यसै कारण, नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्ने कानुनी व्यवस्था मिलाइने भनी घोषणा गर्यो। यसै नीतिलाई निरन्तरता दिँदै सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा “एनआरएनलाई शेयर बजारमा सूचीकृत भएका हाइड्रोपावर तथा अन्य वास्तविक क्षेत्रका कम्पनीहरूमा लगानी गर्ने बाटो खुला गर्ने तथा गैर आवासीय नेपालीको पूँजी, प्रविधि र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने” भन्ने व्यवस्था गर्ने भन्ने घोषणा गरेको छ। यस्तो अवस्थामा अन्य देशहरूले कसरी गैर आवासीय लगानीकर्ताबाट लाभ लिएका छन्। उनीहरूले के कस्तो प्रावधान राखेका छन् ? भन्ने विषयमा चार देशका उदाहरण प्रस्तुत गर्दै छौ।
भारत
भारतमा गैर आवासीय भारतीयहरूले प्राथमिक तथा दोस्रो बजार दुवैमा लगानी गर्न सकिने प्रावधान रहेको छ। यसका लागि भारतको धितोपत्र बजारको नियामक निकाय सेवी तथा केन्द्रीय बैंक आरबिआइ दुवैले गैर आवासीय भारतीयहरूका लागि नियमहरू तोकेको पाइन्छ। गैर आवासीयले भारतमा दोस्रो बजारमा रिप्याट्रिएसन वा नन्रिप्याट्रिएसन गर्ने गरी लगानी गर्न सक्ने देखिन्छ। धितोपत्रको दोस्रो कारोबार गर्न गैर आवासीय भारतीयले सर्वप्रथम त्यहाँको केन्द्रीय बैंकले निर्धारण गरेको कस्टोडिएन बैंकमा पिआइएस (पोर्टफोलियो इन्भेस्टमेन्ट स्किम) मा दर्ता हुनुपर्ने, साथै वाणिज्य बैकंमा एनआरइ (नन् रेसिडेन्टल एक्सट्रनल) अथवा एनआरओ (नन् रेसिडेन्ट अडिनरि) खाता खोल्नुपर्ने व्यवस्था छ । केन्द्रीय बैंकले कस्टोडिएन बैंकको केही शाखाहरूलाई गैर आवासीयका लागि पिआइएस सञ्चालनको अनुमति प्रदान गरेको छ। त्यस पश्चात् कुनै धितोपत्र दलाल मार्फत एनआरआइ डिम्याट खाता तथा एनआरआइ ट्रेडिङ्ग खाता खोली एनआरइ/एनआरओ खातासँग आबद्ध गरी दोस्रो बजारमा कारोबार हुने गरेको देखिन्छ । पिआइएस खातालाई गैर आवासीयहरूको डिम्याट तथा ट्रेडिङ्ग खाता सबैसँग आबद्ध गरिन्छ। जसलाई त्यहाँको केन्द्रीय बैंकले नियमित निगरानी गर्ने गर्छ। गैर आवासीयले कारोबार गरेपछि टी प्लस टुमा राफसाफ पश्चात् दलालहरूले प्रचलित कमिसन तथा करहरू कट्टा गरे पश्चातकाे रकम एनआरइ खातामा जम्मा हुने र उक्त खातामा जम्मा भएको रकम प्रचलित विनिमय दरमा गैर आवासीय व्यक्तिले विप्रेषण गर्न सक्ने देखिन्छ। गैर आवासीय भारतीयहरूले एनआरओ खाता खोलेर मात्र दोस्रो बजारमा कारोबार गर्न सक्छन्।
तर यस खाताबाट सजिलै रिप्याट्रिएसनको सुविधा उपलब्ध गराइएको छैन्। गैर आवासीयहरूको भारतमा कुनै अन्य आम्दानी जस्तै घर भाडा, व्याज वा अन्य कुनै किसिमको आम्दानी छ अथवा उनीहरूले भारतमा नै लगानी गरिरहने प्रयोजनका लागि हो भने एनआरओ खाता मार्फत कारोबार गर्न पाउने व्यवस्था छ। यो आम्दानी उनीहरूले सहजै विदेश लैजान पाउँदैनन्। यस प्रकारको खाता प्रयोग गरी गैर आवासीयले दोस्रो बजारमा कारोबार गर्छन् भने भारतीय केन्द्रीय बैंकले वार्षिक १० लाख भारु भन्दा बढी विप्रेषण गर्न नमिल्ने नियम तोकेको छ। गैर आवासीय भारतीयहरूले भारतमा पिआइएस,एनआरइ/एनआरओ भारतमा खाता खोल्न आवश्यक कागजातहरू स्वयंले विद्युतीय माध्यमबाट बुझाउनुपर्ने प्रावधान छ। यो चरणमा पावर अफ एटर्नी मार्फत कसैलाई प्रतिनिधि तोक्न मिल्दैन। केवाइसिको थप