२ सय भन्दा कम मूल्यमा पाइने कम्पनीहरुमध्ये ८ वटा वाणिज्य बैंक समूहबाट, २९ वटा हाइड्रोपावर समूहबाट, २ वटा लगानी समूहबाट र १ वटा माइक्रोफाइनान्स समूहबाट परेका छन् ।
मूल्यको हिसाबले सबैभन्दा न्यून मूल्यमा कारोबार भइरहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । कम्पनीको शेयर सोमबार १ सय ४ रुपैयाँ ५० पैसामा कारोबार भयो । समाजले आईपीओ जारी गरेर सूचीकृत हुनासाथ मर्जरमा गएको थियो । मर्जरमा गए पनि मर्जर सफल नहुँदा
करिब ४ महिना अगाडिदेखि मात्रै कारोबार हुन थालेको हो । समाज भन्दा धेरै नै खराब वित्तीय अवस्था भएको कम्पनीहरु चार पाँच सय रुपैयाँमा कारोबार भइरहे पनि समाजको पहिलो कारोबार नै न्यून विन्दुमा खोल्दा कम्पनीको शेयर लगानीकर्ताले बेच्नै नचाहँदा कम्पनीको कारोबार न्यून रहन पुगेको हो । न्यून मूल्यमा कारोबार खुलेको हुँदा शेयर बेच्ने लगानीकर्ता नहुने तर खरिदकर्ता भने धेरै हुँदा कम्पनीको शेयर मूल्य बढ्न नसकेको हो ।
समाज लघुवित्तलाई छोडेर अहिले सबैभन्दा सस्तो मूल्यको शेयरमा हिमाल दोलखा हाइड्रोपावर अगाडि देखिएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गरेपछि त्यसको समेत आपूर्ति बढ्दा यो कम्पनीको मूल्य बढ्न नसकेको हो । पछिल्लो समय वित्तीय अवस्था कमजोर भएका हाइड्राेपावर कम्पनीले समेत ठूलो मात्रामा हकप्रद निष्काशन गर्दा आपूर्ति पक्ष बढ्न गई माग पक्ष कमजोर हुँदा मूल्य बढ्न नसकेको हो । पछिल्लो समय आईपीओ निष्काशन गर्ने हाइड्रोपावर पनि बढिरहेका छन । नेप्सेमै ८८ भन्दा बढी हाइड्रोपावर कम्पनी सूचीकृत भइसकेका छन् । हिमाल दोलखासँगै सस्तो मूल्यमा पाइने हाइड्रोपावरहरुमा नेसनल हाइड्रोपावर, घलेम्दी, दिब्यश्वरी, शिवश्री, लिवर्टी इनर्जी, आँखुखोला, मोदी इनर्जी, युनियन हाइड्रोपावर, अपि पावर, अरुण काबेवली, सिनर्जी पावर, पञ्चकन्या माई, युनिभर्सल पावर, युनाइटेड मोदी, माउन्टेन हाइड्रो, खानीखोला, मनकामना इन्जिनियरिङ, रिडी पावर, जोडी हाइड्रोपावर र अप्पर तामाकोशी लगायत २७ वटा हाइड्रोपावर कम्पनीको शेयर मूल्य २ सय रुपैयाँ भन्दा मुनि छन् ।
त्यस्तै पुँजीवृद्धिका कारण आपूर्ति बढी भएर वाणिज्य बैंकका कम्पनीको शेयर मूल्य पनि पछिल्लो समय बढ्न सकेको छैन । वाणिज्य बैंकमध्ये ८ वटा कम्पनीहरु २ सय रुपैयाँभन्दा मुनिको मूल्यमा कारोबार भइरहेका छन । त्यसमध्ये सबैभन्दा सस्तो मूल्यमा कुमारी बैंकको शेयर कारोबार भइरहेको छ । कु्मारीको शेयर सोमबार १ सय ५२ रुपैयाँ ४० पैसामा कारोबार भयो । त्यसपछि अर्को सस्तो शेयरमा प्रभु् बैंक रहेका छन् । प्रभु बैंकको शेयर सोमबार १ सय ५५ रुपैयाँ ६० पैसामा कारोबार भयो । टाट पल्टेका बैंकहरुलाई आफूमा गाभेको प्रभु बैंकले पछिल्लाे समय सेन्चुरी बैंकलाई आफूमा गाभेको थियो । यसअघि प्रभुले किष्ट बैंक, डीसीबीएल बैंकसँगै नेपालकै सबैभन्दा पुराना नेपाल विकास बैंकलाई समेत आफूमा गाभेको थियो । प्रभु बैंकका मुख्य संस्थापक नै धमाधम शेयर बेचेर निस्कँदै गरेपछि यसको शेयर मूल्य पनि बढ्न नसकेको बताइएको छ । कुमारी र प्रभु पछि सस्तो शेयरका वाणिज्य बैंकको सूचीमा क्रमशः सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैक, प्राइम कमर्सियल बैंक, माछापुच्छे बैंक र हिमालयन बैंक रहेका छन् ।
सस्ता कम्पनीको सूचीमा लगानी समूहबाट दुई वटा कम्पनी परेका छन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) गरी दुई कम्पनी यो सूचीमा परेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ सय ८६ रुपैयाँ र एचआइडीसीएलको शेयर १ सय ६२ रुपैयाँमा गत सोमबार अन्तिम कारोबार भयो ।