दरले न्यूनतम २० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीका लागि २० अंकले भाग जाने संख्यामा अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको ‘मेरो शेयर’ मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

इक्रा नेपालले इन्स्यारेन्सलाई २०७९ चैत २४ गते क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० चैत २३ गतेसम्म कायम हुनेछ।

कस्तो कम्पनी हो?

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ चैत १४ गते दर्ता भइ सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिक २६, हाथवे कम्प्लेक्स, लैनचौर, काठमाडौँमा रहेको छ।

नेपालका ख्याती प्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले नेपालको पूँजी बजार र लगानीका अन्य क्षेत्रहरुमा लगानी गरी आफुलाई एक सफल कम्पनीको रुपमा उभ्याउन सफल भएको छ। यस कम्पनीले पूँजी बजारको अतिरिक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

कम्पनीले आईपीओ जारी गर्नुको मुख्य उद्देश्य कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार सार्वजनिक निष्काशन गरी सञ्चालक समितिमा सर्वसाधारणको तर्फबाट समेत प्रतिनिधित्व गर्ने गराउने रहेको छ।

त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्ने, सार्वजनिक निष्काशन मार्फत संकलित पूँजीको अधिकतम सदुपयोग गरी आफ्नो लगानी विस्तार तथा व्यवसायको क्षमता बढाउनको लागि आवश्यक पर्ने पूँजीको व्यवस्था गर्ने आईपीओ जारी गर्नुका अन्य उद्देश्यहरु रहेका छन्।

सार्वजनिक निष्काशन मार्फत प्राप्त हुने पूँजी कम्पनी ऐन तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गरिने कम्पनीले बताएको छ। यसरी सार्वजनिक निष्काशनबाट प्राप्त रकम कम्पनीको प्रमुख उद्देश्य अनुरुप विभिन्न उत्पादनमुलक तथा सेवामुलक एवम् अन्य कम्पनीहरुमा लगानी एवं संस्थापना गर्ने योजना रहेको र सोहि अनुसार कम्पनीले विभिन्न जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने परियोजना सञ्चालन गर्ने कम्पनीहरु र अन्य उत्पादनमुलक तथा सेवामुलक कम्पनीहरुमा लगानी गर्नेछ।

कम्पनीले आईपीओ निष्काशन गरी प्राप्त हुने पूँजीमध्ये ६ करोड रुपैयाँ जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने कम्पनीहरुमा लगानी गर्नेछ भने बाँकी ८ करोड ६२ लाख ५० हजार रुपैयाँ आर्थिक पूर्वाधार, यातायात तथा सञ्चारसँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयरमा लगानी गर्नेछ।

गत आर्थिक वर्षसम्ममा ३० करोड रुपैयाँ सञ्चित मुनाफा

कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष ३० करोड ६२ लाख १५ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ८४ लाख ६ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको थियो।

त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षमा ४४ करोड १३ लाख ८४ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ भने आगामी आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीले ६१ करोड ९ लाख ४० हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १७ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी, सो आर्थिक वर्षको अन्त्यसम्ममा १ रुपैयाँ ३१ पैसा पुग्ने प्रक्षेपण छ। त्यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा हुने प्रक्षेपण गरिएको छ भने आगामी आर्थिक वर्षमा ७ रुपैयाँ २५ पैसा पुग्ने प्रक्षेपण रहेको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ १७ पैसा रहने प्रक्षेपण रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ ६३ पैसा रहेको छ। आगामी आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ७१ पैसा रहने प्रक्षेपण छ।

पूँजी संरचना कस्तो?

कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। उक्त पूँजीलाई ५० रुपैयाँका दरले ३ करोड कित्ता शेयरमा विभाजन गरिएको छ।

कम्पनीको जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ। उक्त पूँजीलाई ५० रुपैयाँका दरले २ करोड ३४ लाख कित्ता शेयरमा विभाजन गरिएको छ।

कम्पनीले आफ्नो जारी पूँजी मध्ये १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ संस्थापक शेयरधनीहरुबाट चुक्ता भइसकेको छ। बाँकि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ सार्वजनिक शेयर निष्काशनद्वारा सर्वसाधारणलाई जारी गर्नेछ। कर्मचारी तथा सामुहिक लगानी कोष र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्रात गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि छुट्टाइएको १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँ दरको २९ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ हुनेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर संरचना संस्थापक समूहको ८७.५० प्रतिशत रहनेछ भने सर्वसाधारणको १२.५० प्रतिशत रहनेछ।

सञ्चालक समितिमा को को छन्?