प्रमाणीकरणका लागि अनलाइन बाहेक व्यक्तिगत तवरमा केही कागजातहरू आवश्यक परेको खण्डमा भारतीय दूतावास,कन्सुलेट जर्नल र नोटरि पब्लिक कोर्ट मार्फत प्रमाणित गरेको हुनु पर्ने नियम रहेको छ। गैर आवासीयले पोर्टफोलियो म्यानेजमेन्ट स्किम(पिआइएस)मा समेत लगानी गर्न सक्ने र सोका लागि न्यूनतम लगानी ५० लाख भारतीय रुपैयाँ हुनु पर्छ। भारतमा धितोपत्रको नियामक निकाय सेक्युरुटिज एक्सचेन्ज बोर्डले गैर आवासीयले गर्ने लगानीमा पाँच प्रतिशत (कम्पनीको चुक्ता पूँजीको ) अधिकतम सीमा निर्धारण गरेको छ। जसको अनुगमन केन्द्रीय बैंकबाट दैनिक रुपमा हुन्छ। यदि कुनै गैर आवासीयको लगानीको माथिल्लो सीमामा पुगेको खण्डमा केन्द्रीय बैंकले प्रेस रिलिज मार्फत जानकारी गराउने गर्छ। गैर आवासीयको हकमा नियामकबाट केही बन्देजहरू रहेका छन्। जसमा इन्ट्रा डे कारोबार गर्न नपाइने, बाइ टुडे सेल टुमरो कारोबार गर्न नपाइने, डिम्याट खातामा शेयर नभएसम्म कारोबार गर्न नपाइने जस्ता व्यवस्था छन्।
बङ्गलादेश
गैर आवासीय बङ्गलादेशीहरूले बङ्गलादेशमा प्राथमिक तथा दोस्रो बजार दुवैमा कारोबार गर्न सक्छन्। बङ्गलादेशमा गैर आवासीयहरूलाई प्राथमिक निष्कासनमा दश प्रतिशत धितोपत्र आरक्षण छुटाउनु पर्ने नियम रहेको छ। यसका लागि फरेन करेन्सि एकाउन्ट फर आइपिओ खोली सोही खाताबाट आवेदन गर्नुपर्ने प्रावधान रहेको र यदि अधिक निवेदन परेको खण्डमा रकम विप्रेषण गर्न सकिन्छ। गैर आवासीयहरूले बङ्गलादेशको दोस्रो बजारमा कारोबार गर्नका लागि सर्वप्रथम बैंकमा विदेशी मुद्रा खाता खोल्नु पर्छ। त्यसैगरि एनओएन(नन् रेसिडेन्ट टाका अकाउन्ट(निटा)खोली सिधै धितोपत्र दलाल मार्फत कारोबार गर्न सक्छन्। तर बङ्गलादेशमा प्रचलित मोडलमा गैर आवासीयहरूले कस्टोडिएन बैंक मार्फत कार्य गर्ने गर्छन्। जसमा कुनै कस्टोडिएन बैंकसँग सम्झौता गर्ने र यही कस्टोडिएनले ग्राहकको तर्फबाट दलालसँग सम्झौता गर्ने र डिम्याट खाता तथा ट्रेडिङ्ग खाता समेत खोल्ने कार्य गर्ने गरिन्छ। त्यस पश्चात् ग्राहकको आदेशमा कस्टोडिएनले धितोपत्रको कारोबारको आदेश निटा एकाउन्टबाट रकम रकमान्तर गर्ने गर्दछन्। ब्रोकर मार्फत धितोपत्र बिक्री गरेपछि प्रचलित करहरू भुक्तान गरे पश्चात् कस्टोडिएन बैंकले प्राप्त भएको रकम विप्रेषण गर्दछ। सूचीकृत नभएका कम्पनीहरूको शेयरहरू किनबेच गरेमा पैसा विप्रेषण गर्नका लागि अनिवार्य रुपमा त्यहाँको केन्द्रीय बैंकको स्वीकृति लिनु पर्छ। गैर आवासीयले गैर आवासीयलाई नै धितोपत्र किनबेच गरेमा केन्द्रीय बैंकको स्वीकृति लिनु पर्दैन। गैर आवासीयहरूले पोर्टफोलियो इन्भेस्टमेन्ट मार्फत पनि लगानी गर्न सक्ने र पोर्टफोलियो इन्भेस्टमेन्टको लागी बैकिगं प्रणालीबाट भित्रिएको रेमिटेन्स आवश्यक पर्ने व्यवस्था छ। विदेशी लगानीकर्ताहरूलाई दोहोरो कर नलाग्ने सम्बन्धमा बङ्गलादेशले जापान, इटाली,सिंगापुर, स्विडेन, कोरिया, बेलायत, क्यानडा, मलेसिया, रोमानिया, श्रीलङ्का, फ्रान्स, जर्मनी, भारत तथा पाकिस्तानसँग द्विपक्षीय सम्झौता गरेको छ।
श्रीलङ्का
