नेप्सेमा सूचीकृत ५० बढी कम्पनीको आम्दानी ऋणात्मक, १ रुपैयाँ नेटवर्थ भएकाकाे पनि १४२ रुपैयाँमा कारोबार हुँदै

Nov 20, 2023 05:38 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५० भन्दा धेरै कम्पनी घाटामा देखिएका छन्। कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ५३ कम्पनीको प्रतिशेयर आम्दानी नकारात्मक देखिएको छ।

विवरण अनुसार उपकार लघुवित्तको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ऋणात्मक छ। पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार उपकार लघुवित्तको प्रतिशेयर आम्दानी १२७ रुपैयाँ १६ पैसाले ऋणात्मक छ।

तर दोस्रो बजारमा उसको शेयरमूल्य १ हजार १११ रुपैयाँ रहेको छ। पूँजीभन्दा पनि धेरै घाटा व्यहोरीरहेको कम्पनीको पनि शेयरमूल्य भने ११ सय रुपैयाँभन्दा धेरै नै छ।

यसैगरी सामुदायीक लघुवित्तको प्रतिशेयर आम्दानी ८१ रुपैयाँले ऋणात्मक छ भने धौलागिरी लघुवित्तको ६३ रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको ५७ रुपैयाँ र स्वाभिमान लघुवित्तको ५४ रुपैयाँले ऋणात्मक छ। अन्य कम्पनीको भने ५० रुपैयाँभन्दा कमले ऋणात्मक छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २८ कम्पनी मात्रै घाटामा देखिएका थिए। तर चालु आर्थिक वर्षमा भने झण्डै दोब्बर कम्पनी घाटामा देखिएका छन्। अर्थतन्त्रमा देखिएको मन्दीले पनि कम्पनीहरुकाे आम्दानी प्रभावित भएको छ भने नेपाल राष्ट्र बैंकले लिएका कतिपय नीतिले लघुवित्त कम्पनीहरु घाटामा पुगेका छन्।

  • १ रुपैयाँ नेटवर्थ भएका कम्पनीको पनि शेयर कारोबार हुँदै, ४ दर्जन कम्पनीको नेटवर्थ नकारात्मक

नेप्सेमा १ रुपैयाँमात्रै नेटवर्थ रहेको कम्पनीको समेत शेयर कारोबार भइरहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दिब्यश्वरी हाइड्रोपावरको नेटवर्थ १ रुपैयाँ ८३ पैसा मात्रै रहेको छ।

१ सय रुपैयाँ अंकित मूल्य रहेको कम्पनीको नेटवर्थ १ रुपैयाँमा झरेको हो। १ सय रुपैयाँ लगानी गरेका लगानीकर्ताले ९८ रुपैयाँभन्दा धेरै पैसा गुमाइसकेका छन्। तर दोस्रो बजारमा भने उसको शेयर प्रतिकित्ता १४२ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसबाहेक नेप्सेमा सूचीकृत भएका करिब ४ दर्जन कम्पनीको नेटवर्थ नकारात्मक देखिएको छ।

नारायणी डेभलपमेन्ट बैंकको प्रतिशेयर नेटवर्थ २९ रुपैयाँ छ भने सम्तकोशी डेभलपमेन्ट बैंकको ५५ रुपैयाँ, अपर स्याङ्गे हाइड्रोपावरको ५९ रुपैयाँ, प्रोग्रेशभ फाइनान्सको ६६ रुपैयाँ र लिवर्टी इनर्जीको ६७ रुपैयाँ रहेको छ।

पहिलो त्रैमासिक विवरण अनुसार ४६ वटा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम छ। यसले १०० रुपैयाँमा शेयर खरिद गर्ने लगानीकर्ता पनि घाटामा रहेको देखाउँछ।

साधारणतया ऋणात्मक नेटवर्थ भएका कम्पनीको शेयर दीर्घकालीन लगानीको लागि उपयुक्त मानिदैन। तर पनि पूँजी कम भएका कारण यस्ता कम्पनीहरुबाट कम्पनीले पूँजीगत लाभ लिनको लागि लगानी गरिरहेका छन्।

अहिले हाइड्रोपावर कम्पनी र लघुवित्त कम्पनीहरुको वित्तीय विवरण खस्कदै गएको देखिन्छ। पहिलो त्रैमासमा पनि अधिकाँश हाइड्रोपावर र लघुवित्त कम्पनीहरुले कमजोर वित्तीय विवरण सार्वजनिक गरेका छन्।

कम्पनीको कुल सम्पति र कुल दायित्वबीचको अन्तरलाई नै नेटवर्थ भनिन्छ। कम्पनीको नेटवर्थको आधारमा समेत दोस्रो बजारमा शेयर खरिदको निर्णय लिन सकिन्छ।




१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।