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा योगेश्वर शर्मा ढकाल रहेका छन्। यस्तै, सञ्चालक समिति सदस्यहरुमा सुरज कुमार श्रेष्ठ, कुमार पौडेल र जयराम नेपाल रहेका छन्।

सर्वसाधारणमा शेयर निष्काशन तथा बाँडपाँट पश्चात् सोही बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व रहने व्यवस्था रहेको छ।

कम्पनीको नियमावलीको नियम २८ मा भएको व्यवस्था अनुसार सञ्चालक हुनको लागि कम्पनीको कम्तीमा ५०० कित्ता शेयर आफ्नो नाममा खरिद गरेको हुनुपर्नेछ। तर नेपाल सरकार वा संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालक र स्वतन्त्र सञ्चालकको हकमा सो व्यवस्था लागु हुने छैन। सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ।

भावी योजना तथा रणनीति

पुर्वाधारको रुपमा रहेको प्रविधि, जलविद्युत निर्माण तथा वितरण, पूर्वधार सम्बन्धी वित्तीय संस्था लगायतका व्यवसायका क्षेत्रहरुमा स्वदेशी तथा विदेशी संस्थाहरुसंग मिली अध्ययन अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, लगानी गर्ने, स्थापना गर्ने, सञ्चालन गर्ने, विभिन्न लगानीका क्षेत्रहरु पहिचान गर्ने, सो सम्बन्धी परामर्शदाताको रुपमा कार्य गर्ने लगायतका विकास निर्माण सम्बन्धी काम गर्ने एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने कम्पनीको योजना रहेको छ।

त्यस्तै, कम्पनीले उत्पादनमुलक तथा सेवामुलक एवम् अन्य कम्पनीहरुको संस्थापना गर्ने, त्यस्ता कम्पनीहरुको शेयरमा लगानी गर्ने, सम्झौता गरी विभिन्न किसिमका कम्पनीहरुको व्यवस्थापन गर्ने, सञ्चालन गर्ने तथा कम्पनी संस्थापन, पूँंजी पुनःसँंरचना, मर्जर, एक्वीजिसन, टेकओभर गर्ने तथा सो सम्बन्धी परामर्श सेवा प्रदान गर्ने कम्पनीको रणनीति रहेको छ।

देशमा अनुसन्धान र विकासमा आधारित सुविधा सम्पन्न औषधी उत्पादकको आवश्यकता तथा उक्त क्षेत्रमा भएको प्रचुर सम्भावनालाई मध्ये नजर राख्दै उक्त क्षेत्रको विकास विस्तार गर्नको लागि आवश्यक पूर्वाधार निर्माणको लागि यही आर्थिक वर्ष भित्र देखि लगानी विस्तार गर्ने योजना कम्पनीले बनाएको छ।

प्रचलित कानुन बमोजिम स्वीकृति लिई कोभिड–१९ ले थालिएको अहिले विस्तारै उकासिदै आएको, लगानी गर्ने अवसर भएका, स्वदेशी वा विदेशी संघ, संस्था तथा व्यक्ति विशेषसँग एकल वा संयूक्त रुपमा उर्जा, कृषि, पर्यटन, उद्योग, पुर्वाधार, स्वास्थ्य, शिक्षा, शहरी विकास, निर्माण, व्यापार, सञ्चार, प्रविधि, बीमा, वित्तीय लगायतका क्षेत्रको विकास, स्थापना, प्रवद्र्धन, लगानी, पुनरसंरचना, पुनरुत्थान तथा स्थिरीकरण, लगानी तथा व्यवस्थापन गर्ने योजना कम्पनीले विवरण पत्रमा उल्लेख गरेको छ।

त्यसैगरी, स्वदेशी तथा विदेशी संघ संस्था, तथा व्यक्ति विशेषसंग मिली संयुक्त रुपमा औद्योगिक व्यवसाय, पर्यटन र केवुलकार लगायतका विषयहरुसंग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने, स्थापना गर्ने, सञ्चालन गर्ने/गराउने, सो सम्बन्धी परामर्शदाताको रुपमा कार्य गर्ने कम्पनीको भावी योजना रहेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।