श्रीलङ्कामा खुला अर्थतन्त्रको नीति १९७० देखि सुरु भएता पनि विदेशी लगानीलाई प्रोत्साहन दिई लगानीको वातावरण बनाउने कार्य भने २०१७ देखि मात्र भएको हो। श्रीलङ्का दक्षिण एसियाली राष्ट्रहरूमा सबैभन्दा पहिला विदेशी लगानीलाई प्रोत्साहन गर्ने देश हो। धितोपत्र बजारमा समेत वैदेशिक लगानीलाई प्रोत्साहन गर्न पूँजी बजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन(एसइसि)ले विदेशी एवं गैर आवासीयहरूले धितोपत्र बजारमा बन्देज गरिएका क्षेत्रहरू बाहेक अन्य क्षेत्रमा सत प्रतिशतसम्म लगानी गर्न सक्ने कानुन बनाएको छ। धितोपत्रको दोस्रो बजारमा गैर आवासीय श्रीलङ्कालीले लगानी गर्नका लागि सर्वप्रथम पासपोर्टको आधारमा कस्टोडिएन बैंकमा इनवार्ड इन्भेस्टमेन्ट एकाउन्ट (आइआइए) खोल्नुपर्ने व्यवस्था गरेको छ। त्यस पश्चात् धितोपत्र दलाल अथवा कस्टोडिएन बैंक मार्फत नेपालमा डिम्याट खाता जस्तै सेन्टरल डिपोजटरि एकाउन्ट (सिडिए) खाता खोलिन्छ। लगानी गर्न तथा रिप्याट्रिएसन गर्न खोलिएका आइआइए खातामार्फत मात्र गर्न सकिन्छ।
श्रीलङ्कामा गैर आवासीयहरूले धेरै पोर्टपोलियो इन्भेस्टमेन्ट मार्फत लगानी गर्ने गर्छन्। फोरिजन एक्ट नम्बर १२ अ २०१७ ले श्रीलङ्कामा विदेशी लगानीकर्तालाई विदेशी मुद्रा ल्याउन, लगानी गर्न तथा लगानी फिर्ता लैजान सम्बन्धमा नियमन गर्ने गरिन्छ। विदेशी लगानीका लागि प्रक्रियाका सम्बन्धमा त्यहाँको केन्द्रीय बैंकले तोकेको बैंकमा आइआइए खाताबाट नै गर्नुपर्छ। धितोपत्र बजारमा श्रीलङ्कामा विदेशी लगानीकर्ताको लागी सजिलो होस भन्ने उद्देश्यले सेन्ट्रल डिपोजटरि सिस्टम लिमिटेडले नियामकको स्वीकृतिमा केही कष्टोडियन बैंक तोकेको छ। कोभिड १९ को प्रकोपपछि भने हाल श्रीलङ्काको अर्थतन्त्रमा आएको समस्याका कारण केन्द्रीय बैंकले समय समयमा विदेशी लगानी तथा आयत प्रतिस्थापनमा आंशिक बन्देज लगाउँदै आएको छ।
भियतनाम
भियतनाममा गैर आवासीय भनेर छुट्टै प्रावधान नभई त्यहाँका नागरिक बाहेक अरूलाई विदेशी लगानीकर्ताको रुपमा धितोपत्रको दोस्रो बजारमा लगानी गर्न मिल्ने प्रावधान बनाइएको छ। विदेशी लगानीकर्ताले कस्टोडिएन सदस्य मार्फत त्यहाँको स्टक एक्सचेन्ज होचिमिह सिटी स्टक एक्सचेन्ज र हानोइ स्टक एक्सचेन्जमा कारोबार गर्ने गर्छन्। कस्टोडिएन सदस्यमा विदेशी विनिमय कारोबारको अनुमति पाएका वाणिज्य बैंकहरु गर्ने गर्छन्। यही कस्टोडिएन सदस्य मार्फत नै विदेशी लगानीकर्तालेका रोबार खाता र बैंक खाता सञ्चालन गर्ने गर्छन्। स्टक एक्सचेन्जमा कारोबारको लागि सर्वप्रथम लगानीकर्ताले फोरिजन एकाउन्ट खोल्नु पर्छ। त्यस पश्चात् भियतनामी मुद्रामा अर्को खाता खोल्नु पर्ने प्रावधान छ। यही खाता मार्फत र भियतनामी मुद्राबाट सूचिकृत तथा असूचीकृत कम्पनीहरूको धितोपत्रमा कारोबार गर्न पाइन्छ। आएआइसिए खाताको मौजदातालाई बचत वा मुद्दती खातामा जम्मा गर्न नमिल्ने प्रावधान छ। सो प्रयोजनका लागि बैंकमा अर्कै खाता खोल्नुपर्ने प्रावधान छ। लाभांश, व्याज आम्दानी तथा पूँजी लाभलाई सजिलै विप्रेषण गर्न सकिन्छ। तर संलग्न कागजातहरूबाट लगानी गरेको रकम रेमिट्यान्सबाट भित्रिएको र भियतनामको बजारमा लगानी भएको प्रमाणित हुनुपर्ने र सम्पूर्ण करहरू चुक्ता भएको कर कार्यालयको प्रमाणित कागजातहरू संलग्न भएको हुनुपर्ने व्यवस्था छ।
स्रोत सामाग्री:-गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समितिको अध्ययन प्रतिवेदन