माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Oct 05, 2023 11:15 AM Merolagani



माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज (असोज १८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेकाे छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २५ प्रतिशतका दरले हुन आउने २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कात्तिक २ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छन्।

कति कित्ता आवेदन दिन?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट भएमा कुल १ लाख २८ हजार ४२० आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ता मात्र आवेदन दिए पनि पुग्ने देखिन्छ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। केयर रेटिङ्ग नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गनेए क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

केयर रेटिङ्गले कम्पनीलाई २०२२ डिसेम्बर ९ मा क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०२३ डिसेम्बर ८ सम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयको २०६९ साउन ३० गते पब्लिक लिमिटेडको रुपमा “माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड” को नाममा दर्ता भई स्थापना भएको पब्लिक कम्पनी हो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ४, शंखपार्क, धुम्बाराहीमा रहेको छ। आवश्यकता अनुसार सम्बन्धित कार्यालयको स्वीकृति लिई कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्न र नेपाल भित्र वा विदेशमा शाखा कार्यालय खोल्न सकिनेछ ।

कम्पनीले रसुवा जिल्ला, उत्तरगया गाउँपाालिका वडा नं.१ भई बग्ने मैलुङ खोलाको बहाव सदुपयोग हुने गरी १४.३ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाबाट उत्पादन हुने विद्युत्तीय उर्जालाई आयोजनाको स्वीचयार्डबाट ११ किलोमिटर लामो १३२ के.भी. को सिङ्गल सर्किट विद्युत प्रशारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको निर्माण भईरहेको नुवाकोट जिल्लाको पहिरेबेसी स्थित त्रिशुली थ्रि बि सब–स्टेसनमा पु¥याई राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गरिनेछ। हाल सम्ममा यस १३२ के.भी. प्रसारण लाइनको ८६ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको छ ।

यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ। यस आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८० बैशाख १७ तोकिएको थियो। तर, सो समयमा व्यापारिक उत्पादन सुरु हुन नसकेकाले व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मितिका लागि २०८० साउन १५ गते माग गरि नेपाल विद्युत प्राधिकरणमा निवेदन दर्ता गरि प्रकृयामा रहेको छ। हालसम्म यस आयोजनाको सिभिल कार्य, हाइड्रोमेकानिकल कार्य, ईलेट्रोमेकानिकल कार्य र प्रशारण लाइन गरि समग्र निर्माण कार्य करिब ९८% प्रतिशत सम्पन्न भइसकेको छ।

यस आयोजनाको विद्युत उत्पादन अनुमतीपत्र विद्युत विकास विभागबाट २०६९ पुस २० मा मोल्निया पावर लि.को नाममा प्राप्त गरि २०७४ जेठ २५ गते यस माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको हो ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.७६ वर्ष रहेको छ।

यस कम्पनीले निर्माण गर्ने यस १७ मेगावाटको माथिल्लो मैलुङ्ग “बि” जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरि विद्युत विकास विभागमा विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गर्नका लागि २०७८ कात्तिक १७ गते निवेदन दर्ता गरि आवश्यक प्रकृयामा रहेको छ। सो आयोजनाको अनुमानित लागत ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रवन्ध–पत्रमा रहेको व्यवस्था अनुसार जारी पूँजीको १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई तथा जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप आईपीओ निष्काशन गर्न लागेको हो।

आईपीओ निष्काशनको उद्देश्य कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्नु रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले आईपीओ निष्काशन गरी संकलित रकममध्ये १२ करोड ६८ लाख रुपैयाँ सिभिल निर्माणमा खर्च गर्नेछ भने ४ करोड ६ लाख १० हजार रुपैयाँ हाइड्रोमेकानिकल खरिद तथा जडान गर्न खर्च गर्नेछ। त्यसैगरी, कम्पनीले ६३ लाख १३ हजार रुपैयाँ इलेक्ट्रोमेकानिकल खरिद तथा जडान गर्न, ५ करोड २७ लाख २० हजार रुपैयाँ विद्युत प्रसारण लाइन निर्माण गर्न र २ करोड ३५ लाख ५७ हजार रुपैयाँ प्रशासनिक तथा इन्जिनियरिङ्ग व्यवस्थापन गर्न खर्च गर्नेछ।

चालु आर्थिक वर्षमा ६ करोड सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ७ लाख रुपैयाँ सञ्चित नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४३ पैसा पुग्ने प्रक्षेपण गरेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८ पैसा पुग्ने अनुमान गरिएको छ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ३४ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ४ करोड १ लाख ७६ हजार रुपैयाँ सञ्चित नोक्सानी व्यहोरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ६६ पैसा रहेको छ।

पूँजी संरचना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १ अर्ब रुपैयाँ रहेको छ। यस्तै कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ भने आयोजना तथा कम्पनीमा कार्यरत कामदार र कर्मचारीहरुबाट ५ करोड रुपैयाँ गरी कुल ७५ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ७० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र कर्मचारीहरुको ५ प्रतिशत रहनेछ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा कम्पनीमा ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ। सोमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना रहने व्यवस्था रहेको छ।

हाल यस कम्पनीमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक रहेका छन्। कम्पनीको नियमावलीको नियम २८ मा भएको व्यवस्था अनुसार सञ्चालक हुनको लागि कम्पनीको कम्तीमा १०० कित्ता शेयर आफ्नो नाममा खरिद गरेको हुनु पर्नेछ। तर संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालक र स्वतन्त्र सञ्चालकको हकमा उपरोक्त व्यवस्था लागू हुने छैन।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामेश्वर रिजाल रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा घनश्याम थापा र अजय कार्की रहेका छन् भने महिला सञ्चालकमा सरोजा पौड्याल रहेकी छिन्।

अध्यक्ष रिजाल मोल्निया पावर लिमिटेडका प्रतिनिधि रहेका छन् भने घनश्याम थापा सानिमा माई हाइड्रोपावर र अजय कार्की सानिमा हाइड्रोपावरका प्रतिनिधि हुन्। त्यसैगरी, महिला सञ्चालक सरोजा पौड्याल ओब्जोर इन्भेष्टमेन्ट लिमिटेडका प्रतिनिधि हुन्।

भावी योजना तथा रणनीति

कम्पनीको उद्देश्य १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गर्ने रहेको छ। हाललाई कम्पनीको भावी योजना सो आयोजनाको निर्माण कार्य २०८० साउन १५ गतेभित्र सम्पन्न गरेर सञ्चालन गर्ने तथा आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने रहेको छ।

त्यस्तै, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने कम्पनीको योजना रहेको छ।

कम्पनीको प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यवसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने कम्पनीले योजना बनाएको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्से ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ १४ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ रुपैयाँ १४ पैसादेखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।